(१)
“ढोका खोल्,”
भात खाएर सुतेको धेरैबेर भैसकेको थियो । पहाडको सानो घर, कोठाहरु धेरै थिएनन् । भुइँतलालाई जयबहादुरले सानो पसल बनाएको थियो । गाउँ पनि ठूलै थियो अनि उनीहरुको घर पनि जुम्ला जाने मूल बाटैमा पर्दथ्यो । त्यसैले आफ्नो सानो पसलबाट पनि जयबहादुरले राम्रै कमाई गरिरहेको थियो । सानो घरलाई जयबहादुरको परिवारले मिलाएर व्यवस्थित गरेको थियो । पसलको पछाडिको भागमा उनीहरुले चुलोचौको सम्हालेका थिए । यात्रीहरुका लागि चिया चमेना र परिवारका लागि भातभान्सा दुबैतिर काम लाग्ने हुनाले भुइँतलालाई व्यापारिक प्रयोजन भनिदिँदा पनि हुन्थ्यो ।
माथिल्लो तलामा तीन ओटा कोठाहरु बनाइएका थिए । एउटामा राखनधरन गर्ने चलन थियो भने अर्को कोठामा छोराछोरीका दुइटा ओछ्यानहरु बनाइएका थिए । जयबहादुरका बुढाबुढी सुत्ने कोठा बाटोतिर फर्किएको थियो । त्यसैले बाटामा चप्पल फ्याट् फ्याट् गरेको पनि त्यो कोठामा र्छलङ्ग सुनिन्थ्यो । “को हो यो आधारातमा !” जयबहादुर कोठैबाट करायो । तलबाट हकार्ने राम्रा मान्छे होइनन् भन्ने जयबहादुरले ठहर गरिसकेको थियो । जुम्ला जाने बटुवाहरु अलपत्र परेका भए तिनले भन्नेथिए, “साहु बा, रातमा अलपत्र परियो, ढोका खोल्दिनुस् न ।”
“जो भए नि तँलाई के खाँचो । ढोका खोल्छस् कि भत्काइ दिउँ -”
जयबहादुरले हतार हतार भन्यो, “आएँ है आएँ ।”
जयबहादुर उठ्यो । मोतिमाया पनि उठी ।
मोतिमाया, जयबहादुरकी पत्नी । पसल, खेतीपाती र परिवार सञ्चालनमा जयबहादुरकी अर्धाङ्गनिी । साह्रै मिलेको जोडी थियो त्यो ।
“तँ यहीँ बस् ।” जयबहादुरले भन्यो ।
“हिँड्नुस, म पनि जान्छु, मोतिमायाले एकछिन रोकिएर भनी, “ढाँचार्ढराले जङ्गली जस्ता छन् ।” “केही बिराइया छैन, कसैलाई पिराइया छैन । हाम्रा लागि जङ्गली के, शहरीया के !” जयबहादुरले मनलाई शान्त्वना दिन खोज्यो ।
“आजभोलि सजायँ खेप्न केही बिराउनै पर्दैन । पारी डिल्लीकोटको कालीबहादुरले के पो बिगार गर्या थियो र ! ठुनुक्कै हात र खुट्टा भाँचिदिया होइनन् जङ्गलीले !”
“अलि सुस्त बोल्” जयबहादुरले सम्झाउने भाकामा भन्यो ।
“सुस्त बोलेर तिनले दया देखाउने होइनन् क्या रे,” मोतिमायाले बैरागिलो स्वरमा भनी, “दर्ुइ वर्षभयो जङ्गलीले अतिचार मच्चाएको । ओरिपरिका गाउँमा बसिखान दिएका छैनन् भन्थे । तर यसरी मूलबाटोमै आएको त था’ पाइया थिएन ।” मोतिमायाले लामो सुस्केरा तानेपछि भनी, “आजभोलिको जमाना त के भयो भयो, कसैको केही बिगार नगर्दा पनि सुखले बाँच्न नपाइने भयो ।”
गन्थन गरुन्जेल जयबहादुरले लालटिन बालिसकेको थियो । दुबै बुढाबुढी भुइँतलामा ओर्लिए । जयबहादुरले लालटिन बोकेको हात पत्नीतिर तेर्स्यायो, मोतिमायाले लालटिन समाती । जयबहादुरले पसलको ढोका उघारिदियो ।
“वाह्, लालटिन !” ढोकाबाट छिर्ने दोश्रो मान्छेले राल चुहाउँदै भन्यो, “तिमेरलाई किन चाहियो लालटिन हँ – यो त हाम्लाई पो काम लाग्छ ।”
बुढाबुढी केही बोलेनन् ।
“एइ जयबहादुर,” ढोकाबाट तेश्रो व्यक्तिको रुपमा छिर्नेले ढोका नाध्न पाउँदा नपाउँदै भन्यो, “तैँले गएको चार महिनामा आठ चोटी सामन्ती सत्ताको पुलिसलाई बिना पैसा भात ख्वाएको छस् । एकपल्ट सामन्ती सेनाले खाएको पैसा पनि तैँले लिन मानिनस् । तेरी स्वास्नी मान्मकी पूँजीवादी आइमाई हो । यसको माइतीखलक दलालपूँजीपति व्यापारी वर्गमा पर्ने प्रतिकृयावादी सामन्ती सत्ताको दलाल हो । तिमीहरु र्सवहारा वर्गको विरोधी भएको, तिमीहरुले सामन्ती सत्ताका पुलिस र सेनालाई पालेको हुनाले जनसत्ताले तिमीहरुलाई हाम्रो जनराज्यबाट निष्काशन गर्ने निर्ण्र्ाागरेको छ । जिल्ला जनसरकारका कामरेड, अध्यक्ष प्रकाण्डको आदेश अनुसार तिमीहरुले आजको तेश्रो दिनभित्रै जनराज्यको सीमाना काटिसक्नु पर्छ । तिमीहरुले हाम्रो सुराकी गरेको रिपोट पार्टी अहिलेसम्म नआएको हुनाले तिमीहरुलाई यो दुइ दिनको छुट दिइएको हो । यो आदेश पालन गरेर हाम्रो जनराज्यको सीमाना काटेनौ भने तिमीहरु सबैलाई सशक्त कारबाही सहित राज्य निष्काशन गरिनेछ ।”
