उर्मिलादिदी विधवा भएको कुरा सुनें । शिवभिनाजु मर्नुभएको कुराले मलाई जति दुःख लागेको थियो त्यो भन्दा बढी उर्मिलादिदीको विधवास्वरूपको कल्पनामा मेरो मन आहत भएको छ । भरखरै अधवैंश मात्रै बिदा गर्दै हुनुहुन्थ्यो उर्मिलादिदी । शिवभिनाजुको उमेर मलाई थाहा थिएन तर उर्मिलादिदीभन्दा पनि भरखरको देखिनुहुन्थ्यो उहाँ । शिवभिनाजु खसेपछि पत्रिकामा श्रद्धाञ्जलि विज्ञापनमा खुलाइएको उहाँको उमेर देखेर म छक्क परें । सत्तरी वर्ष पुग्न लागेका भिनाजु कस्ता पट्ठा ? मेरा अघिल्तिर शिवभिनाजुको जोशिलो व्यक्तित्व नाचिर¥यो । ओहो ! उमेरले मान्छे बुढो हुँदोरहेनछ । पचास पचपन्नभन्दा बढी उमेरको कसले भन्थ्यो र शिवभिनाजुलाई ।
शिवभिनाजु खसेको सुन्नासाथ मेरा स्मृतिमा ती वर्षअघिका दृश्यहरू नाच्न आए । त्यसबखत म यहीं वीरगञ्जमै ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्थें र शिवभिनाजु त्यहीं पढाउनुहुन्थ्यो । मेरो बुबा त्यसै क्याम्पसमा पढाउने भएको कारण क्याम्पस पढ्नु अघिदेखि नै म शिवभिनाजुलाई चिन्थें । त्यसबेला शिवभिनाजुलाई म शिवसर भन्थें । मेरो शिवसरसँग कुनै खास आत्मीयता वा घनिष्ठता केही थिएन । बुबाका अन्य साथीभाइसँग भएको जस्तो सम्बन्धबाहेक उहाँसँग मेरो अरू केही थिएन । उर्मिलादिदीको र शिवसरको बिहेको धेरैपछि मात्रै उहाँसँग मेरो भिनाजु साइनो गाँसिएको हो ।
उर्मिलादिदी मेरी अभिन्न सखी सतीकी साख्खै दिदी भएकीले मैले पनि उहाँलाई आफ्नै दिदीसरह मान्थें । म जेठी छोरी भएको कारण मेरी आफ्नै दिदी नहुनुको खाँचो पनि म उर्मिलादिदीबाटै पूरा गर्थें । यो संसारमा एकोहोरो माया त कसले पो कसलाई गर्ला र ? मैले पनि उर्मिलादिदीको माया पाएपछि नै उर्मिलादिदीसँग झुम्मिन लागेकी थिएँ । त्यसबेला क्याम्पसछेउकै घरमा भाडामा बस्ने सतीको डेरा दैनिकजसो मेरो खाजा खाने घर थियो ।
त्यसबेला उर्मिलादिदी उन्नाइस बीस वर्षकी तरुनी हुनुहुन्थ्यो । आई.ए. पास गरेर उहाँ घरैमा बस्नु भएको थियो । घरको न्यूनतम आर्थिक स्थिति र उहाँभन्दा साना तीनजना भाइबैनीलाई पढाउनुपर्ने भएकाले अब उहाँको पढाइ धान्न नसक्ने उहाँका अभिभावकहरूको अवस्थाका कारण उहाँको बी.ए. पढ्ने इच्छा थन्किएको थियो । तर खास कुरोचाहिं अर्को पनि थियो । छोरीलाई धेरै पढाए उभन्दा धेरै पढेको केटो खोज्नुपर्ने र धेरै पढेको केटो नपाउँदा छोरीलाई बूढीकन्या नै राख्नु पर्ला भन्ने पीर पनि उर्मिलादिदीका बुबाआमाले बोक्नुभएको थियो ।
उर्मिलादिदी र मबीच छोटो समयमा नै ज्यादै घनिष्ठता भएको थियो । सतीकी घनिष्ठ साथी म सतीसँग टाढिएर उर्मिलादिदीसँग नजिकिएकी थिएँ । हामीबीचको यो घनिष्ठता बढाउने पुलको काम सङ्गीतले गरेको थियो । उर्मिलादिदीसँग सङ्गत गर्दागर्दै म पनि शास्त्रीय सङ्गीतसँग नजिकिंदै गएकी थिएँ । म आफू सङ्गीतका बारेमा कुवाको ब्याङ भए पनि शास्त्रीय सङ्गीत सुन्न पाए मलाई भोक–तिर्खा केही लाग्न पनि छोडेको थियो । त्यसैले उर्मिलादिदीले हारमोनियममा राग भैरवी गाउँदा म समय बितेको पत्ता नै पाउँदिनथें । म जति उर्मिलादिदीको सङ्गीत सुनेर भुतुक्क हुने गर्थें मेरी साथी सतीचाहिं उर्मिलादिदीले हारमोनियम झिकेर बजाउन थाल्दा नथाल्दै आमाबुबाको कोठामा पसेर भित्रबाट ढोका थुनेर रेडियो फुलसाउण्डमा घन्काउने गर्थी । हुन पनि त्यसबेला उर्मिलादिदीको एक मात्र श्रोता र एक्लो प्रशंसक पनि मै मात्र थिएँ । उर्मिलादिदीका गुरु उहाँका बुबा नै हुनुहुन्थ्यो । सङ्गीतको प्रारम्भिक ज्ञान र खासखास केही रागहरूको पनि बुबाले नै अभ्यास गराउनुभएको थियो । समग्रमा भन्नुपर्दा उर्मिलादिदीको सम्पूर्ण सङ्गीतज्ञान उहाँकै बुबाको देन थियो । तर यति हुँदाहुँदै पनि उहाँका बुबालाई छोरीको सङ्गीत सुनेर बस्ने फुर्सत् थिएन । बिहान सखारैदेखि बेलुकी अबेरसम्म बजारको मध्यभागमा खोलेको पसल बुबाले नहेरी परिवारको गुजारा सम्भव थिएन । उर्मिलादिदीको आमा उहाँको आफ्नो शौखभन्दा पनि परिवारका लागि समर्पित गर्नुपर्ने बाध्यता थियो । अझ हार्मोनियम समात्ने समयमा छोरीले घर गृहस्थीका काममा मन लगाए बिहे गर्ने बेला भएकी छोरीले केही काम पनि सिक्ने र आफूलाई पनि सहयोग पुग्ने मनसाय आमा राख्नुहुन्थ्यो । यसबाहेक घरका सदस्य दुई साना भाइहरूका लागि घर भनेको भात खाने, स्कुल जाने र एकैछिन बाबुआमाको आँखामा देखिने गरी उनीहरूकै लागि पढिदिने थलो मात्रै थियो । यसबाहेक अधिकांश समय चोकमा क्यारमबोर्ड खेल्ने, गुलिडण्डा खेल्ने वा अन्यत्रै खोपी वा कुनै खेलकुदमा मस्त भएर बित्ने गथ्र्यो । उर्मिलादिदीका भाइहरूलाई उनीहरूका घरमा दिदीले शास्त्रीय सङ्गीतको साधना गर्छिन् भन्ने कुराको पनि खासै सम्झना हुँदैनथ्यो । यस्तो अवस्थामा उर्मिलादिदीको एकमात्र श्रोता वा सङ्गीतभक्त म हुनु कुनै अनौठो पनि थिएन । यसैगरी मलाई उर्मिलादिदीले खुबै माया गर्नु वा मनपराउनु पनि अस्वाभाविक भने थिएन ।
