~सुरेन उप्रेती~
कुहिरोको पातलो बर्कोलार्इ विहानीको चिसो हावाका झिना नँग्राहरूले भत्काउँदै थिए । मान्छेहरू आँखा मिच्दै दिनभर आइपर्ने समस्याहरू सँग जुझ्न तयार हुँदै थिए । सूर्यले राम्रो सँग धरतीमा पाइला राखि सकेको थिएन । अझै जूनको राज कायमै थियो । एउटा १५ , १६ बर्षको जस्तो देखिने केटो आँखा मिच्दै होटलबाट ऒर्लियो । दुर्इ हातलार्इ छातीमा खप्टिएर बाँध्यो र बस स्टेण्डमा गयो । मोविल र तेलको कालोले रँगिएको पेण्टको गोजीबाट गाडीको चावी निकाल्यो । मकर नुहाएर जाडोले लुग लुग काम्दै गरीकी बृद्दा जस्तो सितै सितले ढाकिएको गाडीलार्इ स्टार्ट गर्यो । गाडीले थर्रर काम्दै तमाखु खाँदा हुक्काको नलीबाट निस्किएको धुँवा झैं डल्ला ऒकल्यो । अझ एक्सिलेटर थिचेर ढ्याँइ ढ्याँइ गर्दा आकाशै कुहिरी मण्डल भयो । चकमन्न भएर सुतेको बजारको सातो नै जाने गरी टयाँ टयाँ पारेर हर्न बजायो । अझ ढोकामा ढयाँग ढयाँग हिर्काएर ल है विर्तामोड विर्तामोड भनेर चिच्यायो ।उसको यो नियमित कार्य थियो । अरूले दस पाँचको जागिर खाए जस्तै। मात्र यती हो कार्यालयमा काम गर्नेहरू कागजमा कारोवार गर्छन् र ठूलो पैसा आर्जन गर्छन् । कर्मचारीहरूलार्इ,बर्मचारी देखि तस्कर सम्मले र नेता देखि हिलो र धुलो सँग जीवन फुलाएका सेता तले सम्मान दिन्छन् । मान र प्रतिष्टाका पदकले विभूषित हुन्छन् । घोषित अघोषित उपहार र टोकन थाप्छन् । तर उ भने पैसाको कारोबार गर्छ र कम अझ मुस्किलले बाँच्ने दाम मात्र हात पार्छ । प्रत्येक दिन अझ प्रत्येक यात्रामा फरक फरक यात्रुहरू आउँछन् । कहिले कँही सानो रकमका निहुँमा पनि हातपात गर्छन् । अपमान र अपशब्दले नुहाइ दिन्छन् । भाडा तिर्न न परे हुन्थ्यो भनेर टाउको लुकाउँछन् । उ जति छुचो हुन सक्यो र पैसा अशुल्न सक्यो गाडी मालिक तेती नै खुशि हुन्छन् । जागिरको आयू लम्मिन्छ । अझ ड्राइवरलार्इ खुशि पार्नु त छँदैछ । ड्रार्इवर खुशि भयो भने बेला बेलामा स्टेरिङ पनि छुन पार्इन्छ । अरूले पढेर विधावारिधिको सपना सजाए जस्तै उसको अन्तिम लक्ष पनि ड्राइवर हो ।ड्राइवर हुनका लागि गाली मुक्का र अपशव्दहरू पनि सहन्छ र अभ्यस्त बन्न प्रयास गर्छ ।
आज म पनि दिन जन्मनु भन्दा अगाडि नै हतारिँदै बस चढन आएको छु । बसपार्कको ठिक अगाडी बाजेहोटल छ । होटलमा चिया खानेहरूको सँख्या बढ्दो छ । म पनि सँख्या बढाउन त्यँही पुग्छु र चियाको अर्डर गर्छु । होटलकी शाहुनी र बसका गुरूजीको भलाकुसारी चल्दै छ । मोटे मोटे मान्छे बाँस र नाइलनको डोरीले बनाएको मुढामा बसेर मालपुवा पकाउँदै छन् । उनको बोलीको शैली हेर्दा शाहुजी हुन भन्ने अड्कल काट्न मुस्किल पर्दैन । शाहुनी ड्राइवरका कुरामा खित्का छोडेर हाँस्छिन् । यो कुरा शाहुलार्इ मनपरेको छैन । शाहुको अनुहार र आँखाको हेराइले प्रश्ट्याउँदैछ । मान्छेहरू मालपुवा र चिया खाँदै छन् । म पनि चियाको ग्लासलार्इ दुर्इहातका विचमा राखेर हातलार्इ तातो बनाउन खोज्छु । मेरो मन पनि अरू यात्रीहरू झैं गाडी चढ्न आतुर छ । वेलुका चाँडै विराटनगर पुग्न पाए भोलीदेखि शुरू हुने तालिमको तयारी राम्रो हुने थियो भन्ने लोभ
