आज ठिक तीस वर्षपछि ऊसँग भेट भयो । तीस वर्षअगाडि उसको आत्मविश्वास र स्वाभिमान जस्तो थियो आज पनि त्यस्तै थियो । जीवनका उकालीओरालीले उसलाई गलाउन सकेनछ । अनुहारको तेज उस्तै थियो जस्तो तीस वर्षअगाडि । यस्तो अजब संसारमा गजब गरी कसरी बाँच्न सक्यो ! जीवनमा त्यति विधि भोगिसकेपछि एउटा मान्छे कि त आत्महत्या गर्छ कि त परिस्थितिसँग सम्झौता गरेर अगाडि बढ्छ । यो मेरो प्रमाणित मान्यता थियो र छ । उससँगको भेटले यस मान्यतालाई असत्य प्रमाणित गरिदियो ।
बितेका तीस वर्षमा उसले आत्महत्याचाहिँ गरेको छैन भन्नेमा म विश्वस्त थिएँ । किनभने ऊजस्ता मान्छेले जतिसुकै हन्डर र दुःख पाए पनि ती चर्चायोग्य विषय बन्दैनन् तर जब त्यस्ता व्यक्तिले आत्महत्या गर्छन् तब तिनका विगत खोतलिन्छन् र अखबारका पानाहरू भरिन्छन् । विगत तीस वर्षका अखबारमा मैले थुप्रै आत्महत्याका समाचार पढेँ । तिनमा कसैले आफ्नी मन परेकी प्रेमिकासँग विवाह गर्न नपाएको झोँकमा आत्महत्या गरे भने कसैले स्वास्नी–छोराछोरीलाई खानलाउन दिन नसकेको अपराधबोधमा आत्महत्या गरे । स्वास्नी पोइल गएको पीडा खप्न नसकेर अथवा प्रेमीले धोका दिएको पीडामा आत्महत्या गर्नेको खबर पनि प्रशस्त पढेँ । तीमध्ये परीक्षामा फेल र बेरोजगार भएर आत्महत्या गर्नेको सङ्ख्या पनि कम थिएन । त्यस्ता आत्महत्याका खबरमा सधैँ चनाखो भएर उसको नाम सबभन्दा पहिले खोज्थेँ तर कहिल्यै भेटिनँ । यही कारण ऊ बाँचेकै हुनुपर्छ भन्ने विश्वास उससँगको आजको भेटले सार्थक पारिदियो ।
यसबीचमा कहिल्यै श्रद्धाञ्जली अथवा समवेदना पढ्ने आवश्यकता देखिनँ । ऊजस्ता व्यक्ति अकाल मृत्यु मरे पनि श्रद्धाञ्जली अथवा समवेदना व्यक्त गर्ने मानिस पाउन गाह्रो छ । उसले आफ्नो जीवनमा कसलाई के गुन लगाएको होला र उसप्रति कसैले श्रद्धाञ्जली अथवा समवेदना व्यक्त गरोस् ! ऊजस्ता मान्छे केवल आफ्नो स्वार्थ हेर्न सक्छ अरूको होइन । त्यसैले श्रद्धाञ्जली अथवा समवेदना नहेरेर ठिक गरेँ ।
बितेका तीस वर्षमा न त उसले आत्महत्या गरेछ न त अकाल मृत्यु मरेछ । उससँगको आजको भेटले प्रमाणित गरिदियो ।
उसले आत्महत्या पनि नगरेको र अकाल मृत्यु पनि नमरेपछि पक्कै परिस्थितिसँग सम्झौता गरेर बाँचेको हुनुपर्छ । आखिर ऊ पनि मान्छे हो । मान्छे हुनुको नाताले ऊसँग पेट छ । त्यसै नाताले एउटा आङ छ । यतिमात्र नभई उसलाई जन्माउनेहरू र उसलाई जन्माउनेले जन्माएकाहरू उससँग गाँसिएका छन् । ती सबैले आ–आफ्ना पेट र आङ लिएरै जन्मेका छन् । सबैको पेट र आङले उसभित्रको योद्धालाई पक्कै पराजीत गरेको हुनुपर्छ । एक्लो बृहस्पति झुठ्ठा भएपछि आफ्ना कारणले नभए पनि परिवारको आवश्यकताका अगाडि उसले शिर निहुराएको हुनुपर्छ ।
उसका विषयमा मेरा सोचाइ र विश्वास यस्तै बनिसकेका थिए विगत तीस वर्षमा तर आज अचानक उससँग भेट हुँदा मेरा अनुमानका विपरित न उसले आत्महत्या गरेको थियो न परिस्थितिसँग सम्झौता न अकाल मृत्यु मरेको थियो ! मेरा सबै अनुमान बेकार थिए । जति सम्झिँदा पनि थाहा पाउन सकिनँ । उसले आत्महत्या गरेन भने किन गरेन ? परिस्थितिसँग सम्झौता गरेन भने कसरी गरेन ? अथवा अकाल मृत्यु मरेन भने किन मरेन ? रहस्य थाहा पाउन नसकेपछि म उससँग जोडिएका विगत सम्झिन थालेँ ।
उससँगका प्रसङ्ग सुरु हुनुभन्दा अगाडि म मेरा प्रतिद्वन्द्वीलाई तह लगाउन व्यस्त थिएँ । मेरा प्रतिद्वन्द्वी मभन्दा सिनियर थिए । उनलाई पछारेर विभागीय प्रमुख बन्नु असम्भव भए पनि मेरो एकमात्र लक्ष्य त्यही थियो । विभागीय प्रमुख बन्न आवश्यक पर्ने शैक्षिक योग्यता, दुर्गमक्षेत्रको अनुभव, तालिम, कार्यक्षमता, कृतिलेखन, जेष्ठता आदि उनीसँग थिए । विभागीय प्रमुखको निर्विरोध उमेदवार उनीमात्र थिए । ती कुरा मलाई पचेनन् । चानचुने हिसाबले उनलाई पछाडि पार्न सकिन्नथ्यो । वैध (?) तरिकाले जित्न नसकिने भएपछि मैले बाध्य भएर अवैध (?) बाटा समाउनुपर्यो ।
