कथा : भोगाई

~बिना तामाङ ‘सुनगाभा’~Bina Theeng Tamang SUNGAVA

सीमा निकै दङ्ग थिई त्यस दिन जुन दिन विजयले उसको रुपको प्रशंसा गरेको थियो। ऐना अगाडी घण्टौ समय विताएकी थिइन्। आफ्ना आखाँहरु साँच्चै नै मृगनयनी नै देखेकी थिईन्,ओठहरु कमलका पात झै ,अनि गालाहरु रगत चुहिएला जस्तै। “ओहो! मैले त साँच्चै नै ऐना हेर्नै बिर्सिएकै रहेछु।”
आफ्नो कपाल सुम्सुम्याउँदै एकहोरो हुन थालिन् सीमा।
विजयले भनेका कुराहरु एक एक गर्दै सम्झन थालिन्।
“तिमी यति सुन्दर छौ किन आफ्नो वास्ता गर्दिनौ?” पानी थाप्न धारामा जादाँ विजयले भनेको थियो।

लगभग चौबिस,पच्चिस वर्षिय सीमा आफ्नो सानो चार वर्षिय छोरा सहित सातदोबाटोमा बस्दै आएकी थिइन्। उनको श्रीमान रोजगारीको शिलशिलाम कतार गएको थियो। बिहान पानी थाप्न हतार हतार तल छिडींमा ओर्लनु,खाना तयार पार्नु ,छोरालाई स्कुल पुर्‍याउनु अनि दिउँसो छोरा लिन तीन बजे तिर जानु नै सीमाको दैनिकी थियो। दिउँसोको समय अलिक फुर्सदिली हुन्थिन्। दिनभरी हिन्दी सिरियल हेर्नु कहिले काँही वल्लो कोठा पल्लो कोठा पनि चहार्न भ्याईहाल्थिन्।

सात महिना जति भएको थियो सीमा अलिक असजिलो महशुस गर्दै थिईन् । आफ्नो कोठाको पुर्व पट्टीको झ्यालको पर्दा बिहान जब खोल्थिन् कसैले पल्लो घरबाट चिहाएको आभास गर्थिन्। पहिले पहिले त वास्तै गर्दिनथी तर पछिल्ला दिनहरुमा लुकिछिपी त्यो पल्लो झ्यालमा चिहाउन थालेकी थिइन्। हेर्दा त्यस्तै २२,२३ वर्ष जतिको देखिने अग्लो ,हृष्टपुष्ट युवक प्राय सधै काँधमा गम्सा अनि हातमा ब्रस लिएर उभिएको सीमा पाउँथिन्। यो क्रमले निरन्तरता पाउन थालेको थियो।

बिहानै सीमा पर्दा उघारथिन् भने उता त्यो युवक अघिनै झ्यालमा आएर उभिसकेको हुन्थ्यो।समय बित्दै जादाँ दुबैका आखाँहरु एकापसमा ठोक्किन थालेको थियो। सीमा लाजले भुतुक्कै हुन्थिन् भने युवक मुसुमुसु हाँस्दै बाहिर निस्कन्थ्यो। सीमा कहिले काँही झस्किन्थी।
” यो के भएको मलाई? किन म त्यो अपरिचित व्यक्तिसंग आखाँ जुधाउन पुग्छु?”
यस्तै यस्तै तर्कनाले सीमा आफुलाई सतर्क गराउँथिन्।
बेग्ला बेग्लै घरमा बस्ने भए पनि पानी थाप्न भने दुबै घरका मानिसहरु सीमा बस्ने घरकै छिडींमा आउने गर्दथे।

जाडोको महिना थियो। बिहानको ६ बजिसकेको भएता पनि चिसो र हुस्स्को कारण मानिसहरुको त्यति चहलपहल थिएन। सबै मस्तसगं सिरक भित्र गुटमुटिएका थिए। तर सीमा निदाउन सकेकी थिईन। मनभरि नानाभाँतीका कुराहरु खेलाउँदै थिइन्। एकछिनमा जुरुक्क उठिन् र पर्दा उघारिन् । त्यो युवक अघि आएर झ्यालमा उभिसकेको थियो । दुबैले एक अर्कामा बिहानीको अभिवादन आखाँबाटै गरे। चिसो बिहानीमा पनि न्यानो अनुभव गरे । आखाँबाट केहि ईसारा गरे।

