~पदम भण्डारी~
‘रेग्मी निवास’ को नामले परिचित बिमलको घर अर्थात् मेरो पोईली घर आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ । रेग्मी निवास अर्थात मेरो घर ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । रेग्मी निवास त्यसै ज्योतिहीन बनेको होईन, ज्योतिहीन हुनुको मुख्य कारण रेग्मी निवासमा भएको राजनीतिक चहलपहल हो । देशमा बि सं २०५२ सालमा सशस्त्र संघर्षको थालनी भएपछिका पछिल्ला घटनाक्रमहरूमा रेग्मी निवासको राजनीतिक पृष्ठभूमी र सरकारको दमन नीतिका श्रृंखलाहरूले गर्दा ज्योतिहीन बनेको हो । राजनीतिक परिस्थितिको कुरा गर्दा माओवादी जनयुद्ध चरमचूलीमा पुगेको बेला थियो । गाउँमा त्यसबेलाको बसाईं सहज र सुगम थिएन । त्यसबेला राज्यले गाउँमा बस्नेहरू सबैलाई माओबादी देख्यो । सरकारले माओबादी देख्नु रेग्मी निवासका घर परिवारको लागि विडम्बना बन्यो ।
राजाको शासनकालमा गाउँमा माओवादीको आरोपमा धेरै ब्यक्तिहरू पक्रिए, बेपत्ता पारियो । ठूलो यूवा जमात तराईका शहरहरू र बिदेश पलायन भयो । म भने भौतिक सुख सुबिधामा लागिन । दिनदु:खीका कथा व्यथाहरूलाई आत्मसात गरेर एक शिक्षित नारीको हैसियतले काम गरें । जीवनमा जति दु:खकष्ट परे पनि सहेर अन्याय र अत्याचारको बिरूद्धमा निरन्तर लागिरहें । अन्धकारमा रुमल्लिरहेका निरक्षर महिलाहरूलाई आफ्नो हक अधिकार र कर्तब्यको बोध गराउने अभियानमा जुटिरहें । सरकारको रबैयाका कारणले मलाई त्यस क्षेत्रमा लाग्न झन् प्रेरणा मिल्यो । बिमलले देखाएको बाटोमा दृढ अठोटका साथ लागें । मेरा खुसीका सारा क्षणहरू समाप्त भए पनि समाजलाई बदल्ने मेरो अठोटमा कहिल्यै निरास भईन । बाटो अलमलिएर दोबाटो कुरिरहेका बटुवाहरूलाई सहि बाटो देखाउने अभिलाषामा हिम्मत कसेर संगठनको नीति निर्देशन र छत्रछायाँमा रहेर भूमिगत रूपमा निरन्तर काम गरिरहें । आफ्नो वर्तमान वास्तविकता एवं मानसिकता भयानक कोलाहलपूर्ण भए पनि आफ्नो कर्मक्षेत्रको बिशाल फाँटलाई संझेर त्यसलाई जीवनमा भैपरि आउने घटना संझेर जनताको बिचमा जाने अठोटका साथ व्यवहारिकताको साँचो कसिमा घोटिईरहें ।
मेरो अठोटले सिक्ने र सिकाउने प्रक्रियामा ममा उर्जा थपिरह्यो । दृढ मनोबलले म लागिरहें । दिनहरू बिते, महिनाहरू बिते । अतितलाई बिर्सेर, बर्तमानलाई आत्मसात गर्दै भविष्यका चुनौतीहरूको सामना गर्ने दृढ मनोबलका साथ आफ्नो जीवन त्यसैमा अर्पिने अठोटका साथ लागिरहें । देशव्यापि रुपमा जनयुद्धले बिकास गरिरहेको बेला जनसेनाको सुरक्षामा रहेर संगठनको निर्देशन बमोजिम म बिभिन्न गाउँ, क्षेत्र र जिल्लाहरूमा घुमेर महिला आन्दोलनको नेतृत्व गर्दै हिंड्न थालें । जसको कोही छैन उसको सबै आफ्नो हुन्छ भनेझैं संगठनको काममा पूर्णकालिन कार्यकर्ता भएर हिंडेकोले संगठन नै आफ्नो घर परिवार भयो ।
