“आज पनि मान्छे पाइएन?” मदन ढोकाबाट भित्र पस्ने वित्तिकै मुनाले सोधी। मदनले त्यसको उत्तर दिनुपर्ने आवश्यकता ठानेन। लुगा फेरेर हातगोडा धोइसकेपछि उसले ग्याँसचुलोमा लाइटर झोस्यो, बिहान फ्रिजमा राखिछाडेको भात र मासुको झोल ततायो र मुनालाई दियो। मुनाको आँत कहिले खाउँलाजस्तो भएर भोकले हर्हराएको थियो।
मदन सुत्केरी मुनासहित आफ्नोलागि पनि भरेको खाना बनाउने तरखर गर्न थाल्यो। राइसकुकरमा भात पाकिरहेको थियो, यता प्रेसरकुकरमा पनि सिट्ठी लाग्यो। अर्को तर्कारी वा अचार बनाउने त्यसको जाँगर चलेन।
बिहान जुरुक्क उठ्यो, भान्छामा पस्यो, दिउँसो कतै गएर आयो, हत्त र पत्त भान्छामा नै गैहाल्नु पर्ने । मदन घरको लुसेधन्दा गर्दागर्दै हैरान परिसकेको थियो। उहिलेकी मदनकी त बूढी भए पनि आमा थिइन्, तर हाम्रो मदनकी आमाले भने निकै वर्ष पहिले नै उसलाई एक्लो पारेर गैसकेकी थिइन्, फेरि फर्केर नआउने बाटोतिर। यसरी, एक प्रकारले भन्दा, मदन एक्लो थियो।
“भरे त रित्तै नआउनु है, भन्दिया छ। जसरी पनि एउटीलाई लिएरै आउनु।” चेतावनीयुक्त स्वरमा मुनाले भनी।
मदनको दिमाग चक्कराउन थाल्यो। अब के उपाय निकाल्ने होला भन्ने प्रकारका कुराहरू मनमा खेलाउँदै त्यो बाटो काट्न थाल्यो।
बाटामा अनायास त्यसका आँखा एउटी तेह्र-चौध वर्षे किशोरीमाथि पर्न पुगे। उसले त्यसलाई चिनिहाल्यो। त्यो उसैको अड्डाको मूल चौकिदारकी छोरी थिई। चौकिदारको जागिर, तीन जना केटाकेटीहरू र दुई जना आफूहरू, चौकिदारलाई घरखर्च धान्न पनि धौधौ परेको थियो। मदनलाई त्यो कुराको पनि हेक्का थियो। त्यसका मनमा अलिकति आशाको दीयो बल्यो। तर काम पट्ट्याउने कसरी? त्यो दुबिधामा पर्यो। मनमा कुरा खेलिरहेकै बेला त्यसका आँखा अर्को चौकिदारमा पर्न पुगे। देख्तैमा खाइलाग्दो लोर्के मनबहादुरले मदनलाई देख्नेवित्तिकै जुल्फी समेत् हल्लने गरी जङ्गी शैलीमा स्यालुट ठोक्यो।
“फलामले फलाम काट्छ।” यस्तै सम्झेर मदनको मनमा अलिकति आशाको आँकुरा पलायो।
“मनबहादुर, एउटा काम गर्न सक्छौ ?” त्यसको स्यालुटको उत्तर दिएलगत्तै मदनले उसित सोध्यो।
“के काम हो र सा’प ?” मनबहादुरले पनि जिज्ञासापूर्वक सोध्यो।
“हेर न भाइ, म त भात पकाउँदा पकाउँदै हत्तुहैरान परिसकेँ। त्यो चमेली छ नि, मूल चौकिदारकी छोरी, त्यसलाई यसो फकाइद्यौ न, पठाउँछन् कि?” मदनले एक प्रकारले भन्दा आग्रहको स्वरमा भन्यो।
मनबहादुर उतिर हेर्दै त्यसका सेता दाँत देखाएर हाँस्यो मात्र।
“म भोलि तिमीलाई भेट्छु । बेलुकीतिर यसो मेसो मिलाएर कुरा गरी राख न। लाउन, खान र चलनचल्ती अनुसारको तलब पाइहाल्छे। म तिम्रो गुन सम्झिरहुँला नि।” मदनले मनबहादुरलाई फकाउन खोज्यो।
“मान्दैन होला सर !” यति भनेर मनबहादुर फेरि पनि मुन्टो निहुर्याएर हाँस्यो।
“तै पनि, एक पटक कोसिस त गरी हेर न।” मदनले जाँदाजाँदै भन्यो।
भोलिपल्ट अफिस पुगेपिछ मदनका आँखा चौकिदार-पोष्टमा परे । त्यो खाली थियो। यताउता हेर्यो, कतै पनि देखिएन। उसले देख्यो, मूल चौकिदार क्वार्टरको आँगनमा तातो खरानीमा परेको माछो झैँ उफ्रिरहेको थियो।
“के भएछ हँ?” मदनले आफैसित सोध्यो पहिले। अनि त्यै कुरा पहिलो भेट हुने मानिससित सोध्यो।
“अरू के हुनु नि, फक्रन आँटेको चमेली फूलको कोपिलामा भमरा बसेछ।” त्यसले घुमाउरो उत्तर दियो।
“मैले त तपाईँका कुरा बुझिन नि, के भन्न खोज्नु भा’?” मदन हिँड्दाहिँड्दै टक्क अडिएर उसको अनुहारमा आँखा अड्याएर सोध्यो।
“मनबहादुरले त्यसकी छोरी चमेली लिएर भागेछ।” अब भने त्यसले खुलस्त उत्तर दियो । मदन, एक प्रकारले भन्दा स्तब्ध भयो ।
“त्यो पाजी मनेलाई भेट्न मात्रै त पाम् न,” मूल चौकिदार आँगनमा उफ्रँदै आवेगको घोडा चडेर ठूल्ठूलो स्वरमा कराउँदै थियो, “म त्यसलाई दुई ठुन्का नपारी त के छोडुँला !”
हरिहर खनाल
मार्च २३, २०१२,
धापासी, काठमाडौँ ।