वन–जंगलको व्यापक अतिक्रमण हुन थालेपछि जंगली जनावरले आफूहरू असुरक्षित भएको अनुभव गरी आकस्मिक बैठक डाके । बैठकमा मानवीय अतिक्रमणविरुद्धमा आवाज उठाउँदै सबै जनावर जंगलको राजा भनाउँदो सिंहमाथि एक स्वरले जाइलागे । तिमी जंगलको राजा हौ भने सुरक्षा तिमीले गर्नुपर्छ ।
सबै जनावर एकै स्वरले प्रस्तुत भएपछि सिंहले आफ्नो लाचारी र असक्षमता प्रस्तुत गर्दै भन्यो, ‘म आफ्नै सुरक्षा त गर्न नसक्ने अवस्थामा पुगिसकें भने तिमीहरूको सुरक्षा कसरी गरौं ? बरु शरीरमा पनि ठूलो, मानिससँग पनि उस्तै र यता हामीसँग पनि उत्तिकै मिल्ने द्वैधचरित्रको हात्तीलाई राजा बनाऔं र हामी सबैको सुरक्षाको जिम्मा दिऔं ।
सिंहले प्रस्तावमा जंगलका त्रसित जनावरले समर्थन जनाए र मानिसले नै पटक–पटक नाम फेरिदिंदै आएका अहिले धुर्वे नामकरण गरिएको हात्तीलाई राजा बनाएर सुरक्षाको जिम्मा दिए । धुर्वेले जंगलमा आउने र जंगल अतिक्रमण गरेर घर बनाई बसेकाहरूमध्ये केहीलाई भौतिक कारबाही गरेपछि मानिस उसको विरुद्धमा पनि लागे र भन्न थाले, ‘धुर्वे बहुलायो, यसलाई मार्नुपर्छ ।’
मानिसको माग सुनेर भाग्दै गरेको धुर्वेले आफ्नो वंशको इतिहास पल्टायो – श्री स्वस्थानी व्रतकथामा नवराज ब्राह्मणलाई माला लगाइदिएर राजा बनाइदिने मै थिएँ । श्री महादेवले आफ्नै पुत्रको टाउको काटेपछि जंगलमा गएर गणहरूले मेरै पुत्रको टाउको काटेर ल्याएर जोडेका थिए र हात्ती जातिलाई गणेशको दर्जा दिएका थिए . आआफूफु र आफ्ना प्रजाको सुरक्षार्थ खटिँदा ममाथि बहुलाहाको आरोप ? न्याय माग्न जान्छु गणतन्त्र नेपालका प्रथम राष्ट्रपति समक्ष । कसो न्याय नपाइएला ?
धुर्वे काठमाडौं आयो ।
शीतलनिवासको गेटमा हात्तीलाई देख्नासाथ सबै त्रसित भए र सम्बन्धित अधिकारीसमक्ष कुरा पुर्याए । अधिकारी देख्नासाथै धुर्वेले संवाद शुरु गर्यो :
–महोदय, हामी जंगली जनावरले जंगलमा बस्न पाउने कि नपाउने ?
–पाउँछौ, जंगलमा तिमीहरूकै अधिकार छ ।
–जंगल अतिक्रमण गर्ने र जंगली जनावर मार्नेलाई कसैले पनि केही गरेनन, सबैको मिलोमतो छ । हामीले आफ्नो सुरक्षा आफैं गर्न पाउने कि नपाउने ?
–म जंगलको नयाँ राजा छानिएको छु सिंहले राजसिंहासन छोडेपछि । अब मेरा प्रजाको सुरक्षा जिम्मा पनि मेरै काँधमा आएको छ । यता सबै मिलेर मेरो मृत्युदण्डको फैसला गरिसकेका छन र गोलीका पर्रा पनि बर्साइसकेका छन । के म मृत्युदण्डको सजायबाट आममाफी पाउन सक्दिनँ ?
–सक्छौ, अवश्य पनि माफी पाउनैपर्छ । ल, धुर्वेको मृत्युदण्डको सजाय फिर्ता लिइन्छ ।
धुर्वे, अधिकारीको घोषणा सुन्नासाथ डङरंग ढल्यो र शरीरमा लागेको गोलीको पीडा बिसायो । लमतन्न परेको सुँढमा एउटा माला र कागज थियो । कागजमा राष्ट्रलाई सम्बोधन गरेर लेखिएको थियो – मानिसले कति मानिस मारेका छन । तर हात्तीले हात्तीलाई नै मारेको छैन । मानिस मार्ने मानिस बौलाहा कि आफ्नो सुरक्षा गर्न खोज्ने जनावर बौलाहा पर्यावरण संरक्षणका अभियन्ताज्यू ?
जटिल प्रश्नको उत्तरको प्रतीक्षा नै नगरी धुर्वे निष्प्राण भइसकेको थियो । अधिकारीले टोपी झिकेर मौनतामै निहुरिए ।
(स्रोत : संग्रहालय )