~दीपक सापकोटा~
कवि विप्लव ढकाललाई एक साँझ सोधेको थिएँ, ‘कविता किन लेख्नुहुन्छ?’ ढकाल केहीबेर निकै भावुक देखिएका थिए। उनको उत्तर यस्तो थियो, ‘आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु। आफ्नो अन्तर्आत्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो कविता नै हो। कविता मेरो आस्था, प्रेम र आराधना पनि हो। म आफ्नो आस्था र प्रेमलाई जीवित राख्न चाहन्छु।’
च्याउको जङ्गल कवितासङ्ग्रह प्रकाशित भएपछि नेपाली कविता बजारमा सानोतिनो तरङ्ग उत्पन्न भएको थियो। ‘कहिँ च्याउको पनि जङ्गल हुन्छ?’ अर्का मार्क्सवादी कवि बन्धुविक्रम क्षेत्रीले किताब मुसार्दै प्रश्न गरेका थिए। च्याउको जङ्गल खोज्दै कवि विप्लव ढकाल कहाँकहाँ भौंतारिए होलान्? विषालु च्याउ खाएर मान्छेहरू मरिरहेको समाचार अक्सर पढिरहेको बेला च्याउको जङ्गलभित्रका च्याउहरू (कविता) खाए के होला? लागिरहेको बेला मलाई याम्बुरी बुक प्वाइन्टको निलो छाप लागेको ‘कम्प्लिमेन्ट्र कपि’ लेखिएको च्याउको जङ्गल दिँदै ढकालले आफ्नो च्याउ खेति भ्रमणको निम्तो दिएका हुन्। खासमा दृष्टिका सम्पादक शम्भु श्रेष्ठले मलाई च्याउको जङ्गल घुमाइको अनुभूति लेख्न असाइन्मेन्ट गरेको महिनौं बित्यो। म भने महिनौंसम्म च्याउको जङ्गलमै भौतारिइरहेको रहेछु। भर्खरै जङ्गलबाट म निस्किएको छु।
कुनै एउटा कलिलो साँझ रातो रंगको लोकल रक्सी खाँदै ढकालसँग मैले उनको कविता लेखनबारे लामो वार्ता गरेको थिएँ। यस आलेखमा म उनीसँगको वार्ताका केही अंश स्मरण गरिरहेको छु।
‘कविताको मृत्यु भइसक्यो, यो आख्यानको जमाना हो’ भन्छन्। तपाईंचाहिँ च्याउको जङ्गलतिरै भौंतारिँदै हुनुहुन्छ नि?
–यो एउटा राजनीति हो। तर यसमा आधा सत्य चाहिँ अवश्य नै छ उ अनियोजित रुपमा रोगी, कुरुप र कुपोषणग्रस्त कविताहरू लेखेर शब्दको शक्तिमाथि ठट्टा गर्दै कतिपय कविहरू आफँैले पनि समाजबाट कविताको धागो चुँडाएका छन्। केही धागो समालोचकहरूले चुँडाएका छन्। विश्वविद्यालय, एकेडेमी र मिडियाहरूले पनि चुँडाएका छन्। अर्कातिर मृत्युपर्वको शृङ्खला पनि लामै छ नि होइन र? कहिले ईश्वरको मृत्यु, कहिले इतिहासको मृत्यु, कहिले कविताको मृत्यु उ … तर यी सबै भ्रमहरू हुन्। केही पनि मरेका छैनन् उ यो त विचारको मार्केटिङ गर्ने एउटा सामान्य रणनीति मात्र हो। वास्तविक कविता मान्छेको सौन्दर्यचेतनाको सबैभन्दा तीव्र र जीवन्त आवाज हो। यस धर्तीमा अन्तिम मान्छे बाँचुन्जेल उसका संवेदना र सपनाहरूको सबभन्दा जीउँदो प्रमाण बनेर कविता बाँचिरहने छ। आज आख्यान लगायत अन्य विधाहरूमा पनि कविताको शक्ति र सौन्दर्य रुपान्तरित भइरहेको छ। राम्रा कविताहरूको सामाजिकीकरण भइरहेको छ। त्यसैले ढुक्क हुनुहोस्― कविता मरेको छैन र मर्दैन पनि उ
‘कविता मरेको छैन’ भन्ने जिकिर गर्ने यिनि च्याउको जङ्गलमा तीस वर्षदेखि घुमिरहेका रहेछन्। यिनलाई ‘पाण्डुलिपि’को लागि एउटा लेख लेखिदिन आग्रह गरेको बेला भनेका थिए, ‘डियर कवि म कविताको ह्याङओभरमा छु। खासमा कविताले मलाई थोरबहुत पागल बनाउँछ।’
मैले सोधेको थिएँ– एउटा सुन्दर कविता लेखिसकेपछि सबैभन्दा पहिले तपाईँको आफ्नै प्रतिक्रिया कस्तो हुन्छ?
