हैन, कुन साइतमा परेछ सतीको सराप पनि ¹ अनन्त काल बितिसक्यो तर त्यो सरापबाट हामीले कहिल्यै मुक्ति पाउन सकेनौँ । मुक्तिको कुनै सम्भावना पनि देखिएन । उहिले उहिले त जसले सराप दियो, उसैले सरापबाट छुट्कारा पाउने उपाय पनि दिन्थ्यो । यी सतीले भने त्यो उपाय पनि दिइनन् । सत्य धरोधर्म यो सतीको सराप त साह्रै मापाको पो रहेछ । सरापले ढुङ्गा बनेका मनुवा कसैले टेकिदिनासाथ फेरि मान्छेमै अवतरित भएका, सरापले रुख बनेका, मनुवा कसैले छोइदिनासाथ पुनः मानव चोलामै रुपान्तरित भएका जीवन्त वर्णनहरू हाम्रा धर्मग्रन्थमा पढ्न पाइन्छ । तर सतीको सरापको कुरा बेग्लै छ । टेकिदिँदा छेकिदिँदा वा छोइदिँदा फोइदिँदा केही गरे पनि सतीको सरापले छोड्दैन, अहरौँ बराबर छोडेको छैन । यति जब्बर जरा हालेर बसेको छ कि न त काटकुट पारेर दाउरा झैँ बाल्न सकिन्छ, न त उखेलेर फाल्न या नालीतिर हाल्न नै सकिन्छ । अब त सतीको सराप हाम्रो अङ्ग–प्रत्यङ्ग, मुटु, फोक्सो, गिदीदेखि लिदीसम्म नशा–नशा, रगतका अणु–अणुसम्म टनाटन यसरी भरिएको छ, हाम्रा यावत् क्रियाकलाप सतीकै सरापले लतपत हुने गरेका छन् । हाम्रा कानले सुन्दा, नाकले सु»घ्दा, आ»खाले देख्दा, दिमागले सोच्दा वा श्वरयन्त्रबाट बोली बाहिर निस्कँदा समेत सतीको सरापले परिपुरित हुने गर्छ ।
सतीको सराप अब हाम्रो अमूल्य सम्पति हो । यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्दछ । हाम्रो उन्नति र प्रगति यही सरापमा सन्निहित छ । हाम्रो विकास, निकास, अग्रगति सबै यसैमा अडेको छ । हामी सतीकै सरापलाई धराप थापेर मित्र राष्ट्रहरूबाट अनुदान र सहयोगको शिकार मारिरहेछौँ । सतीद्वारा श्रापित हामी त्यही शिकारलाई भागशान्ति बिलो बा»ड्छौँ, खान्छौँ र मोटाउँछौँ, हृष्टपुष्ट हुन्छौँ । एयरकण्डिसन पजेरोमा सवारी चलाएर “जनता उठ्नु प¥यो, जाग्नु प¥यो” भन्दै सिर्फ भाषण पिलाउँछौँ । सतीकै सरापको पाहुर पचाएर हामी चुनाव लड्छौँ, जित्छौँ र सत्तासीन हुन्छौँ । सत्ताको सदुपयोग गर्दै सतीकै सरापलाई चरितार्थ पार्छौँ । सरापलाई सत्तासँग गाँस्छौँ, कुर्सी पाएर हाँस्छौँ, बेसकन हसुर्र्छौँ । हसुर्दाहसुर्दा सात पुस्तालाई पुग्ने गरी अघाएपछि शानदारसँग यसरी डकार्छौँ– “हेर्नोस् यो देशको निम्ति मैले कति गरेँ कति, अझै गर्न बाँकी थियो, तर यो देशमा सतीको सराप परेको हुँदा मेरो क्षमता र योगदानको कदरै भएन ।” यस्तै यस्तै डकार हामी समाचार माध्यममा सुन्छौँ, अखवारहरूमा पढ्छौँ ।
सतीको सराप हाम्रो सभ्यता भएको छ । हामी आफ्ना अनेकन काला कर्तुत र बेइमानीहरूलाई छोप्न यसैको शरण परिरहेछौँ । हामी दरिद्र भयौँ किन भने सतीको सराप परेको छ । हामी औषधि र उपचार बिना मर्दैछौँ किन भने सतीको सराप परेको छ । हामीले स्वरोजगार पाएनौँ किन भने सतीले सरापेकी छे । हामीले आत्मनिर्भर हुन कहिल्यै सोचेनौँ किन भने हाम्रो दिमागमा सतीको सराप बसेको छ । हामी फोहर उमार्र्छौँ, सफा गरिदिन अर्कै आउनुपर्छ किन भने सतीको सराप परेको छ । हरेक समस्या र सवालहरूमा यो सराप हाम्रो अघिल्तिर आएर ठिङ्ग उभिन्छ र हाम्रो विवेक र चेतनालाई प्रज्ज्वलित बनाउ»छ । हरेक रोगको अचूक रामवाण बनेर हाम्रा रोमकुपमा छिरेको छ सतीको सराप । अनि त्यही सराप हाम्रो सभ्यताको धरहरा बनेर ठडिएको छ । ब्रम्हलुट मच्याउनेहरूलाई पनि छुट र कङ्गालीहरूलाई पनि पुर्पुरो ठोक्न पुट दिने यही सतीको सराप हो ।