रातको जूनेली उज्यालोमा हिलो खेतहरूमा चप्ल्याङ् चुप्लुङ् गर्दै मकै र उखुबारीको सन्नाटालाई चिर्दै, किथर्नाहरूको आवाजलाई आफ्नो मनको ध्वनि संझेर त्यसलाई आत्मसात गर्दै विभिन्न गाउँ, क्षेत्र र जिल्लाहरूमा घुम्ने सिलसिलामा कहिलेकहीं आफ्नै गाउँ ज्योतिनगरमा पनि पुग्थें । नानीहरू च्यापेर चुलो चौको र घरव्यवहारमा अलमलिएका महिलाहरू आन्दोलनमा सहभागी भएर निरङ्कुशताका बिरूद्ध लडेको देख्दा जनताको जीत निश्चित छ भन्ने कुरामा म दृढ थिएँ । गाउँमा हिंड्दा कतै कुकुर भुकेको आवाज, कतै मध्यरातमा बाटो काट्दा किथर्नाहरूको आवाज, कतै बिहानीको संदेश दिन कराईरहेका चराचुरूङ्गीहरूको आवाजले मेरो धैर्यता र साहसलाई उर्जा थपिरहेको हुन्थ्यो तापनि म ज्योतिनगर पुग्दा कता कता अतितले छुन्थ्यो र केहीछिन दु:खीत हुन्थें ।
गाउँघरमा सामन्तवाद एवं निरङ्कुशतन्त्रका अवशेषहरू, जाली फटाहाहरू, राजनीतिक प्रतिशोध गर्न खोज्नेहरू, सरकारी भरौटेहरू, सुराकीहरूले म र मेरो परिवारका कुनै सदस्यहरू आउँछन् की भनेर ज्योतिनगरस्थित हाम्रो घर रेग्मी निवासमा चियो गरिरहन्थे । जनताका बिच राम्रो संबन्ध भएको कारण र जनसेनाले सुरक्षा दिईरहेकोले तिनीहरुसंग खासै डराउनु पर्ने थिएन । सरकारका पाल्तु कुकुर सेनाहरूको मात्र डर थियो । किनकि हातहतियारका सामु निहत्था जनताको केही लाग्दैनथ्यो । म एक धनी परिवारमा जन्मेर हुर्केकि भए पनि मैले जीवनमा यश आराम र एउटी भोग्य सामाग्रिको रूपमा मात्र बस्दिन भनेरै बिमललाई रोजेकी थिएँ । मैले मात्र सुख भोग गरेर देशको बिकास हुँदैन, सारा जनताले सुख भोग गर्न पाउनुपर्छ भनेर बिमललाई रोजेकी थिएँ । जब मभित्र अशान्तिका ज्वारभाटाहरू उठ्थे, तब मेरो मन मष्तिष्कमा मेरो प्रेरणाको श्रोत बिमल आउनुहुन्थ्यो, अनि मलाई राहत महसुस हुन्थ्यो ।
म कहिले कहाँ हुन्थें कहिले कहाँ । संगठनमा बाहेक बाहिरियालाई थाहा हुँदैनथ्यो । एकरात म संगठनको कामको सिलसिलामा ज्योतिनगर पुगेकी थिएँ । म ज्योतिनगर पुगेको कुरा कहींबाट लिक भयो अथवा संयोग हो पत्तो भएन । जनयुद्ध चरम सिमामा पुगेको बेला भएकोले सेनाले नियम कानुनको पालना गरेनन् । त्यस रात म बसेको घरमा दुई ट्रक पुलिस र सेना आएर चारैतिरबाट घेरा हाले । ढोका भित्रबाट बन्द थियो । सेनाले लात्तले ढोका हानेर फोरेर भित्र पसे । म सहित गाउँका दसजना महिला योद्धाहरू घेराबन्दीमा पय्रौं, उम्कन सफल भएनौं ।
दु:ख एक्लै आउँदैन, एउटा दु:खले अर्को दु:खलाई निम्त्याउँछ भनेको सत्य रहेछ । रेग्मी निवासका सदस्यहरूमा म मात्र बाँकि थिएँ, म पनि पक्राउ परें । सासू धेरै दिनसम्म बिरामी भएर अस्पतालको शैयामा रहनुभयो । सेनाहरूले नन्दको अपहरण गरेर बेपत्ता पारेको घटना सुनेपछि सासूको अस्पतालमै प्राण गयो । जेठाजूहरू, देवर र बिमल कुन जेल वा सैनिक क्याम्पमा राखिएको छ या मारिसके हालसम्म कुनै पत्तो छैन ।