जयबहादुर छक्क पर्यो । मोतिमाया मनमनै डर्राई । लोग्नेलाई भन्दा उसलाई दागा धरेका थिए जङ्गलीले । उसको आँखामा धनबहादुर साहीकी कान्छी छोरीको बलात्कृत मृत शरीर फनफनती घुम्न थाल्यो । मनको डरले गर्दा उ लोग्नेको पछिल्तिर उभिन पुगी । “तर मेरो बरब्यवहार यो दर्ुइ दिनमा कसरी मिल्ला र -” जयबहादुर पनि डराइसकेको थियो । “हामीसित धेर मुखमुखै लाग्ने होइन । भोलि सबैसँग विदा हुने, पर्सी रक्क हिन्ने । चौथो रात घरमा बत्ती बलेको देखियो भने तिमीहरु सबैको सफाय हुनेछ । यो, पाट्टीको आदेश हो ।” निशाचरहरु जसरी बत्तिँदै आएका थिए, त्यसरी नै बत्तिँदै गए ।
“होइन के भएको हो यो – राजा बस्छन् भन्छन् काठमाण्डौमा । ती राजालाई हाम्रो चासो किन न’भा होला !”
“राजा, मन्त्री, पर्धानमन्त्रीलाई जनताको के चिन्ता ! सबै हाम्रै टाउकामा गीर खेल्न पल्किया न छन्,” जयबहादुरले घृणाको थुक थुक्यो ।
“तेसो भए राजा, मन्त्री, पर्धानमन्त्री, साँसद कोही पनि हाम्रा हुँदैनन् -”
“खान पल्क्या तिनीहरु केका लागि हाम्रा हुन्थे – काठमाण्डुमा बस्या’छन् । माछामासु खा’छन् । तिनका लागि हामी त उही भ्यागुता, गँड्यौला न हो !” जयबहादुरले मनको भडास पोख्यो ।
रात अन्रि्रामा बित्यो ।
बिहानको रिमरिमे उज्यालोसँगै जयबहादुर, घरबाहिर निस्कियो । छोराछोरीले रातीको घटना थाहा पाएनन् भनेर मोतिमाया ढुक्क भएकी थिई । बाटो नलागुन्जेल छोराछोरीलाई केही नभन्ने ठहर गरेका थिए बिहानीपख बुढाबुढीले । भएको गरगहना र पैसाको हिसाब गरेर गाउँमा हल्ला हुनुभन्दा पहिले नै उठ्ती पुठ्ती सिध्याएर सामान लिन तर्राई झर्ने भाकामा कुरा गर्ने निष्कर्षपनि तिनले निकालेका थिए । त्यही निष्कर्षा कारण जयबहादुर घाम नझुल्किँदै घर बाहिर निस्किएको थियो ।
आफ्नो आँखाको आँशु र मनको बह लुकाउँदै मोतिमायाले छोराछोरीलाई भात खुवाई ।
दिन बित्यो । १४ वर्षी छोरीसँग मोतिमायाले सुस्केराको भाकामा रातीको कथा सुनाउदै भनी, “अब हामी मैदानतिरै बस्छौँ । जङ्गलीको हातबाट मारिनु भन्दा औलो र हैजाबाटै मर्नु निको भनेका छन् बाउले । कथम्कदाचित म मरिहालेँ भने बाउ र भाइको आड हुनु । तँ ठूली छेस् । भाइ सानै छ, बाउ एक्लिन्छन् ।” घरमा भाइ पनि थिएन, बाउ पनि थिएन । ठूली क्वाँ क्वाँ गरेर रुन पनि सकिन । आमाले सम्झाउँदै भनेकी थिई, “अनुहार अँध्यारो नपार्नु, आफ्नो बह कसैलाई नकह । आज दिनभरिमा बाउले उठ्तीपुठ्ती जेजति हुन्छ सिध्याउलान् । भोलि बिहान उज्यालो नखस्दै कुम्लाकुटुरा बोकेर हामी बाटो लाग्नर्ुपर्छ । त्यसैले आज दिनभरि केही नभए जस्तो गरेर बस् ।”
बस्न सजिलो थिएन । मोतिमायाले जङ्गलीहरुको ठाडो धम्की सुनेकी थिई र मृत्युभयका कारण त्यसले आफूलाई सम्हालेकी थिई । तर ठूलीले त धम्की सुनेकी थिइन । त्यसैले उ कुना पसेर धेरैबेरसम्म बर्बर् आँशु खसाउँदै रोई ।
“कुखुरा नबास्तै बाटो लाग्नुपर्छ,” साँझ खसेपछि घरभित्र छिरेको जयबहादुरले आफ्नी पत्नीलाई सुनायो, “जति सकियो उति उठाइयो । बाँचीवर्ती रहिएछ र पछि फर्किन पाइएछ भने बाँकी बक्यौता स्याहारुँला । सन्ते माइलो बाहेक कसैलाई पनि साँच्चो कुरो भनिन । एक न एक जनालाई त मनको बह पोख्नु नै थियो । भन्या छु – बिहान उज्यालो खस्ता नखस्तै बेँसी झर्नेछौँ । दुइ चार दिन ख्याल गर्नु । जङ्गलीले सबै कब्जा गर्छन् भन्ने सुनिएकै हो । सबै कब्जा गरेछन् भने सकिई हाल्यो, खेतीपाती कब्जा गरेर बाटोको घर छोडिदिएछन् भने यसो हेरविचार गर्नु, अथवा आफैँले पसल चलाउन मिलेछ भने चलाउनु ।”
