~यादव खरेल~
पाक्नलागेको बाली खाएर चराहरुले हैरान पारेपछि किसानले एउटा बुख्याँचा आफ्नो बारीको माझमा उभ्यायो। बुख्याँचालाई देखेर चराहरुको भागाभाग भयो। चराहरुबाट बाली सुरक्षित भएकेामा किसान पनि दङ्ग थियो। बुख्याचा मनमनै भन्ने गर्थो,“ किसान भनेकेा जनता हो र जनताको सेवानै मेरो परम धर्म हो।” ऊ अहोरात्र बालीको संरक्षणमा लागिरह्यो। ऊ चराहरुमाथि अर्जुन दृष्टि राख्दथ्यो। उसको अर्जुन दृष्टिदेखि चराहरु भयभित हुन्थे। त्यसैले किसानको बाली सुरक्षित थियो।
किसान बेंसी तर्फ जाने तयारीमा थियो। झ्यालबाट उसले पत्यार नलाग्ने दृष्य देख्यो। केही कौवाहरु बुख्याँचाको काँधमा चढेर ऊ सँग खासखुस गरीरहेका थिए। उ हतारहतार बारीमा ओर्लियो तर त्याँहा कौवा थिएनन्। एक्लै ठिङ्ग उभिएको बुख्याँचाको अर्जुनदृिष्ट बालीमा स्थिर थियेा। व्यर्थै शंङका गरेकोमा किसानलाई पछुतो लाग्यो।
एकदिन बारीको बीचबाट हिड्दाहिड्दै बुख्याँचाको अगाडि पुगेपछि किसान ठिङ्ग उभियो। उसलाई बुख्याँचा अली मोटो भएको, के के नमिलेको जस्तो लाग्यो। त्यस दिनदेखि किसान बारीको बीचबाटै हिड्न थाल्यो। ऊ हरेक दीन बुख्याँचामा आएको परिवर्तनलाई हेरि रहेको थियो। बुख्याँचा मोटाउदै जान थाल्यो। बाली भित्राउने बेलासम्ममा बुख्याँचाको पेट दमाहा जत्रो भईसकेको थियो। “ मैले ठड्याउदा त यो बुख्यँचा दुब्लो थियो। अहिले कसरी यस्तो भयो?।” किसान रणभुल्लमा पर्यो। उसले कारण पत्ता लगाएरै छाड्ने अठोट गर्यो।
भोलीपल्ट बेसी जाने बाहानामा घर अगाडि बाट निस्कीएर पछाडिको झ्यालबाट घरभित्र पसेर चियो गर्न थाल्यो। केही बेरमै कौवाको नेतृत्वमा चराहरुको ठूलो बथान जम्मा भएर किसानको अन्न खान थाले। चराहरु जति गेडा अन्न आफू खान्थे त्यतिनै गेडा बुख्याचाको भुँडीमा लगेर खसाइदिन्थे। साँझ पर्नु अगाबै सबै चराहरु उडेर गए। बुख्याँचा मात्र अर्जुनदृष्टि दिएर बाँकी रहेको बालीलाई हेरिरहेको थियो।
आज भोलि किसान आफ्नै बारीमा आफैले ठड्याएको बुख्याँचासगँ अन्न मागेर ऐनकेन प्राण धानिरहेको छ।
―०―
(स्रोत : NepaliLaghukatha.com )