बेलैदेखि योग्यता प्राप्त गरी कम्तीमा उनको बराबरी अङ्क प्राप्त गर्नेतिर लागेँ । त्यसका लागि छिमेकी मित्रराष्ट्रका विश्वविद्यालयहरूको चक्कर लगाइनँ कि ‘ङ’ क्षेत्रको दुर्गममा बसेर ‘क’ क्षेत्रमा दरबन्दी राखी सोबापतको अङ्क कमाइनँ ! अल्पअवधिको तालिमको समकक्षता मूल्याङ्कन गराई उनी बराबरको अङ्क प्राप्त गरिनँ कि भूतलेखकलाई लेखाएर आफ्ना नाममा कृति छपाइनँ ! कार्यसम्पादन मूल्याङ्कनमा पूर्णाङ्क प्राप्त गर्न सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिका सदस्यहरूको घरघर धाइनँ कि ? के–के गरिनँ ! विभागीय प्रमुख बन्न जे गर्नुपरे पनि पछाडि परिनँ । त्यति गर्दा पनि जेष्ठता र कार्यक्षमतामा उनलाई पछाडि पार्न सक्ने क्षमता क्षीण थियो । यो कुरा मलाई बढुवा समितिका सदस्यले बताए । त्यसपछि बढुवा समिति नै बस्न नदिने चाँजोपाँजो मिलाएर लागेँ उनको स्वाभिमानले कमाउन नसक्ने अङ्क कमाउन । त्यो थियो बढुवा समितिका सदस्यहरूलाई प्रभावित पार्ने । म आफ्ना योजनामा सफल भएँ । अन्ततः उनले पाउनुपर्ने बढुवा मैले पाएँ । विभागीय प्रमुख बनेँ ।
नियुक्ति बुझेर विभागीय प्रमुखको कुर्सीमा बसेका दिन मलाई संसार जितेको आनन्द भएको थियो । त्यस दिन बधाइ दिन र नमस्कार गर्न मेरा प्रतिद्वन्द्वी पनि आए । मैले विजित मुस्कानका साथ उनको नमस्कार फर्काएँ । त्यति हुँदा पनि उनको नूर गिरेन तर लक्ष्य प्राप्त गरिसकेकोले मलाई उनीबाट कुनै खतरा थिएन । विभागीय प्रमुखको कुर्सी मेरा लागि सुरक्षित थियो । त्यसलाई हल्लाउन सक्ने तागत कसैसँग थिएन । जोसँग थियो उनलाई उनको स्वाभिमानले ख्वापलाक्कै निलेको थियो । त्यसले गर्दा उनी मेरा लागि विष नभएका सर्प थिए । सपेराले सर्पलाई बिन बजाएर मनखुसी नचाएजस्तै जसरी चाह्यो त्यसरी नचाउन सक्थेँ ।
उनको सट्टा मेरो बढुवा भएकोमा विभागका सबै छक्क थिए । विभागमात्र होइन वरपरका सरकारी कार्यालयमा समेत ‘छोरोमान्छे हुनु त यस्तो पो !’ भन्दै मेरो बहादुरी र चलाखीको चर्चा गर्न तिनीहरू बाध्य थिए । मबाट छाडिएका सुलसुलेहरू त्यस्ता चर्चापरिचर्चा भुइँमा खस्न नपाउँदै मसम्म ल्याइपुर्याउन तँछाड्–मछाड् गर्थे । त्यति नगरे तिनको भविष्य मेरै प्रतिद्वन्द्वीको जस्तो हुने उदाहरण म स्वयंले प्रस्तुत गरेर देखाइसकेकोले ती बेलैमा बुद्धि पुर्याउनतिर लागे । ‘आँ’ गर्दा ‘अलङ्कार’ बुझ्ने तिनको योग्यताबाट म प्रभावित थिएँ । आश्वासन दिएँ, ‘मौकामा हेरौँला ।’ मेरो वचनलाई आशीर्वाद सम्झँदै ती आआफ्ना योग्यताप्रदर्शन गर्नतिर लागे । तीमध्ये थोरैतिनोले मेरो बढुवाको आलोचना गरेको खबर ल्याउँथे । ठूलो सङ्ख्या मेरो चातुर्य र खुबीको प्रशंसा गरेको खबर ल्याउँथे । पहिलो कोटीकाले खबर ल्याउँथे, ‘विभागलाई आधुनिक बनाउन उनले त्यत्रो योगदान दिए । ती सबै बेकार गए । सिनियर र योग्यता भएर बढुवा पाइन्छ भन्नु व्यर्थ रहेछ । ऐनकानून हात्तीको देखाउने दाँतमात्र रहेछ । धाउन सक्ने र चढाउन सक्ने योग्यता छैन भने बढुवाको आश नगरे हुने भो ।’
यस्ता खबर ल्याउनेहरू आलोचना सुनेर म रिसाउँछु कि भनी अन्तिममा हतपत आफ्नातर्फबाट फुर्का जोडिहाल्थे, ‘यो अङ्गुर अमिलो छ भनेजस्तै हो हजुर । नाच्न नजान्ने आँगन टेढो भन्ने फटाहा र लाछीहरूले गर्ने कुरा यस्तै हुन्छन् । हजुरले चिन्ता नलिइबक्सियोस् । यस्तालाई बेलैमा ठेगान लाउनुपर्छ । नभए यिन’रूले टिकिखान दिँदैनन् । पुर्याइदिनुपर्छ हुम्लाजुम्ला अनि देख्छन् बाउको बे’ । खुब जान्ने भ’र चाइने नचाइने बोल्दार’छन् ।’
दोस्रो कोटीकाले आफ्नातर्फबाट मरमसला जोडेर भन्नै पर्दैनथ्यो । तिनले सुनेका कुरा हुबहु सुनाउँदा पनि रिसाउनुपर्ने एउटा शब्द हुँदैनथ्यो । ती सुनाउँथे, ‘हजुरको खुब प्रशंसा गर्छन् सबैले । आजको जमानामा चाइने भनेको हजुरजस्तै मान्छे हो भन्छन् । उन्नतिप्रगति गर्न हजुरलाई गुरु मानेर सिक्नुपर्छ भन्छन् । हजुरको गुनगान गाएर कोही थाक्दैनन् हजुर ।’
