संबिधान निर्माणको रापिलो बहस चलिरहेको मेरो देसको हालखबर सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले बुझी रहेको छु l भौगालिक दुरीबाट जति टाढा भए पनि संचारको यो युगमा मेरा देसका हरेक खबरहरु जान्ने र सुन्ने मौका पाई रहेको छु l जान्नु मेरो रहर मात्र होइन अधिकार पनि हो l म जन्मिएको देस, म हुर्किएको देस, मेरो घर अनि आँगन रहरमा मैले त्यत्तिकै छाडेको पनि होइन l दुइ तर्फी बन्दुक पड्किदा निस्किएका बेअर्थका ज्वालामा बिनासित्तैको बलिदानी हुन् मनले मानेन l चाहेर पनि रोक्न नसकिएको त्यो विषम परिस्थितिमा मैले बाध्यतामा मेरो घर छोड्नु पर्यो,मेरो देस छोड्नु पर्यो l मैले छोड्दा दुखेको देस आज प्रयन्त सम्म पनि दुखिरहेको छ l तछाड मछाडको राजनीतिक आहालमा डुबेको मेरो देस संबिधान निर्माणको बहसले तात्तिएको छ l संघियता शासकीय स्वरुप र न्याय प्रणालीको बाहानामा मेरो सिंगो देस माथि भागबण्डा लगाएर अपनत्व र सम्बन्धमाथि प्रश्न चिन्ह खडा गरिएको छ l
मेरो देस दुखेको बेला मेरो घर दुखेको छ l छिन्भिन्न भएर मेरो परिवार रोएको छ l सात समुन्द्र पारीको यो देसमा रहेर पनि मैले मेरो देसको संबिधान मागेको छु l मलाइ चाहिएको छ मेरो सिंगो देसको संबिधान, जुन संविधानले दिएका अधिकारहरुलाई समाएर मैले मेरो देसको खोरिया र पाखो बारीमा निर्धक्क भएर मेरा दस नंग्रा खियाउन सक्नु परेको छ l म बसेको यो देसले दिन प्रतिदिन बिकासका मूल फुटाइ रहेको छ l गर्बले छाती फुलाएर बिकासको प्रतिस्पर्धामा दुनियालाई हाँक दिइरहेको छ l यस्तो बेला मेरो देस भने पुरानो घाउ कोट्याउदै रोइरहेको छ l मेरो देस रोएको यो घडीमा मैले मेरो देसको नक्सा सम्झीए,संघियताको स्वरुप सम्झीए यस देसको दोहामा अबस्थित कर्नेसको बिचको समुन्द्रिक किनारमा बसेर l अहाँ ! कति सुन्दर अनि कति शान्त छ यो देस l मनै लोभ्याउछ अर्काको देस देखेर l थुप्रा नेपाली मनका जागर पोखिएका छन् यो देसको बिकासमा l पसिना र रगत बगाउदा बगाउदै ढलेका शरीर दिन दुगुना रात चौगुना हुदै काठको बाकसमा बन्द भएर गएका छन् l यि बाध्यता र बिबसता हुन् हामी नेपाली हरुका l सायद त्यसैले पनि होला मेरो मनलाई भने कहिल्लै लोभ्याउन सकेनन यो देसको कर्नेस जस्ता अनगिन्ति शहर हरुले l हरेक दिन हरेक रात यो शहर आफैमा बैसले उन्मुक्त भएर मात्तिन्छ l अग्ला गगन चुम्बी महलहरुले घेरिएर लम्पसार परेको निलो शान्त समुन्द्र हरुलाई खजुरका बोट हरुमा जडित झिलिमिली बत्तिको उज्यालो हरुले दिन र रातको फरक के हो छुत्त्याउनै दिदैनन l चिल्ला र चौडा पक्कि सडक हरुमा दौडने बाहान हरुले मस्त निदाएको समुन्द्रलाई एकनासले जिस्काई रहन्छन l कल्पन्छु मनै मनमा अनि सम्झन्छु मेरो देस l समुन्द्रका वरिपरि राखिएका बिश्राम स्थल हरु मध्येको रित्तो र एकान्त ठाउमा बसेर समुन्द्रको छालहरुमा म मेरो देसको नक्सा कल्पन्छु l समुन्द्रमा उर्लिरहने