माघको चिसो सिरेटो अनि कुहिरोले ढाकिएको एउटा शहर दार्जिलिङ। प्रकृतिकी रूपसी चिसिएकी थिईन् त्यस बखत। रेलबाट ओर्लिएपछि ऊ सरासर घुम वस्तीतिर लाग्यो। फाट्टफुट्ट रूपमा हिउँको वर्षा भइरहेकोले उसको कालो ओभरकोट पनि सेतो रङमा परिवर्तन भएको थियो। ढाका टोपीले छोपिएको कानमा अड्किएको कालो चश्मा निकाल्दै उसले बूढ्यौली लागेका आफ्ना नयनहरू चारैतिर छर्यो। अनायासै उसका नयनहरू चम्के एकपटक किनकी घुमवस्ती निकै फेरिएको थियो। जीवनका थुप्रै वसन्तहरू घुमवस्तीमा खर्चिएको भएता पनि उसलाई त्यस घुमवस्ती अपरिचित झैं लाग्न थाल्यो। उसले खोजेको गुरू ओपानको घर ठम्याउनै सकेन।
उसका पाइलाहरू एउटा सानो चिया पसलतिर लम्किए। बेञ्चमा बस्दै चिसिएका हातहरू तताउन उसले हातको पञ्जा फुकाल्यो र चियाको तातो ग्लास हातमा खेलाउन थाल्यो। अस्ताउन लागेकी चियापसल्नीलाई उसले जिज्ञासा पोख्यो।
“हैन ओ आमै ! गुरू ओपानको घर काँ पर्यो?” उसको प्रश्नले पसल्नी आमै एक क्षण त अलमल्ल परिन् र उसलाई एक तमासले हेर्न थालिन् मानौं कि ऊ कुनै नौलो ग्रहको प्राणी नै होस् जस्तो।
उसले पुनः प्रश्न तेर्स्यापछि पो पसल्नी आमै झसंग भइन् र कुरा फुकाईन्, “किन नि हौ? गुरू ओपानको घर त अब सरकारी भवन भइसक्यो नि।” पसल्नी आमैको कुराले अलमल्ल पर्ने पालो उसको थियो। उसको मन नजानिदो भयले अत्तालियो। तैपनि सम्हालिदै उसले पुनः सोध्यो – “अनि गुरू ओपानका छोराहरू नि”
“उसको जेठो छोरा त घुमडाँडाको हिउँ पहिरोमा पुरियो। कान्छो चैं त्यसै त्यसै बौलायो भन्या। अचेल त त्यसको पनि अत्तोपत्तो छैन। विचरा ओपान गुरूको अब यस ठाउँमा कोही पनि छैन।”
“……….” आमैको कुराले उसको मन चिसो भयो बाहिर बर्षिरहेको हिउँभन्दा पनि।
“बिचरा ! साह्रै राम्रो मान्छे थिए ओपान गुरू। त्यस्तो ठूलो साहित्यकार, विद्वान मान्छेलाई घरबाट निकालेको पाप नै ती छोराहरूलाई लागेको हो।”
“……….”
“ऊ त्यही त हो नि गुरू ओपानको सालिक। उनी बितेको पनि धेरै बर्ष भयो। हिउँमै पुरिएर मरेको हो भन्थे, देख्न चैं कसैले देखेनन्।”आमैको कुराले उसले छिटोछिटो चिया पियो।
आमैका कुराहरू श्रव्यचित्रझैं लाग्न थाल्यो। बीस वर्षपछि धेरै परिवर्तन भइसकेछ। उसले आफ्ना मनमा उठेका तरङ्गहरू पोख्न सकेन। उसका कदमहरू फटाफट सडकमा दगुर्न थाले।
हिमपात भइरहे पनि उसलाई गर्मी भएको थियो। निधारमा चिट्चिट् पसिनाका बुँदहरू प्रष्टै देखिन्थे।
भोलीपल्ट हिउँको वर्षा केही थामियो, तर घुमवस्तीको चोकमा अवस्थित गुरू ओपानको सालिक मुनि एउटा वृद्ध व्यक्तिको लास वेवारिसे जस्तै देखिन्थ्यो। बाटो हिड्ने र वरिपरिका देख्नेहरूले त्यस लासलाई चिसोले कठांग्रिएको पथिक, माग्ने, आगन्तुक …ठाने। यथार्थ भने कसैले बुझ्न सकेका थिएनन्, त्यो लास अरू कसैको नभएर ऊ अर्थात गुरू ओपानकै थियो।
krishnayatri@gmail.com
2011-02-07
(स्रोत : NepaliLaghukatha.com )