~यादव खरेल~
गाउँको माझमा अबस्थित सार्बजनिक जमिनलाई ठूलो स139र्ष पछि गाउँलेहरुले जमिन्दारको कब्जाबाट मुक्त गरे। सबैको सल्लाहबाट त्यस जमिनमा एउटा ठूलो पोखरी खनियो। बर्षाको पानीले पोखरी भरियो। पोखरीको वरिपरि बसोबास गर्ने सबै गाउँलेहरुको जीवन निर्वाहको मूल आधारनै त्यही साझा पोखरी थियो, जसमा सम्पूर्ण गाउँको सपना लहराउँथ्यो।
पोखरीमा कुनै जाट (पोखरीको बीचमा गाडिने खम्बा) थिएन। जसले गर्दा पोखरीको लम्बाई, चौडाई र गहिर्याई को भेउ पाईदैन थियो। दिशा छुट्याउन पनि गाह्रो थियो। पोखरीको वरिपरि बसोबास गर्नेहरुको बीचमा साँध सिमानालाई लिएर बिबाद पनि सृजना हुन थाल्यो। गाउँलेहरुको सभा बस्यो र सभाले पोखरीको बीचमा मियोका लागी एउटा जाट गाढ्ने निर्णय गर्यो। जङ्गलबाट अजङ्गको सखुवाको रुख काटेर जाट बनाईयो, जसलाई सबै गउँलेहरुलेे बोकेर पोखरीसम्म ल्याई पानिमा हेलिदिए। बडेमानको जाटलाई पोखरीको बीचसम्म पुर्याएर गाड्ने कार्य निकै कठिन थियो। यस कार्यका लागि पैडी खेल्न निपूण बलियाबाङ्गा गाउँले हरुको छनैाट गरीयो। छानीएका पौडिबाजहरु पोखरीमा हेलिएर जाटलाई तान्दै र घचेड्दै अगाडि बढे। सबभन्दा बलियो पौडिबाजले आफ्नो छेउमै एउटा ठूलो रहु माछा देख्यो। ऊ जाटको डोरी छेाडेर माछा समाउन कुद्यो। अर्को पौडिबाजले असला माछा देख्यो र उस्लेपनि जाटको भार छोडेर असला माछा समाउन बाकटे हान्यो। तेस्रो गोताखोर बुहारी माछा खान भ्यागुते चालमा देब्रेपटि हेलियो। यसरी सबै पैाडिबाजहरु माछा समाउनका लागि जाटको डोरी छोडेर पोखरीको यत्रतत्र माछाका पछिपछि बाकटे हान्न थाले। किनारबाट गाउँलेहरु कराए “ए जाटको डोरी नछोड। मियो गाड्नै पर्छ, मियो गाढ्नै पर्छ। ” अब यस्तो दृष्य देखियो :
दृष्य एक––––––जाटलाई पानीले बगाएर किनारतिर लादैछ।
दृष्य दुई ––––––पौडिबाजहरु पोखरी भरी माछाको पछिपछि बाकटे हानिरहेका छन्।
दृष्य तीन ––––––गाउँलेहरु किनारबाट एकै स्वरमा कराईरहेका छन्,
“माछा चोर पोखरी छोड,”
“माछा चोर पोखरी छोड,”
“माछा चोर पोखरी छोड,।”
―०―
(स्रोत : NepaliLaghukatha.com )