एकनासका छालहरुमा देखिने तरङ्ग हरुका आकृतिहरुमा कता कता आफ्नै देसको नक्शा कोरिएको भान भैदिन्छ l जति जति म मेरा नजर हरु दौदाउछु ति समुन्द्रका छाल हरुमा उति उति मेरो देसको नक्सा बन्दै र भत्कदै गरेको देख्छु l ति समुन्द्रका छालहरु हल्का रुपले उर्लिदा मेरो देसका अग्ला हिम शिखर बनि दिन्छन l केहि शान्त हुदा तराइका समथर फाँट बनि दिन्छन l एकनासको मेरो हेराइमा अनायासै आइ रहने पश्चिमी हावाका झोक्काहरूले छालमा कोरिएका मेरो देसका सिंगो नक्शा निमेष भरमै टुक्रा टुक्रा परेर भताभुङ्ग बनि दिन्छन l यसरि मेरो देसको नक्सा बिग्रिएर भता भुङ्ग हुदा मेरो नेपाली मन त्यसै त्यसै कुडिएर आउछ त्यसै त्यसै भत्किएर जान्छ l रिस फेर्न नजिकैको सानो ढुंगाले समुन्द्रमा हिर्काउछु l मेरो नजिकै रहेको खजुर को बोटका लामा लामा पातहरुले खै किन हो किन तालि बजाएको अनुभूति गर्दै आफु आफैमा रमाई दिन्छु
समुन्द्र नियाली रहदा मैले गगनचुम्बी महल हरुको बिचमा मेरो घर पनि खोजे l जुन घरमा मेरो बालापन हुर्किएको थियो l घरको आँगन र करेसाबारी खोजे, जहा म जन्मिदा मेरो साल नाल गाडिएको थिए l यो बिरानो मुलुकमा मैले कहा पाउनु मेरा ति अतितका यथार्थ हरु l .दश बर्ष देखि नपोतिएर थोत्रिएका मेरा घरका भित्ताहरु अनि श्रम पसिना नपाएर उजाड बनेका पाखा बारीहरु कहा भेटिन्थे र यी अग्ला गगचुम्बी महल हरुको बिचमा l तर पनि खोजिरहे मेरो देस समुन्द्रका छाल हरुमा l अनि मेरो सानो थोत्रिएको घर यी महल हरुको बिचमा l
कसैको लहडमा दश बर्ष सम्म मेरो देस दुख्यो l मेरो देस दुख्दा मेरो घर पनि दुख्यो l अझ बेस्सरी त मेरो मन नै दुख्यो l देस दुखाउने हरुको आहालहरुमा च्यापिएर तितर- बितर भएको मेरो घरका परिवार हरुले बिबसतामा बाध्यताका पर्खाल हरु नाघेर छिन्न भिन्न भए l कोहि छिमेकी मुलुकमा दरबान बनेर सिट्टी फुकी रहे त कोहि खाडी मुलुक हरुमा बालुवा चाल्दै आफ्नो भबिष्य खोजि रहे l युध्दको नाम बाट आगो बालेर जलि रहेको मेरो देसमा मेरो परिवार त्यहि कालो निस्सासिदो मुस्लोमा रुमल्लिएर हराएको दसकौ भै सक्यो अझै पनि हराई रहेकै छन् l रापिदो आगोको मुस्लो बाट उछिट्टीएर तापको ज्वाला मेट्न सात समुन्द्र पारीको देसमा आएर बालुवा चाल्दा समेत मैले मेरो देस र मेरो परिवार भेट्न सकेको छैन l
दोहाको यो कर्नेस शहर नाप्ने इच्छामा घुम्दै गर्दा मेरै वरिपरि पहरा दिइ ठिङ्ग उभिएका खजुरका यी बोटहरु हाम्रै नेपाली मनका जाँगरले उभिएर मेरै देशको सान सगरमाथा लाइ चुनौती दिएको तितो अनुभूति भै रहेको छ l हाम्रै पसिना र रगत सिञ्चिएर हाम्रै पौरखमा समुन्द्र लाइ पुर्दै यो देसको सिमाना बिस्तार गरि रहदा मेरो देस हरेक छिन छिनमा खुम्चिदै गइ रहेको समाचारले मन आत्मा ग्लानिले भरिएर आउछ l त्यहि कमजोरीको फाइदा लिएर त होला समुन्द्रको छालबाट जुरुक्क उठेर छालका तरङ्ग हरुले मलाइ सोधी रहन्छन खै कहाँ छ तेरो देस ?
