सहर पसेको छोरा लामो समयसम्म पनि नफर्केकाले बूढाबूढी दुबै आफ्ना छोरा खोज्न सहरतर्फलागे । व्यस्त सहरमा मान्छेहरूको भीड र बाक्ला घरहरूमाझ उनीहरूले छोरा भेट्टाउन सकेनन् । भेट्टाउन् पनि कसरी स्वार्थी, अपरिचित र मतलवी सहरमा – एक्कासी सडकमा गुडिरहेको एउटा कारभित्र बूढी आमैले आफ्नो छोरा देखिन् र अनायासै दौड्दै चिच्याइन्, “बाबु अलौकिक बेगमा उनी कारअगाडि पुग्नु, कार नरोकिनु र एउटा अकल्पनीय दूर्घटना हुनु । संयोग थियो वा वियोग ।
रगतले लतपतिएको पत्नी र कारको झ्यालबाट चियाइरहेका छोरालाई देखेर बूढा बा छक्क परे ।
“ए आँखा छैन कि कसो ! वन वे मा जथाभावी बाटो काट्न… असभ्य पाखे …।” छोरा बाबुलाई नचिनेझैँ कथित सहरिया भाषामा दुर्वाच्य वान्ता गरिरहेको थियो । बूढाका आँखाहरू रसाएर यति मात्र भने, “हो बाबु गल्ती यसैको थियो । यो बूढी अन्धी थिई ।”
(स्रोत : NepaliLaghukatha.com )