एकछिनमा दुबैजना छिडींमा पानि थाप्न र मुख धुने बहानामा उपस्थित थिए। एकान्तको लाभ उठाउँदै युवकले आफ्नो परिचय दिन भ्याईहल्यो। मास्टर अध्ययन् गर्न काठमाण्डौ आएको विजयको घर रामेछाप थियो भने एक्लै त्यो पल्लो घरमा बस्दै आएको ७ महिना भैइसकेको रहेछ। सीमाले पनि केहि अनकनाउँदै श्रीमान बाहिर भएको र आफु छोरा सहित यहिं बस्दै आएको बताईन्।

त्यसपछिका दिनहरुमा दुबैको भेट त्यहि छिडींमा हुनेगरेको थियो। एकान्त पाए दुईचार कुरा गरि हाल्ने र नपाउँदा भारी मन लिएर फर्किने गर्दथे। यावत रुपले उनिहरु वीच नजिकपना बढ्दै गएको थियो। त्यो दिन सखारै सीमा छिडींमा पुगेकी थिइन् । विजय मुख धुदै थियो।दुबै मौन थिए । सीमा चुपचाप पानीको बाल्टिन् बोकेर फर्कन लाग्दा विजयले सीमाको हात च्याप्प समातेर” म तिमीलाई मन पराउँछु।” भन्यो ।सीमा तरङ्गित् हुन पुगिन् । कति दिन देखिको उकुसमुकुसहरु छताछुल्ल भएर पोखिएको थियो।
“म विवाहित हुँ र मेरो छोरा पनि छ भन्ने बिर्सिन सकिदैन।” केहि दबिएका स्वरहरुमा सीमाले भनिन्।
“मलाई थाहा छ । तर विवाहित पुरुषले अर्कै नारी संग सम्बन्ध राख्न मिल्छ भने विवाहित नारीलाई छेक्नु सरासर अन्याय भएन र?” विजयको यो प्रश्नले सीमा झन् गल्न पुगेकी थिइन् ।

“त्यसमाथि मैले तिमीलाई मनपराएको हुँ। अरु सब पर्दा पछाडीका कुरा हुन्। त्यो संग मेरो सरोकार छैन।” विजयको यस्तो प्रतिकृया सुने पछि सीमा कतिखेर भर्‍याङ् चढेर कोठाभित्र आईपुगिन् पत्तै पाईनन्। खै कस्तो आकर्षण थियो विजयमा सीमा अफुलाई सम्हाल्न सकिरहेकी थिईन। बिस्तारै बिस्तारै आफ्नो श्रीमानको यादहरुलाई पोको पारेर एकातिर पन्छाउँदै विजयलाई आफ्नो कल्पनामा समेटन थालिन् ।

केहि दिन पछि सीमाको मोबाईलमा मेसेज आयो। शनिबार फिल्म हेर्न जाने प्रस्ताव सहितको त्यो मेसेज विजयले पठाएको थियो। केहि छिन घोरिएपछि सीमाले स्विकारोक्ती जनाउँदै रिप्लाई गरिन्। बडो प्रतिक्षारत शनिबार आएको थियो।सीमा बिहानै देखि साजसज्जामा तल्लिन् थिइन् । होचि तर् ड्याम्म मिलेको शरिरकी धनि गोरी सीमालाई जे लगाए पनि सुहाउने भए पनि त्यो दिन ५ वटा साडी लगाउँदै फुकाल्दै गरिन्।

कुन चाँही लगाउँदा आफुलाई आकर्षक देखिने हो भन्दै पलङ्भरी साडीको खात लगाएकी थिईन्। करिब डेढ घण्टा पछि हल्का गुलाबी रङको साडीमा सीमा अफुलाई एना अगाडी पाउँछे। मन्द मुस्कान सहित छोरालाई लिएर बाहिर निस्कने बेलामा त्यो पल्लो घरको झ्यालमा आखाँ पुर्‍याईन् विजय विजयभावले मौन स्वागत गर्दै एकछिनमा आफु निस्कने संकेत गर्‍यो । बसपार्क पुगेर सीमाले केहिछिन विजयको प्रतिक्षा गरिन्।करिब दश मिनेटको अन्तरालमा विजय पनि पुग्यो र दुबैजना संगै बसमा चढे।