हावाको झोक्काले मुहार फेरी रहने समुन्द्रको छाल हरुमा मैले मेरो देस खोजि रहदा मेरा आफन्तहरु यहि देसको मजरा र बालुवाका थुप्रो हरुमा बिबसतामा आफ्ना भबिष्य खोजि रहेका छन् l गधा,खच्चर र ऊटहरुका पिठ्यू हरुमा बसेर आफ्नो गाउघर सम्झी रहेका छन् l प्रतिक्षामा केवल आशातित मनहरु लिएर l भेडी गोठमा भेंडा हेरी रहेका मेरा आफन्तहरु तिनै भेडाहरु सुम्सुमाउदै आफ्ना परिवारहरुको अपनत्व छामी रहेका छन् l अग्ला भवन र सडक निर्माणमा लागेका मेरा आफन्तहरु उखरमाउलो गर्मीमा काली,गण्डकी र कोशी सम्झदै काकाकुल परेका घाँटीहरु भिजाइ रहेका छन् l
समुन्द्रका छालहरुमा अनुभूति गर्न नसकेको मेरो देसको नक्शा म उभिएको बालुवाको थुप्रोमा खोज्ने कुचेष्टा मा मेरा हातहरु सल्बलाउछु कतै भेटिन्छ कि मेरो देस भनेर l बिर्सिए कि भनेर त्यहि बालुवा सम्याउदै मेरो देसको नक्सा कोर्छु मेरा हातका यिनै औला हरुले l पूर्वमा मेची र पश्चिममा माहाकाली l यसरि कोर्दै गर्दा उत्तरका सिमामा पर्खाल बनेका हिमशिखरहरु सम्झन्छु अनि सम्झन्छु दक्षिणका उर्बर तराइका फाँटहरु l बालुवाका थुप्रोमा यसरि मेरो देसको नक्शा बनाइरहदा टक्क अडिएको मेरो मनले मेरो देस बाड्दै गरेको सम्झन्छु l उत्तरका शिखरहरु हिउ थुप्रिदै दिनानुदिन चुलिदै गर्दा दक्षिणका सिमानाहरू खुम्चिदै गरेको सम्झन्छु l अनि बिर्सन्छु नक्शा कोर्न यी बालुवाका थुप्रोहरुमा l बालापन देखि खरी र पेन्सिल्का टुप्पाहरुले कोर्न सिकेको मेरो देसको सिंगो नक्शा मैले यहा कोरीरहदा मेरो देस नितान्त स्वार्थका लागि भाग बन्डामा लुछाचुड भै रहेको सम्झी रहन्छु l खै कसरि फर्कन सकुला र म मेरो देसमा अनि कसरि सिगार्न सकुला र नपोतिएर अनि नजोतिएर उजाड बनेका घर र पाखा पखेराहरु l
मरभूमिको यो देसमा समुन्द्र पुरेर सिमाहरु बढाउदै गर्दा लोभिएका मनहरु, गगनचुम्बी महल बनाउदै गर्दा भाचिएर अंगभंग भएका शरीरहरू अनि सडक बिस्तार गर्दै जादा किचिएर थिचिएका मन र मस्तिष्क हरु अस्पतालका शैयाहरुमा छटपटाइ रहदा मेरो देस दुख्दैन l अनभिज्ञता र परिबन्दमा परेर चार दिवारमा कैद भएका नेपाली मनहरु, झुक्क्काएर चोरबाटो हुदै मालिक हरुको घरमा दासी जिबन जिउन बाध्य पारिएका चेलीहरुको चित्कार सुन्दा र हरेक दिन भाग्य र भबिष्य खोज्दै गर्दा ढलेका लास हरु देखेर मेर देस झनै दुख्दैन l दुखोस पनि कसरि र ? हरेक समय हरेक क्षण देस सम्हाल्ने ठेकेदारहरुको लुछाईमा दुखि रहेको मेरो देस दुखाइको पीडाले आफै थिलोथिलो परि रहेको छ भने l