सुन्दरी उर्मिलादिदीका औंलाहरू हारमोनियममा नाच्नथालेपछि उहाँको कोकिल स्वर मेरा लागि अत्यन्तै रमाइलो हुनेगथ्र्यो । सतीकी सखीका नाताले त्यसघरमा प्रवेश गरेकी म हुँदाहुँदै उर्मिलादिदीको अनन्य भक्त भएकी थिएँ । सतीलाई मन नपर्ने कुरामा मेरो रुचि बढेको कारण सतीसँगको मेरो सम्बन्ध चिसिंदै गएको थियो । त्यसपछिका दिनहरूमा अचम्मै भएको थियो । मेरी घनिष्ठ सखी सती मसँग बोल्न पनि मन गर्न छोडेकी थिई । उसको घनिष्ठता क्याम्पसका अरू नै केटीहरूसँग बढेको थियो । तर मैले भने क्याम्पसका कुनै साथीसँग पनि घनिष्ठता बढाउन सकिन । म क्याम्पसमा लिजर पिरियड हुनासाथ उर्मिलादिदीका घरमा आउँथें र अर्को घन्टी लाग्ने बेलामा क्याम्पसमा पुग्थें । उर्मिलादिदीले त्यसबेला मलाई गरेको स्नेह अत्यधिक नै थियो । कुनै बिहान भात खाँदा मीठो तरकारी पकाएको छ भने उहाँले आफ्नै भागबाट भए पनि मेरा लागि त्यो तरकारी राखिदिएको हुन्थ्यो । मलाई उर्मिलादिदीले त्यति विघ्न माया गरेपछि मैले पनि उर्मिलादिदीविनाको मेरो संसारको कल्पनै गर्न छोडेकी थिएँ ।
म उर्मिलादिदीसँग कुनै दिन टाडिन्छु भन्ने सोचाइ त्यसबेला मेरा मनमा कहिल्यै आएन । म बी.ए. प्रथम वर्षमा पढ्न लागेको बेला अचानक त्यसको आभाष मलाई भयो । उर्मिलादिदी र मेराबीच एउटा पर्खाल उभिएकोजस्तो मलाई लाग्यो । त्यसबेला मेरी उर्मिलादिदी अरू कसैसँग बाँडिएको अनुभूतिले मलाई निकै नरमाइलो लाग्यो ।
उर्मिलादिदीको बिहे भएको थिएन । हुनेजस्तो लक्षण पनि थिएन । उहाँको घरको आर्थिक अवस्था ज्यादै नराम्रो थियो । उहाँका पितासँग पैत्रिक सम्पत्ति छँदै थिएन । धेरै पढेलेखेको पनि हुनुहुन्थेन र व्यापारमा लगानी गर्ने पूँजी पनि उहाँसँग पर्याप्त थिएन । यसको सार्थ उहाँ स्वाभिमानी र इमान्दार व्यक्ति भएकाले दुईनम्बरी धन्दा गरेर सम्पत्ति आर्जन गर्न पनि उहाँ चाहनु हुन्नथ्यो । जसले गर्दा उहाँको परिवारको भरणपोषण गर्न उहाँलाई सधैंजसो हम्मेहम्मे पथ्र्यो । उर्मिलादिदीको घरको यस्तो अवस्थामा उहाँका मातापिता छोरीको बिहे गर्न चिन्तित भए पनि आफूले कतै बिहाको कुरा चलाउने आँट उहाँहरूसँग थिएन । घरमा दिनभरि बेकार भएर बस्नु परेका कारण आफूले जागिर खाएर घरको दयनीय आर्थिक अवस्थामा केही सहयोग पु¥याउने विचार एकदुई पटक उर्मिलादिदीले आफ्ना बुबा आमासँग व्यक्त गर्नु भएको थियो । एकातिर बिहे गर्ने बेला भएकी छोरीलाई जागिर ख्वाउँदा लोकलाजको कुरा थियो र अर्कातिर लोकलाज पन्साएर छोरीलाई जागिर ख्वाउने त भन्दा पनि जागिर भनेको पनि कुनै सार्वजनिक पोखरीको पानी पनि त थिएन जसलाई आफ्नो भाँडोले उबाएर आफ्ना घरमा ल्याउन सकियोस् । त्यसैले उर्मिलादिदीको जागिर खाने कुरा दिवास्वप्नजस्तो भएको थियो ।
त्यसैबेला त्यही गाउँमा भारतबाट एकजना सङ्गीतका उस्ताद मुरलीचन्द भन्ने मानिस आएका थिए । मुरलीचन्द त्यहाँका वडाध्यक्ष गोविन्द अधिकारीका मित्र भएको कारण यहाँ सङ्गीतको विद्यालय स्थापना गर्नुपर्छ भनेर अधिकारीले मुरलीचन्दलाई रोकेका थिए । जसले गर्दा वीरगञ्जमा हाम्रो क्याम्पस नजिकै अधिकारीकै सक्रियतामा सारेगम सङ्गीत विद्यालयको स्थापना पनि भएको थियो । स्थानीय जनसमुदायमा प्रचारप्रसार गर्दै जाँदा विद्यार्थीको सङ्ख्या निक्कै बढेकाले एकजना मुरलीचन्दले मात्रै सङ्गीत स्कुल सञ्चालन गर्न कठिन भइरहेको थियो । त्यसैबेला मुरलीचन्दले कसैबाट उर्मिलादिदी पनि शास्त्रीय सङ्गीतको राम्रै अभ्यास गर्नुहुन्छ भन्ने कुरा थाहा पाएछन् । गोविन्द अधिकारीले सो सम्बन्धमा आफ्नै टोलकी उर्मिलासँग भेटेर कुरा गरे । ‘तिम्रो पनि सङ्गीत साधनामा अभ्यास पुग्छ र तिमीले प्रशिक्षण दिने प्रतिविद्यार्थी प्राप्त शुल्कको पच्चीस प्रतिशत पनि तिमीले पाउँछ्यौ ।’ गोविन्द अधिकारीले उर्मिलादिदीसँग प्रस्ताव राखेका थिए । यो प्रस्ताव आफूलाई आएको कुरा उर्मिलादिदीले बुबाआमासँग भनिन् । बुबाआमालाई छोरीले जागिर खाने कुरा पटक्कै मन परेन । ‘यो जागिर होइन बुबा, मैले पनि सङ्गीतको निःशुल्क अध्ययन गर्न पाउँछु । यस्तो मौका मैले कहिल्यै पाउन्न ।’ उर्मिलादिदीले आँखाभरि आँसु पारेर बुबालाई भनिन् । उनका बुबा पनि सङ्गीतका पुराना साधक भएकाले छोरीको सङ्गीत प्रेमपीडा सजिलै महसुस गरे । त्यसैले छोरीको इच्छाका अवरोधक बन्न सकेनन् । आफ्नो आर्थिक निरिहताका कारण पनि उनले