छ । म तिनै तालीमका कुरा मनमा खेलाउँदै छु । ड्रार्इभर चियाको ग्लासलार्इ टेवुलमा राख्छन् र यात्रुहरूलार्इ बसमा गएर बस्न अनुरोध गर्छन् । म पनि आफ्नो झोला च्यापेर बसको टिकटमा सिट नम्बर हेर्दै बस तर्फ तानिन्छु ।
बसको ढोका नजिक पुग्दा एक जना परिचित मित्र फेला परे । उनी सँगै एकजना त्यस्तै २०,२२ बर्षकी केटी पनि छन् । उनी बहिनीलार्इ गाडी चडाउन आएका रहेछन् । उनकी बहिनी पनि त्यही तालिममा भाग लिन विराटनगर जाँदै रहिछन् । छोटो कुराकानीमा ती मित्रले सर्सर्ति भने । ल तपार्इ भए पछि म गए जस्तै भयो । बहिनीले तेती धेरै यात्रा गरेको छैन । दुहवी गएर चमाको घरमा बस्छे र भोली बिराटनगर जान्छे भनेर साथीले विदाका हात हल्लाए । हाम्रो बसले पनि र्इलाम बजार सँग विदा लियो ।हाम्रो बस विहानीको तुँवालोको पर्खालमा गएर झ्वाम्म रोपिन्थ्यो । हामी सबैको जिउनै सिरिङ हुन्थ्यो । नजिकै नपुगे सम्म केही पनि देख्न नसकिनेगरी तुँवालोले ढाकेको थियो । विपरित दिशाबाट आउने गाडीलार्इ आवाजबाट मात्र अड्कल काट्नु पर्थ्यो । गाडिको लाइट त झर्न लागेको तारा जस्तो पिल्पिल मात्र गर्थे । चिया बगान, अम्लिसो र रेशम खेतिको रमणियदृश्यलार्इ पनि तुँवालो र कुहिरोको पर्खालले कैदी बनाएर राखेको थियो ।बस गोलाखर्क हुँदै मार्इखोला तर्फ ऒरालो लाग्यो । ऒरालोमा ब्रेकलगाउँदै घुम्तिमा गाडि घुमाउँदा यात्रुहरू कहिले एकातिर ढल्कन्थे त कहिले अर्कातिर गएर ठोकिन्थे । मार्इखोला तरेर उकालो लागे पछि आर्इतबारे नपुगुन्जेलको यात्रामा खासै परिवर्तन आएन । आर्इतवारेलार्इ दाँया पारेर फिकलतिर लागे पछिको यात्रामा भने निकै सुधार आएको छ । सूर्यले डाँडामाथि खुट्टा टेकी सकेको छ । चिसो सिरेटोले हिर्काए पनि यात्रुका अनुहारको अव्यक्त संन्त्रास बिस्तारै विलाउँदै छ । यात्रुहरू आफ्ना स्वेटर,ज्याकेट र न्याना न्याना कपडा लगाउँदै चिसोको प्रतिकारमा शान्तिपूर्ण तरिकाले जुट्दै छन् । फिक्कल पुगे पछि गाडिले चिया ब्रेक भन्दै छोटो विश्राम लियो। यात्रुहरू चरनमा छरिएका भेडा बाख्रा झैं बजारमा छरिए । कोही होटेलका टवार्इलेट तिर गएर लाइन लागे । कोहि चिया सेलरोटी ,चना, अण्डा र पुरी तरकारी खान थाले । मलार्इ पनि पकाउँदै गरेको तातो तातो जेरी स्वारीले लोभ्यायो । खाइ सक्न नपाउँदै त्यही जोशिलो १५, १६ बर्षे केटाले गाडिको ढोका ढक ढक गर्दै यात्रुहरूलार्इ वोलाउँन थाल्यो । सबै यात्रुहरू आ आफ्ना सिटमा गएर वसे । गाडि विर्तामोड तर्फ गुड्यो । गाडिलेकन्याम,शान्तिनगर,बर्ने ,सरेडाँगी हुँदै चारआलीमा आएर पूर्वपश्चिम राजमार्गलार्इ दाहिने मोडियो ।
