लघुकथा : परिवेश

~सुरेन उप्रेती~

मेरो श्वभाव नेपालमा हुँदा देखिकै अलि अन्तर्मूखि खालको छ । मलार्इ अरू केटाकेटीहरू सँग गफगाफ गर्न र समय विताउन तेती मन पर्दैन । मेरो श्वभावका कारणले गर्दा हाइस्कुलमा पनि मेरा धेरै साथिहरू थिएनन् । साथिहरू बढि नहुनुमा अर्को कारण पनि छ त्यो हो मेरो खेलकुद प्रतिको अरूची । कुनै पनि खेलक्रो प्रिय बन्न सकिन म । खेल्न प्रयासै नगरेको भन्न चैं मिल्दैन । अरूले खेलेको देखेर म पनि भलिवल खेल्न पसेको थिंएँ । अर्को तिरबाट बतासिएर आएको बल मेरो पुर्पूरोमा बजारियो । मैले त केहि पनि देखिन । आँखा खोल्दा त स्कुल नै छुट्टि भै सकेछ । सबै घर घर गइ सकेछन् । पालेदाइ र हेडसर मात्रै रहेछन् । मेरा टाउकोमाथि कसैले जाँतो राखि दिए झैं गह्रुङगो भएको थियो । मेरो जीउ पशिनै पशिना भएछ । मलार्इ त आगोको छेउमा बसे झैं भित्रै देखि पोलेर हरहर भएको थियो । पाले दाइले एक ग्लास पानी खान दिए । मलार्इ त पूरै एक गाग्रो पानी खानु जस्तो भएको थियो ।

हेडसरले कस्तो छ तिमीलार्इ ,हिंड्न सक्छौ ? भनेर सोध्नु भयो । बल्ल तल्ल उठें । हिंड्न सक्छु भनेर बाटो लागें । स्कुलकै छेउमा मेरो डेरा थियो । पालेदाइ र हेडसर मेरो हिंडाइ नियाल्दै थिए । बल्ल तल्ल डेरामा पुगें र लम्पसार परें । भोलिपल्ट स्कुल गइँन । जान नसकेर चाँहि हैन । अरू केटाकेटीहरू मलार्इ देखेर हाँश्लान भन्ने डरले र लाजले नगएको । तेश्रो दिन स्कुललागी सके पछी लजाउँदै लजाउँदै कक्षामा गएँ । सबैले मलार्इ नै हेरी रहे जस्तो लाग्यो । तर मैले चाँही कसैलार्इ पनि हेरिन । सँधै कक्षा नछोड्ने विधार्थी एक दिन नआउँदा पनि चियो र चर्चा हुने । मेरो बारेमा पनि निकै खोजि तलासी भए छ । कस्तो छ तिमीलार्इ आज भनेर सरले सोध्नु भयो । मैले टाउको पनि नउठाइ ठिक छ भने । प्रत्येक पिरियडमा सरहरूले मेरो श्वास्थका बारेमा सोधेका प्रश्नहरूले गर्दा म झन विरामी जस्तो भर्इ सकेको थिँए । कति खेर स्कुल सकिन्छ र मुक्ती मिल्ला भन्नेमा मरो मन केन्द्रित थियो ।

अरूले फुट्वल खेलेको प्रायश हेर्ने गर्थें । तर म ग्राउण्डमा खेल्न भनेर पसेको चैं थिइँन । सातौं पिरियडमा शारिरिक शिक्षा पढाइ हुन्थ्यो । सरले हामी सबै केटाकेटीलार्इ ग्राउण्डमा लिएर जानु भयो । सबै विधार्थी दुर्इ समुहमा बिभाजित भयौं । सरले आ–आफ्नो पोजिसनको बारेमा बताउनु भयो । मेरो पोजिसन चैं गोली भन्दा अगाडि उभिएर गोल छेक्नेमा पर्यो । आफ्नो कोर्टतिर बल आए पछि बलका पछि बेस्सरी दौडिंएँ । अहँ बललार्इ भेट्न सकिन । म त अरू बिस्तारै हिंडे जतिको पनि पो कुद्न सक्दिनरहेछु । सबै केटाकेटीले मलार्इ एक कोषै छोड्दा रहेछन् । त्यस पछि भने मैले खेलकुदलार्इ जिस्क्याउनु ब्यर्थै रहेछ भनेर फेरि खेलमा पश्ने जमर्को गरिन । खेलकुदमा भाग नलिने भए पछि साथिहरू पनि तेती हुँदा रहेन छन् । सबैले उसलार्इ त किताव भए पछि पुगिहाल्छ नी भनेर जिस्क्याउँथे । त्यसले गर्दा पनि अरू भन्दा अलग्गै हुने श्वभाव विकशित भयो ।
श्वभाव अन्तर्मुखि भए पनि उमेर सँगै भावना र चाहनाहरू भने परिवर्तन हुँदा रहेछन् । मेरा मनका पनि विस्तारै प्वाँखहरू पलाउँन थाले । कलेजमा गए पछि त नजानिदो गरि मनका पखेटाहरू फट्फटाउँन थाले । मन बहकिन थाल्यो । बरालिन थाल्यो मन । कसैलार्इ थाहा नदिने गरी आँखाहरूले चिहाउन थाले । यो मनले पनि सपनाहरू देख्न शरू गर्यो । मन रम्न थाल्यो सपनाहरूमा । कुनै दृश्लार्इ अनवरत हेरी रहुँ गर्न थाल्यो यो मन । कुनै आवाजलार्इ सुन्न व्यग्र बन्न थाल्यो मन । संगितको खडेरी युक्तमनमा पनि भाकाहरू अंकुराउन थाले । गितहरू गुन्गुनाउन थाले ऒठहरूले । तर न त्यो दृश्यलार्इ थाहा छ दर्शकका बारेमा नत त गीतलार्इ नै थाहा छ गायकका बारेमा ।