चूप हुनु नै उपयुक्त देखे । आमाले भने यो कुरा पटक्कै रुचाइनन् तर आमाको विरोधको कुनै अर्थ भएन । उर्मिलादिदी सङ्गीत साधनाको लक्ष्य बोकेर सारेगम विद्यालयमा जान लागिन् ।उर्मिलादिदी अत्यन्तै उत्साहकासाथ सारेगम विद्यालय जाँदै थिइन् । अपरान्ह चारबजेदेखि साँझ छ बजेसम्म दैनिक सङ्गीत विद्यालयमा उर्मिलादिदीको समय बित्न लाग्यो । उर्मिलादिदीकै सल्लाहमा म पनि सारेगम विद्यालयको विद्यार्थीका रूपमा भर्ना भएँ ।
त्यस विद्यालयमा हामी जान लागेको झन्नै एक महिनापछि त्यहाँ शिवसर पनि आउन लाग्नुभएको थियो । गोविन्द अधिकारी र शिवसर घनिष्ठ मित्र हुनुहुँदो रहेछ । अर्कातिर हामी अर्थात् उर्मिलादिदी र म पनि शिवसरका विद्यार्थी थियौं । गोविन्द अधिकारीका कारण उर्मिलादिदी र शिवसरको सम्बन्ध यस अवधिमा अलि बढी नै घनिष्ठ भएको झैं मलाई लागेको थियो । किनभने सुरुसुरुमा हप्ता पन्ध्रदिनमा मात्रै सारेगममा आउने शिवसरको आगमनको घनत्व बढ्न लागेको मैले देखिरहेकी थिएँ । यसैबीच सारेगम विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या बढेको कारण बिहान सातबजेदेखि नौ बजेसम्म पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरियो । अब उर्मिलादिदी बिहान र बेलुकी दुवै समयमा सारेगममा आउन लाग्नुभएको थियो । बेलुकीको समयमा म दिदीसँग आउँथे तर बिहान भने दिदी एक्लै सारेगममा आउनुहुन्थ्यो ।
यस अन्तरालमा उर्मिलादिदीमा अलि परिवर्तन पनि आएजस्तो मलाई लाग्यो । उर्मिलादिदीले मलाई पहिलेजस्तो माया पनि नगरेजस्तो लाग्न थाल्यो । उर्मिलादिदीको मप्रतिको परिवर्तित व्यवहारले मलाई भित्र कतै दुख्ने गथ्र्यो ।
‘उर्मिला मलाई तिमीले अपनाइनौ भने म आत्महत्या गरेर मरिदिन्छु ।’ एकदिन सारेगम कार्यालयको ढोकामा पुगेकी मेरा कानमा शिवसरको आवाज परेको थियो । मैले कोठाभित्र नपसी ढप्क्याएको ढोकाको चिराबाट हेरें । कोठाभित्र शिवसर र उर्मिलादिदीमात्रै एकदमै नजिक झन्नै टाँसिएरैजस्तो बसेका थिए । उनीहरू त्यसरी बसेको देख्दा त्यसबेलाको मेरो कुखुरे बैंसलाई पनि केले केले छोपेजस्तो भएको थियो । शिवसरका हातमा उर्मिलादिदीका हात थिए । बाहिर कसैको पदचापको आभास भएर होला दुवैका हात हत्तपत्त छुट्टिएका थिए । उर्मिलादिदी उठेर
ढोकातिर आउन लाग्दानलाग्दै ढोका खोलेर म कोठाभित्र पसेकी थिएँ । ‘जौ’ उर्मिलादिदीले अलि हतारिएर भन्नु भएपछि चूपचाप बसेका शिवसरलाई नदेखेजस्तै गरी म पनि उर्मिलादिदीसँगै त्यहाँबाट बाहिरिएकी थिएँ । त्यसदिन बाटाभरि हामीबीच कुनै वार्ता भएन ।
‘कुन्ती आजको कुरा कसैलाई नभन्नु है ‘हामी छुट्टिने बेलामा उर्मिलादिदीले भन्दा म झसङ्ग भएकी थिएँ । टाढा कतैबाट आएको उर्मिलादिदीको आवाजले मेरो चोर पक्रेको अनुभूतिले मलाई एकैछिन ढक्क पनि पारेको थियो । मैलेमात्रै उर्मिलादिदीलाई देखें भनेको त उहाँले पनि मैले उहाँहरूलाई चिहाएर हेरेको देख्नुभएको कुराले मलाई लाज पनि लागेको थियो । उर्मिलादिदीले भन्नु भएजस्तै भन्न त मैले त्यो कुरा कतै कसैसँग भनेकी थिइन । बरु अरू कसैलाई भन्न पाएको भए मलाई हलुका हुन्थ्यो होला । किनभने त्यसको धेरै दिनसम्म मेरा आँखाभित्रको
मनमा त्यस दिन मैले सारेगम कार्यालयमा देखेको दृश्य र कानमा भने शिवसरको आवाज मात्रै गुन्जिर¥यो । उर्मिलादिदी मसँग टाढिएको कुरा पनि मैले त्यसैदिन मात्र बुझें‘ । शिवसरप्रति नजानिंदो ईश्र्याभाव पनि आए मेरा मनमा । तर उर्मिलादिदीप्रतिको मेरो मायाको मात्रा भने घटेको थिएन । उर्मिलादिदी मबाट अब टाढिनु हुन्छ भन्ने पीडाले म रन्थनिएँ । तर त्यो पीडा निवारणको कुनै उपाय पनि मसँग थिएन ।
