नेपाली साहित्य लेखन परम्परा त्यति लामो छैन र यसको इतिहास लेखन परम्परा त भर्खरको बबुरो छ। साहित्यका चार विधा– कविता, आख्यान, नाटक र निबन्धको इतिहासलाई भिन्नाभिन्नै तरिकाले इतिहास लेख्ने कार्य भएको छ। समग्र साहित्यलाई आधार मानी लेखिएका इतिहासमा पनि एकरूपता छैन। यो लेख नेपाली कविताको आधुनिक कालसँग सम्बद्ध रहेकाले त्यतैतिर ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। यसका लागि नेपाली भाषाको उत्पत्तिका बारेमा पनि चर्चा गर्नु आवश्यक छ।
नेपाली भाषाको उत्पत्तिका बारेमा पनि विवाद नै छ। यो भाषा भारोपेली परिवारको सतम् वर्गको भारतेली शाखाको खस अपभ्रंशबाट विकसित भाषा भएको मत बढी प्रचलित छ। यस भाषाको सर्वप्राचीन अभिलेख (वि.सं. १०३८ को दामुपालको अभिलेख) का सम्बन्धमा पनि विवादै छ। यसो भए तापनि अन्य आधुनिक आर्यभाषासँगै यस भाषाको विकास पनि एघारौं–बाह«ौं शताब्दीतिर भएको हो भन्ने कुरालाई भने स्वीकार गर्नुपर्ने हुन्छ। नेपाली कविता लेखन परम्परा एक्कासि नभई यसमा नेपाली लोकसाहित्य (लोकगीत, लोककविता, लोकगाथा आदि) को प्रभाव परेको छ। हालसम्मको खोजीका आधारमा नेपाली भाषाको पहिलो कविता मानिएको सुवानन्ददासको ‘पृथ्वीनारायण शाह’ (वि.सं. १८२६ तिर) शीर्षकको कवितामा लोकलयको प्रभाव पर्नुबाट यसको पुष्टि हुन्छ। बालकृष्ण पोखरेलले रास्कोटी वंशावलीमा रहेको मलय बम्मको स्तुतिलाई ‘बडे राजा मलय बम्म’ शीर्षक दिई यसलाई नेपालीको प्रथम कविता मानेका छन्। उनले यसको अनुमानित समय वि.सं. १४५७ तिर मानेका छन्। तर यसको प्रामाणिकता सिद्ध हुन बाँकी नै छ।
शुरुदेखि वि.सं. १९४० सम्मको अवधिलाई नेपाली कविताको प्राथमिक काल मानिएको छ। यस पक्षमा विवाद देखिएको छैन। वासुदेव त्रिपाठीले वि.सं. १९४१ देखि वि.सं. १९७४ सम्मको अवधिलाई नेपाली कविताको माध्यमिक काल र वि.सं. १९७५ देखियताको अवधिलाई नेपाली कविताको आधुनिक काल मानेका छन्। उनले १९७५ देखि १९९० सम्मको अवधिलाई परिष्कारवादी तथा शास्त्रीयतावादी धारा मानेका छन् भने १९९१ देखि २०१६ सम्मको अवधिलाई स्वच्छन्दतावादी धारा, २०१७ देखि २०२९ सम्मको अवधिलाई प्रयोगवादी धारा र २०३० सालदेखियताको अवधिलाई समसामयिक धारा मानेका छन्।
नेपाली कविता विधाका विशेषज्ञ खगेन्द्रप्रसाद लुइँटेलको नेपाली कविताको आधुनिक कालका सन्दर्भमा वासुदेव त्रिपाठीको भन्दा भिन्न दृष्टिकोण छ। उनले वि.सं.१९४० देखि १९९१ सम्मको अवधिलाई माध्यमिक काल मानेका छन्। उनले वासुदेव त्रिपाठीले आधुनिक कालको पहिलो धारा निर्धारण गरेको परिष्कारवादी तथा शास्त्रीयतावादी धारालाई माध्यमिक कालमा समेटेका छन्। शास्त्रीयतावादले पारम्परि मूल्यमान्यता तथा शैलीको अनुकरण गर्ने भएकाले शास्त्रीयतावाद आधुनिक हुन सक्तैन भन्ने धारणा उनको रहेको छ।
पश्चिमी कवितामा पनि शास्त्रीयतावादी धाराको प्रतिक्रियास्वरूप आधुनिकताको बीजारोपण भएको हो। यस्तो कार्यको थालनी बेलायती स्व्च्छन्दतावादी कविहरूले गरेका छन्। अङ्ग्रजी कवितामा इसाको उन्नाइसौँ शताब्दीको अन्त्यतिरबाट यस्तो प्रवृत्तिको आविर्भाव भएको हो। टी.एस. इलियट, एज्रा पाउन्ड, रबर्ट ग्रेभ्सलगायतका कविहरूले यस कार्यको थालनी गरेका हुन्। यस सन्दर्भमा टी.एस. इलियटको द वेस्ट ल्यान्ड (१९२२) शीर्षकको कविता विशेष प्रसिद्ध छ। प्रयोगधर्मी प्रवृत्तिमा गएर आधुनिकताले उत्कर्ष प्राप्त गर्यो। यस प्रकार शास्त्रीयतावादका विरुद्ध पश्चिममा आधुनिकताको विकास भयो र नेपाली कवितामा पनि शास्त्रीयतावादका विरुद्ध वि.सं. १९९१ को आसपासमा आधुनिक प्रवृत्तिको उद्भव भयो। यसको सीमाङ्कन १९९१ साल राखिएको छ। त्यसैले १९९१ देखि अर्थात् स्वच्छन्दतावादी धाराको प्रारम्भसँगै नेपाली कवितामा आधुनिकताको प्रवेश भएको हो भन्ने मत बढी वैज्ञानिक ठहर्छ। शास्त्रीयतावादलाई आधुनिक कालमा समेट्न खोज्नु अवैज्ञानिक र सतही दृष्टि हो।