रात रित्ता आँखामै बगेर गयो । जयबहादुरले बिहनको चार बजे बाटो लाग्ने गरी पोकोपुन्तुरो कसेको थियो । आफ्नो भागमा पैसा, गरगहना र ओढ्ने ओछ्याउने पारेको थियो । मोतिमायाले सबैका लत्ताकपडालाई एकै पोकोमा बेरेकी थिई । छोरीले साना भाँडावर्तन र थोरै लुगाको पोको बनाएकी थिई । भाइ रित्तै थियो । माथि लेकतिर उज्यालो झुल्किँदा जयबहादुर र उसको सानो परिवार नदी पारीको उकालोमा बाटो काट्दै थियो ।
(२)
घर छोडेर हिँडेपछि दैलेख जिल्लामा दुइ बास अनि सुर्खेत जिल्लामा एक बासको बाटो काटेर जयबहादुरको परिवार मैदानमा झर्यो । तीनै बासहरुमा जयबहादुरको परिवारले सहानुभूतिको स्वर पायो । ती तीनै बास, जयबहादुरको व्यापारी जीवनका स्थायी बासहरु थिए ।
“यस्तो दुःख कसैले खेप्नु नपरोस्,” जयबहादुरको इमानलाई सम्झदै बास दिनेहरुले जयबहादुरको परिवारलाई पाहुनाको स्वागत गरे । “मैदानतिर केही कसो गर्न सकेँ र जङ्गलीको उछित्तो काढिएपछि थातथलोमा फर्किन सकेँ भने हजुरको सद्भावको ऋण तिरौँला । उतै चिहान खनियो भने माफ गर्नु होला,” जयबहादुरको विन्तीले सबै बासवालाको गह रसायो । चौथो दिन दिउँसोको तीन बज्दा जयबहादुरको परिवार कोहलपुरको राजमार्ग चोकमा ओर्लियो । बाँके जिल्लालाई चिरेर झरेको थियो उत्तर दक्षिणको मोटर बाटो । बाँके जिल्लालाई नै चिरेर पूर्व पश्चिम तानिएको थियो नेपालको सबैभन्दा लामो पूर्वपश्चिम राजमार्ग ।
“आमा, हामी कता जाने अब -” ठूलीको प्रश्न सुनेर मोतिमाया झसङ्ग झस्किई । तलतिर कोहलपुर थियो – मोतिमायालाई यत्ति थाहा थियो । पूर्व र पश्चिमतिर के थियो भन्ने ज्ञान मोतिमायालाई थिएन । त्यसैले उसले छोरीलाई जवाफ दिइन । बरु उल्टै छोरीको प्रश्नलाई आफ्नो पनि प्रश्न बनाएर उसले सोधी, “ठूलीका बा, अब हामी कता जाने -”
“अहिले एकाध दिनका लागि कतै ठेगान लाग्नुपर्ला यतै राजमार्गको छेउछाउतिर । हामी जस्तै खेदिएकाहरु यतै कतै बसेका छन् भन्ने सुन्याथेँ पोहोर माल लिन आउँदा । तिनकै आसपास बस्नुपर्ला । आखिर मर्दा पर्दा कोही न कोही त चाहिन्छ नै,” जयबहादुरले पत्नी, छोरी र छोरालाई सुनाउँदै भन्यो ।
बाउबाजेले रगतपसीना बगाएर आर्जेको थातथलोबाट जबरजस्ती विस्थापित भएको जयबहादुरको परिवार आफूजस्तै विस्थापितहरुको खोजी गर्न थाल्यो । धेरै जनासँग सोधखोज गरेपछि, अन्तमा कोहलपुर चोकबाट पाँच किलोमिटर पर्ूवतिरको जङ्गलको मुखैको ऐलानी जग्गामा तिनीहरुको बसोबास छ भन्ने सुनेपछि उसले पनि त्यही बाँझो जग्गालाई आफ्नो थातबास बनायो । जयबहादुर भन्दा अगाडि पच्चीस परिवार आइसकेका रहेछन् विस्थापित भएर दैलेख, कालिकोट र जाजरकोट जिल्लाहरुबाट ।
सुखका दिनहरु आशामा पनि पलाउन सकेका थिएनन् । सबैले विस्थापित जिन्दगीसँग सम्झौता गरिसकेका थिए । ‘एक न एक दिन त फर्किन पाइएला नि पुर्खाको थातथलोमा,’ भन्ने विश्वास सबै बुक्राहरुमा सुनिन्थ्यो । दिन सलह जसरी बगेर जान्थ्यो दुःख माथि दुःखै थपेर ।
“बा, माउवादीहरु त गरीबको भलो गर्छन रे हो -” एक दिन छोरीले जयबहादुरसँग सोधी । “माउवादीले गरीबको भलो गर्ने भए हाम्ले किन घर गाउँ छाड्नु पथ्र्यो -” लोग्नेभन्दा अगाडि नै मोतिमायाले छोरीसँगै प्रत्रि्रश्न गरी ।
ठूलीसँग उत्तर थिएन । उसले बाउको अनुहारतिर हेरी । जयबहादुरको अनुहार उराठलाग्दो थियो । “आमा, हामीलाई गाउँबाट खेद्ने जङ्गली हैन रछन् नि । तिनीहरु त माउवादी पो रछन् ।” “जङ्गली र माउवादी भनेका एउटै हुन् ।”
“माउवादीलाई किन जङ्गली भन्या त – माउवादीलाई माउवादी नै भने हुँदैन -” जयबहादुरले. पुलुक्क छोरीको अनुहारतिर हेर्यो ।
“छाड्दे यी सब कुरा । हाम्रा लागि के माउवादी के खाउवादी । के राज्य । के जङ्गल । माउवादीहरु पहाडबाट ओरालो लागेर यतै छेउकुनातिर आइसके । राजाका मान्छेहरु देख्या नदेख्यै गरेर बस्या छन् । यो छाप्रोमा पनि कति दिन बस्न पाइने हो, भाग्दा भाग्दा कहाँ पुगिने हो ! भन्ने अत्तोपत्तो नभएको बेलामा केको माउवादीको कुरा गरि रा’ !”