“तेरी उर्मिलादिदी त शिवसरसँग लागिछन् नि । छि‘ कस्ती बुद्धि नभएकी केटी । त्यो दुईजना छोराछोरीको बाउ अजङ्गकी स्वास्नी छ पहाडमा । मोरो साईंदुवा शिवेले त्यो सोझी केटीलाई फँसाएछ ।” एकदिन आमाले मेरो जुम्रा हेरिरहेको बेला भन्नु भएको थियो । ‘आमा तपाईंलाई कसरी थाहा भो शिवसरको बिहाभएको कुरा’ आमाका कुराले अत्तालिंदै आमाका काखबाट टाउको उठाएर मुखमा हेर्दै मैले सोधेकी थिएँ ।’ म घरमा बस्ने थाँग्ने आइमाई भनेर मलाई तेरी उर्मिलादिदीका कुरा केही थाहा हुँदैन भन्ठानेकी होइनस् तैंले । तैंले नभनेर के भो त । मलाई मेरा बूढाले सबैकुरा भनी हाल्नु भयो नि । त्यो शिवे बजियाको सालो पर्ने पनि यही क्याम्पसमा पढाउँदो रै छ । तेरा बुबालाई त्यसैले भनेको रे । त्यो शिवे बजियाले पहाडकी स्वास्नीलाई अर्कैसँग बात लगाएर छोडेको रे ।’ मेरी आमा आफ्नो लोग्नेबाट प्राप्त भएको जानकारीबाट निकै गर्वित अनुभूतिमा बोलिरहनुभएको थियो । ‘आमा बात भनेको के’ मैले नबुझेको शब्दको अर्थ आमासँग सोधेकी थिएँ । ‘अर्कैसँग लागेको भनेर दोष लगाएको के । छोरी पेट बोकेका बेला यो मैले बोकाएको भुँडी नै होइन भनेर झगडा ग¥यो रे । आइमाईलाई कुटपिट गरेर घरबाट पनि लघा¥यो रे । अहिले छोरी टुकटुक हिंड्ने भएकी छ रे । अनुहार ठ्याम्मै बाबुचाहिं कै छ रे । जान्ने सुन्नेसबैले यही शिवेलाई फटाहा भन्छन् रे, ऊ आइमाई माइतीकै शरणमा बसेकी छ रे । त्यस्तो केही भा भे त लोग्नेले छोडेपछि अर्कोसँग गइहाल्थी नि ।’ आमाले बेलिबिस्तार लगाएर भन्नुभएको थियो । आमाको कुरा सुनेपछि केही दिनअघिमात्र आफ्नै आँखाले देखेका सारेगम स्कुलका दृश्यहरू मात्र मेरा आँखामा आइरहे । मलाई चाँडोभन्दा चाँडो पुगेर उर्मिलादिदीलाई आफूले थाहा पाएका शिवसरसम्बन्धी कुरा सुनाउने हतार भयो । त्यसदिन उर्मिलादिदी मलाई परेवाजस्तो र शिवसर बाझजस्तो लाग्यो । झको पन्जामा परेको परेवालाई मैले बचाउन सकुँला र ?
त्यसैदिन साँझ नियमित समयमा उर्मिलादिदी र म सारेगमबाट सँगै फर्किएका थियौं । मेरा मनमा उकुसमुकुस भएका भावनाका कारण आज गरेका कुनै काममा पनि मेरो पटक्कै रुचि थिएन । सधैं मन लगाएर मैले गर्ने सङ्गीतको अभ्यासमा पनि मेरो मन लागेन । ‘कुन्ती ! आज मन कहीं और है । कुछ खास वात है क्या !’ मुरलीगुरुले पनि मेरो अनुहारमा गहिरिएर केही खोज्दै मलाई सोधेका थिए । ‘खास कुछ वात नहीं गुरुजी, वैसे ही तवियत कुछ ठीक नहीं आज ।’ मैले जवर्जस्ती हाँस्न खोज्दै जवाफ दिएकी थिएँ । तर खप्पिस गुरुले मेरा कुरा पत्याएनन् र टाउको हल्लाएर असहमति मात्रै जनाएका थिए । त्यसबेला कसैको कुनै कुराप्रति पनि मलाई केही वास्ता थिएन । मलाई त जतिसक्तो छिटो समय बितोस् र उर्मिलादिदीसँग आफूले थाहा पाएका सबैकुरा भनेर खाडलमा पर्न लागेकी उर्मिलादिदीलाई बचाउनुसँग मात्र त्यसबेला सरोकार थियो ।
‘ल है कुन्ती जाउ ल !’ उर्मिलादिदीको घर आएपछि दिदीले मलाई सधैंझैं बिदा गर्नुभएको थियो । दिदी म आज एकैछिन तपाईंसँग बस्छु नि है !’ मैले उर्मिलादिदीसँग उहाँका घरमा पस्तै भनेकी थिएँ । साँझ झमक्क परिसक्यो र पो भनेकी । तिमी बस्दा त मलाई रमाइलो लाग्छ । घर जान रात पर्ला, आमाले पीर गर्नु होला भनेर’ उर्मिलादिदीले भन्नुभएको थियो । ‘म ठूलो भाइलाई साथी लिएर जान्छु नि दिदी । मैले आमालाई पनि आज एकैछिन दिदीका घरमा पसेर भाइलाई साथी लिएर आउँछु भनेर आएकी छु ।’ मैले उर्मिलादिदीलाई मेराबारे आश्वस्त पार्दै भनेकी थिएँ । कसैगरी पनि म आफूभित्र भएका कुराहरू उर्मिलादिदीसँग पोखेर मात्र आज घर जाने अठोटमा थिएँ ।
हामी दुवै उर्मिलादिदीका कोठामा पुग्यौं । भान्साघरबाट आमाले तरकारी ओइरिएको झ्वाईंयँको आवाज त्यसैबेला आएको थियो । उर्मिलादिदीका दुवै भाइहरू बुबाआमाका कोठामा पढ्ने तरखर गर्दै थिए । सतीचाहिं घर आएजस्तो लागेन । हिजोआज सतीका साथीभाइको सङ्ख्या निक्कै बढेको कुरा मैले थाहा पाएकी थिएँ । त्यसैले उसको धेरैजसो समय सिनेमा हेर्दा, रेष्टुराँ जाँदा वा साथीहरूका घरतिर नै बित्ने गरेको पनि मलाई थाहा थियो । यौवनावस्था भरखरै सुरु भएका हामीजस्ता किशोरीहरूले समयलाई यस रूपमा बिताउनु राम्रो होइन । यसबेला यसरी बिताएको समयको मूल्य भविष्यले रोएर पनि तिर्न सक्तैन भन्ने कुरा मलाई मेरा अभिभावकबाट जानकारी भएको थियो । यी कुराहरू म सतीलाई भन्न चाहेर पनि भन्न सक्ने सम्बन्धमा अब थिइनँ । कुनैबेला सतीकै कारण यस घरमा भित्रिएकी म यसबेला सतीका मनबाट धेरै टाढा पुगिसकेकी थिएँ । हिजोआज सतीले मसँग एकसरो कुराकानी गर्न पनि मन नपराएको मैले महसुस गरेकी थिएँ । त्यसैले सती नहिंड्नुपर्ने बाटो हिंडेको चाल पाउँदापाउँदै पनि टुलुटुलु हेर्नु नै मलाई त्यसबेला उपयुक्त लागेको थियो ।