म दुवैखाले खबरलाई ध्यानपूर्वक सुन्थेँ । आफ्नो कटु आलोचना सुन्दा उत्तेजित भएर प्रतिक्रिया व्यक्त नगरेकोले मेरो व्यक्त्विमा गम्भीरता थपिँदो थियो । जुन गम्भीरता देखेर सुलसुलेहरू छेउछाउ पर्न डराउँथे । तिनका अनुहारमा अव्यक्त आतङ्क रोप्न सफल थिएँ । त्यसबाट मलाई बोनस फाइदा भएको थियो । तिनका आतङ्कित अनुहार देखेर विभागका अरू मदेखि डराउन थालेका थिए । विभागका सबैलाई एकएक गरी आतङ्कित पार्न परेन । दुर्गमक्षेत्रमा नियुक्ति बुझेर त्यहीँबाट रिटाएर हुन लागेकाहरू पनि घरपायक सरुवा मागेको निवेदन फिर्ता लिएर विभागको ढोकैबाट फर्किन्थे अरे । तिनलाई मैले मेरो दिव्यवाणीबाट स्वागत गर्नै पर्दैनथ्यो । त्यसै गरी बीसौँ वर्ष बढुवा नपाएको गुनासो लिएर आउनेहरू जब सुलसुलेबाट मेरा प्रताप सुन्थे अनि हतारहतार ‘ट्वाइलेट कता छ ?’ भन्दै खोज्थे अरे । ट्वाइलेट खोज्न गएकाहरू कता सुइँकुच्चा ठोक्थे पत्तै हुँदैनथ्यो । बुद्धि पुर्याउनेहरूचाहिँ मेरो घरको ठेगाना सोध्दै त्यहीँ बिहानबेलुका भेट्थे । तीबाट मलाई कुनै खतरा थिएन बरु जिल्ला फर्केर मेरो निःशुल्क विज्ञापन गर्थे ।
यसरी प्रतिद्वन्द्वीलाई पछारेर सबैतिरबाट विभागीय प्रमुखको कुर्सी पूर्णतः सुरक्षित पारेपछि मेरो भेट ऊसँग भएको थियो तर उसका अनुहारमा मेरा आतङ्कको छाया थिएन । त्यो देखेर मैले मेरा सुलसुलेहरूतिर आँखा तरेर हेर्दै जुँगा हल्लाएँ । घुम्ने कुर्सीलाई अस्वाभाविक रूपमा तीनचारपटक फनक्क घुमाएँ । मेरो व्यवहारबाट सुलसुलेहरू लगलग काम्न थाले । मैले उसलाई ‘एकछिन बाहिर बस्दै गर्नू’ भनी पठाएँ । सुलसुलेतिर हेरेँ ।
ती धामी बकेझैँ बक्न थाले, ‘हजुर हामीले सम्झाएका हौँ । तर्साउँदा पनि नमानेर आफै भित्र छिरेको हो हजुर । भर्खरको ठिटो हो । विभागको चलन बुझेकै छैन । बुझेपछि आफै ठेगान लागिहाल्छ । आत्तिनुपर्ने क्यै छैन हजुर । लोक सेवाबाट एक नम्बरमा सिफारिस भ’र आ’को घमन्ड होला । बस्दै गए’छि ठिक लागिहाल्छ हजुर । कि अैफले नै कालिकोटतिर पठाइदि म हजुर ।’
मैले केही नबोल्दै तिनले त्यति बोले । तिनले जतिसुकै ढाडस दिए पनि उसको कलिलो अनुहारमा जमेर बसेको आत्मविश्वास देखेर पहिलोपटक झस्केँ । मेरो विजित मानसिकतामा सानोतिनो भूकम्प गयो । टाउकोमाथि पहिरो खस्तै गरेको अनुभव गरेँ । सम्भावित अनिष्टको सङ्केत उसका आँखामा देखेँ । त्यो अनिष्टले तर्र्सायो । बाघको मुटु लिएर हिँडेको म खरायोसँग डराएँ ।
खरिदारको नियुक्ति लिन लोक सेवाको सिफारिससहित सरासर मेरो कोठामा पसेको उसले पहिलोपटक सोधेको थियो, ‘म आउन सक्छु, सर ?’
उसका स्तरका कोही कर्मचारी मेरो कोठामा छिर्न त के ढोकाबाट च्याउनसमेत सक्तैनथे । त्यस्तो विभागमा उसको साहश देखेर म चकित भएँ । बाटामा हिँड्दा पनि उसका स्तरका कर्मचारी मबाट टाढै बसी झुकेर नमस्ते गर्थे तर उसले नमस्कार गर्दा शिर अलिकता पनि झुकाएन । त्यो नै मेरा लागि अनिष्टको पूर्वसङ्केत थियो । बेलैमा तह लगाउन नियुक्तिसँगै कालिकोटको सरुवा चिठी थमाएँ । त्यसो गर्दा घरपायक पठाइदिन याचना भरिएको अनुहार लिएर आउला भन्ने लागेको थियो तर अनुमानका विपरित ऊ सरुवाचिठी बुझेर ठम्ठम्ती गयो । काठमाडौँको रिक्त दरबन्दीमा लोक सेवाले गरेको सिफारिसका विपरित कालिकोट पुर्याइदिँदा पनि उसले गुनासो लिएर आएन । म चाहन्थेँ तर ऊ फर्केर आएन । उसका ठाउँमा कालिकोटबाट धेरै दिनदेखि सरुवा गर्न नसकेका एकजनालाई सरुवा गरेँ जसले धेरैपटक घरमै मलाई भेटेको थियो ।
ऊ कालिकोटको सरुवापत्र लिएर गएपछि मलाई हजार मनको भारी बिसाएको जस्तो भयो । मेरा वर्चस्वका दिन पुनः निष्कण्टक रूपमा चल्न थाले तर त्यो धेरै दिनसम्म कायम रहन सकेन । ऊ कालिकोट गएको दुई महिना पनि भएको थिएन ।
‘कालिकोटबाट त्याँको हाकिमको फोन छ हजुरलाई’ अचानक पी.ए.ले भने ।
‘हजुरले याँ कस्तो मान्छे पठाइदिनु भा !’ फोन उठाउनासाथ हाकिम गुनासो गर्न थाले ।
‘किन ? के भो’ ?’ पनि भन्न पाएको थिइनँ ।
