संस्मरण : पञ्चायतकालको जागिरयात्रा …

~राधारमण उपाध्याय~

मैले काम गर्ने गोरखापत्रको कार्यालय काठमाडौं भूगोलपार्कको बगलमा छ । ठीक सामुन्ने विशालबजार छ । त्यस ठाउँमा पहिले जनसेवा नामको सिनेमा हल थियो । त्यो हल पहिले सरकारी रहेछ । राजा त्रिभुवनबाट दरबारका सचिव दयारामभक्त माथेमाले बक्सिस पाएका रहेछन् । राजधानीको मुटुमा रहेको त्यो सरकारी सम्पत्ति दयारामले पाएकोमा उनका जोरीपारी र सामान्य जनतालाई पनि मन परेको रहेनछ । तत्कालीन गद्दीनसिन राजा महेन्द्रलाई मन परेको थियो वा थिएन भन्ने यकिन जानकारी थिएन तर पनि बाबुले दिएको कुरा अकारण छोरा राजाले खोस्ने कुरा पनि थिएन । दयारामको स्वामित्व कायम थियो । प्रस्तुत घटना हुनेबेला राजा महेन्द्रको सवारी देशबाहिर थियो । यहाँ जनसेवा सिनेमाका म्यानेजर एवं दयारामका भान्जाले सकडमा हिँडिरहेको भरियालाई बाटो छोडेन भनी कुटेछन् । त्यसै निहुँमा नगरवासी हुल उठेर आई सिनेमामा आगो लगाइदिएछन् । आगो लगाउने काम पनि बडो आरामसाथ भएछ । मट्टीतेल किनेको, बोकेर ल्याएको, सबैतिर छर्केको, आगो सल्काएको, अनि सिनेमा हलका चल सम्पत्ति सबै नै टोलवासीहरूले हारालुछ गरेर लगेको, आगो दन्केको र सखाप भएको यावत कुरा रमितेहरूले देखेका रहेछन् । जनसेवा सिनेमाभन्दा २० मिटर दूरीको दमकल र नजिकैको प्रहरी कार्यालयले देखेको नदेख्यै गरेछन् । १ किलोमिटरभित्रको दूरीमा कार्यालय हुने अञ्चलाधीशले पनि सुनेको नसुन्यै गरेछन् । कुनै मन्त्री वा सार्वजनिक व्यक्तिले यो कुरा बुझ्दै बुझेनन् । कार्यालयबाट सय मिटरभित्र भएको यो घटनाको समाचार गोरखापत्रले कहिल्यै छापेन ।

यो घटना मेरा निम्ति पनि आसन्न खतरा बन्न गयो । आगलागीको २-४ दिनपछि श्री ५ को सरकार, प्रचार विभागका निर्देशकले मलाई बोलाएर घटनाको समीक्षा लेख्न भने । खुसी भई समीक्षा लेखें र प्रेसमा कम्पोज गर्न दिएँ । गोरखापत्रका सम्पादक गोपालप्रसाद भट्टराई थिए । उनले मलाई ‘परदेशमा रहेका राजाको आशय नबुझी कोही केही गर्न र भन्न तयार छैन, तपाई एउटा निरीह, निर्धो र होनहार केटालाई निर्देशकले यसरी बलि चढाउनु ठीक होइन’ भने । अनि बल्ल मैले यो लेख्नु नहुने विषय रहेछ भन्ने बुझें । तर मुद्रणमा रहेको लेख फिर्ता लिन मलाई धौधौ पर्‍यो । निर्देशकले लेख फिर्ता लिन मन्त्रीको स्वीकृत चाहिन्छ भने । मन्त्रीलाई निवेदन गर्दा राजदरबारको संवाद सचिवलाई सोध्नुपर्ने कुरा भने । टेलिफोनबाट लेखको सम्पूर्ण बेहोरा संवाद सचिव रेणुलाल सिंहलाई सुनाएँ । उनले लेखको तारिफ गरे । तर त्यो लेख छाप्दा के हुन्छ भन्न सकिँदैन उनले भने । मैले सम्पादकलाई फेरि गुहारेँ । अर्को दिन अझ राम्रो समीक्षा तयार गर्छु भनी आफ्नो लेख फिर्ता लिएँ र आफ्नो कोठामा आएर त्यो लेख नै च्यातिदिएँ । पछि राजा नेपाल भित्रिंदा दरबार नपुगी सरासर त्यही जनसेवाको खरानी रहेको ठाउँमा गए । जाँच कमिसनको गठन भयो । सम्बन्धित सबै सरोकारवालाहरूले यत्किञ्चित् सजायँ पाए । दयाराम जनसेवा सिनेमा घर एवं स्थानबाट पनि वन्चित भए । उजाडिएको ठाउँलाई सरकारी बनाइयो । त्यसपछि हाल त्यहाँ सार्वजनिक क्ष्ाेत्रको विशालबजार खडा भयो । अहिले पनि छँदैछ ।