उर्मिलादिदीको कोठामा पुगेर मैले कोठाको ढोका लगाएँ । उर्मिलादिदी आफ्नो खाटमा ढल्कनु भएको थियो । ‘दिदी एउटा कुरा भन्छु नरिसाउनुस् है !’ मैले दिदीकै खाटको बीच भागमा बस्तै भनें । ‘भनन के कुरा हो ! लाटी तिमीसँग पनि म रिसाउँछु होला त ।’ उर्मिलादिदीले म भएतिर कोल्टे फर्कंदै मेरो हात समातेर भन्नु भएको थियो । दिनभरिजसो उर्मिलादिदीसँग कुरागर्ने उखरमाउलोले सताएकी मलाई अहिले उर्मिलादिदीको मायालु अनुमति पाइसक्ता पनि भन्न खोजेका कुरा जति सबै घाँटीमा अड्केजस्तो भएको थियो । पुस महिनाको चिसोमा पनि ओठ मास्तिर र नाक मुन्तिरको भागमा मलाई पसिनाको आभास हुनलागेको थियो । ‘कुन्ती तिमी आज धेरै गम्भीर पनि छौ, भनन बहिनी के कुरा हो ।’ उर्मिलादिदीले मेरो हातलाई सुम्सुम्याएर थप्थपाउँदै बढो सुमधुर स्वरमा भन्नुभएको थियो । ‘दिदी, तपाईं शिवसरसँग बिहे नगर्नुस् । त्यो मान्छे बिहा भएर दुईजना छोराछोरीको बाउ पनि रहेछ । दिदी ल दिदी ।’ मैले एकैसासमा अत्तालिएर आफूले भन्नुपर्ने जति सबैकुरा भनेकी थिएँ । आमाले सुनाएपछि नै उर्मिलादिदीलाई सुनाउन नपाएर कैयौं मनको भारी बोकेजस्तो भएको मेरो छाती झट्टै हलुङ्गो भएको थियो । त्यसपछि मेरा आँखा उर्मिलादिदीको प्रतिक्रिया खोज्न उहाँका अनुहारमा पुगेको थियो । त्यस क्षणको समग्र मभने उर्मिलादिदीको मेरा विचारप्रतिको सहमतिको तीव्र प्रतीक्षामा थिएँ । उर्मिलादिदीका अनुहारमा बिस्तारै उदासीका रङ्ग भरिएको मैले देखें । धेरैबेरसम्म उर्मिलादिदी केही पनि बोल्नु भएन । ‘कुन्ती, मैले शिवलाई वचन दिइसकें । अब हामी चाँडै बिहे गर्दैछौं । शिवले आफ्नो सबै कुरा मलाई भनिसकेका छन् । उनको ती आइमाईसँग अब कुनै सम्बन्ध छैन । उनको जीवनको दुर्घटना मान्छन् उनी ती विगतका सम्बन्धलाई ।’ उर्मिलादिदीले मलाई गम्भीर भएर जवाफ दिनु भएको थियो । उर्मिलादिदी सबै कुरा थाहा पाएर पनि शिवसरसँग बाँधिन लागेको थाहा पाउँदा म छक्क परेकी थिएँ । एउटा विवाहित पुरुषसँग एउटी अविवाहित केटीले प्रेम गर्नु भनेको त्यसबेला मेरो ज्ञानकोशमा नभएको कुरा थियो । अझ प्रेम मात्र नभएर बिहे नै गर्नु भनेको त्यसबखत मेरा लागि ज्यादै ठूलो आश्चर्य थियो । वास्तवमा त्यसबेलाको मेरो मानसपटमा यो घटनाले एउटा अनौठो आघात नै पारेको थियो । सम्पूर्ण सत्य मेराअघि नै उद्घाटित हुँदा पनि उमेर र अनुभवको काँचो मेरो मानसले यसलाई सहजरूपले लिन सकेको थिएन । त्यस घडी कुनै दिन म पनि विवाहित जीवनमा प्रवेश गरेपछि अर्को विवाहितै परपुरुषसँग प्रेम गर्न पुगेर दोस्रो पटक बिहे गरुँला भन्ने कल्पनाको सूक्ष्म अंश पनि त्यसबेला मसँग थिएन । हिजोआज उमेर र अनुभवसँग कुस्ती खेल्दाखेल्दा थाकेको मेरो मानस हिजोका आफ्ना निष्कर्ष र विचार सम्झँदा आफै आफूप्रति हाँस्ने गर्छ ।
त्यसबेला उर्मिलादिदीको र शिवसरको सम्बन्ध मलाई पटक्कै रुचिकर लागेन । मलाई त्यसबेला उर्मिलादिदी मूर्ख र शिवसर फटाहा लागेको थियो । मलाई जेसुकै लाग्नु नलाग्नुको केही अर्थ थिएन । अर्थात् त्यसैबेला एकदिन सारेगम विद्यालय र क्याम्पसभरि हल्ला फैलिएको थियो ‘उर्मिलालाई शिवले भगाए ।’ मैले सोचिसकेको घटना र थाहा पाइसकेको कुरा भएकाले यो हल्लाले मलाई खास असर पारेन । तर यो हल्लाको समूहको दृष्टि ममा पनि प्रश्नात्मक भएर गाडिंदा भने मलाई निकै असहज भएको थियो । ती दृष्टिहरूको सामना गर्न नसकेर म केही दिन क्याम्पस पनि गइन र सारेगम विद्यालय जान मैले चटक्कै छोडिदिएँ । मेरो सारेगमको आदर्श र प्रेरणा नै धरासयी भएको थियो । त्यसपछि मैले शास्त्रीय सङ्गीतसँग नै कहिल्यै सरोकार राखिनँ । कतिदिनसम्म त रेडियोबाट शास्त्रीय सङ्गीत बज्नासाथ म रेडियो बन्द गर्ने र स्टेशन नै फेर्ने समेत गर्थे । शास्त्रीय सङ्गीत र उर्मिलादिदी मेरा लागि पर्यायवाचीजस्तै भएका रहेछन् । उर्मिलादिदी भन्नु नै मेरो शास्त्रीय सङ्गीत रहेछ । हिजोआज लाग्छ मेरो शास्त्रीय सङ्गीत प्रेम भन्नु उर्मिलादिदीसँगको आकर्षण मात्रै रहेछ किनभने त्यसपछिका दिनहरूमा शास्त्रीय सङ्गीत र उर्मिलादिदी दुवैलाई सम्झनुभन्दा बिर्सनुमै म रमाउन लागेकी थिएँ । मेरो बिहे भएपछि म पनि वीरगञ्जका लागि पाहुना मात्रै भएकी थिएँ । कहिलेकाहीं पुराना साथीभाइ भेटिंदा कसैकसैले उर्मिलादिदीका छोराछोरी जन्मेका कुरा सुनाउँथे । म यस्ता उर्मिलादिदी सम्बन्धी समाचारहरू सुन्थेंमात्रै मलाई ती जानकारीप्रति खासै उत्सुकता भने लाग्दैनथ्यो । अचम्मको कुरो त्यसपछि मेरो र्उिर्मलादिदीसँग दोहोरो कुराकानी भएको थिएन । म वीरगञ्ज पुगेको बेला बजारमा