कुमालेको चक्रमा घुम्ने निरन्तर प्रकृया वा आधुनिक कथा, उपन्यास वा चलचित्रमा देखाईने कथा-व्यथा जस्तै हरेक मानिसको जीवनयात्रा एउटा महत्वपूर्ण र पूर्ण जीवन कहानी बन्दोरहेछ । चितवन जिल्लाको पश्चिममा पर्ने त्यो गाउँमा अहिले हाम्रो परिवारका कुनै पनि सदस्य छैनन् । मेरा दिनहरू भरतपुरको जेलको चिसो छिंडीमा बितिरहेका छन् । अहिले म भरतपुर कारागारको एउटा चिसो कोठामा बसेर यी शब्दहरू लेख्दैछु ।
मेरो जीवन यात्रा मेरो लागि नितान्त व्यक्तिगत भोगाई र अनुभूती हो । घरमा सासू, नन्द र बिमलसंग भएका कुराकानीका आधारहरू पनि मेरो लागि प्रेरणाका श्रोतहरू हुन् । मेरो यात्रा अनुभूती समेट्न मैले चितवन ज्योतिनगरको रेग्मी निवासबाटै सुरु गरें, किनकि यी भोगाई र अनुभूतीहरू समेट्ने प्रेरणाको श्रोत रेग्मी निबास र त्यहाँका सदस्यहरूको हो । मेरो जीवन यात्रामा सबैभन्दा बढी प्रभाव कलेज पढ्दाका र ज्योतिनगर पुगेपछिका समयका कुरा र अनुभूतीका बिषय हुन् । चितवन जिल्लाको राजनीतिक प्रसँग, स्थानीय सामाजिक, राजनीतिक गतिविधि, आफ्नो कलेजका साथीहरु र रेग्मी निवासमा लगाईएको ठूलो फलामे ताला सम्झनाका मूख्य विषयवस्तुहरू बने ।
सरकारले गाउँमा बस्नेहरू सबैलाई माओवादी देख्नु नै रेग्मी निबासका घर परिवारको लागि विडम्बनाको विषय बन्यो । ज्योतिनगरमा अवस्थित ‘रेग्मी निबास’ आजकल भीषण कालो अन्धकारमा लुप्तप्राय: भएको छ अर्थात ज्योतिहीन भएको छ । ज्योतिनगरमा अवस्थित रेग्मी निबासमा ठूलो फलामे ताला झुण्ड्याईएको कारणले ज्योतिहीन भएको हो । ज्योतिनगर रातारात ज्योतिहीन बनेको होईन, ज्योतिहीन हुनुका पछाडिको मुख्य कारण रेग्मी निबासमा भएको राजनीतिक चहलपहल हो । देशमा बि सं २०५२ सालमा सशष्त्र संघर्षको थालनी भएपछिका पछिल्ला घटनाक्रमहरूमा रेग्मी निबासको राजनीतिक पृष्ठभूमी र सरकारको दमन नीतिका श्रृंखलाहरूले गर्दा ज्योतिहीन बनेको हो ।
जीन्दगी सोंचे भन्दा बढी नसोंचेकै घटनाहरुको संगम रहेछ । मान्छे एक्लै जन्मन्छ, अनेकौं प्राणी र वस्तुहरुको संगत पाउँछ र अन्त्यमा एक्लै आफ्नो जिन्दगीसंग सुरेली खेल्छ । म अन्धकारको विरुद्ध लड्नेहरुले छोडेको एकान्तमा अल्झिरहेछु । मलाई थाहा छ, अन्धकार अनन्त हुँदैन । उज्यालो ल्याउनेहरुको रूप परिवर्तन हुनसक्छ तर सर्वथा अन्त्य हुँदैन । नाताले मेरो परिवारका सबैलाई स्वाहा पारिएको छ । तर मेरो परिवार भन्नुनै देश भएको छ अब । म देख्दैछु अन्धकार क्रमश: ढल्दैछ ।
बिहानसंगै घाम पनि पस्यो म बसेको जेलको कोठाका छेडहरुबाट । घामसंगै संपूर्ण मान्छेहरु मेरो हात माग्दै आइरहेछन् । मान्छेहरुको अगाडि फलाम कमजोर बन्दोरहेछ । ढुङ्गा ढल्दोरहेछ । यतिखेर फलामका बारहरु ढलेका छन् । म फलाम भन्दा बलियो बनेर घामको ज्योतिमा आँफू फैलिइरहेछु । घामको ज्योतिमा मान्छेहरु देश बोकेर उठिरहेछन्, मान्छेहरुको अग्रपंक्तिमा म छु, सबै दिदीबहिनी दाजुभाइ छन् र क्रान्तिमा सहादत पाउनेहरू जुरुक्क उठेझैं लागिरहेछ ।
padam977@yahoo.com
(स्रोत : Nepalipost.com)