म वुवाआमा सँगै केहि दिन अगाडि मात्र नर्थअमेरिका टेकेको थिएँ । वुवाले स्टोरबाट दुध ल्याउन अह्राउनु भयो । म नजिकैको कर्नर स्टोरमा गएँ । स्टोरमा चार पाँच जना ग्राहकहरू म भन्दा अगाडि थिए । कुनामा रहेको फ्रिजबाट एक प्याकेट दुध लिएर पैसा तिर्न लाइनमा उभिंए । मेरो पालो आयो । दूधलार्इ काउण्टरमा राखें । काउण्टरमा मेरै उमेरकी एउटी यूवती उभिएकी थिइन् । उनको शुन्दर अनुहारमा मुस्कान पोखेर मेरो श्वागत गरिन् । मैले दूधको पैसा तिरें र फेरि एक पटक उनलार्इ हेरें । उनको मुस्कान फेरि पनि पोखियो । त्यो मुश्कानलार्इ उठाएर बाहिर निस्किएँ । फेरि पनि उनलार्इ हेरौं हेरौ लाग्न थाल्यो । उनी र उनको मुश्कानलार्इ बर्षौ देखि चिने जस्तो लाग्यो । केहि बहाना निकालेर फेरि मुश्कानको दृश्यपान गर्न जाँउ जस्तो लाग्न थाल्यो । घरमा केहि समान किन्नु पर्दा म नै अघि सरेर जान थालें । कुनै सामान त्यति खेर नचाहिने भए पनि किन्न गइहाल्थें । म एक किसिमले मध्यपानमा लत बसेको मान्छे जस्तै बनी सकेंछु । मेरा आँखा उनलार्इ भेट्न व्याकुलहुन्थे । मन त्यसै छट्पट गर्थ्यो । प्रत्येक पटकको भेटमा उस्तै मुश्कान,उस्तै हेराइ म झन झन एकहोरिन थालेंछु । कहिले कँहि उनका ठाउँमा अरूनै बसेका हुन्थे । मन निराश हुन्थ्यो । आँखा त्यसै न्याश्रो मान्थे । खिन्न भएर गह्रौ पाइला चाल्दे फर्कन्थें । मन विरसिलो हुन्थ्यो । राती पनि ढिलो सम्म निन्द्रा पर्दैन थियो । मनमा सिएन टावर र आइफल टावरहरू बन्दै र ढल्दै गर्थे । मेरा दिनहरू कहिले संयोग र कहिले वियोगमा गुज्रँदै थिए । नयाँ ठाउँ र नयाँ परिस्थिति सँग परिचित हुन म प्रयाशरत थिंए । म फेरि मन भरि रहर पालेर स्टोरमा जाँदै थिएँ । ठिक स्टोरको बाहिर उनी सँग भेट भयो । मेरो मन त्यसै त्यसै छट्पटाउन थाल्यो । सास बढेजस्तो भयो । के भन्ने र कसो गर्ने भनेर मन छटपट गर्न थाल्यो । हामी नजिक नजिक हुँदै गयौं । उनी सँग भेट भयो । तर उनी सँग त्यो मुस्कान , चमक , शुन्दरता केहि थिएन । मलार्इ पिर पर्यो । विचरालार्इ के भयो होला भन्ने खुल्दुली भयो । उनी त त्यसै यन्त्रमानव जस्तै भर्इन । कुने जोश जाँगर उत्शाह उमंग केहि छैन । हाँशो खुशि लुटिएकी त्यसै चैत बैशाखको खडेरी र हुरीले पात सबै उडाएको रूख जस्तै उजाड छन् । लाग्यो कुनै विपतीमा छन् । परिवारमा केहि दैविक प्रकोप या दुर्घटना भयो होला तर कसरी म सँग शेयर गर्लिन् र भन्दै नजिक गएँ । उनी पशल भित्र पशिन र काउण्टरमा गइन । त्येस पछि फेरी उनको शिरमा चन्द्रमाले मुस्कान पोख्यो । हिरामोतीको चमकहरू लिएर हाँशो छरिन थाल्यो । मलार्इ बल्ल थाहा भयो । त्यो मुश्कान,चमक र शुन्दरता त त्यस काउण्टरमा बस्तामात्र पोखिंदो रहेछ । उनले त जागिर खाएको रहेछ । त्यसलार्इ कस्टमर सर्भिस भन्दारहेछन् ।

– सुरेन उप्रेती ,अटवा

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्’ बाट पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.