कहिलेकाहीं आक्कलझुक्कल उर्मिलादिदीसँग देखादेख हुनेगथ्र्यो । त्यस्ता बेला म दुई हात जोडी दिन्थें । उर्मिलादिदीसँग बिहे भएपछि शिवसरलाई पनि मैले उर्मिलादिदी कै साइनोमा ल्याउनु परेको थियो । त्यसो त त्यसरी सजिलै मैले शिवसरलाई भिनाजु भनेकी पनि थिइनँ । एकदुई पटकको जम्काभेटमा शिवरले ‘सालीनानी के छ हालचाल’ भनेर बोल्ने भएका भए पनि मेरो मानस र जिब्रोले भने उनलाई भिनाजु भन्न सकेको थिएन । त्यसैबीच एकपटक वीरगञ्ज गएको बेला म एउटी नन्द पर्नेका घरमा पुगेकी थिएँ । ती सहृदयीका अनुरोधमा त्यस दिन मैले झन्नै परैजसो दिन त्यहाँ बिताएकी थिएँ । त्यसैक्रममा कसोकसो गर्दा त्यसै घरको साँधमा भएको पल्लो घरकी आइमाईसँग मेरा आँखा जुध्न पुगेका थिए । ‘एई कुन्ती !‘’ उर्मिलादिदी कराउनु भएपछि मैले ठम्याएकी थिएँ । त्यो घर उर्मिलादिदीकै रहेछ । त्यसैको लगत्तै उर्मिलादिदी आएर मलाई आफ्ना घरमा लिएर जानुभयो । भरखरै तयार भएको तीनकोठाको पक्की घर रहेछ । त्यसैबेला उर्मिलादिदीका छोराछोरी स्कुल गएकाले मैले उनीहरूको तस्वीर मात्र त्यहाँ देखें । त्यस दिन शिवसर भने त्यहीं हुनुहुन्थ्यो । ‘सर नमस्कार’ मैले आफ्नो पुरानो शिष्टाचार कायम राख्न खोजें । ‘ केको सर काँको सर हँ कुन्ती ! मेरी बहिनी भएर शिवलाई सर भन्ने हो ! भिनाजु भन भिनाजु !’ उर्मिलादिदीले आत्मीयताका साथ उमङ्गित र उल्लासित हुँदै शिवसर र मबीच साइनु गाँस्नु भएको थियो । मलाई साली र शिवसरलाई भिनाजुको साइनोमा गाँसेपछिको उर्मिलादिदीको अनुहारको रौनकले म पनि त्यसबेला धेरै दिनपछि उर्मिलादिदीसँग नजिक भएको अनुभूतिमा पुगेकी थिएँ । त्यसपछिका दिनहरूमा शिवसरसँगका भेटघाट का बेला मैले चाहँदा नचाहँदै पनि शिवसरलाई भिनाजु सम्बोधन गर्न लागेकी थिएँ ।त्यस दिन शिवभिनाजु र उर्मिलादिदीको घरबार हेरेर आएपछि वर्षौअघिदेखि मेरो छातीमा उर्मिलादिदीका सम्बन्धमा बसेको गह्रौंपन केही घटेर गएको थियो । मेरो कच्चा मनस्थितिले उर्मिलादिदीबारे उब्जाएका धेरैजसो धारणाहरू पनि समयरूपी नदीमा प्रवाहित हुँदै गएका थिए । म उर्मिलादिदीलाई माया गर्छु भने मैले उर्मिलादिदीको खुशीमा सहभागी हुनैपर्छ भन्ने निर्णय पनि मैले गरें । त्यस भेटघाटपछि मेरा स्मृतिमा उर्मिलादिदीको त्यस दिनकै उज्यालो हँसिलो अनुहार मात्र सङ्ग्रहीत र¥यो । यसबीच म विदेश पलायन भएका कारण मैले नेपाल नटेकेकै कैयौं वर्ष बितिसकेको थियो ।
यसबेला अचानक मेरा बुबाको बरखीमा सामेल हुन म कार्यालयकै काज मिलाएर वीरगञ्ज आएकी छु । बुबाको स्वर्गारोहणपछिको वीरगञ्जको शून्यताले सताइएकी मैले भरखरै मात्र शिव भिनाजु देहान्त भएको विज्ञापन अखबारमा पढें ।
‘विचरी उर्मिलादिदी’ मैले अखबार पन्छाएर आँखामा पानी भर्न खोज्दै भनेकी थिएँ । ‘आ‘ दि‘ पनि केको पीर प¥या हो हजुरलाई‘ उहाँ उर्मिलादिदी रमाएर छुट्टी छ । उर्मिलादिदीलाई पर्ने पीर हजुरले बोकेर हुन्छ र ?’ मेरी बहिनी पृथाले अलि चर्को स्वर गरेर भनी । मलाई यस्तो बेला त्यस्तो कुरा नमीठो लाग्यो । ‘किन त्यसरी बोलेकी पृथु ! मान्छेलाई दुःख परेको बेला त्यस्तो भन्नु हुन्न । बिचरा उर्मिलादिदीलाई कति पीर परेको छ । उहाँले त्यस्तो अपहत्ते गरेर बिहे गरेको ‘’ मैले भावुक भएर बहिनीलाई सम्झाउन खोजें । दिदी हजुरले सोचेजस्तो छैन । उर्मिलादिदीले हजुरले जति पनि पीर मानेको भए हजुरमारिहत्ते । हजुरजस्तै मैले पनि तीन दिनअघिसम्म उर्मिलादिदीका बारे हजुरकै जस्तो धारणा बनाएकी थिएँ । सबैले उर्मिलादिदीका बारे कुरा काटेको सुनेपछि म पनि कुदेर भेट्न गएकी थिएँ । बुझ्नुभो दि’ , उर्मिलादिदी त मज्जाले हाँसेर गफ गर्दै हुनुहुन्थ्यो । उहाँका नातागोता सबै उर्मिलादिदीलाई बौलाही भन्दैथे । मसँग पनि मज्जाले सधैंझैं गफ गर्नुभयो । हजुरको बारे पनि कुरा गर्नुभो । एकदमै सामान्य । शिव भिनाजु मरेर खुशी भएजस्तो । म मात्रै होइन भेट्ने जति सबै नै उर्मिलादिदी रमाएको देखेर छक्क परेका छन् ।’ पृथाले विस्तृत विवरण पेश गरेकी थिई । पृथाका कुराले मलाई पनि कौतूहलको स्थितिमा पु¥याएको थियो ।