***********************************

एकजना राजसभा सदस्य र दुईजना राष्ट्रिय पञ्चायत सदस्य आएर वीरगन्जको एउटा व्यापारिक घरानाका लागि करिब १ करोड मूल्यको मुसुरोको दाल निकासी लाइसेन्सका लागि अनुरोध गरे । मैले अस्वीकार गर्दा मन्त्रालयबाट दबाब गराइयो । बरु जागिरबाटै राजीनामा गर्छु भनी मन्त्रालयमा पठाएँ । सचिव शिवनारायण दास

-सामान्यतया भ्रष्ट नमानिने) ले फाइल मन्त्रालयमा झिकाए र त्यहीँ अड्कियो । मेरो राजीनामा स्वीकृत भएन, बरु म ३ महिनाका लागि अध्ययन भ्रमणमा जर्मनी पठाइएँ । सचिव सायद निर्दोष थिए । म फर्केर आउँदो त्यो लाइसेन्स दिइएछ र दिने पदाधिकारीले महाराजगन्जमा करोड मूल्यको घर जोडेछन् । म जोगिएकोमा मैले आफूलाई भाग्यमानी सम्झेँ र अरूले मलाई करोड गवाउने भाग्यहीन सम्झे हुन् । गलत काम त भयो नै ।

***********************************

सिंहदरबारमा आगलागी भयो । नेपालको त्यो विशाल सम्पत्ति खरानी भएको देखेर सिंहदरबार परिसरमा रुन्चे मुख लगाएर बसेको थिएँ । मेरा एक सहयोगीले अर्का सहयोगीको कुरा उठाएर ती आज धेरै प्रसन्न छन् भने । किन भनेर सोध्दा- सिंहदरबार डढ्यो, यहाँका सबै फर्निचर स्वाहा भए, अब नयाँ फर्निचर किन्ने मौका आयो, खुब कमिसन आउँछ भनेर ती प्रसन्न भएको बताए । सानो नेपालले एसियाकै सबभन्दा ठूलो भन्न पाउने र गर्व गरिने त्यो राष्ट्रिय सम्पत्ति खरानी हुँदा आफ्नो क्षुद्र र कलंकित स्वार्थका लागि प्रसन्न हुने ती सहयोगी प्रसन्न भए होलान् भनी मनमा ल्याउन सक्ने यी सहयोगीप्रति मेरा मनले धिक्कार गर्‍यो । भ्रष्ट भएकाहरूको गति र मति त्यस्तै त हुने हो ।