जयबहादुरको झर्कोसँग कसैले लुकामारी खेलेन । जिन्दगी चलेको थियो जयबहादुरको । किनभने त्यो चल्नै पथ्र्यो । पहाडको पानीमा हुर्किएको, भरखरै दुइ कोरी टेकेको ज्यान ज्याला बनी गथ्र्यो । घरमा सम्हाल्नु पर्ने केही थिएन । जयबहादुर भन्दा पाँच वर्षकान्छी मोतिमाया पनि लोग्नेसँगै बनीबुतो गर्न हिँड्थी । ठूलीका आफ्नै सँगातीहरु थिए जङ्गल गएर दाउरा ल्याउने । सानो छोरो बिस्तारै बिस्तारै जीवनसँग परिचित हुन थालेको थियो । कहिले उ दिदीसँग दाउरा खोज्न जान्थ्यो भने कहिले आमाबाउको पछि पछि लागेर गिट्टी कुट्ने ठाउँको ओरिपरि घुम्थ्यो । मन लागे एउटा ढुङ्गो टिपेर त्यसमाथि अर्को ढुङ्गोले हिर्काउन थाल्थ्यो ।
छोराको हविगत देखेर मोतिमाया तरक्क आँशु झार्थी । पहाडमा हुँदा छोरो स्कूल जान्थ्यो । दुइ कक्षामा पढिरहेको छोरो कखरा छिचोल्ने भैसकेको थियो । ठूला ठूला सपना देखेकी थिइ मोतिमायाले । छोरालाई अघाउँजी पढाउने, जिल्लाको सरकारी हाकिम बनाउने र आफू हाकिम साहेबकी आमा हुने सपना अब सपनैमा हराउने भो भन्ने ज्ञानले मोतिमायाका आँखालाई गहभरी आँशु दिन्थे ।
दुःखै दुःखको चार वर्षबित्यो । जयबहादुर बुढो देखिन थाल्यो पैँतालिस नपुग्दै । मोतिमाया साठी वर्षी देखिन थाली । छोरी हलक्क बढेर तरुनी भई । छोरो जिन्दगीको जटिलतालाई कोट्याउन सक्ने भयो । साँझ खसेकै थिएन । एक हुल बर्दीधारीहरुले नयाँ बस्ती नाम पाइसकेको विस्थापितहरुको बस्तीलाई घेरे तनक्क राइफल तन्काएर । विस्थापित बस्तीले जङ्गलका बर्दीधारीलाई त शत्रु ठानेकै थियो । जङ्गलीहरुको नयाँ सत्ता तिनका लागि मृत्यु, भय र सन्त्रास बोकेर बाँचिरहेको थियो । तर अहिले तिनीहरु आफ्नो आतङ्क बोकेर त्यहाँ आएका थिएनन् । त्यहाँ आएका थिए मुलुकभरका नागरिकहरुलाई सुरक्षा दिने भनिएका राज्यका सुरक्षाकर्मीहरु ।
सुरक्षाकर्मीको अनुहार देखेरै बस्तीवालाहरु तर्सिइसकेका थिए । त्यसैबेला गाउँमा हल्ला फैलियो – विस्थापित बस्तका बासिन्दाहरुले माओवादीलाई खानबस्न दिन्छन् भन्ने रिपोर्ट सुरक्षा निकायमा पुगेको हुनाले खानतलासीका लागि सुरक्षाकर्मी आएका हुन् रे ।
जयबहादुरहरु छक्क परे ।
खाने कुरै पो के थियो र त्यो गरीब बस्तीमा ! ठूलीका छातीहरु टोकिए । छ जना नवयौवनाहरुको शिकार गरे बर्दीधारीहरुले । आमाबाबुहरुको करुण क्रन्दन सुनिदिने कोही भएन त्यो बस्तीमा । ‘लौ न नि’ को आवाज निकालेर जो चिच्याउँथ्यो, त्यसैमाथि झम्टिन्थे पशुवत् भएका कामातुरहरु !
