कविता : चंगा

~दिल सिजाली ‘दिवाना’~Dil sijali

बाले साँझबिहान गाँसेर बिरामी लयहरू
भाका हालीहाली सिलोक बाच्ने धर्मग्रन्थका पन्नाहरू
उक्काइरहेछ उसले धमाधम दशैँको छाला जसरी ।

एउटा सुकिलो घाम लघारेर हाम्रो घरको आङबाट
र, उखेलेर करङका डाँडाभाटाहरू
चिरिरहेछ उसले मसिनु सिन्काजसरी ।

बल्ल–बल्ल बालेर अगेनामा एक मुठी उज्यालो
छड्किरहेथ्यो खुसी, गाला भास्सिएको डेक्चीभरि
र, पखिर्रहेथ्यौं हामी ठहर समातेर भागमा बिसाउँदै एउटा दिन
सरासर पसेर छापामासझैं उसले भान्छाबाट
लुटेर गयो हाम्रो वर्षौंदेखिको सहस्र भोक ।

बाटो ढुकीढुकी बैनीको पाउदानीहरूका
लाछेर लगेछ उसले चुल्ठोका इन्द्रेनी
र, रेटेर गएछ फूलहरूसँग खेलिबसेका हाम्रा फुच्चे हाँसोहरू ।
भोक दलेर उसले अब टाँसिरहेछ धर्मग्रन्थका पन्नाहरू
छुराजसरी धस्सारिरहेछ कागजको दिलमा करङका सिन्कोहरू
र, उन्दै झुन्डाइरहेछ एक फुङगो चुल्ठी पुछारमा
बनाइरहेछ कालीगढझैँ उसले एउटा प्वाँट चंगा ।

गोलो निदार र फराकिलो छातीतिर चंगाको
पोतिरहेछ उसले हाम्रो हाँसोको रगती ।
काटिरहेछ उसले हाम्रा चप्पलका पाइतालाहरू
मुठारिरहेछ हाम्रो खुसीका सग्लो नलिहाड
घुसारेर अनि तिखार्दै सुइरा औंलाहरू हाम्रा गीतका
मिचेर गुडाइरहेछ उसले डोजरका पांग्राजस्ता लट्टाइ ।

आमाको आँखाबाट तानेर आँशुको कमलो डोरो
बेरिरहेछ लट्टाइमा उसले फन्फनी
र, उडाइरहेछ रहरको चंगा ।
धुलाम्मे सडकबाट माथि आकाशतिर फर्केर
हेरिरहेछु म हावामा तैरिँदै बगिराखेको चंगा ।

जनता घुमाइघुमाइ लट्टाइजसरी
झट्कार्दै खुट्टा तानी–तानी धागोझैँ
हेरुँला म पनि,
कहिलेसम्म उडाउँछ उसले यसरी
सामन्तवादको चंगा ?

17th November 2013

(स्रोत : Commanderpost.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.