***********************************

मेरो पदसित सम्बन्धित अर्को चर्को र चर्चित काममा गाउँर्फक राष्ट्रिय अभियानसमेत सम्बन्धित थियो । यस काममा रहेको राजनीतिक अभिप्राय र चुनौतीबारे छोटकरीमा बताउँछु । सार्वजनिक कार्यकतर्ाहरू केन्द्र र सहरमा सीमित हुनुहुँदैन । गाउँमा गएर निमुखाहरूको सेवा र ग्रामीण विकासमा लाग्नुपर्छ । यसका लागि राष्ट्रियस्तरमा अभियान नै चलाउने भन्ने शाब्दिक उद्देश्य थियो । वास्तवमा पञ्चायतमा संकीर्ण अनुदारवादविरुद्ध भित्रभित्रै विरोध पनपिने अवस्थामा थियो र उदारवाद जुर्मुराउन थालेको थियो । यस अवस्थामा सम्भावित उदारवादीलाई तह लगाउने वास्तविक उद्देश्य लिएर ‘गाउँर्फक’ राष्ट्रिय अभियान आएको हो । यसमा मन्त्रीसरहका केन्द्रीय सदस्य र अझ वरिष्ठ अध्यक्ष्ा भएको समिति केन्द्रमा र अन्य तहमा पनि आफ्नै तह अनुसारका पदाधिकारी रहन्थे । पछिल्ला समयका पञ्च र नेताहरू जस्ता घुस्याहा एवं क्षुद्र स्वार्थ नभए पनि तीक्ष्ण बुद्धि भएका र राम्रो भाषण कलाका धनी डा. तुलसी गिरी, भित्रैदेखि राष्ट्रवादी एवं प्रजातन्त्रलाई मन पराउने तर अस्थिर विचार एवं अतृप्त महत्त्वाकांक्षाका कारण कुण्ठायुक्त रहेका विश्वबन्धु थापा, अन्तर्राष्ट्रिय घटनाक्रममा नै अल्मलिएर देशको वास्तविक अवस्थासित बेखबर रहने ऋषिकेश शाह तथा यिनीहरूका दृष्टिकोणसित नजिकिएका अन्य नेता एवं कार्यकर्ता अप्रासंगिक हुँदै गएका थिए । सुधारवादीहरूलाई पञ्चायत परिधिबाट हटाउनुपरेको थियो । डा. तुलसी गिरी, विश्वबन्धु थापा, ऋषिकेश शाह आदिमाथि प्रजातन्त्रविरुद्ध षड्यन्त्र गरेको र मित्रद्राेह गरेको गम्भीर अपराधको अभियोग जनताले लगाएको हो । अनि तिनीहरू पनि अपराधी भावनाबाट पीडित थिए तर पछि पञ्चायतमा समावेश भएकाहरूसित भने त्यस्तो अभियोग र त्यस्तो भावना थिएन ।

पछिकाहरू व्यावहारिक राजनीतिका पृष्ठपोषक, घुस्याहा र क्षुद्र थिए । उनीहरू उदारवाद एवं अनुदारवादका अघोषित एवं अनौपचारिक समूहमा विभाजित हुन गए । उदारवाद तथा अनुदारवाद पनि सिद्धान्तका हिसाबले होइन व्यक्तिगत मौकावादको हिसाबले बढी प्रयोग भएको हुन्थ्यो । यसबेला एक समूहले अर्को प्रतिद्वन्द्वीलाई हटाउन गाउँर्फकको प्रयोग गर्दथ्यो र जति कट्टर अनुदार भयो त्यति बढी राजभक्त हुने होड थियो । विश्वबन्धु तालकाहरू टिकेनन् । कम्युनिस्ट पृष्ठभूमिका व्यक्तिले बढी मौका पाउन थाले । पञ्चायतका सबै निकायमा निर्वाचित हुन सम्बन्धित तहको गाउँर्फकको मनोनयन प्राप्त गर्नु अनिवार्य बनाइयो । गाउँर्फकका सबै तहमा सबैजना मनोनीत हुन्थे । वर्गीय संगठन कुनै वर्गको पनि संगठन थिएन तर पञ्चायतमा उम्मेदवार हुन वर्गीय संगठनको सदस्य हुन जरुरी भयो । वर्गीय संगठन पनि मुख्यतः मनोनयनबाट नै गठन गरिन्थ्यो । त्यहाँ कुनै निर्वाचन देखौवामात्र बनेको थियो । वास्तवमा जनप्रतिनिधित्व गर्ने कुनै निकाय रहेन । राष्ट्रिय पञ्चायतको गठनमा कुनै प्रतिनिधित्वको भूमिका नपाएको भए पनि पहिले विद्यार्थी संगठन र पछि राष्ट्रवादी स्वतन्त्र विद्यार्थीमण्डल नाममा पञ्चायत राजनीतिमा पालिएका युवाको दबदबा बढेको थियो । मण्डल अथवा मण्डले भनेपछि ठूला नेता भनाउँदाहरूले पनि हच्कनुपर्ने अवस्था आयो । खेलुकद विकासका नाममा पालिएकाहरू पनि एकप्रकार मण्डले नै थिए । पछि गएर नेपाली राजनीतिमा मण्डले बोध हुन थाल्यो । हुन त यो प्रवृत्ति कांग्रेसी, कम्युनिस्ट एवं माफियाद्वारा नगण्य संख्यामा पालिएका समूहहरूमा पनि यदाकदा देखिन आउँछ । तर गाउँर्फकको छत्रछायामा पञ्चायती मण्डलेको नै बिगबिगी बढेको देखियो । सरकार लाचार छायाँमात्र बन्यो । सरकारी कर्मचारीदेखि औपचारिपक रूपमा छानिएका पञ्च प्रतिनिधि पनि वाक्क हुने अवस्था आयो । यस्तो अवस्थामा जनतासित गुहार हुन्छ, जनता त स्वामी हो ।