–कविता लेख्नका लागि मलाई एउटा विशेष प्रकारको मुड र मानसिक हलचल चाहिन्छ। म आफूभित्रको आँधी र पागलपनलाई पर्खिन्छु। महिनौँसम्म चुपचाप र धैर्यपूर्वक पर्खिन्छु। जब आफँैभित्रको आँधीले मलाई भत्काउन थाल्छ― शब्दहरू पागल हुन्छन् र एउटा लयको जन्म हुन्छ उ यही नै मेरो कविता हो। कविता लेखिसकेपछि म आफ्नो चेतनाको पीडाबाट मुक्त हुन्छु। त्यसपछि मभित्रको पाठक र एउटा कठोर आलोचक ब्युँझिन्छ। त्यसबाट बचाउन सकेँ भने मात्र म आफ्ना कविताहरूलाई सार्वजनिक गर्छु।
‘म कविता लेख्दा पागल बन्छु’, ढकाल एउटा कविता लेख्न महिनौंसम्म चुपचाप धैर्यपूर्वक पर्खिन्छन्। उनी कवितामा कति सिरियस छन्? माथिको उनको कोडले उनलाई आफैंभित्रको कठोर आलोचक देखाउँछ। खासमा जीवनको रेखा उति सरल हुँदैन। उनी हिँडेको बाटो कति किरिङमिरिङ थियो? ‘म आफू बाँचेको समाज र समयसँग संवाद गर्न कविता लेख्छु’ भन्ने कविका कवितामा समाजले भोगको द्वन्द्व, सामाजिक पीडा, स्कूल जाने विद्यार्थीले बाटोमा कसाईजस्तो मान्छे देख्दाको अनुभूति पाइन्छ। समाजको किरिङमिरिङ रेखालाई उनका कविताले समातेका छन्। कवितामा उनी भन्छन्–
हरिराख है त भाइ
अब झ्याप्पै निभ्छ यो बत्ती
र चारैतिर अँध्यारो हुन्छ
अँध्यारोमा किताब देखिँदैन
कलम देखिँदैन
आहा
त्यसपछि त हामीले
होमवर्क गर्नै पर्दैन
पाठ घोक्नै पर्दैन
(अँध्यारो)
नेपाली कविता बजारमा रोदिघरका व्याख्या, तरुनीका फिला र ओठको सौन्दर्यको वर्णन बढि छापिइरहेको छ। अझ ‘सर्ट ह्याण्ड’ कविता लेखेर गोष्ठिमा ठाउँको ठाउँ वाचन गर्ने कविहरू शहरभरि घुमिहिँड्छन्। कम्तिमा अहिले कविताको नाममा नारा लेखिरहेका कविजस्ता विप्लव होइनन्। उनी कवितामा कला, विचारको खोजी गर्छन् भन्ने तथ्यको एउटा सग्लो प्रमाण च्याउको जङ्गल हो। माथि कोड गरिएको ढकालको कविताले स्कूल जाने विद्यार्थीको अनुभूति, उसको डर र उमाथि थिचिएको किताबरुपी गह्रंुगो चट्टान भत्काउन माग गर्छ। किताबको ‘अभूमिका’ भित्र उनको एउटा सग्लो कन्फेसन छापिएको छ। उनी भन्छन्, ‘कविताको आगो सेलायो भने धरतीको आत्मा चिसो हुन्छ….।’ आफू बाँचेको कन्फ्युज्ड वर्ल्डप्रति उनको चरम वितृष्णा देखिन्छ, जुन उनका कवितामा ठोक्किएर आएका छन्। ‘यति धेरै कन्फ्युजन र विरोधाभासहरूका बीचमा अनकन्टार जङ्गलभित्र मैले आफ्नो यात्रा गरेको रहेछु।’ च्याउको जङ्गलभित्रको यात्रा कति कठोर हुन्छ? उनको आत्मस्वीकृति चर्को छ।