रात रोइरहृयो । त्यसलाई कसैले सम्झाउने, फकाउने काम गर्न सकेन ।
आफ्नी छोरी सहित विस्थापित बस्तीका अरु तीन जना युवतीहरु बलात्कारको शिकार भएर मारिएछन् भन्ने थाहा पाएपछि रुन पनि सकेन जयबहादुर ।
राप्ती किनारमा छोरीको मृत शरीरलाई पृथ्वीमा लीन गराएपछि कै साँझ जयबहादुर र मोतिमायाले विस्थापित बस्ती छाड्ने टुङ्गो गरे । विस्थापित बस्तीमा लालचपूर्वक बसिरहनु पर्ने केही थिएन । “तर हामी कहाँ जाने ठूलीका बाउ -” मोतिमायाले जयबहादुरसँग सोधी ।
“सन्ते माइलाका फुपु फुपाजुहरु कपिलबस्तुको वाणगङ्गातिर कतै बसेका छन् रे । पिपरा बजारमा ओर्लिएर कालिकोटे गङ्गाबहादुरको पसल कुन हो भनेर सोधेपछि जल्ले पनि घर देखाइदिन्छ भन्थ्यो सन्ते माइलाले । उतिबेला झर्दै उता जाने कुरो सोचिएको भए यस्तो हुन्थेन होला । सबै बिस्थापित भनेर यतै बस्ने विचार गरियो । अब तेतै जानुपर्ला ।” जयबहादुरले उदास आँखालाई छाप्रोभरि घुमाउँदै भन्यो । “अकालमा मर्नुपर्यो भने पनि यसो वाणगङ्गाको किनारमा लगेर लास फाल्दिने त कोही हुन्छन् ।” “हाम्रा त न जङ्गली आफ्ना भए, न शहरीया नै,” मोतिमायाले सुस्केराकै स्वरमा भनी, “त्यहाँ गएर पनि पो के गरिएला र ! नेपाल गयो कपालसँगै, बर्मा गयो कर्मसँगै भन्छन् मान्छेले । जे भयो भयो, यतै बनिबुतो गरौँ कि !”
“सक्तिनस् ठूलीकी आमा, मनलाई सम्हाल्न सक्तिनस् । बिहेदान गर्न ठीक्क पारेकी छोरीको लास जलाएको आगोले मलाई त पोल्न छाड्दैन भने तेरो के हालत होला ! यहाँबाट टाढा कतै भाग्न पाइयो भने छोरीको अनुहार सम्झिइरहन सकिन्छ, त्यो प्यारो अनुहारलाई डढाउने आगो बिस्तारै बिर्सिइँदै जाइन्छ ।”
जयबहादुरले सम्झाउने पारामा भन्यो, “यहाँ बस्ने लोभ नगर्, पिपरा बजारमा पुगेपछि पहाडको खुटखबर पनि पाइन्छ । फर्किने अवस्था रहेछ भने आफ्नै थातथलोमा पुगिन्छ । उकालो लाग्न सकिने रैनछ भने पनि गङ्गा किनारमा गिट्टी कुटेर खान पाइहालिन्छ । उसै पनि पूर्वतिर यताभन्दा बढी नै रोजगारी पाइन्छ ।”
“त्यहाँ पनि यस्तै रहेछ भने – त्यहाँ पनि जङ्गली र शहरियाको विगविगी रहेछ भने …,” अरु सुन्न चाहेन जयबहादुरले । त्यसैले बुढीको कुरो बीचैमा काटेर उसले निष्कर्षदियो, “भास्सिउँलार् इण्डियातिर ।” बिहान उज्यालो खस्ता नखस्तै पूर्व जाने बस चढेर जयबहादुर, मोतिमाया र १४ वर्षा हिँड्न थालेको छोरो नेपालको पूर्वपश्चिम राजमार्गमा गुड्न थाले ।
(३)
पिपरा बजारमा गङ्गाबहादुरको पसल भेट्टाउन साँच्चै नै जयबहादुरलाई कुनै कठिनाई भएन । फेरि उसको मनले सन्ते माइलालाई धेरै धेरै धन्यवाद दियो । गङ्गाबहादुरका परिवारले पनि छि छि दूर् दूर् गरेनन् । गङ्गाबहादुरलाई भेट्टाउन एकछिन समय लाग्यो । उ छेउछाउको कुनै घरमा गएको रहेछ । सन्तेकी फुपुले जयबहादुरलाई नचिन्ने कुरो भएन । उनैले एउटा छोरालाई बाउ खोज्न पठाइन् । गङ्गाबहादुरले आउँदा नआउँदै जयबहादुरको हात आफ्नो हातमा समातेर भन्यो, “माइलाले पह्रारै चिट्ठी पठाथे । हामी त तिमी सरासर यतै आउला भनेर ढुक्कै थियौँ । यो चार वर्षकता बस्यौ -”
जयबहादुरलाई सानो आड मात्र चाहिएको थियो । यहाँ त उसले ठूलो खलो नै पायो । तर अझै उसका पाखुरा बाँउडिएका थिएनन् । अर्काको कमाईमा बाच्न अझै उसको मन तयार भैसकेको थिएन । त्यसैले उसले सन्तोकको स्वरमा भन्यो, “हिँड्दा माइलाले त भनेको थियो – खुरुखुरु पिपरा बजार जानु भनेर । तर नेपालगञ्जमा ओर्लिँदा नओलिँदै आफैँजस्ता विस्थापितहरुको हुलमा मिसिइयो । कुनै दिन फर्किन पाइएछ भने पनि नजीकै हुन्छ, बसैँ सरेरै हिँडेका त हौइनौँ नि हामी भने सँगातीहरुले । चार वर्षत्यहीँ कोहलपुर छेउको ऐलानीमा बसियो ।”
फुपुले स्टीलको गिलासमा पानी दिइन् । पानीको लगत्तै उनले सिसाको गिलासमा चिया पनि दिइन् । मोतिमायाले झलक्क आफ्नो सानो पसल सम्झिई । उसका गह रसाए । चियासँगै उसको एउटा थोपो आँशु पनि पेटभित्र पस्यो ।
जयबहादुरले बरु बिर्सिन थालेको थियो कालिकोट । तर मनमाय प्रत्येक झस्काहरुमा कालिकोट नै पुग्थी । उसका बाबुआमा अझै जीवितै थिए, तर उनीहरु नेपालदेखि धेरै टाढा बम्बइ शहरमा बस्थे । कालिकोटको सदरमुकाममा एउटा पसल थियो, त्यो पसल चाहिँ मोतिमायाको भाइले चलाउँथ्यो । कारोबार नराम्ररी सुकेको थियो, र पनि माइतिहरु घरबारबिहिन भैसकेका थिएनन् । तर भाइहरु दिदीको पीडामा सहानुभूतिको मलम लगाउने बाहेक अरु कुनै भरथेग गर्नसक्ने अवस्थामा थिएनन् ।
जयबहादुरले जङ्गलीको आदेशको कथा सुनायो । बर्दीधारीहरुले विस्थापित वस्तीमा गरेको अतिचारको कथा सुनायो र भन्यो, “पाखुरा अझै पनि दरै छन् फुपाजु । काम गरेर खान सक्छौँ हामी बुढाबुढी दुबैजना । छोरो पनि अब काम गर्नसक्ने भएको छ । बोझ बन्न होइन, यसो बाटो देखाउनी हुन्छ कि भनेर यहाँ आइपुग्यौँ । यसो सुदिन फर्किएछन् भने, जङ्गलीले गरी खान दिने दिन आएछन् भने फर्किएर जानु त पर्छ नै घरैतिर … ।”
“त्रि्रो हिम्मतलाई धन्यवाद छ जयबहादुर,” गङ्गाबहादुरले मायालु भाकामा भन्यो, “माओवादीको मति सप्रिएला भन्ने हामी धेरैलाई लाग्दैन । तिनीहरु दिनपरदिन उल्टो बाटो हिँड्दैछन् । नयाँ सत्ता भन्छन् तिनीहरु । त्यो नयाँ सत्ता अहिलेको पुरानो सत्ता भन्दा बढी निरंकुश, आततायी र अनुदार छ भन्ने जिउँदो उदाहरण त तिमीहरु नै छौ । यहाँ सडक छेउमा हामी दुःखजिलो गरेर बसेका छौँ । तर भित्र गाउघरतिर मान्छेलाई बाँच्नै कठिन भएको छ । त्यसैले यहाँका अन्य राजनीतिक दलका स्थानीय नेता, मानव अधिकारवादी तथा नागरिक समाजले मिलेर यहीँ तल कोपवामा एउटा विस्थापित गाउँ बसालेका छन् ।
अहिले त्यहाँ तीन सय परिवार बसोबास गरिरहेका छन् । तिमीहरु एकाध दिन यहीँ बस । त्यो बस्तीमा बस्नका लागि केही रीत पुर्याउनु पर्छ । कोहलपुरमा तिमीले खेपेजस्तो अतिचारबाट तिमीहरु बच्छौ । काम गरेर खान पाउने सम्भावनाहरु त्यहाँ छन् । समाज एकै खालको हुने हुनाले तिमीहरुको मनको पीडा पनि कम हुन्छ । मानव अधिकारवादीहरुले त्यहाँ एउटा स्कूल पनि खोलेका छन् । तिनीहरुले नै विस्थापित परिवारका सदस्यहरुलाई राहत पनि उपलब्ध गराउने गरेका छन् । तिमीहरु त्यहीँ बस अहिलेलाई । साह्रै गाह्रो भयो भने पछि बरु अन्त कतै कुनै व्यवस्था गरौँला ।”
