‘समय पनि कतै नेपाली र अङ्ग्रेजी हुन्छ ?’ तपाईंले सोध्नुहोला । म भन्छु, ‘हुन्छ, खसोखास हुन्छ । नहुने कुरै छैन । सोह्रै आना हुन्छ । शतप्रतिशत हुन्छ । अरू कुरोमा मिसावट हुने भए पनि यसमा भने एक आनाको पनि मिसावट छैन । एक प्रतिशत पनि अशुद्ध छैन । शतप्रतिशत विशुद्ध छ …’ मैले सम्पूर्ण उत्तर दिइनसक्दै बीचैमा प्वाक्क सोधिहाल्नुहुन्छ होला, ‘कसरी ?’ म पनि ट्वाक्क उत्तर दिइहाल्छु, ‘यसरी …।’
उहिले-उहिले कसैको कुनै कार्यक्रमको निम्तो आयो कि सात दिनअघिबाट तिथिमितिमात्र होइन, कार्यक्रमको समयले ठुङ मार्न थालिहाल्थ्यो । कार्यक्रमको मिति कहिले आउला ? भनेर दिन गनेर औँला भाँच्दाभाँच्दै कार्यक्रमको मिति कण्ठै भइसक्थ्यो । त्यसपछि कार्यक्रम छुट्ला भन्ने चिन्ताको ‘च’ पनि हुँदैनथ्यो । अनि त कहाँ जालास् मछली मेरै ढडिया भन्दै मक्ख पर्दै छाती फुलाएर गम्केर हिँड्दै बम्किन कसको तागतले भ्याउने ? अगाडि परेका जति पछाडि फर्किंदै नफर्की पुच्छर लुकाएर नौ दुइ एघार भइहाल्थे । कसैलाई नाम काढेरै बोलाउँदा पनि चुनदाम गन्दैनथे, गएपछि गए-गए । कसको तागत जोरी खोज्ने ? अँ त कार्यक्रमको मितिजति कण्ठ भइसकेपछि दोस्रो काम हुन्थ्यो कार्यक्रमस्थलका बारेमा जानकारी पाउने । यो पनि फत्ते भएपछि सत्तेसत्ते भन्छु अन्तिम काम हुन्थ्यो समय कण्ठ पार्ने । यी सबै किनभने कुनै कार्यक्रम हुँदै छ भन्ने थाहा पाएपछि उपस्थित भएर सहभागी नभएसम्म चित्तै बुझ्दैनथ्यो । सहभागी भएपछि के-के न उपलब्धि हात पारिन्छ जस्तो हुन्थ्यो । यसैले कार्यक्रमको सूचना पाएपछि कहिले त्यस्तो महत्त्वपूर्ण अवसर आइपुग्ला भन्ने चौचौ भइरहन्थ्यो ।
कार्यक्रमको दिन आएपछि भने समय कहिले आइपुग्ला भनेर बिहान उठेदेखिको सपना जपना त्यही हुन्थ्यो । अरू बेला फटाफट म्याराथुन दौडिने समय आफूले चाहेको बेला भने अल्छी गरे जस्तो लाग्ने । जति पर्खिंदा पनि समय नफर्किने, निष्ठुरी बनेर कस्तूरी खोज्न कताकता भौँतारिए जस्तो । तैतै जसोतसो समय आउन लाग्दा घर्केला कि भनी त्राहीत्राही भइरहने । यसैले सम्भव भएसम्म नियत समयभन्दा केही अगाडि नै पुग्यो, होइन भने पनि भनेको समयभन्दा सेकेन्ड ढिलो नगरी पुग्यो । यसरी समयमा पुग्दा न्यानो-न्यानो स्वागत पाइएला भनेको त चिसो स्वागत पनि नहुने । चिसो स्वागत गर्न पनि त कोही न कोही हुनुपर्यो नि । चरो, मुसो, भ्यागुतो कोही नहुने, आयोजकको त के कुरो भयो र ! बेलामा पुगेर बुद्धि पुर्याइयो भनेको त कहाँ हुनु ! बुद्धु पो भइयो । समयमा पुगेर संसारै जित्न खोज्दा कहिले नभएको बेबकुफ हुनुपर्ला भन्ने अन्सारै गरिएको रहेनछ । अक्षम्य अपराध पो भयो । जसोतसो समय काट्नै पर्यो आयोजकलाई पर्खेर होस् अथवा भित्रभित्रै झर्केर ।