***********************************

गाउँर्फक गयो । पञ्चायतले कोल्टे फेर्‍यो । यसका लागि जनविरोधी भएको र त्यसका विभिन्न घटनाक्रमलाई मैले गृहमन्त्रालयको वरिष्ठ अधिकृतका हिसाबले नियालेँ र राजा वीरेन्द्रले नरम दृष्टिकोण लिएका हुनाले धेरै क्ष्ाति नहुँदै र अपेक्षाकृत चाँडै अर्थात् जनविरोध बढेर जान नपाउँदै साम्य भयो । अब जनमत लिन उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने भयो । मौलिक अधिकारमध्ये प्रजातन्त्रका लागि अनिवार्य हुने बोल्ने, लेख्ने, प्रकाशित गर्ने, सभा गर्ने, जुलुस निकाल्ने, विरोध गर्ने जस्ता स्वतन्त्रता पञ्चायतमा नियन्त्रित थिए । ऐनद्वारा, नियमद्वारा, नीति निर्देशनद्वारा र गोप्य परिपत्रद्वारा यस्तो नियन्त्रणको बन्दोबस्त भएको थियो । जमनत संग्रह गर्नु अगावै ती नियन्त्रण हटाउनुपथ्र्यो । ऐननियमको त्यस्तो व्यवस्था मिलाउने काममा म खटिएँ । प्रधानमन्त्री एवं अन्य २, ३ उच्च पदाधिकारीका सामान्य रोहवरमा यो काम गर्नुपर्ने थियो । कामको गरिमाअनुसार दत्तचित्त भएर मैले पाएको यो चुनौतीपूर्ण अवसरलाई सक्दो उपयोग गरेँ ।

***********************************

मैले राजा वीरेन्द्रलाई एक्लै भेट्ने पहिलो अवसर पाएँ । मेरो यस जागिरयात्रामा राजा वीरेन्द्र भनी प्रेमपूर्ण सम्बोधन गरिएका श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवलाई म व्यक्तिगत रूपमा पनि हार्दिक आदर गर्दछु । बहुतै सहृदयी र सरल व्यक्ति थिए उनी । एकदिनको कुरा हो, गृहमन्त्रालयको मेरो कार्यकक्षमा काम गरिरहेका बेला मलाई भोलिपल्ट बिहान ९ बजे राजदरबार आउनु भनियो । यो कुरा गोप्य राख्न भनियो, राजदरबार जाँदा सरकारी गाडी प्रयोग नगर्नु, औपचारिक पोसाक नलगाउने, टोपीमात्र र पेन्ट लगाउने, ८ बजेर ठीक ५० मिनेट गएपछि दरबारको पश्चिम ढोकामा देखापर्ने, सरकारी सहयोगी एवं परिवारजनलाई पनि दरबार जाने कुरा नगर्ने आदि इत्यादि कुरा भनियो । दरबारमा मैले कसलाई भेट्ने भन्ने खुलासा गरिएन तर ती आदि इत्यादि कुरा भएकाले मैले राजाकै भेट पाउने भन्ने शंका लागेको थियो । बिहान ८ बजे नै घरमा भात खाएर भनिएको ठाउँमा भने जस्तो हाजिर भएँ । १ जना आएर मलाई भित्र प्रमुख सचिवसमक्ष पुर्‍याए । प्रमुख सचिवले मलाई राजाबाट दर्शनभेट बक्सने कुरा भने र कुनै कुण्ठा र प्रतिस्पर्धा नभएको मैले राजासित आत्तिनुपर्दैन अनि मैले शान्त भएर राजासित वार्ता गर्नुपर्दछ भनी सल्लाह दिए । उनले मलाई एउटा मझौला खालको बैठक कोठामा पुर्‍याएर एक्लै छोडे ।