पृथाका कुरा सुनेर शिव भिनाजु मर्नुभएको समाचारले दिएको दुःख अब उर्मिलादिदीले खुशी मानेको समाचारसँग साटिएको थियो । आफ्नो लोग्ने आफूले जन्माएका छोराछोरीका बाबु, आफूले प्रेम गरेर बिहे गरेको मानिस मर्दा कसरी खुशी हुनुभएको होला उर्मिलादिदी ? मभित्र प्रश्नहरू जेलिएर भित्रभित्रै कुरा माथि कुरा उम्लिरहेका थिए । बुबाको काम सकिएको भोलिपल्टै मैले आफूलाई उर्मिलादिदीका घरमा पुग्नबाट रोक्नै सकिन । सामान्यगतिमा उर्मिलादिदीको मुलदैलोमा पुगेकी मेरो मुटुको ढुकढुकी भने दौडेर आएजस्तो हुनपुगेको थियो । मेरा निधारमा र ओठको मास्तिर पसिना आएजस्तो मलाई लाग्यो । मैले आफ्नो दाहिने हातले सारीको सप्को समातेर सम्भावित पसिना पुछें । “उर्मिलादिदी ‘” ढोकामा आएकी एउटी नवयौवनालाई मैले सोधेकी थिए । “नमस्ते ! तपाईं कुन्ती आन्टी होइन ।’ त्यो केटी फटाफट बोलेकी थिई । म अझै निश्चिन्त भएकी थिइन । मलाई दिसापिसाब लागेजस्तो भएको थियो । म नजानिंदो गरी कामी पनि रहेकी थिएँ । खासमा मलाई डर लागेको बेला यस्तै हुनेगथ्र्यो । त्यस्तो बेलामा मैले ती नवयौवनाको अनुहारमा ट्वाल्ल परेर हेरिरहें । उर्मिलादिदीको यौवनावस्थाको मैले देखेको रूप र शिवसरको रातो वर्ण टाँसिएको स्वरूपमा ती नवयौवनालाई देख्दा म अचम्मित भएकी थिएँ र अझ मैले चिन्दै नचिनेकी केटीले मलाई परिचितझैं व्यवहार गर्दा म हतप्रभसमेत हुनु स्वभाविकै थियो । “म सूर्या तपाईंकी उर्मिलादिदीकी छोरी, मामुले तपाईंको कुरा धेरै नै गर्नु हुन्छ र फोटो हेरेकाले मैले त तपाईंलाई चिनिहालें आन्टी । मलाई चिन्नु भएन नि !” सूर्या पुरानो परिचितजस्तो अत्यन्तै सहज भएर मसँग बोल्दै गई र मलाई लिएर भित्र कोठामा पु¥याई । सामान्य बैठक कोठा थियो त्यो । यो त्यही बैठक कोठा थियो जहाँ म पहिले पनि एकपटक आइसकेकी थिएँ । यसबेलाको यो कोठा र त्यसबेलाको यो कोठामा भएका अन्य परिवर्तनसँग मलाई वास्ता थिएन तर एउटा परिवर्तनले भने मेरो मुटुनेरी चिसो हावा बगाएको थियो । त्यसबेला यही कोठामा बसेर कुनै किताव पढिरहेका शिव भिनाजु यसबेला तसबिर मा कैद हुनुहुन्थ्यो र तसबिरमा लगाइएको तजा बेली फूलको माला अनि एउटा तामाको थालीमा भएको धूपदानीमा बलिरहेका धूपहरूले उहाँको मृत्युको उद्घोष गरिरहेको थियो ।‘कुन्ती ! कहिले आएकी ! ओहो कस्तरी मोटाइछन् यिनी त । गोरी पनि भइछौ । पक्कै पनि तिमीलाई सुख छ । तिमी त पहिलेभन्दा पनि राम्री भइछौ ।’ अचानक ढोकाबाट भित्र पस्तै गरेकी उर्मिलादिदीको उत्साहित स्वरले मेरो तन्द्रा भङ्ग भएको थियो । उर्मिलादिदी आफ्ना चिसा हातलाई आफूले लगाइराखेको सुती सारीको सप्कोले पुछ्दै हुनुहुन्थ्यो । मैले उहाँलाई हेरिरहें मात्र केही बोलिनँ । सेतो सारी, शृङ्गारविहीन अनुहार, कालो मेहदीले रङ्गाइएको टलक्क अस्वाभाविक कालो कपाल, हाँसिरहेका ओठ । उर्मिलादिदी मसँगै टाँसिएर सोफामा बस्नुभयो । पहिले पहिलेजस्तै मेरो हात समात्नुभयो । हामी दुई एकदमै नजिक थियौं । मैले आँट गरेर पुनः उर्मिलादिदीका अनुहारमा हेरें । हेरिरहें । शायद केही खोजिरहें पनि । यसबेला उर्मिलादिदी पनि केही बोलिरहनु भएको थिएन । मैले खोजेको कुरा उर्मिलादिदीका आँखाका गहिराइमा मैले भेट्नभेट्नै लागेको थिएँ । ‘मामु हजुरहरू गफ गर्नुस् ल म आन्टीलाई चिया बनाएर ल्याउँछु ।’ सूर्याले हामी दुईजनालाई मात्रै कोठामा छोडेर बाहिरिएकी थिई । म चियाको शौकिन नहुँदा नहुँदै पनि यसबेला सूर्याले हामी दुईजनालाई मात्रै कोठामा छोडेको कुराले चियाशब्द पनि मेरा लागि प्रिय भएको थियो । अरूबेलाजस्तो भएको भए म सूर्यालाई कदापि चिया बनाउन लगाउने थिइन ।
सूर्या कोठाबाट बाहिरिएको केहीबेर अर्थात् उसको चप्पलको आवाज टाडिंदै गएपछि मैले आफूलाई उर्मिलादिदी समक्ष उदाङ्गो पार्न खोजेकी थिएँ । ‘दिदी, तपाईंलाई भिनाजु स्वर्गे हुँदा दुःख लागेको छैन ?’ मैले अनायास यस्तो प्रश्न गरें । त्यसो त उर्मिलादिदीका बारेमा यस्तै किसिमका कुराहरू सुन्दै आएकाले मेरा मनमा उथलपुथल मच्चाइरहेका भावनाहरू एकान्त पाउनासाथ उर्मिलादिदीका सामु पोखिनु त्यति अनौठो पनि थिएन । तर उर्मिलादिदीलाई यस्तो प्रश्न नै सोध्नेछु भन्ने लक्ष्य लिएर पनि म यहाँ आएकी थिइनँ । प्रश्न मेरा मुखबाट फुत्त फुत्किएको थियो र त्यसपछि भने मैले दिदीसँग कसरी यस्तो प्रश्न गरें भन्ने कुराले म आफैं भित्रभित्र पिरोलिन पनि लागेकी थिएँ । डराउँदा डराउँदै पनि मैले उर्मिलादिदीका आँखामा आफ्ना प्रश्नको उत्तर खोज्न लागे । त्यतिबेला उर्मिलादिदीको मैले हेर्नचाहेको रूप पनि त्यहाँ सर्वाङ्गै थियो । ओहो ! कतिविधि वेदना थियो त्यहाँ, त्यही कारण मेरा आँखा पनि भरिएर आए । अचानक म उर्मिलादिदीका काखमा मुन्टो राखेर रुन लागें । ‘नानी तिम्रो भिनाजु र मबीच विगत पन्ध्र वर्षदेखि लोग्नेस्वास्नी सम्बन्ध नै थिएन । परिवारको मर्यादा जोगाउन मात्रै म उहाँकी स्वास्नी भएर बसेकी थिएँ ।’ उर्मिलादिदीले भक्कानिएको स्वरमा मलाई भन्नुभएको थियो । मुसलधारे पानी पर्दापर्दै चर्को घामलागेको मौसमजस्तो मेरो मानसिकता भएको थियो । यस्तो अप्रत्यासित रूपमा मेरो कल्पनाले पनि थाहा नपाएको सत्य उर्मिलादिदीबाट उद्घाटित हुँदा मेरो चेतना नै लोलाउलाजस्तो भएको थियो । हत्तपत्त आफ्ना आँसु पुछेर मैले उर्मिलादिदीसँग आँखा जुधाएकी थिएँ ।