सित्तैमा पाए पाँच पाथी चूक पनि खान तम्सने हाम्रो मौलिक मनोवृत्ति अझै मौलाइरहेको छ । पदीय कुर्सीमा बस्नेहरूको निम्ति राजस्व त्यही सित्तैंमा पाइने चूक हो । बाँधुवा भैँसी फुकेर कोठेबारीको साग लँुड्याएझैं राजस्व लुँड्याएर उग्राउँदा प्राप्त हुने परमआनन्द अवर्णातित छ । यो आनन्दप्रति आहारिस गरेर कसैले औँलो ठड्याउनु हुन्न । किन भने यो सतीले सरापेको देश हो । राजनीतिलाई लुटिखाने भाँडो बनाएर कुनै टट्टनटाट मनुवा करोड मोलिने भव्य महल र अरबौँको बन्दोबस्त भएको नव धनाढ्य बन्यो भने पनि कसैले ऊ स्वार्थी भयो भन्नु हुँदैन । किन भने यो सतीले सरापेको देश हो । शिक्षालाई कमाउखाले व्यापार बिज्नेसमा रूपान्तर गरेर “फिस” ले हरेक छाक माछा तार्ने र जुनी सपार्ने दाउ गरिरहेको देख्दा पनि कसैले चुँक्क गर्नु हुँदैन । किन भने यो सतीले सरापेको देश हो । कमिसन फल्छ भने फोहर, नाली ढल र मलमै पनि जिब्रो जोतिरहेको राष्ट्रसेवकलाई देखेर पनि छड्के नजरले हेर्नु हुँदैन । किन भने यो देशमा सतीको सराप परेको छ । यसरी सतीको सरापमै कतिको फलिफाप निहीत छ । सतीको सरापका बलले कतिको सम्पत्तिमा गल लगाउनुपर्ने भएको छ । सतीको सरापकै आड र ओतमा कतिको व्यापार, विज्नेस, कमिसन, पर्मिसन, व्यक्तिगत उन्नति, समृद्धि र प्रतिष्ठा वृद्धि भइरहेको छ । सतीले सरापेको देश खोक्रो भए पनि मौसम अनुसारका मुठीभर मान्छेको आर्थिक औकातले धोक्रो भरिएको भरियै छ । स्वदेशको मात्र होइन विदेशतिरकै भकारी चुलिएको चुलियै छ । मह काड्नेले हात चाट्छ । हात चाटेको देखेर राल चुहाउनु हुँदैहुन्न । यस्ता कुरामा विरोध जाहेर गरी सतीको पवित्र सरापलाई अवमूल्यन गर्नु पनि हुन्न । यसो गर्ने अधिकार पनि कसैलाई छैन ।
हे महामना सती ¹ तिमीमा कसरी यस्तो सद्बुद्धि पलायो र यो देशको खातिरदारी गर्ने, यी मनुवाहरूलाई फलिफाप हुने पवित्र सराप प्रदान ग¥यौ ? तिम्रो यो सराप नपरेको भए आजसम्म हामी नेपाली सोह्रौं शताब्दीको कालो अँध्यारोतिरै धद्धाइरहने रहेछौंँ । तिम्रो सराप नै हाम्रो सौभाग्य बन्यो, सभ्यता बन्यो । तिम्रो सरापका प्रतापले देश जति खोक्रो भए पनि यही देशका केही नागरिक स्वार्थ, सुविधा सम्पत्ति र सम्मानले बढेबढे धोक्रा भर्न भने सफल भएका छन् । सराप सधैंभरि दिइरहने कुरा होइन । तिमीले एकपटक जो दियौ कालान्तरसम्म हामीले पाइआएका छौं । यसको सम्बद्र्धन र जगेर्ना नगरे हाम्रो भविष्य छैन भन्ने कुरा राम्रोसँग बुझेका छौँ । तिमीप्रति कृतकृत हुँदै र सतीको सरापलाई उचित संरक्षण गर्दै यो पुनित भक्षण कार्यमा हामी प्राणप्रणले लागिरहेछौँ । धन्यधन्य सतीको सराप अनि धन्य छ हाम्रो सौभाग्य ¹
कलङ्की काठमाडौँ
(स्रोत : Chhalphalweekly.com )