‘भरखर सरुवा गरेर पठाउनुभ’को त्यो ठिटो हाम्ले भनेको मान्दै मान्दैन । कस्तो अटेरी र जिद्दी छ भने भनिसाध्य छैन हजुर ।’ हाकिम धाराप्रवाह भन्न थाले ।
उसको आँखामा पहिलोपटक हेर्दा जे देखेको थिएँ त्यही भयो । मेरो शङ्का सही ठहरियो । त्यो ठिटोले गरेको बदमासीभन्दा पनि मान्छेको अनुहार हेरेर उसको स्वभावका बारेमा थाहा पाउन सक्ने कला ममा विकसित भएकोमा गौरव लाग्यो ।
‘सम्झाउनू त्यल्लाई । म पछि फोन गरूँला ।’ निश्चिन्त भई भनेँ ।
आफू निश्चिन्त भएको प्रभाव दिन सके पनि उसलाई तह लगाउनु मेरा लागि चुनौती थियो । म ध्यानदृष्टिले जुक्ति खोज्न थालेँ ।
‘त्यो जाबो खरदारका लागि मजस्तो प्रथम श्रेणीको हाकिमले किन व्यर्थमा टाउको दुखाइराख्ने ! जे गर्छ गरोस् । मेरो कुर्सी छिन्न सक्ने होइन ।’ एक मन लाग्यो ।
‘त्यसो भनेर काँ हुन्छ ! चलन भनेको चलन हो । बसाउन जति गाह्रो हुन्छ निरन्तरता दिन त्यति कठिन हुन्छ । एकपटक भत्केपछि ठड्याउन उतिकै मुस्किल हुन्छ । त्यस केटालाई समय छँदै ठेगान लगाइहाल्नुपर्छ । बदमासीको सजाय नदि’ काँ हुन्छ र !’ तुरुन्तै अर्को मनले भन्यो ।
+ + +
‘ऊ ठिक ठाउँमा आयो ?’ केही दिनपछि फोन गरेर हाकिमलाई सोधेँ ।
‘काँ ठिक ठाउँमा आउनु हजुर ! त्यो त यो ग्रहको मान्छे नै हैनजस्तो छ । आजको संसारमा पनि यस्ता मान्छे हुँदार’छन् । कैले सोचेको थि’नँ । क्यै भने कि मलाई सरकारले तलब दे’को छ । तपाईंहरूको चलनसलनको मतलब छैन भन्छ हजुर ।’ हाकिमको जवाफ थियो ।
फोनमा हाकिम रुनमात्र सकिरहेका थिएनन् । नयाँ जुक्ति निकालेर उसलाई फोनमा बोलाउन भनेँ ।
‘नमस्कार सर ।’ आवाज आयो ।
उसको स्वर सुन्नेबित्तिकै मभित्रको विजित मान्छे हरायो ! आँखाले मात्र होइन उसको स्वरले पनि झस्काउँदो रहेछ । त्यस बखतमात्र थाहा पाएँ तैपनि हारेको देखाउनु थिएन । जीवनमा असफलताको मुख नदेखेको मैले ऊसँग पराजीत हुनुपर्ने आवश्यकता थिएन । कस्ताकस्तालाई ठेगान लगाएँ भने ऊ जाबो महŒव दिइराख्नुपर्ने विषय नै थिएन तर पनि ऊसँगको मेरो व्यवहार ऊजस्तै अरूसँगकोभन्दा फरक भइरहेको थियो ।
‘किन ?’ थाहा भएन । डाँकोले निलेर मैले बोलेपछि ऊजस्ताले फोन समातेको समात्यै तुरुक्क …. फेरेर रिसिभर छाडी भाग्थे अरे । त्यसरी मेरो हप्काइ भेटेकाहरू मेरो छेउ पर्ने त के आवाज सुनेरै लाखापाखा लाग्थे । मेरो प्रभुत्व निष्कण्टक थियो । कसैले रोकावट खडा गर्ने साहस गर्दैनथे ।
‘नमस्कार सर ।’ फोनमा धेरै बेर नबोलेपछि उताबाट उसको आवाज आयो ।
रिसिभर समातेको समातेकै हराएछु । उसको आवाजले यथार्थमा ओर्लें ।
‘नमस्कार–नमस्कार । के छ हालखबर ?’ सोधेँ ।
‘ठिक छ सर ।’ उसको जवाफ थियो ।
‘ल राम्रोसँग काम गर्नू । जनतालाई दुःख दिने होइन नि । जनता भनेका हाम्रा अन्नदाता र भगवान् दुवै हुन् । क्यै दिए भने पनि नलिनू ।’ अनायासै मेरो मुखबाट फुस्कियो ।
‘यो के भइरहेछ ! म उसलाई एक थोक भन्न चाहन्छु मुखबाट अर्कै थोक फुस्किहाल्छ । उसका अगाडि आफूलाई जति बलियो र कठोर देखाउन खोज्छु त्यति नै कमजोर प्रमाणित हुन्छु । मजस्तो जित्ने बानी परेका मान्छेलाई यो के भइरहेछ । अन्योलमा छु ।’ उसलाई आदेश दिइसकेपछि झल्याँस्स भएँ ।
रिसिभर राखिदिएँ । उसको छायासम्म नसम्झने भनी विभागको काममा लागेँ जहाँ कुनै अवरोध थिएन । मेरो प्रगति बगिरहेको खोलाको गतिमा गतिमान थियो ।
‘हजुरले त्यल्लाई के भनिदिनुभो’ ? याँ टिकिखानै दे’न । पैला त आफूमात्र लिँदैनथ्यो । हजुरले फोन गरे’छि हाम्लाई’नि खान दिँदैन । बाँच्नै गारो भइस’को हजुर । त्याँ कसरी पुर्याउँने ? क्यै भन्यो कि मलाई डी.जी. साबले भन्नुभा’छ भन्छ ।’ एक दिन अचानक उनै कालिकोटे हाकिमको फोन आयो ।
+ + +
‘त्यसो भए अनुशासनहीनमा कार्वाइ चलाउन लेखी पठाउनू । म ठिक पार्छु ।’ उसको नाम सुनेर चलनबाट चिप्लिनु थिएन । आफूलाई कठोर बनाएर आदेश दिएँ ।