‘घरमा छोराछोरीलाई पनि थाहा छ, त्यसै क्याम्पसमा बाइलोजी पढाउने उमा म्याडमसँग शिवको प्रेमसम्बन्ध थियो । यसपालिको उनको निधनको कारकतत्व पनि तिनै म्याडम हुन् । तर मैले सबै कुरा थाहा पाएर पनि कसैसँग केही भेनकी छैन । शिवको मन उसले जितेकी थिई । उनी जुनसुकै बेला पनि त्यही आइमाईसँग बस्न मन पराउँथे । मलाई ढाँटेर छलेर बाहिरफेर पनि त्यही आइमाईलाई लिएर रात बिताउन जान्थे । सानो ठाउँको यस्तो कुरा मलाई उनले नभने पनि, मैले जान्न नखोज्दा नखोज्दै पनि सबै कुरा मैले नै सुन्नु पनि पथ्र्यो । तर जेसुकै भए पनि म गर्न नै पो के सक्थें र ? मैले शिवसँग एकोहोरो प्रेम गरेर शिव मेरा भएनन् । तर नानी अहिले उनीलाई सबैले म¥यो भन्छन् । तिमीलाई थाहा छ यो सत्रवर्ष उनी मेरा लागि मरेका थिए । बल्ल अब भने उनी मेरा लागि बाँचेका छन् । अब उनी मेरा मात्रै भएका छन् । अरूलाई यस्तो कुरा भन्यो भने ‘लौ उर्मिला बौलाइछ’
भन्छन् तर कुन्ती तिमीले त मलाई बुझ्छेउ नि ?‘ उर्मिलादिदी एकोहोरो बोलिरहिन्, मैले सुनिरहें । मसँग उनका लागि कुनै शब्द नभएको अवस्थामा म थिएँ । ‘तिमी नै भनन कुन्ती, मेरो प्रेमी मेरो पति बल्ल एकलौटी मेरो मात्रै भएको छ, अब म कसरी दुःखी बनुँ ? हिजोआज उनी हरपल मेरैसाथ छन्, मैसँग हाँस्छन्, मैसँग रुन्छन् । कुन्ती अर्को कुरा भनौ हिजो आज म शिवसँग बिहा गरेको बेलाको रमाइलो बिताउँदैछु, तिमी पत्याउँछ्यौ ? मलाई शिव मरे भन्ने कुरामा रत्तिभर विश्वास छैन, उनी उमाका लागि, संसारका लागि मरेर मेरा लागि भने बाँचेका छन् बुझ्यौं,’ यति भनिसक्ता नसक्तै उर्मिलादिदीले मलाई ग्र्वाल्लाम्म अँगालो हाल्नुभयो र रुन लाग्नुभयो । उर्मिलादिदीले मलाई सम्बोधन गरेर भन्नु भएका सम्पूर्ण शब्दहरूका अर्थ ज्ञाता हुँदैमा ती शब्दले बोकेका भावको मर्मज्ञ हुन सकिंदैन भन्ने कुराको सप्रमाण अनुभूति त्यसबेला मात्र मलाई भएको थियो । त्यसैले त्यसबेला उर्मिलादिदीका जीवनका मर्मान्त विगत आफूसामु उद्घाटित भएकी मलाई एउटा सकसपूर्ण पीडा भएको थियो । केहीअघि मात्र उर्मिलादिदीलाई कतिखेर भेटौं भन्ने मेरो मानसिकता अहिले सकेसम्म छिट्टै उर्मिलादिदीबाट अस्तित्वबाट टाढा भाग्न खोजिरहेको जस्तो मलाई लाग्यो । शायद एकोहोरो प्रेमको यो सीमासम्म पुगेकी उर्मिलादिदीको अस्तित्वसँग मेरो अस्तित्वले पराजित हुनु परेकाले म उर्मिलादिदीसँग सामना गर्न सकिरहेकी थिइनँ । ‘आन्टी ! चिया, मम्मी नरुनु, बल्लबल्ल भेट भएको आन्टीसँग गफ गर्नु न ।’ सूर्या चियाको कप बोकेर हाम्रा अघि उभिएकी थिई । सानो टेबुलमा चिया राखेर आश्चर्य मिसिएका दृष्टिले आफ्नी आमालाई हेर्दै सूर्या हाम्रो अघिको सोफामा बसेकी थिई । मसँग अलग्गिएर पनि उर्मिलादिदी सोफामा ढल्किएर एकनाससँग रोइरहनु भएको थियो । गालाभरि आँसु बगेको थियो । आँखा चिम्लेर आँसु बगाइरहेकी आमालाई मायालु आँखाले हेरिरहेकी सूर्याका अनुहारबाट आश्चर्यको भाव भनें हराएको थिएन । मेरो अघि सूर्याले राखिदिएको चिया मैले पनि पिउन सकिनँ । धेरैबेरपछि सेलाएको चिया सूर्याको मन राख्न जुठो मात्रै हालेर चिया पिइदिने आफ्नो धर्म निर्वाह गरेकी थिएँ ।
त्यसपछि उर्मिलादिदीसँग मेरो कुनै कुरा भएन । उर्मिलादिदीका भावनाहरूसँग सहयात्रा गर्नसक्ने कुनै यस्तो शब्द मसँग थिएन पनि र मलाई भन्न बाँकिरहेका उर्मिलादिदीका शब्दहरू पनि उहाँकै आँसुका भेल भएर बगिसकेका थिए । त्यसैले पनि होला अब मलाई त्यस कोठाको हामीबीचको समय गह्रुङ्गो भएर बितेकोजस्तो लागिरहेको थियो ।
उर्मिलादिदीसँग मैले बैठक कोठामै बिदा मागेकी थिएँ । उहाँले पनि टाउको हल्लाएर बिदा गर्नुभएको थियो । ‘आन्टी ! बाबा खसेपछि मामु यसरी रोएको मैले आज मात्र देखें ।’ मलाई बिदा गर्न मूलढोकामा आएकी सूर्याले मसँग छुट्टिने बेलामा अवरुद्ध गलाले भनेकी थिई ।
उर्मिलादिदीको अनौठो छवि बोकेकी म असजिलो मन पार्दै त्यहाँबाट हिंडेकी थिएँ ।