विर्तामोड आइपुग्दा विहानको ९३० भएको रहेछ ।विराटनगर है विराटनगर भनेर एउटा बसको ढोका समातेर अर्को तन्नेरी कराउँदै थियो । घरिघरि ढोकामा हिर्काउँदै जाउँ जाउँ गुरूजी पनि भन्थ्यो । यात्रुहरू हतारिँदै बस चड्दै थिए । निर्मला र म पनि हतार हतार बस तर्फ बढ्यौ। विराटनगर जाने भने पछि सिटको व्यवस्था हुने भयो । बी साइडको सात र आठ नम्वरको सिट हामीलार्इ दिए । निर्मलालार्इ झ्यातिरको सिट दिएर म विचमा बसेँ । हाम्रा झोलाहरू आफ्नै सीटमुनी छिरायौं । छेउको नौ नम्वरका सिटमा एकजना भारतिय मूलका जस्ता लाग्ने मानिस आएर बसे । स्कुल र कलेज जाने समय भएको हुनाले एकै छिनमा खुट्टा राख्ने सम्म ठाउँ नरही गाडी भरियो । एउटा सामान्य बस भित्र कतिमान्छे अटाउन सक्छन् भन्ने परिक्षण गरिए जस्तो थियो मान्छेको भिड । गिनिजबुक अफ वर्ल्र्ड को रेकर्ड भए त्यसले पनि माथ खाने खालको । गाडी भित्रमान्छेहरू पाँचमिनेटमै पशिनाले खल्खल्ती भएका थिए ।
सासफेर्न नै न सकिने जस्तो भएको थियो । मत झन दुर्इजनाका विचमा स्याण्डविच भएर बसेको थिएँ । गाडी गुडे पछि भने अलिअलि हावा छिरेर बाच्नचैं बाँचिन्छ होला भन्ने आशा पलायो । बसले सुरूङगा क्याम्पस जाने एकहुल बिधार्थीहरूलार्इ ऒराल्यो तर सुरूङगाबाट झन धेरैमान्छे चढे । बसका दुबै ढोका बाहिर अरिँगालको गोलो जस्तै मान्छे झुण्डिएका थिए । विपरित दिशाबाट आएको बसलार्इ सार्इड दिँदा त बस पल्टिए झैं लाग्थ्यो ।
यस्तै त्रासका विच पनि गर्मीले गर्दा होला मलार्इ भने निन्द्राले आक्रमण गर्यो र म झकाउन थालेँ । बस गन्द्रयाङ गन्द्रुङ गर्दै गुडदै थियो । सार्इकल र रिक्साका आवाज आर्इ रहेको थिए । रिक्सालार्इ सार्इड दिएको होला भनेर म अझै आँखा बन्द गरी रहेको थिएँ । दमकजाने रतुवा खोलाको पुलतरे पछि बसले बाटो छोडेछ । बस पशुहाट लाग्ने ठाउँमा पल्टिएछ । सबै मान्छेहरू हाम्रो सार्इड तिर खनिए । विचरा निर्मलामाथि हामीसबै खप्टियौं । त्यसपछि बस फेरि अर्को तिर पल्टियो । हाम्रो टाउको हुटमा गएर टाँसियो । फेरि पल्टियो हामिले गएर अर्कातिरका मान्छेलार्इ थिच्यौं । अन्त्यमा गएर बसले आकाशतिर चक्का फर्काएर विश्राम लियो । बसको हुटले जमिनमा गएर आत्मसमर्पण गर्यो । बसको इन्जिन चलिरहेको थियो । मोविल र डिजेल पोखिएर अगाडि तिर बस्ने मान्छेहरू माथि खनिंदै थियो । मोविल खनिएर मान्छेका अनुहार नै नचिनिने भएका थिए ।