“माइलालाई केही काम अह्राएर आएको थिएँ । के भयो होला कुन्नी,” जयबहादुरले झण्डै झण्डै आफँैलाई सोधेको थियो । तर त्यो “कुन्नी” गङ्गाबहादुरको कानमा छिरिहाल्यो । “उताको चिन्ता गरेर मन नदुखाउ । माओवादीले तिम्रो घर कब्जा गरेका छन् । पहिले भन्दा तिनको आतङ्क अहिले धेरै चर्को भएको छ । मान्छेलाई मनाएर राजनीति गर्न तिनलाई मन पर्दोरहेनछ । तिनीहरु त तर्सर्ाा, धम्क्याएर त्यतिले पनि नपुगे मान्छेको बली चढाएर राजनीति गर्न मन पराउँदा रहेछन् ।” “खेतीपातीको त झन के कुरो भयो होला र -” गङ्गाबहादुरले सम्झाए पनि जयबहादुरको मन सम्झन सकेको थिएन । त्यसैले उसले कुरो तन्कायो, “माइलालाई यसो खबर देउ है भनेको थिएँ, पहिलो वर्षखेतीपाती कब्जा गरेको खबर पठाएका थिए । त्यसपछि त खुटखबरै हरायो ।”
जयबहादुरको बोली सुन्दा यस्तो लाग्थ्यो, उ गङ्गाबहादुरलाई सम्बोधन गरिरहेको छैन । उ आफैँलाई पनि सुनाइरहेको थिएन । शायद उ राप्ती खोलाको किनारमा जलाइएकी प्यारी छोरीलाई सुनाइरहेको थियो । तर जवाफ गङ्गाबहादुरले नै दियो फेरि पनि ।
“पोहोर साल माइला यतै आएका थिए भेटघाट गर्न । उनीहरुले उर्दी जारी गरेका छन् रे – कसैलाई पनि खेतिपाती नगर्नु भनेर । त्रि्रो मात्रै होइन, माओवादीले जिल्लाबाट लघारेका सबैका बारी र खेत बाँझै छन् रे । जसले पुरानो सत्ताका चाकरहरुको खेतीपाती गर्छ, जनसरकारले तिनीहरुलाई पनि जिल्ला निष्काशनको सजायँ दिनेछ भन्ने उर्दी टाँसिएको छ रे सबैतिर ।”
आजभोलि आजभोलि भन्दा भन्दै एक हप्ता बितायो जयबहादुरको परिवारले पिपरा बजारमा । घर बाहिर श्रम गर्न जान दिएन गङ्गाबहादुरले जयबहादुरको परिवारलाई । तर मनको अभिमानी जयबहादुरको परिवार पनि घरभित्र चुपो लागेर बस्न मानेन ।
रत्तियो भन्दा हुन्छ जयबहादुरको मन ।
गङ्गाबहादुरले हैसियत बनाएको रहेछ भन्ने लाग्यो जयबहादुरलाई । किनभने त्यो एक हप्तामा चार ओटा राजनीतिक दलका जिल्ला सदस्यहरु आए जयबहादुरसँग कुरा गर्न । विस्थापितहरुको हेरबिचार गर्ने दायित्व अङ्भर गरेका गैरसरकारी संघका प्रतिनिधिहरु पनि उनीहरुलाई भेट्न र उनीहरुको फाराम भराउन आए । गङ्गाबहादुरकै करबलमा जयबहादुर एउटा सार्वजनिक भाषणको कार्यक्रममा सहभागी पनि हुन गयो । जयबहादुरको मन फेरिन थाल्यो ।
आठौँ दिनका दिन बिहानै दुइ जना स्थानीय कार्यकर्ताको साथ लागेर जयबहादुरको परिवार कोपवा छेउको बिस्थापित बस्तीतिर लाग्यो ।
ससाना झुप्राहरु जयबहादुरलाई नौला लागेनन् । चार वर्षेखि उनीहरु त्यस्तै बस्तीमा जिन्दगीको चक्र घुमाउदै आएका थिए । कोपवा र वाणगङ्गाको बीचमा बसेको त्यो बस्तीका तीन सय बुकुराहरुमा पहाडतिरबाट खेदिएकाहरु नै जम्मा भएका रहेछन् । माओवादी हिँसाका कारण विस्थापित भएर आएकाहरु बसोबास गर्ने त्यो बस्तीको नामै पहाडिया बस्ती भएको रहेछ ।
एकछिनको लागि जयबहादुरको मनले सन्तोकको सास फेर्यो ।
तर जीवनले सुख पाउन लेखेको रहेनछ । तीन वर्षबितायो जयबहादुरले पहाडिया बस्तीमा । त्यो बस्तीमा आएपछि जयबहादुरको राजनीतिक ज्ञानको ढोका पनि खुलेको थियो । फुर्सदको बेलामा बस्तीका महिला पुरुषहरु भेला हुन्थे र आफ्नो थातबास फिर्ता पाइएला कि नपाइएला भनेर छलफल गर्थे । सबै उस्तै थिए, सबैका उस्तै पीडा थिए । सुस्केरासँगै आशाको दियो पनि बलिरहेको हुन्थ्यो सबैको मनमा ।
ठूला ठूला परिवर्तन भए भन्ने हल्ला आयो पहाडिया बस्तीमा ।
राजाको शासन ढल्यो रे !
लोकतन्त्र स्थापना भयो रे !
अब जनताले संविधान बनाउने भए रे !
माओवादी पनि शान्तिपूर्ण राजनीतिको धारमा आए रे !