हाकिमले त्यसै गरे । भन्नेबित्तिकै जिल्ला प्रशासन कार्यालयबाट ºयाक्स गरेर उसका विरुद्धका गोप्य चिठी पठाए । कारबाही गर्ने बहाना खोजेँ । दुर्गममा सरुवा गरी पठाऊँ भने कालिकोटभन्दा अर्को दुर्गम ठाउँ थिएन । अनुशासनहीन भएकै कारण देखाई अवकाश दिन लोक सेवाले स्वीकृत दिँदैन । जबरजस्ती अवकाश दिऊँ भने अदालतले मुद्दा जिताउँछ । कस्ताकस्ता काण्ड गर्नेले त जिते भने उसको दोष भनेको केवल परम्परादेखि बसिआएको चलन तोड्नु थियो जसलाई मैले कलात्मकतापूर्वक निरन्तरता दिएको थिएँ ।
यतिमात्र होइन, म विभागीय प्रमुख छँदै अदालतबाट मुद्दा जितेर आई मेरै टेबलमा फैसला पछारिदिए के गर्ने ? उसलाई पराजीत गर्न खोज्दा आफै पराजीत हुने सम्भावना प्रबल थियो । कति पुरानै सूत्रलाई प्रयोग गरिरहने ? नयाँ जुक्ति सोचेँ । कहिलेकाहीँ नयाँनयाँ प्रयोग हुनुपर्छ । आखिर जमाना शासनभन्दा उत्प्रेरणाको हो । यसलाई नवीन व्यवस्थापनको सफलताको रामवाण पनि मानिन्छ ।
‘चितवनका हरियाहरिया कटकटाउँदा गैँडाको दर्शन गरेपछि महादेवको त तीन नेत्र बल्छ भने ऊ जाबो कुन खेतको मुला हो र ! कतै झिक्राझाक्री बटुल्नुपर्यो भनी विद्रोह गरेको हो कि ? दुईओटै हातले सोहोर्दा नभ्याउने ठाउँमा पठाइदियो भने सुधृहाल्छ कि ?’ यही सोचेर ‘ङ’ श्रेणीको दुर्गममा उसको सरुवा गरिदिएँ ।
उसको सरुवा चिठीमा सही गरेपछि अनौठो आनन्द भयो । बाटो छेकेर बसेको ठूलो ढुङ्गो तह लागेको अनुभव भयो तर त्यो पनि धेरै दिन कायम रहेन । त्यहाँ पनि उपद्रो मच्चाउन थालिहालेछ । अफिसमा हाजिर भएको दिनबाटै रङ देखाउन थालिहालेछ ।
‘अफिस स्याप्पै सुकाइदिन आँट्यो हजुर । हाम्रो केही सीप लागेन । गुन्डा लगाउँदा पनि डराउँदैन । उल्टै जाइलाग्छ । गुन्डा पनि अचम्ममा छन् । यस्तो मान्छे त जिन्दगीमा कहिल्यै देखेको थि’नँ भन्छन् !’ हाकिमले आँत्तिएर फोन गरे ।
सम्पूर्ण विभाग एकछत्र पार्न सक्ने मेरा लागि ऊ टोक्नु न बोक्नुभयो ।
‘म आफै आउँदै छु केही दिनपछि । त्यतिन्जेल जगेडामा राख्नू ।’ केही सीप नलागेपछि भनेँ । फोन राखेँ ।
जिल्लाभ्रमणमा जानुअघि आफ्नो अनुपस्थितिमा निमित्त विभागीय प्रमुखको जिम्मेवारी आफैले हराएका प्रतिद्वन्द्वीलाई दिनुपर्ने भयो । त्यो चाहँदिनथेँ । उनलाई तह लगाउने जुक्ति सोचेँ ।
‘जहाँ इच्छा त्यहाँ उपाय ।’ ठिक त्यहीबेला छोटो अवधिको विदेश तालिम आयो । सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने गरी खरदार स्तरका कर्मचारीका लागि आएको तालिममा उनैलाई पठाएँ । त्यसबाट जेष्ठताको तेस्रो नम्बरमा रहेका आफ्ना हनुमानलाई निमित्त विभागीय प्रमुखको जिम्मेवारी दिन बाटो खुल्यो ।
म निस्केँ जिल्लाभ्रमणमा । पहिलो गाँसमै ढुङ्गा नपरोस् भनी सुरुमा वरपरका जिल्ला पुगेँ । त्यहाँ मेरो राम्रो पकड थियो । राम्रो खातिरदारी भयो । जुँगा हल्लिनेबित्तिकै कुरो बुझ्नेहरू थिए त्यहाँ । मुख फोरेर क्यै भन्नु पर्दैनथ्यो । अनुहारको रङ हेरेर आवश्यकता पहिल्याउन सिपालु थिए तिनीहरू । ती त्यस्ता क्षमतामा गौरवबोध गर्थे । मेरा लागि फाइदाकै विषय थियो । नियमित आय छँदै थियो । अतिरिक्त बोनस फाइदासमेत भयो । त्यो के भने वरपरका जिल्लाबाट ऊ भएको जिल्लासम्म मेरा प्रतापका खबर निरन्तर पुग्थे । ऊ गल्दै गएको होला भन्ने मेरो अनुमान थियो । बेकार रहेछ । म पुग्दा उसको अनुहारको ओज कम थिएन । मलाई पचेन । दुईचार दिन बसेर तह लगाउने विचार गरेँ ।
मेरा नयाँ प्रविधि एकपछि अर्को असफल हुँदै थियो । यसैले पुरानै प्रविधि दोहोर्याउने निधो गरेँ ।
‘यत्रो जिल्लाको अफिस फोहोर राख्ने हो । सफा गर्न पर्दैन । के गर्छन् यहाँका पिउनहरू ? खोइ हाकिम ? यही हो तपाईंको चाला ? आफ्ना कर्मचारीलाई ठिक ठाउँमा राख्न सक्नुहुन्न ? जनताको काम नगरेर किन तपाईंहरू यहाँ ? के फुटबल खेल्न जम्मा हुनुभएको हो ?’ कार्यालय पुग्नुभन्दा अगाडि मेरा स्वागतमा दुई पङ्क्तिमा उभिएका हाकिमलगायतका कर्मचारीको सातो खाने गरी डुक्रिएँ ।