गाडिका शिशा फुटेर मान्छेहरूका शरिर भरि निर्दयी तरिकाले गाडिएका थिए ।एक बल्ड्याङ पल्टिने वित्तिकै अब मरियो भन्ने निश्चित भयो । कोलाहल ,रूवार्इ र चिच्याहटले ठूलो विपतिको पुष्टी गर्दै थियो । अन्ययात्री झै म पनि अर्धचेत अवस्थामा पुगेँ । मैले सेतो कपडाले ढाकेर मृत शरिरहरूलार्इ लहरै चौरमा सुताएर राखेको देखेँ । ती मृत शरिरहरूमध्धे मेरो पनि एउटा थियो । लासमाथि झिँगाहरू उडिरहेका थिए । पुलिसले सनाखत गराउँदै आफन्तलार्इ लास बुझाउँदै थिए । मेरोचाहिं लास बुझ्ने मान्छे फेलापरेका थिएनन् । घर पाँचथरमा , बसाइ काठमाण्डौमा र ड्राइभिङ लाइसेन्समा धरानको ठेगाना थियो । त्यहाँ आउने मान्छेहरूलार्इ पहिचानका लागि कपडा उठाएर देखाउँथे । कसैले चिन्न सकेका थिएनन् । धरानमा मान्छे खोज्न पठाइएको तर फेला नपरेको कुरा हुँदै थियो ।
गाडिले उँधोमुण्टो लगाएर टाउको टेके पछि मैले आफैंलार्इ चिमोटें । गालामा प्याट्ट हिर्काएँ । म त मरेको रहेनछु । छेउमा बसेकी निर्मलालार्इ पन्छाएर फुटेका झ्यालबाट वाहिर निस्किएँ । निर्मलालार्इ पनि बाहिर निकालें । हातखुट्टा र सारा शरिर काँप्दै थियो । हतार हतार माथि बाटोमा उक्लियौं । निर्मलाको एउटा खुट्टाको सेण्डल रहेनछ । उनले बाटो सम्म चढ्दा पनि थाहा पाएकी थिइनन् । हाम्रा झोलाहरू पनि गाडिभित्रै थिए । निर्मलालार्इ राजमार्गको डिलमा छोडेर म झोला खोज्न गाडिभएका ठाउँमा ऒर्लिएँ । स्थानिय वासिन्दाहरूको भिडले गाडिलार्इ घेराहाली सकेको रहेछ । मेरो र निर्मलाको झोला मरी तरी गाडिबाट निकालेँ । निर्मलाको सानो साइड व्याग र एउटा सेण्डल चाहिँ फेला परेन । उनका चिठ्ठी र पैसाहरू त्यसै व्यागमा थियो रे । जे हराए पनि हामी भने जीवित नै थियौं। स्थानिय केटाकेटीहरू गाडिका भित्र भित्र पसेर छापामार्दै थिए । उनीहरूका अभिभावकहरू सामान समाउँदै अरू सामान खोज्नलार्इ उक्साउँदै थिए ।लाग्थ्यो जात्रामा समानहरू निशुल्क वितरण भइरहेको छ । जस्ले जति बटुल्न सक्यो त्यो उसैको भयो ।
बसको खलाँसी भाइ ड्रार्इवर हुने सपनाहरू अधुरै छाडेर ढलेको थियो । उसको क्षतविछत लास घोप्टो परेर रगतको आहालमा डुवेको थियो । केहि मान्छेहरू अँगभङग भएर चिच्याउँदै थिए । एम्वुलेन्स आएर शक्त घाइतलार्इ उठाउँदै थियो । हामी रिक्सामा चढेर पश्चिमजाने बसस्टपमा सम्म गयौं । बिराटनगर जाने बस लागेको रहेछ । बस चढेर विराटनगर तर्फ लाग्यौ । टाउको गह्रुंगो भएर दुख्दै थियो । बाटाभरी त्यहि यूवकको आकृति आँखा अगाडि आइरह्यो । उसका परिवार र आफन्तको बारेमा अनेक कुरा सोच्यो यो मनले । यो घटना भएको करिव २० बर्ष भइ सकेछ । अझै पनि बस चढदा झस्किन्छ यो मन । पत्र पत्रिकामा
दिन दिनै छापिने बस दुर्घटनाका खबर पढ्दा पिडाले छट्पटिन्छ यो मन । आफैं परेर फेरि ज्यान गुमाए जस्तो लाग्छ । कसैको होडवाजी र लापर्वाहीमा गुम्न बाध्य हाम्रो जीवन सम्झदा पनि कुँडिएर दुख्छ जीवन।
– सुरेन उप्रेती ,अटवा, क्यानडा
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )