~तसलिमा नसरिन~
अनु. : अनिल श्रेष्ठ
मलाई कसैले पार गर्न दिएनन् त्यो मैदान
जति पटक म दौडेर गएँ
त्यो आधी दूरीसम्म
अचानक पछाडिबाट कपडा समातेर
ताने ती मान्छेहरूले
डर देखाए
सामुन्ने खण्डहरमा पसारिएर सुतिरहेको छ चितुवा
पीपलका बोटहरूसँगै लपेटिएको छ
पहेँलो विष भरिएको सर्प
म सोझी केटी
कति पटक रोइरहेँ
मैदानको पारि थियो रानीपोखरी
गुलमोहरहरूको बगैँचा
मैदानपारि थिए सेता–सेता चम्किरहेका
नक्षत्रहरूझैँ देखिइरहने जूनकीरीहरू
दैत्य र दानवहरूका कथा सुनेरै निदाएँ
सपनामा नीला रंगका चङ्गाहरूको सट्टा
देखिरहेँ किचकन्याका खुट्टाहरू
दानवहरूको देश
उमेरसँगै अब त कति ठूली पनि भइसकेँ
फेरि पनि मलाई
यति सानो कोठा पार गर्न दिँदैनन् तिनीहरू
अब त सपनामा मात्र होइन
दिउँसै देख्ने गर्छु चन्द्रवोडा सापहरू
देख्छु कीराफट्याङ्ग्रा, राक्षसहरूको घर
जंगली भैँसीहरू
घरबाट बाहिर निस्केर म आकाश देख्न सक्तिनँ।
December 27, 2014
(स्रोत : Newsofnepal.com )