त्यसो भनिरहँदा आफू बसेकै विभागलाई सम्झेँ जहाँ फोहोर र अव्यवस्थाको डङ्गुर थियो तर पनि सङ्लो पानी धमिलो पार्ने सोचेँ । अब यो भनिरहन परोइन कि धमिलो पानीमा माछा मार्ने सोच थियो । आफ्नो आङको जुम्राभन्दा अरूका आङको भैँसी देखाउँदा फाइदा थियो ।
‘बल्ल तह लाग्ने भए यहाँका गतिछाडा कर्मचारी । दुःख दे’र हैरान पारेका थे । हाकिम हुनु त यस्तो पो जनताका पिरमर्का बुझ्ने ।’ मेरो डुक्राइ सुन्ने जनता भन्न थालेका थिए ।
तिनीहरू उत्साहित हुँदै गुनासाका ज्वाला ओकल्न थाले तर तिनलाई थाहा भएन, निकट भविष्यमा ती महाबेबकुफ बन्नेवाला छन् । मेरो यो मूल मन्त्रलाई तिनले बुझेनन् । तिनका गुनासामा मैले आफ्नो फाइदा देखेँ । गुनासामा नाम आएका कर्मचारीलाई बोलाउँदै जनताकै अगाडि झपार्नुसम्म झपारेँ । कर्मचारी लगलग कामे । जनताका अगाडि कारबाही गर्ने आश्वासन दिएँ । आश्वासनका पोका बोकेर ती लाखापाखा लागे । लगलग कामेका कर्मचारीबाट बर्सिन थाले । मलाई फाइदा भयो ।
आनन्द लाग्यो बेलामा बुद्धि पुर्याउन सकेकोमा । बालुवाबाट तेल निकाल्ने कलाको कलाकारलाई जनताले चिन्दै चिनेनन् । चोखो बचेँ । एकातिर जनताका नजरमा जनपक्षीय हाकिम र कर्मचारीका नजरमा आपत्का बेला बचाउने उद्धारकर्ता भएँ । जनताका अगाडि कर्मचारीलाई नझपारेको भए अचार बनाउँथे । गर्न पनि तिनले क्षम्य गल्ती गरेका थिएनन् । अक्षम्य नै गरेका थिए ।
गुनासामा उसको पनि नाम आउँछ कि भनी ध्यान दिएर सुनेँ तर आएन । जगेडामा राखिएकोले उसबाट कोही परिचित रहेनछन् । एउटा फाइदा भने भयो । त्यो फाइदा थियो, उसलाई देखाएर कसैले अरूको मूल्याङ्कन गर्ने अवसर पाएनन् । त्यसो भएको भए उसलाई तह लगाउने मेरो लक्ष्यमा बाधा पर्थ्यो ।
मलाई थाहा थियो, सकेसम्म खोट देखाउनुपर्छ । जति बढी खोट देखायो त्यति बढी फाइदा हुन्छ । जनताका अगाडि झपारेर खडा गरेको एउटा आतङ्कमा अर्को आतङ्क थपिन्थ्यो । आतङ्कित ती मलाई खुसी पार्नतिर लाग्थे । मेरो फाइदा त्यहीँनिर थियो । एक तीर दुई निसाना साध्ने लक्ष्य थियो । अरू सबै आतङ्कित भइसकेपछि ऊ पनि मलाई देख्नेबित्तिकै कट्टुमा तुरुक्क …. फेरेर त्वं शरण म हुन्छ कि भन्ने लागेको थियो । त्यही सोचेर जनताले गुनासा गरिरहँदा म सकेसम्म कर्मचारीका खोट देखाउँदै थिएँ ।
पहिलो भेटमै डाँकोले निलेर सातो लिएपछि सबैजना मुन्टो निहुराउँदै मेरो पछि लागे तर मेरो अनुमानका विपरित ऊ मुसुमुसु हाँस्तै ठाडो शिर पारेर आफ्नो कुर्सीतिर लाग्यो । एक तीरले दुई निशाना साध्ने र नाङ्लो ठटाएर हात्ती तर्साउने मेरो सूत्र उसका अगाडि पराजीत भयो । हाकिमले अगाडि सारिदिएको कुर्सीमा बसेँ । त्यहाँ पनि हाकिमले नभएर उसले कुर्सी अगाडि सारिदेओस् भन्ने सोचेको थिएँ तर शिष्टाचारवश पनि उसले त्यसो गरेन । म बसेपछि सबैजना परपर बसे । त्यो भीडमा ऊ थिएन ।
‘के यहाँ तमासा भइर’को छ ? खुरुक्क आफ्नो–आफ्नो काम नगरेर … ।’ उसलाई नदेखेपछि मेरो रिसको पारो बढ्यो । वाक्य पूरा भई नसक्दै कोठा रित्तो भयो । म र हाकिमबाहेक अरू भएनन् ।
‘काँ ठिक लाग्नु हजुर । उस्ताको उस्तै छ कस्तो कोकल्याँटे र जब्बर छ भने भनिसाध्य छैन । एक्लो बृहस्पति झुठ्ठा भएर पनि उसको सानमा कुनै कमी आएको छैन ।’ हाकिमले भन्यो ।
दोस्रो अस्त्र फ्याँक्ने निश्चय गरेर उसलाई बोलाई एउटा चिठी लेख्न लगाएँ । भरखर नियुक्ति पाएकोले प्रशासनिक काम सिकिसकेको छैन भन्ने मेरो दृढ निश्चय थियो । त्यसैलाई अस्त्रका रूपमा प्रयोग गर्ने सोचेँ तर मेरो दृढ निश्चयका विपरित उसले मैले भनेजस्तै चिठी लेखेर दियो । लेखाइमा कुनै खोट पाइएला र त्यसैलाई देखाएर उसलाई झपार्नुसम्म झपारूँला भनेर चिठी हेरेँ तर त्रुटि कुनै भेटिनँ । उसको सातो खाने ठाउँ नभेटेपछि बाहिर पठाएँ । उसमाथि आक्रामक बन्ने सोच बनाएँ ।
जगेडामा राखिएको भए पनि सुको नआउने ठाउँमा उसलाई काम लगाउने गरिएको रहेछ । हाकिमको त्यो चतुर्याइँ भने मलाई मन पर्यो । त्यस्तै काममा ऊ कतै जाँदै थियो । त्यो देखी मैलै निशानामा अचूक वाण फ्याकेँ, ‘ससुराली जान हिँडेको ?’
