हामी त्यो देशका बासी हौं
जहाँ
भ्यागुत्ताहरु सर्पहरु निल्छन् ,
मूसाहरु बिराला चपाउँछन् ।
हो हामी त्यो देशका बासी हौं
जहाँ
न्याउली, कोइली चुपचाप – चुपचाप छन् ,
कागहरु गीत गाउँछन् ,
गधाहरु मादल बजाउँछन ,
अनी सुँगुरहरु नाच्छन् ।
हो हामी त्यो देशका बासी हौं
जहाँ
बाख्राहरु म्रिग लखेट्छन् ,
बांदरहरु सिंहलाई चिथोर्छन् ,
प्वाँख काटिए परेवा, ढुकुर, डाँफे चरीका ,
बाज, चिल, अनी गिद्ध पखेटा फिजाउँछन् ।
हो हामी त्यो देश को बासी हौं
जहाँ
बाछाहरु हलो जोत्छन् ,
भेडाहरु खेती गर्छन् ,
पाठाहरु दाईं गर्छन्
तर
चितुवा बाली भित्र्याउँछन् ।
हो हामी त्यो देश को बासी हौं
जहाँ
हुँडारहरु सिपाहीमा भर्ती हुन्छन् ,
स्यालहरु सिंहाशनमा बस्छन् ,
अनी ब्वँसाहरु देश चलाउँछन् ।
(स्रोत : “गरिमा” – मङ्सिर, २०६९ मा प्रकाशित)