त्यही मेसोमा आधा घण्टा ढिलो आयोजकमध्येका एकजना भुँडी हल्लाउँदै-हल्लाउँदै जुँगामा ताउ लाउँदै-लाउँदै ९० डिग्रीको कोणमा ढल्किँदै-ढल्किँदै आइपुगे मानौँ उनी कुनै अजेय युद्ध जितेर भरखरै आइपुगेका हुन् । कसको तागत उनीसँग सोध्ने कि, ‘कार्यक्रम किन समयमा सुरु नभएको होला ?’ भनेर । सोधेको भए जिउँदै परमधाम पुर्याइदेलान् जस्ता थिए । ढिलो आएकोमा कतै माफी माग्लान् र पश्चताप गर्लान् भन्ने त चिताउँदै नचिताए हुने । कार्यक्रममा सहभागी हुन आएका हामीलाई बाल गनेनन् । त्यो देखी कन्पारो तात्तिए पनि बढेको तापक्रमको पराक्रमलाई रिस खाए आफू बुद्धि खाए अरू भन्ने ठानी मसिनो स्वरमा सोधियो, ‘हजुर, कार्यक्रम कति बेला सुरु हुन्छ होला ?’ उनी पनि कहाँ कम परे र हाजिरजवाफ दिइहाले, ‘अब भइहाल्छ । केको हतार । बिस्तारै गरुँला नि आफ्नै कार्यक्रम त हो ।’ उनको उत्तरमा जवाफभन्दा रवाफ नै बढी थियो । यसैले सोधिहालियो, ‘होइन, समयमा आएर गल्ती पो गरियो कि क्या हो ?’ उनले तोलाको बोलीलाई खोलामा पारिहाले, ‘समयमा आउनु भनेर कस्ले भनेको थियो र ! नेपाली समय भन्ने था’ छैन ? त्यति पनि था’ नपाउने के आजको मान्छे ! त्यस्ताले त जानु नि वृद्धाश्रमतिर रामनाम जप्न ।’
बन्द रहेको आँखा त त्यस दिन पो खुल्यो । अनि बल्ल थाहा भयो नेपाली समय लागू भइसकेको रहेछ । त्यति सामान्य कुरो पनि बेलामा थाहा नपाउने भनेर आफैलाई धिक्कार्नसम्म धिक्कारियो । त्यही बेलादेखि थाहा भएको हो, समय पनि नेपाली र अङ्ग्रेजी हुँदो रहेछ भनेर । त्यस दिन बल्लबल्ल एक घण्टा ढिलो कार्यक्रम सुरु भयो । सुरुमै उद्घोषकले क्षमा मागे तर यस्तरी कि जस्तो उनी केवल औपचारिकता निर्वाह गरिरहेका छन् र पुनः अर्कोपटक त्यही प्रक्रिया दोहोर्याउनुमा कुनै पश्चताप हुने छैन ।
तपाईंहरूको महत्वपूर्ण जानकारीका लागि यहाँ यो भनिदिऊँ कि उनै महासय लेखाइमा भने समयमा कार्यक्रम सुरु हुनुपर्ने मान्यताका कट्टर समर्थक हुन् र ढिलो सुरु भएको कार्यक्रमलाई पनि एक सेकेन्ड ढिलो नगरी सुरु भएको भनी लेख्न हिचकिचाउँदैनन् हाकाहाकी लेख्छन् । उनै महासय समय पालनका बारेमा लामोलामो र सारगर्भित लेख लेख्न पनि नाम कहलिएका हुन् । त्यही कारण कतिपटक पुरस्कृत र सम्मानित पनि भइसके । पुरस्कृत र सम्मानित पनि यति कि पुरस्कार र सम्मान राख्ने ठाउँको अभावमा भाडामा छुट्टै घर नै लिनुपर्ने बाध्यता आइपर्यो । उनैले अचेल पनि कार्यक्रमको सुरुमै क्षमा माग्न छाडेका छैनन् र समय पालनका बारेमा लेख लेख्न पनि छाडेका छैनन् अनि सम्मानित र पुरस्कृत हुन पनि छाडेका छैनन् । सुनिन्छ अचेल यही वापत उनी अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गर्ने दाउमा लागेका छन् अरे यसैको प्रयासमा दौडधुपमा छन् अरे । जेहोस् यस्तैयस्ता कार्यक्रममा बानी परेर होला, अचेल जहाँ जाँदा पनि एक घण्टा ढिलो पुग्दा गल्ती हुने गरेको छैन र अपराध पनि हुने गरेको छैन बेबकुफ हुने कुरो त टाढाको विषय भयो । बरु उल्टै पुरस्कृत र सम्मानित पो हुन थालिएको छ त । तर …
तर एकपटक एकजना विदेशीले एउटा कार्यक्रमको निम्तो गरे । मैले यसो लेखिरहँदा तपाईंले पक्कै संझिनुभयो होला, ‘यो लिखुरे यहाँ भने पक्कै जिल्लियो खुच्चिङ ।’ कुरो त्यसो होइन । कुरो के भने कार्यक्रम आयोजकमध्येका एक जना मूल ढोकामै बसेर आगन्तुकहरूलाई स्वागत गर्दै थिए । म पनि मक्ख पर्दै अगाडि बढेको त उनी हात मिलाउँदै क्षमा पो माग्न थाले, ‘माफ गर्नुहोला, हामीले तपाईंहरूलाई पर्खिन सकेनौँ । कार्यक्रम त समाप्त भइसक्यो ।’ यसरी माफी मगाउने अग्रपङ्क्तिको नेतृत्वमा अरू कोही नभई म नै थिएँ ।
काठमाडौं, २ फेब्रुवरी
(स्रोत : Nepalipost.com )