मानिसहरु बसभित्र खाँदिदै जाने क्रम बढ्दै जाँदा दुबैले शरीरले एक आपसमा स्पर्श गरेको अनुभुती गर्न थाले। यात्रा रोमाञ्चित हुदै थियो। कति छिट्टै गन्तव्यस्थल आईपुगेछ उनिहरुलाई होसै भएन। बेलुका घर फर्किए पछि सीमामा एककिसिमको अनौठो परिवर्त देखा परेको थियो। उनि कल्पनामै हराउन थालेकी थिइन्। साँच्चै भन्नु पर्दा सीमाले त्यस दिन आफ्नो मर्यादाको संघार नाघेकी थिइन्।

एउटा विवाहिता नारीको सम्मानमा ठेस पुर्‍याउने अघोरी कार्य गरेकी थिइन्। उनि आफ्नै नजरमा गिरेकी भएपनि त्यस्तो कुनै पश्चतापको बोध गरेकी थिइनन्। उनिहरु वीचको यो सम्बन्धमा अझ प्रगाढता आएको थियो। कहिले रेस्टुराँ कहिले काठमाण्डौं नजिककैको मनोरस्थलमा पुग्नु उनिहरुको साप्ताहिक कार्यक्रमकै रुपमा फस्टाएको थियो ।

“ममी ममी ड्याडीको फोन आयो ।’ सानो छोराले आफ्नो हात समातेर झक्झक्याउँदा सीमा झसंङ्ग हुन पुगिन्।
” सीमा मेरो अर्को आईतबारको लागी टिकट निश्चित भयो। म आउँदै छु।”

श्रीमानको उत्साहले भरिएको कुरा सुनेर सीमामा कुनै खुसीका लहरहरु देखिएन मात्र तनाव बाहेक।
कुनै रस अनुभव गरिनन् त्यो भलाकुसारीमा सीमाले ,केवल बिषादको गहिरो छाप देखा पर्‍यो। सीमालाई के गरौं कसो गरौं भयो ।
‘आज त विजयलाई नभेटी हुन्न ।” सीमाले निश्चय गरिन् र विजयलाई फोन डायल गरिन् । सीमाले विजयले आजकल अलिक आफुमा ध्यान नदिएको आभास गर्दै थिइन् । खै किन हो विजयमा अकस्मात परिवर्तन देख्न थालेकी थिइन्।

सीमाको पटक पटकको अनुनय पछि विजय ग्रीनल्याण्डमा भेट्न सहमत भएको थियो।
भोलिपल्ट सीमा निर्धारित समय भन्दा लगभग आधा घण्टा अगावै तोकिएको स्थानमा पुगेकी थिइन् । निकै बेर सम्मको प्रतिक्षामा सीमाले एउटा चिसो मगाएर आफ्नो मानसिक तनाव कम गर्ने कोशिस गरेकी थिइन्।
विजय ढिला आईपुग्दा सीमामा क्रोधाग्नीले जमाएर बास गरेको थियो ।
दुबै मौन रहिरहे।
“मेरो श्रीमान अर्को आईतबारा आउँदै हुन्हुन्छ। के गर्ने?”
सीमाको यो प्रश्नको उत्तर दिन जरुरी ठानेन क्यारे चुपचाप बसिरह्र्‍यो।
“किन केहि नबोलेको? म के गरुँ? बैक ब्यालेन्स पनि धेरै छैन अब।” सीम निकै उदसिन देखिन्थिन् यसो भनिरहदाँ ।
” आउन देउ न केहि हुन्न म सम्हाल्छु।” विजयको यस्तो कुटिल प्रतिकृयाबाट सीमा केहि राहत अनुभव गर्छे ।
“जसरी भएपनि त्यो अस्तिको नब्बे हजार फिर्ता गर अरु पछि जे गरे पनि गरौला ।” सीमाले यति भनि नसक्दैमा विजय अलिक कठोर स्वरमा “तिमीलाई मेरो भन्दा बढि पैसाकै माया छ है?” भनेर भावानात्मक ब्ल्याकमेल गर्न खोज्छ।