९ः१५ तिर त्यहाँ राजाको सवारी भयो र राजाले मलाई आफ्ना नजिकै बस्न संकेत गरे । मेरो शिक्षा, दीक्षा र कामका बारे सामान्य परिचयपछि राजाले जनमत संग्रहलाई यथेष्ट सुविधा पुर्‍याउन कानुनी व्यवस्था कसरी मिलाइँदैछ भन्ने जिज्ञासा बताए । मैले स्पष्ट पार्ने कोसिस गरेँ । राजाको भाव र कुराकानी गर्ने तरिका धेरै सौहादर््रपूर्ण भएकाले विस्तारै मेरो डर हटेर गयो । राजासित कसरी कुरा राख्ने होला, आफूप्रति राजाको कस्तो दृष्टिकोण बन्ला र मैले गर्ने काममा यस भेटबाट कति प्रभाव पर्ला जस्तो कुराले आशंकित थिएँ तर अब आश्वस्त भएँ । राजालाई यी कानुनहरूका बारेमा विस्तारमा नै धेरै जानकारी रहेछ । छलफलका पक्षहरू सबै खुलस्त गरिए । जनमत संग्रहका लागि जनतालाई प्रजातान्त्रिक अधिकार उपलब्ध गराउने कानुन तर्जुमा गर्दा कन्जुस्याईं नगर्नु, यथेष्ट व्यवस्था गर्नु, दरबारबाट गर्नुपर्ने कुनै काममा सहयोग चाहिए मलाई भन्नु आदि निर्देशन पाएँ । व्यवहार मित्रतापूर्ण थियो र पछिपछि पनि त्यस्तै मित्रतापूर्ण व्यवहार पाउँदै गरेँ । राजाले मलाई मन पराए जस्तो लाग्यो । त्यस दिन २ घन्टा ३० मिनेट छलफल भयो ।

***********************************

राजाको सदासयता जस्तो रहेको भए पनि निहित स्वार्थ फणा उठाएर गोमन सर्पझैँ खडा भयो । पञ्चायतलाई जिताउन पञ्च परिचालन गर्ने उद्देश्यका लागि धन जम्मा गर्न वन बेमाख गरियो । नेपालको धन, हरियो वन भन्ने उखानको उल्टो वन बेमाख भएर गयो । त्यसै पनि नेपालको वन अभिभावकहीन थियो, अब त शत्रु पसे, सुकुम्बासी बसाउनेदेखि पञ्चायत जिताउनेसम्मको नाममा वनको ठूलो दुरुपयोग भएको छ र भइरहेकै छ । पुराना पुरातात्त्विक मूर्ति र अन्य दुर्लभ कुरालाई पनि पञ्चायतलाई जनमतमा जिताउन देश कटाइयो । बाघभालुका छालाको निकासी पनि गरियो । ब्रह्मलुट भयो । बहुदलविरुद्ध सुधि्रएको पञ्चायतको जनमत संग्रहमा जिताउन मण्डलेहरूलाई पनि खुला छोडियो । धेरै मोटाएका र पैसा नपाई डेक नचल्ने बानी बसाल्न पुगेका पञ्चहरूलाई परिचालन गर्न सजिलो थिएन । बरु भाडाका टट्टुलाई प्रयोग गरेर भए पनि बहुदललाई हराउने काम भएको बुझिन्छ ।

***********************************

जनमत संग्रहमा विजय प्राप्त गरेको घोषणा भएपछि पञ्चायतलाई सुधार्नका लागि नेपालको संविधान २०१९ मा संशोधन गर्ने काम हुनुपर्दथ्यो । संविधान संशोधन सुझाव आयोगको गठन भयो । आयोगका अध्यक्षमा सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश वासुदेव शर्मा र ७ जना अरू सदस्य थिए । सदस्य सचिवमा ध्रुववरसिंह थापा

-तत्कालीन कानुनसचिव) थिए । नियतिले मलाई यहाँ सदस्यसचिवलाई सघाउन पुर्‍यायो । म उनको सहयोगी भएर त्यहाँ काम गर्न थालेँ । अध्यक्ष्ा विचारमा त्यति दृढ देखिएनन् तर सदस्यसचिवका पहलमा उदारतालाई प्रश्रय दिने मस्यौदा तयार भयो । त्यसमा मेरो पनि सहमति थियो । तर अन्य सदस्यहरूले त्यसको घनघोर विरोध गरे । म त पर्दा पछाडिको सहयोगी भएकाले गाली खाइन तर सदस्यसचिवलाई कांग्रेसी भनेर भन्नु-नभन्नु गाली गरे । यो विरोध गर्ने त्यही तत्त्व हो, जसले राजाबाट सदासयताका साथ घोषित जनमत संग्रहलाई बङ्ग्याएको थियो । राजासित मेरो विचार मिल्यो भनी पहिलो मख्ख र पछि हिस्स पर्ने अवस्था बीपी कोइरालाले बेहोर्नुपरेको थियो । त्यसै तत्त्वले नेपालको वन, पुरातात्त्विक र निषिद्ध कुरालाई देश कटायो । मण्डले चम्काएर थितिबिति खल्बल्यायो । त्यसै तत्त्वको भूमिकाले संविधानको राम्राे सुधार हुन पाएन । त्यो मस्यौदा सबैबाट फिर्ता लिएर डढाइयो, संयोगवश म तत्काल त्यहाँ नभएकाले मसितको प्रति मात्र सुरक्ष्ाित रहन सक्यो । त्यो मस्यौदा स्वीकृत भएको भए २०४६ सालको जनआन्दोलनको जरुरत नै पर्ने थिएन कि भन्ने म सम्झन्छु । अनि अर्को अनुदार पक्षीय दृष्टिकोणबाट मस्यौदा लेखन गरियो । म त्यहाँ पनि सामेल भएँ । अन्ततः दोस्रो मस्यौदा आयोगबाट स्वीकृत भई दरबारसमक्ष पेस भयो । राजाबाट स्वीकृत भई संशोधित संविधान लागू हुने घोषणा भयो ।

***********************************

राजा एवं राजाका विकास क्ष्ाेत्र भ्रमण शिविरसित सम्बन्धित तीन संस्मरण बताउँछु । प्रायः प्रत्येक वर्ष र क्रमशः सबै विकास क्ष्ाेत्रहरूमा राजा वीरेन्द्रको सवारी हुने र सवारी शिविरलाई केन्दि्रत गरेर त्यस क्ष्ाेत्रका उपयुक्त स्थानहरूमा निरीक्षण भ्रमण हुने गर्दथ्यो । त्यस समयमा स्थानीय विषयप्रति बढी ध्यान आकषिर्त हुन्थ्यो ।

कुनै एक दिन ११ः३० बजेतिर भोलिपल्ट बिहान ७ः३० मा सवारी मन्त्रालय, सवारी शिविर, धनकुटामा हाजिर हुनु भनी मलाई टेलिफोनद्वारा भनियो । राजाको सवारी धनकुटामा थियो । मलाई के कस्तो कामका लागि त्यहाँ बोलाइएको हो, बताइएको थिएन । जे भए पनि जानु नै थियो । काठमाडौंबाट विराटनगरसम्मको हवाई यात्रा गर्न प्लेनको टिकट सुलभ भएन । विमानस्थलमा नै केही उपाय लाग्छ कि भनी विमानस्थल गएँ । तर टिकट नपाइए रातभर भए पनि गाडीबाट धनकुटा जाने सरकारी जिप पनि तयार राखेको थिएँ । विमानस्थलमा म जस्तै बोलाइएकाले मेरा तत्कालीन विभागीय मन्त्री भरतबहादुर प्रधान पनि पुगेका रहेछन् । त्यहीं भेट भएपछि दुवै जना धनकुटा जाने कुरा थाहा भयो । एकमात्र हवाई सेवा शाही नेपाल वायु सेवा निगमको सिट दुर्लभ थियो तर कन्र्फम टिकट भएका यात्रीलाई पन्छाएर अन्यायपूर्ण ढंगबाट हामी दुईलाई उडाइयो । ठीक त लागेन, तर उडियो । रात्रि विश्राम विराटनगरमा भयो । बिहान ४ बजे उठेर ७ बज्दानबज्दा गाडीद्वारा धनकुटा पुगी तोकिएका ठाउँमा हाजिर भयौं । करिब ८ बजे राजाको बैठकमा पुर्‍याइयौं । त्यहाँ राजाको सवारी भएपछि सवारी मन्त्री पशुपतिशमशेरले १-१ पन्ना कागज हामी दुईलाई दिए । कागजमा २-३ प्रश्न रहेछन् । उत्तर लेखेर सही गर्नु भनिएको रहेछ । प्रश्न थिए-

१. विराटनगरका जुट मिल्सहरूको अवस्था अव्यवस्थित रहेको र राम्ररी सञ्चालन नहुनुको कारण के ?