मलाई विश्वास थियो अप्रत्याशित तीरबाट ऊ ठाउँका ठाउँ ठहरै हुन्छ, तिरमिराउँछ र अरूजस्तै विनित हुन्छ । मलाई थाहा थियो, उसको बिहे भएको छैन तैपनि उसको स्वाभिमानमा चोट परोस् भनेरै तीर हानेको थिएँ । मेरो विश्वासका विपरित उसले टक्क अडिएर ठाडो जवाफ दियो, ‘होइन सर, अफिसको काममा हिँडेको ।’
बाङ्गो तीरलाई उसले एक वचनमा सोझ्यायो । घुमाउने कुर्सीलाई फनक्क विपरित दिशातिर फर्काएँ । उसलाई महŒव नदिएको अभिनय गरेँ । उसलाई वास्ता नगरिएको भन्ने जनाउन हाकिमसँग अफिसको भावी कार्ययोजनाका बारेमा छलफल गर्न थालेँ । मलाई थाहा थियो मैले आफैलाई ढाँटिरहेको थिएँ । हाकिमसँग अफिसको भावी कार्ययोजनाका बारेमा गरिएको छलफल वास्तवमा उसलाई देखाउनका लागि मात्र थियो । वास्तविकता के थियो भने भत्किन लागेको चलनलाई कसरी बाटोमा ल्याउने र आफ्नो आयलाई घट्न नदिने भन्ने बारेमा सोचिरहेको थिएँ । बाबुबाजेका पालादेखि चलिआएको चलन बिगार्न खोज्ने उसलाई कसरी तह लगाउन सकिन्छ र निरन्तरता दिन सकिन्छ भन्ने बारेमा सोचिरहेको थिएँ । आफूलाई बाहिरबाट जस्तो देखाउन खोजिरहेको थिएँ त्यस्तो थिइनँ । ऊ मेरो बेवास्ताका अतिरिक्त नमस्कार गरेर बाटो लाग्यो ।
मेरा एकपछि अर्को अस्त्र परास्त हुँदै गए । अन्ततः उसको घरको अवस्था बुझ्न लगाएँ । कतै हुनेखानेको छोरा भएकाले त्यस्तो गरेको हो कि ? होइन रहेछ । घरको अवस्था कमजोर रहेछ । बाबुआमा, दाजुभाइ कोही उसको व्यवहारसँग सहमत रहेनछन् । तिनीहरू उसलाई सम्झाउँदासम्झाउँदा थाकिसकेका रहेछन् । उसका बारेमा बुझ्न पठाएकै मान्छेसँग एक मुखले गुहार मागेछन्, ‘लौ न त्यल्लाई सुधारिदिनुपर्यो । हाम्रो याँ बेहाल छ । त्यल्लाई भने चिन्तै छैन । हाम्ले क्यै भन्यो भने ‘जनता मारेर तपाईंहरूलाई पाल्नु छैन’ भनेर उल्टै जवाफ फर्काउँछ । हामी त यो केटो बिग्रेको देखेर दिक्क भइसक्यौँ । कत्ति सम्झाउँदा ‘नि बुद्धि पलाउँदैन । क्यै गर्दा नभएपछि मागेर पो नलिनु दिएको लिए के हुन्छ ! भन्यो मान्दैन ।’
मान्छे कि पढेर चेत्छ कि परेर चेत्छ । पारेरै चेताउने जुक्ति निकालेँ । उसले थाहा नपाउने गरी ऊविरुद्धका प्रमाण जुटाउन लगाएँ । सबै ठीकठाक भएपछि सहमतिका लागि लोक सेवा पठाएँ तर आरोपीलाई आफ्नाविरुद्धमा लागेको अभियोगमा सफाइ पेश गर्ने मनासिबमाफिकको मौका नदिएको भनेर फाइल फिर्ता भयो । प्रभावमा लिएका मान्छेहरू मेरा हातबाट चिप्लिन थालेको अनुभूति भयो तैपनि हार मानिनँ । उसलाई छ–छ महिनामा सरुवा चिठी थमाउन थालेँ तर ऊ गल्नुको साटो झन्झन् दृढ बन्दै गयो । केही सीप लागेन अनि मभन्दा खली खाएका विभागीय प्रमुखको मातहतमा सरुवा गरिदिएँ । त्यसदिन लामो सास तानेँ । ऊजस्ताका बारेमा सपनामा पनि सोच्नु नपरोस् भनेँ ।
सरुवा गरेर पठाएको विभागमा उसलाई सोझ्याउने उपायहरू अपनाइँदै छ भन्ने सुन्दा मलाई सन्तोष लाग्थ्यो । किनभनेसँगै सरुवा भएर जाने गोप्य फाइलमा उसलाई लगाउन सकिनेजति अभियोग लगाएर पठाएको थिएँ । त्यतिले चित्त नबुझी उसका विरुद्धमा नयाँ विभागीय प्रमुखको कान भर्नसम्म भरेको थिएँ । लिखितमभन्दा बकितम प्रभावकारी हुन्छ त्यसैले ।
‘क्यै छैन ! कस्ताकस्ता बाङ्गालाई सोझ्याइयो । यो फुच्चे के हो र !’ विभागीय प्रमुखले ढाडस दिएका थिए ।
‘यो अरूजस्तो बाङ्गो होइन । अरू बाङ्गोलाई सोझ्याउन सकिन्छ । यो बाङ्गोको पनि बाङ्गो हो । योसँग बेलैदेखि होस पुर्याएर बेबहार गर्नुहोला ।’ भनेँ ।
‘ए ! हो र ?’ उसका कर्तुतका बेलिविस्तार लगाएपछि नयाँ विभागीय प्रमुख पनि एकपटक झस्केका थिए ।
‘चिन्ता नलिनुस् । म हेरूँला ।’ उनले आफूलाई कमजोर देखाउन चाहेनन् ।
नयाँ विभागमा उसको अस्मितामाथि पटकपटक प्रहार भई छियाछिया भएपछि पक्कै कुनै दिन आत्महत्या गर्छ भन्ने मेरो विश्वास थियो । त्यसकारण समाचारपत्रमा ‘आत्महत्या’को शीर्षक देख्नेबित्तिकै हतारहतार आँखा नझिम्क्याई पढ्थेँ । पढ्दै जाँदा उसको नाम भेटिहालिन्छ कि भनी सास रोकेर पढ्थेँ । पढ्दा छाती ढक्क फुलेको हुन्थ्यो । मुटु जोडजोडले धडकिरहेको हुन्थ्यो । समाचारमा उसको नाम भेटिहालियोस् भनी कहिलेकाहीँ देवीदेउता सम्झिन्थेँ तर मेरो चाहनाका विपरित आत्महत्या गर्नेको पङ्क्तिमा उसको नाम कहिल्यै पढ्न पाइनँ । त्यो मेरा लागि ठूलो दूर्भाग्य थियो ।