यो देशमा मानिस कि गुण्डा हुन्छ कि राजनीतिको चर्को भुङ्ग्रोमा मिसिएर भ्रष्टाचारी हुन्छ। आफ्नै सपना कुल्चिएर हरियो झोला बोकी जङ्गल यात्रा गरेका कति स्कूले कविहरू घर किन फर्किएनन्? किन यो देशमा सत्य बोल्नु खतरनाक हुन्छ? च्याउको जङ्गल सफारिले मलाई केही बोध भएको छ कि हमी कसको इसारामा पीडित, दुःखी भएर आँखामा आगोको ज्वाला बोकेर बाँच्न अभिशप्त छौं? किन रगतले लतपतिएको हातमा चुप्पी बोकेर कसाइ एउटी युवतिलाई घुरेर हेर्छ?
‘त्यो कसाई साह्रै सेक्सी छ दिदी,
त्यसले आज पनि मलाई
जिब्रो निकाल्दै सडकमा घुरेर हेर्योए’
(कसाई)
राजनीतिक कसाईहरू, तथाकथित ‘जनयुद्ध’को नाममा जङ्गलमा केटीलाई बलात्कार गरेर रगत लतपतिएको कोट भिरर सहर पसेको नवधनाढ्य महिलावादी नेता, सडकको किनारमा मकै बेच्ने युवतिको धुँवामा रंगमगिएको जीवनदेखि मल्टिप्लेक्समा सिनेमा हेर्दै सँगै बस्ने केटोको गर्दन मुर्सादै आइसक्रिम खाने युवतिका कथा विप्लव ढकालका कविताका कच्चापदार्थ हुन्। च्याउको जङ्गल घुमिरहँदा म पनि उनका कविताले ल्याएको तरङ्गको ह्याङओभरमा बसिरहेँ।
कवि मणि काफ्ले विप्लवको कविताका फ्यान हुन्। उनी ढकाललाई अहिलेको कविताको मूल स्वर मान्छन्। ‘च्याउको जङ्गलको परिभ्रमण गर्दा म निकै आनन्दित भएँ। खासमा म उनको कविताको प्रेमि हुँ। उनका कविता मलाई प्रेमिकाजस्तै लाग्छन्,’ काफ्लेले रक्सी लागेको साँझ लर्बरिएको आवाजमा भनेका थिए। चुरोट हातमा लिएर अर्का रुद्राक्षधारी मंगोलियन बाबाजस्तो देखिने कवि चन्द्रवीर तुम्बापो च्याउको जङ्गलको भ्रमणपछि आफू उति सन्तुष्ट नभएको धुँवाको सर्को फुकिरहेका थिए। खासमा उनी पनि ढकालको डाइहार्ट फ्यान हुन्। तर, पूर्वप्रकाशित कवितासंग्रह निर्जन बन्दरगाह सँग च्याउको जङ्गलको तुलना गर्दैथिए उनी।
ललल
ओछ्यानभरि बूढो मूत गन्हाउँछ
डल्लीको बाउ
अझै बिचेत बनेर निदाएको छ
मेरो शुक्रतारा
मूतको चिसो आहालभित्र
मसँगै टाँसिएर निदाएको छ।।
(मेरो शुक्रतारा)
उनको कविताको मूल स्वर नेपाली समाज र संस्कृति नै हो। रातो रक्सी खाँदै साँझ सोधेको थिएँ कविलाई– कविले कविता जस्तै जीवन बाँच्न सक्छ कि सक्दैन?