२. त्यसका लागि जिम्मेवार को ? र

३. जिम्मेवारलाई के सजाय दिने ?

हामी दुवै, मन्त्री र सचिव त्यस मन्त्रालयमा आएको २-४ महिनामात्र भएको थियो र जुट मिल्सको अव्यवस्थाको इतिहास १५-२० वर्ष पुरानो हो । अब हाताहात तत्काल के लेख्ने ?

मैले जवाफमा लेखेँ-

१. सुसञ्चालन नहुनु प्रशासकहरूको कमजोरीका कारण हो ।

२. त्यसका लागि जिम्मेवार भरतबहादुर प्रधान र राधारमण उपाध्याय हुन् ।

३. तिनीहरूलाई यथोचित सजाय दिनुपर्छ ।

मेरो कागजसँगै बसेका भरतबहादुर प्रधानलाई देखाएँ । उनले आँखा ताने । मैले यस्तोमा अरू कुरा बोल्ने अवकाश नहुँदा दुवैले जवाफ ठीक छ भने । आ-आफ्ना कागजमा एउटै बेहोरामा दुवैले सही गर्‍यौं र अलि पर बसेका सवारी मन्त्रीलाई दियौं । उनले पनि आँखा ताने र कागज राजासमक्ष पेस गरे । पढेपछि राजाको अनुहार पनि गम्भीर भए जस्तो लाग्यो । हामीले काठमाडौं र्फकने अनुमति पायौं । सवारी शिविरमा खाना खाएर हामी फर्कियौं । सजाय पनि भएन र पछि कुरा पनि केही उठेन ।

***********************************

नेपालको शासन प्रणालीले नयाँ रूप लिन तरखर गर्न थालेका बेला जनआन्दोलन प्रारम्भ भयो । कर्मचारी वर्गले राम्रै हिसाबले पञ्चायती शासनविरुद्ध विद्राेह गरे । लोकसेवा आयोगका कर्मचारी नेतृत्व पंक्तिमा नजिक देखिन्थे । जनआन्दोनलको प्रतिकारमा कोही देखापरेन । पञ्चायतकालमा मोटाएका पञ्च महापञ्चहरू दुलाभित्र पसे । शासनले जनआन्दोलनको प्रतिकारमा कर्मचारीलाई प्रयोग गर्ने विचार गरेछ र प्रतिकार र्‍यालीमा भाग लिन कर्मचारीहरूलाई अनिवार्य रूपमा पठाउने मौखिक परिपत्र भएको थियो । मलाई सामान्य प्रश्ाासन मन्त्रालयका सचिव विमलराज बस्नेतले लोकसेवा आयोगका कर्मचारीलाई र्‍यालीमा भाग लिन युवालय, पाटनमा पठाइदिने उर्दी सुनाए । मैले ठाडै अस्वीकार गरेँ । अस्वीकार गर्दा मेरो जागिरमा खतरा पर्न सक्थ्यो भने कर्मचारीलाई र्‍याली गर्दा जीउज्यानकै बढी खतरा हुने थियो । यो छद्मभेषी कुरा मलाई मान्य थिएन र सम्बन्धित कर्मचारीको पनि विरोध हुन सक्थ्यो । मेरो अस्वीकृति प्रकटमा नभनिएर गोप्य थियो तर अनधिकृतमा गोप्य वार्ता सुनिएको रहेछ र म कर्मचारीवर्गको पक्ष्ाधर मानिएछु । निम्नस्तरका कर्मचारीले उच्चस्तरको विरोध गर्ने सिलसिलामा पनि म उच्चपदस्थ सचिवको विरोध भएन । बरु मलाई अप्ठेरो पर्ने स्थिति नआओस् भनी सबै कर्मचारी मप्रति संवेदनशील भए । उद्योग सचिव हुन मलाई बदली गर्ने भुवनेश्वर खत्रीलाई उद्योग मन्त्रालयमा आच्छुआच्छु परेछ । उनको मप्रति व्यवहार मित्रवत् थियो । मलाई भेटन आयोगमा आउँदा तपाईं भाग्यमानी भन्ने गर्दथे ।

(अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त उपाध्यायको प्रकाशित पुस्तक ‘जागिर यात्रा’ का केही अंश ।)

2006-01-09

(स्रोत : Majheri.blogspot.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.