‘रे’ हरुकै बीचमा पहाडिया बस्तीको जीवन अगाडि बढिरहेको थियो । तर बस्तीको जीवनमा कुनै परिवर्तन आउन सकेको थिएन ।
बाउछोरा गएका थिए तौलिहवा बजारतिर बिहानै । जयबहादुरको मन भरङ्ग भैरहेको थियो । थातथलोबाट बिस्थापित भएको आठ वर्षबितिसकेको थियो र माओवादीहरु शान्तिपूर्ण राजनीतिको धारमा आएपछि लुटिएका घरबारहरु फिर्ता हुने भए रे भन्ने हल्लाले तानेर लगेको थियो जयबहादुरलाई तौलिहवातिर । हुनत गङ्गाबहादुरले माओवादीले घरखेत फिर्ता गर्दैनन्, दुःख नपाउ भनेको थियो । तर पनि पीडित मनले चित्त बुझाउन सकेन ।
“सदरमुकाममा सिडिओ छन्, प्रहरी छन्, तिनले फुपाजुले थाहा पाए भन्दा बढी जान्दछन् यसो जाइहालुँ न” जयबहादुरले बुढीसँग सल्लाह गर्यो । मोतिमायाको मनमा पनि ‘अब घर फर्किन पाइने भैयो’ भन्ने आश पलाएको थियो । त्यसैले उसले आनाकानी नगरी भनी, “जानु नि बाउछोरा । यसो कुरा गर्न सजिलो हुन्छ ।”
काम केही भएन तर तौलिहवामा । सिडिओले भन्यो, “घरबारी फिर्ता दिने हल्ला त छ, तर दिएको कतै छैन । यसो आफन्त कोही छन् भन्ने जिल्लैतिर बुझनुस् ।”
जयबहादुरले प्रहरीको हाकिमसँग भेट गर्यो । पत्रकार र मानव अधिकारवादीहरुसँग भेट गर्यो । कोही उत्साहित थिएनन् ।
“फिर्ता दिने भए लुट्थे माओवादीले -” तितो जवाफ दियो सिडियो कार्यालयमा बसेको एकजना मानिसले । एकछिन जयबहादुरको अनुहारमा नियालेर हेरेपछि उसले भन्यो, “नभौँतारिनोस् यसरी । विवेक नभएकाहरुबाट सदासयताको आस नगर्नुस् । जहाँ हुनुहुन्छ त्यहीँ गएर बस्नोस् ।”
नचिनेको मास्टरको अर्ति पचेन जयबहादुरका बाबुछोरालाई । उनीहरु दिनभरि भौँतारिए । तौलिहवाबाट हिँड्दै रात ओर्लिसकेको थियो वाणगङ्गाको किनारमा । जान हतारो पनि थिएन बाउछोरालाई । केही घण्टाको बाटो त हो !
घर पुग्न आधा घण्टा जति बाँकि छँदै पहाडीया बस्ती उज्यालो आगोमा दनदनी बलिरहेको देखेपछि बाबुछोरा छक्क परे । छोरो कुद्न थाल्यो युवा जोश निकालेर । जयबहादुर पनि छोराको पछिपछि कुद्न थाल्यो । तर गाउँ जङ्गलमा लागेको डढेलो जसरी चम्किइरहेको थियो । झण्डै साढे तीन सय बुकुराहरु दनदनती बलिरहेका थिए । करुणक्रन्दन सुनिन्थ्यो जताततै । तर कहाँ छे मोतिमाया – हाहाकार भित्र सुन्ने कोही थिएन ।
अस्तव्यस्त रात बित्यो । को को कहाँ कहाँ पुगे राती लेखाजोखा हुने कुरै भएन । मानिसहरुको हुलमा मोतिमाया भेटिन्छे कि भन्ने आशमा थियो जयबहादुर । उज्यालो भएपछि कतै न कतै आमा भेटिन्छिन् भन्ने आशमा थियो हुर्किन थालेको छोरो ।
तर जयबहादुरले पत्नी भेटेन । छोराले आमा भेटेन ।
बिहान भयो । सुर्य पनि शत्रु जस्तै लाग्यो जयबहादुरलाई । रातीको अग्निदाहमा तीन जना पाका महिला र १३ जना अबोध केटाकेटीहरु आगोमा पिल्सिएर मारिएका रहेछन् ।
रुन सकेन जयबहादुर । तर बरबर्ती आँशु खसाल्दै रुन थाल्यो मोतिमायाको छोरो । सम्झाउन सकेन जयबहादुरले छोरालाई । रोइरहेको छोराको काँधमा समातेर बिस्तारै उठायो । जयबहादुरको हरिलो भरिलो परिवारमा यही छोरो त बाँकि बचेको थियो ।
मनभरि सराप्यो जयबहादुरले जङ्गलीको अतिचारलाई । जङ्गलीले जिल्लाबाट नखेदेको भए उसकी फूलजस्ती छोरी र बलियो हातपाउ भएकी अर्धाङ्गीनि अकालमा, अतिचारपूर्वक मारिने थिएनन् । “कहिल्यै भलो नहोस् पापीहरुको,” कहिल्यै ननिस्किएको गाली यसैपालि निस्कियो जयबहादुरको मुखबाट । बाबुछोरा दुबै ठिङ्ग उभिए । कतै आगो बाँकि थिएन । रातीभरि धुनी भएर बलिरहने काठका ठूलठूला मुढा कसका घरका खाँबा बनेका थिए र – सण्ठीले बारेका घरका भित्ताहरु दुइ घण्टा नबित्तै डढेर खरानी भैसकेका थिए ।
मृतकहरुलाई वाणगङ्गाको किनारमा बिर्सजन गरे सबै गाउँले मिलेर । हिजोको रमणीय पहाडिया बस्ती नाउँको त्यो गाउँ अहिले जलेर खरानी भैसकेको थियो । त्यसैले सबै टुहुरा भएका थिए । घरमा खानेकुरो थिएन । लगाउने लुगा पनि बचेको थिएन । ओढ्ने ओछ्याउने सबै खरानी भएर पस्रिएका थिए । जयबहादुरले बिस्तारै छोराको हात पक्रियो । छोराले पनि इशारा बुझेजस्तो गर्यो । दुबै जना पञ्चमीका पाइला चाल्दै उत्तरतिर लागे ।
डेढ घण्टामा चीरपरिचित राजमार्ग आइपुग्यो । सन्नाटा पोखिएको थियो राजमार्गमा । छोराले बाबुको अनुहारतिर फर्किँदै सोध्यो, “बा, अब हामी कता जान्छौँ -”
अघिल्तिर मेची महाकाली जोड्ने राजमार्ग तन्किएको थियो । तर जयबहादुरसँग छोराको प्रश्नको उत्तर थिएन ।
(स्रोत : AmericaDarpan.com)