देशको परिदृश्यमा परिवर्तन सल्बलाउन लाग्दा मेरो हैकम र आतङ्कले डाँडा टेकिसकेको थियो । मेरा अगाडि कोही ठाडो सिर पारेर बोल्न त के अगाडि पर्न पनि सक्तैनथे । सक्नेको शरण पर्ने र नसक्नेलाई कज्याउने नीतिले शतप्रतिशत सफलता प्राप्त गरेको थियो । मलाई विश्वास थियो, पूर्व कृत्यका कारण मेराविरुद्धमा कम्तीमा बाँकी दस वर्ष कसैले टाउको उठाउन सक्तैनन् । मैले चलाएको एकछत्र चलनमा कसैले भाँजो हाल्न सक्तैनन् । कल्पनासम्म पनि गर्न सक्तैनन् । त्यसैले मैले आफ्नो क्रूरतामा कमी ल्याउनेभन्दा झन्झन् वृद्धि गरेँ ।
त्यही एउटा भूल गरेँ । परिवर्तनका सङ्केत देखिइसकेपछि आफूलाई सच्याउनुपर्थ्यो । सकिनँ । परिणामस्वरूप जजसलाई कज्याएर राखेको थिएँ र जो आफूलाई हनुमान प्रमाणित गर्नमा गौरव गर्थे तिनै मेरो विरोधी भए । छेपाराको रङ बदल्ने कलालाई आत्मसात् गर्न नखोजेको होइन तर ढिला भइसकेछ । परिवर्तित परिस्थितिले विभागीय प्रमुखको कुर्सीमात्र खोसेन, मलाई जागिरबाटै अवकाश दियो । देशमा केही समय यस्तो आयो कि मजस्ताले आफ्ना पूर्व कृत्यका कारण सडकमा निस्किन पनि मुस्किल भयो । विपरित परिस्थितिमा अर्जुनजस्ता धनुर्धारीले त गुप्तवास बस्नुपरेको थियो भने म के गर्न सक्थेँ र ! केही समय देशको परिदृश्यबाट आफूलाई अलग राखेँ ।
तर परिदृश्य परिवर्तन भएर मात्र नहुँदो रहेछ । मानसिकता परिवर्तन हुनुपर्ने रहेछ । देशको परिदृश्यमा परिवर्तन भए पनि देशवासीको मानसिकतामा परिवर्तन हुन नसक्ता कुना पसेको युगौँको संस्कारले पुनः टाउको उठाउन थाल्यो । मजस्तालाई पुनः बाहिर निस्किने सुवर्ण अवसर प्राप्त भयो । अवसरको उपयोग गरेँ । आफूलाई चोख्याएँ । त्यो छुट मलाई समय परिवर्तन भएर पनि परिवर्तन हुन नसकेको राष्ट्रिय मानसिकताले दियो । फलतः मैले आफूलाई समयानुकूल पार्न सकेकैले बाँकी सफलताका शिखरहरू चढ्दै गएँ । फरक यति थियो कि पहिला प्रशासकीय रूपमा सफलता पाएँ भनेपछि प्राज्ञिक रूपमा ।
परिवर्तन हुन नसकेका जडसंस्कारले सफलता पाउन मलाई सघायो । अनुहार परिवर्तन भएर मात्र नहुँदो रहेछ । जबसम्म संस्कारमा परिवर्तन हुँदैन तबसम्म परिवर्तन केवल नाममात्रको हुने रहेछ । नयाँ बोतलमा पुरानै रक्सीजस्तो हुने रहेछ । यो तथ्य जब सार्वजनिक भयो अनि केही समयका लागि थाती राख्न बाध्य पुराना सूत्र काम लागे । तिनै सूत्रका भरमा सफलताको सिँढी पुनः चढ्दै जान सकेँ । सफलताका ती दिनमा पनि म उसका बारेमा खोजखबर गर्थें ।
कहिले उसले थुप्रै अवरोधका अतिरिक्त पढ्न थालेको छ अरे भन्ने सुन्थेँ । कहिले पढ्नमा राम्रो छ रे भन्ने सुन्थेँ । उसलाई पढ्न नदिने प्रयास हुँदै छन् भन्ने पनि सुन्थेँ । जाँचमा लेख्न बसेको उसको कलम छिनेर भाँच्नमात्र बाँकी छ भन्थे । गर्नु जति गरिसकियो भन्थे । त्यो सुनेर मेरो अन्तरआत्मामा शान्तिको आभास हुन्थ्यो । मेरो जलिरहेको छाती ठन्डा हुन्थ्यो ।
मानसिकता र संस्कारमा परिवर्तन नहुँदासम्म परिवेश परिवर्तन भएर मात्र ऊजस्तालाई परिवर्तित परिदृश्यले स्वीकार्दो रहेनछ । आज पनि हिजोकै मानिस थिए जो पैत्रिक संस्कार परिवर्तनका लागि क्रियाशील थिएनन् । त्यसैले उसले आज पनि पाउनुसम्म दुःख पाइरहेको छ भन्ने सुन्दा पक्कै ऊजस्ताले कुनै दिन आत्महत्या गर्न बाध्य हुनुपर्छ र हामी जस्ताको संस्कारले निरन्तरता पाउँछ भन्नेमा आशावादी थिएँ । मेरो आशाका विपरित पढिसिध्याएर खुला प्रतिस्पर्धाबाट उसले अधिकृत पास गरेर द्वितीय श्रेणीसम्म पुगिसकेको रहेछ ।
मैले सुधार्ने चेष्टा गरेर पनि सुधार्न नसकेको त्यही द्वितीय श्रेणीसम्म पुगिसकेको अधिकृत अर्थात् उससँग आज भेट भयो । भेटका बखत मेरो अपराजीत व्यक्तित्वले ऊसँग चार आँखा गर्न सकेन । त्यहाँ उसको आँखामा तीस वर्षअगाडिको चमक यथावत् थियो । त्यो चमक देखेर मैले अनुमान लगाएँ, ऊ गलेको रहेनछ र परिस्थितिसँग सम्झौता पनि गरेको रहेनछ । उसका अगाडि मेरो सफल व्यक्तित्व खुम्चियो ।
‘नमस्कार सर ।’ उसको उही तीस वर्षअगाडिको शालिन ध्वनि पुनः गुन्जियो । नमस्कार फर्काउनुको सट्टा मेरो दाहिने हात ऊतिर बढ्यो । अगाडि बढेको मेरो हातलाई च्याप्प समातेर उसले मलाई गल्नबाट बचायो ।
(स्रोत : Nepalipost.com )