–यो कविको स्वतन्त्रतासँग गाँसिएको कुरा हो। उसको वैयक्तिक निर्णय, सर्वोच्च छनोट र नैसर्गिक अधिकारको विषय हो। कविताजस्तै जीवन बाँच्न सकिन्छ पनि, सकिँदैन पनि। तर इमान र आत्मसम्मानपूर्वक बाँच्न सक्नु ठूलो कुरा हो।
उनी आजको साहित्य समाजको निर्जीव दर्पण मात्र बनेको छैन भन्छन्। ‘जिउँदो आवाजसहित बोलिरहेको छ। दर्पणभित्र त छायाँ मात्रै हुन्छ, चेतना हुँदैन। चेतनाले नै आवाज नभएकाहरूलाई आवाज खोज्ने उज्यालो दिन्छ, प्रतिरोध गर्ने शक्ति दिन्छ र बहुलाउने तागत दिन्छ।’
सशस्त्र युद्धले निर्माण गरेको चेतना तथा यसका त्रासदी र अभिघातहरूको पीडा त्यति सजिलै बिर्सन सकिने बिम्ब होइन। यसका कारण र परिणामहरूको मूल्य पनि त्यति सस्तो छैन। उनका कवितामा युद्धले ल्याएको बाछिटा र त्रासदी आएका छन्।
उनको बहुचर्चित लामो कविता ‘प्रोफेसर शर्माको डायरी’ले उनलाई व्यापक स्थापित कवि बनाइदिएको सत्य हो। प्रोफेसर शर्माको डायरीको नायक को हो दाइ? सोधेको थिएँ। उनको उत्तर मेरो डायरीमा भद्दा अक्षरमा यसरी लेखिएको रहेछ– ‘प्रोफेसर शर्माको डायरी मैले आफ्नो समयलाई सोधेको प्रश्न हो। यो म बाँचेको समयका बौद्धिक जडताहरूप्रतिको तीव्र असहमति र अस्वीकृतिको आवाज हो। यसमा मैले आफँैले भोगेका र नजिकबाट देखेका अनेकौँ पात्रहरूको सूक्ष्म निरीक्षणबाट एउटा प्रतिनिधि चरित्रको निर्माण गरेको छु। यो हामीले भोगेको कुरुप वर्तमानको एउटा विसङ्गत प्रतीक मात्र हो। कवितामा वास्तविक नायकको जन्म हुन त बाँकी नै छ।’
अबका कविताले सम्बोधन गर्नुपर्ने विषयहरू थुप्रै छन्। उनी आफू उभिएको धर्तीलाई औधी माया गर्छन्। ‘आफू उभिएको धर्ती बिर्सियो भने कविता एक्लो र निरीह हुन्छ। पानीको फोकाजस्तै हुन्छ। इतिहासमा थुप्रै थुप्रै पानीका फोकाहरू उठेका छन् तर पानीका फोकाहरूको कुनै सम्भि्कन लायक इतिहास हुँदैन। त्यसैले कविताको सामाजिकीकरण र सांस्कृतिक रुपान्तरण नै आजको सबभन्दा ठूलो चुनौती हो।’ उनको धारणा यस्तो छ।
डायरी हराएको एउटा प्रोफेसर धमिलो चश्माभित्रबाट चियाएर हेर्छ शहरलाई र देख्छ च्याउ नै च्याउको जङ्गल। दाइ, च्याउको जङ्गल खोज्दै कति धेरै भौंतारिएको? उनी ‘अभूमिका’मा लेख्छन्, ‘म कविता खोज्दै हिँडिरहेको छु। हिँडिरहे पुगिन्छ। जहाँ पुगिन्छ, त्यहिँ नै मेरो गन्तव्य हो।’ जङ्गलभित्र कविता खोज्दै हिँडिरहेका कवि ढकाल कहिले निस्केलान् जङ्गलबाहिर?
(स्रोत : Weeklynepal)