“हैन त्यसो भन्न खोजेकी हैन। तर श्रीमान आउनु भएपछि हरहिसाब पनि त देखाउनै पर्‍यो नि।” भयका बादलहरु मडारिन थालेको सजिलै देख्न सकिथ्यो । ” ठिकै छ भोली चोभारमा भेट मलाई। म पैसाको बन्दोबस्त मिलाउँछु ।” विजयले आफ्नो गम्भिरता प्रदर्शन गर्दै भन्यो ।
सीमा ढुक्क भैइन् । भोली भेट्ने वाचा सहित दुबै उठे। वेटरले बिल ल्यायो । सदा झै सीमाले नै बिल तिरिन् ।
न्टलापुर घामले गर्दा गर्मी बढ्दो थियो। सीमा चोभारमा पुग्दा विजय आईसकेको थियो।
” ल्यायौ त?” सीमाले हतास हुदैँ सोधिन् ।
“हेरन साथीले धोका दियो । पैसा लिएर भागेछ। पार्टनरसिपमा काम गर्छु भनेर लिएको थियो ।”

विजयको यस्तो बनावटी कुरा सुनेर सीमामा नैराश्यता देखा पर्छ ।ठुलो पहाडबाट गहिरो खाडलमा खसेको अनुभव गर्न पुग्छिन् ।
“म संग अरु विकल्प छैन। मैले कसरी मुख देखाउने? बरु म तिमीसंगै जान्छु । घर फर्किने वातावरण छैन।”सीमा अत्यासिएर भन्न थाल्छिन् । तर म अहिले तिमीलाई लैजान सक्दिन।मेरो आम्दानि केहि छैन। म कसरी तिमीलाई राख्न सक्छु?” निर्ल्ज्ज हुदैँ विजयले भन्यो ।

सीमा भावशुन्य हुन पुगिन् ।

” के रे? के भन्यौ? तिमी बिना म एकपल पनि बाँच्न सक्दिन भनेर मेरो जीवनसंग खेलवाड गरेर अहिले यस्तो निर्लज्जता देखाउन कसरी सक्यौ?” सीमा आक्रोशित भैइन् ।

विजयलाई मौनताले आंलगिन गरेको थियो । सीमामा धैर्यताको बाँध फुट्छ ।
“पापी ,धोकेबाज मेरो सबै विश्वासको घात गर्‍यौ । ” सीमा विजयमाथि अनियन्त्रीत हुदैँ झम्टन पुग्छिन् । जथाभावी विजयको कपडा च्यात्न थाल्छिन् । अनुहार चिथोर्न थाल्छिन् । सीमा निकै ज्याद्री हुन पुग्छिन् ।
” म कसरी तिमीलाई अपनाउ? तिम्रो विवाह भैसकेको छ त्यसमाथि छोरा पनि छ।”
विजय पनि तिब्र प्रतिकृया जनाउन थाल्छ ।

” यो त मैले पहिले नै भनेकी थिएं? के त्यसो भए मसंगको प्रेम को नाटक मात्रै थियो? मसंग भएको पैसामा मात्रै तिम्रो नजर थियो?”

सीमा झनै असन्तुलित अवस्थामा पुग्छिन् ।

पागल झै विजयलाई सक्दो झम्टिरहन्छिन् ।कतिखेर विजयको हातहरु सीमाको घाँटीमा पुगिसकेछ। विजयलाई होसै हुदैन । सीमाको एकहोरो आक्र्मणले विजयले पनि संयमता गुमाउन पुगेछ।केहि छिन पछि त्याहाँ सीमाको निर्जिव शरीर लडिरहेको विजय पाउँछ। आवेगमा आएर विजयले सीमाको ज्यान लिईसकेको थियो।

विजयको हातहरु काँपिरहेको थियो।

बिना तामाङ ‘सुनगाभा’
काठमाण्डौं

(स्रोत : Palpalimilan.blogspot.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.