बर्षौ सम्म बसेर गुलाम गर्दै मैले र मेरा आफन्त मनहरुले पठाएको रेमिट्यान्स मा मोज गर्ने देसका ठेकेदारहरुले मेरो भत्किनै लागेको घर र पाखा पखेरा पनि बाडेर भाग बण्डा लगाए भने मेरो मात्र मन दुख्ला तर कुनै दिन लेन्डुपको छाया बन्दै देस नै बेचिदिए भने मेरो देस दुख्ने मात्र होइन देसको अस्तित्व नै हराएर रोइ रहने छ l परिवार र आफन्तको अपनत्व देसको माया भएर पनि बाध्यताको साङ्ग्लो लगाएर खेदिन बाध्य मेरो मनले खाडी मुलुकमा बसेर पनि रेमिट्यान्स पठाएकै छ l दुइ तिन बर्षको बिदामा गएर राज्य र सरकारलाई बुझाउने कर पनि बुझाएकै छ अनि कसरि नभनौ मलाई मेरो सिंगो देसको अस्तित्व चाहिन्छ भनेर l देस बनाउने नाममा गरिएको लडाई बाट उजाड बनेका घरहरु,छिन्न भिन्न भएर हराई रहेका परिवारहरु अनि अंग भंग भएर विक्षिप्त मनमा बाचेका मेरा आफन्तहरुले खोजि रहेछन मेरो सिंगो देस l
झमक्क साँझ पर्दै गर्दा सुनसान हुदै गएको कर्नेस शहरले मेरो देस प्रतिको भावना बुझेन l उसले बुझोस् पनि किन र ? ऊ त आफ्नै उमङ्गमा आफु आफैमा रमाई रहेको छ l निश्चल समुन्द्रको छातीमा अघि सम्म मैले देख्दै गरेको मेरो देसको नक्शा क्रमस धमिलिदै थियो l लामो समय पछि पाएको मेरो एक दिने बिदाको समयले पनि बिदाइका हात हल्लाउदै थियो l भोलि देखि फेरी सुरु हुने मेरो यो देस प्रतिको बफादारिता सम्झदै मेरा पाइलाहरु आफु बस्ने बासस्थान तर्फ़ लम्कदै थिए l झकीझकाउ भएर सिङ्गारिएको दोहा शहर रातको उज्यालोमा धपक्कै बलि रहेको थियो l यता मेरो मन भने मेरो देसको संबिधान बन्ला कि नबन्ला,संघीयताका नाममा मेरो देसलाइ कति टुक्रामा विभक्त गरिइला र मेरो जन्म घर कुन प्रदेशको नक्सामा कता पारिएला भन्दै भित्र भित्रै जलि रहेको थियो l आफु बस्ने कोठाको ढोकामा पुग्दै गर्दा मेरो मोबाइलमा समाचार आइरहेको थियो-” संघियता,शासकीय स्वरुप र न्याय प्रणालीका बारेमा प्रमुख दल हरु बिचको बार्ता बिना निस्कर्षमा समाप्त l “
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको ।)