केही विश्लेषकहरूले सर्वप्रथम गोपालप्रसाद रिमालले मुक्त लय (गद्य) मा कविता रचना गरेकाले उनलाई प्रथम नेपाली आधुनिक कवि मानेका छन्। १९९२ साल फागुन १६ गतेको गोरखापत्रमा प्रकाशित ‘कविको गान’ शीर्षकको कवितालाई प्रथम नेपाली गद्य कविता (मुक्त लयमा रचिएको) मानिएको छ। यसै आधारमा उनीबाट नेपाली कवितामा केही समालोचकहरूले आधुनिकताको प्रारम्भ भएको मानेका छन्। रिमाल पनि स्वच्छन्दतावादी कवि भएकाले यो मत पनि त्यति उपयुक्त छैन। नयाँ मान्यताको प्रवर्तन एउटा व्यक्तिबाट नभई समूह विशेषबाट हुन्छ। केही समालोचकहरूले प्रयोगधर्मी कविहरूबाट नेपाली कवितामा आधुनिक कालको प्रारम्भ भएको मान्दछन्। यस मतले देवकोटा, सिद्धिचरण, गोपालप्रसादजस्ता प्रतिभाहरूलाई छायामा पार्ने दृष्टि प्रस्तुत गरेको छ भने प्रयोगधर्मी प्रवृत्तिका रचना २०१७ देखि मात्र नभई स्वच्छन्दतावादी कालखण्डमा पनि लेखिए अर्थात् यस्ता कविहरूले स्वच्छन्दतावादी कालखण्डमा पनि कविता सिर्जना गरे। यस प्रकार नेपाली कविताको प्रयोगधर्मी प्रवृत्तिको पृष्ठभूमि स्वच्छन्दतावादी कालखण्ड भएकाले २०१७ देखि अर्थात् प्रयोगधर्मी कालदेखि नेपाली कवितामा आधुनिक कालको प्रारम्भ भएको हो भन्नु पनि उचित देखिएन। बरु प्रयोगधर्मी कविताहरूले आधुनिक प्रवृत्तिको प्रयोग तीव्ररूपमा गरेका छन् तथा यो कालखण्ड आधुनिक नेपाली कविताको चरमावस्था हो भन्नु उपयुक्त ठहर्छ। यस प्रकार १९९१ देखि अर्थात् नेपाली स्वच्छन्दतावादी काव्यधाराको प्रारम्भसँगै नेपाली कवितामा आधुनिकताको शुरुवात भएको हो भन्नु वैज्ञानिक ठहर्छ।
आधुनिक नेपाली कविताको प्रयोगवादी काल र समसामयिक कालका सम्बन्धमा पनि त्रिपाठी र लुइँटेलको दृष्टिमा भिन्नता देखिन्छ। त्रिपाठीले २०१७ देखि २०२९ सम्म प्रयोगवादी काल र त्यसपछि समसामयिक काल मानेका छन् भने लुइँटेलले २०१७ देखि २०३५ सम्म प्रयोगवादी काल र त्यसपछि समसामयिक काल मानेका छन्। २०१७ मा प्रकाशित मोहन कोइरालाको ‘घाइते युग’ कविताबाट प्रयोगवादी कालको आरम्भ भएको मत समान छ भने त्रिपाठीको २०३० बाट समसामयिक कालको प्रारम्भ भएको हो भन्ने मत आधारहीन छ। लुइँटेलले २०३६ सालको सडक कविता क्रान्ति र जनमतसङ्ग्रहको आधारमा २०३६ देखि समसामयिक कालको प्रारम्भ भएको मानेका छन्। २०३७ सालमा जगदीश शमशेर राणाको ‘नरसिंह अवतार’ महाकाव्य प्रकाशित भयो। यो प्रथम नेपाली प्रयोगवादी महाकाव्य हो। के यस महाकाव्यलाई प्रयोगवादी धाराभन्दा बाहिर राख्ने ? त्यसपछि मोहन कोइरालाका पनि केही कविताकृतिहरू प्रकाशनमा आए। त्यसैले २०४६ सालको जनआन्दोलन र जनआन्दोलन कवितालाई आधार मानेर २०४६ देखि नेपाली कवितामा समसामयिक कालको प्रारम्भ भएको हो भन्नु बढी वैज्ञानिक ठहर्छ। यसर्थ नेपाली कविताको समसामयिक कालका सम्बन्धमा लुइँटेलको दृष्टि पनि अव्याप्ति छ भने नेपाली कवितामा आधुनिक कालको प्रारम्भका सम्बन्धमा चाहिँ उनको दृष्टि अत्यन्त सार्थक छ।
December 27, 2014
(स्रोत : Newsofnepal.com )