निबन्ध : म कविता किन लेख्छु ?

~रोशन शेरचन~Roshan Sherchan

कविता लेख्दा म गहिरो सार्थकता महसुस गर्छु । त्यो सार्थकतालाई म शब्दमा कुशलतापूर्वक भन्न सक्दिनँ । त्यो सार्थकताको गहिरोपन शब्दको सामथ्र्यभन्दा पनि समर्थ छ । त्यो एक्सपेरियन्सियल छ, आनुभाविक । के पनि हुन सक्छ भने त्यो सार्थकताको सौन्दर्यात्मक आयाम पनि छ । शब्दको भौतिकतामा मात्र त्यो समेटिँदैन । समात्न खोज्दा केही न केही अंश फुत्किहाल्छन् ।

फुत्किरहेको केही अंश समात्न सक्छु कि भनी म कविता लेख्छु ।

कविता लेख्दा कविताको गौरवशाली इतिहासको लामो शृङ्खला मेराअगाडि क्रमशः सर्दै गरेको देख्छु । त्यो शृङ्खलामा देवकोटा, रिमाल, भूपी, वासु शशि, ईश्वरवल्लभ, मोहन कोइराला, बैरागी काइँला, श्यामल, विमल निभा, गोविन्द वर्तमान, मञ्जुल, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ लगायतका कविमनीषी देख्छु । साथै वर्डवर्थ, कलरिज, सेक्सपियर, ब्लेक, गिन्सबर्ग, लोर्का, नेरुदा, धूमिल पनि तिनै हारमा उभिएको देख्छु । मैले चिन्न नसकेका, नभ्याएका अनेक कविहरूको लस्कर पनि देख्छु । कविताको चोटले ब्यूँझिँदा किशोरहरूको आँखामा पहिलो पटक पुतलीझैँ सपनाहरू नाचिरहेको अनुभूत गर्छु । कविताको समर्थ इतिहास देखेर म विस्मित हुन्छु । कवितामा प्रयुक्त विम्बहरूको परिधान र भाव देखेर अभिभूत हुन्छु । इतिहासको सन्धिसर्गबाट अगाडि सर्दै वर्तमानको कुना-कन्तरमा म पनि आˆनो सानोतिनो स्थान बनाउने प्रयास गरिरहेको देख्छु । मलाई त्यो आफूभित्रको स्थान बनाउन प्रयत्नरत कवि पि्रय लाग्छ ।

सानै किन नहोस्, आफ्नो पनि स्थान बन्छ कि भनी म कविता लेख्छु ।

कविता लेख्दा म आफू जन्मेको समयभन्दा धेरै अगाडिको कविताको इतिहाससम्म पुग्छु, जसलाई कविताले स्पर्श गरेको थियो । कविताकै माध्यमले म इतिहासका त्यो क्षणमा पुग्छु, जतिबेला म अजन्मा थिएँ । कवितामा कल्पनाशीलता समययन्त्र बन्छ र त्यसमा आरुढ भएर म आफू जन्मेको समयभन्दा धेरै अघिको समयमा पुग्छु र ती कविमनीषीहरूलाई नजिकैबाट नियाल्छु । म चियाउँछु- अलिकति सङ्कोच र अलिकति कौतूहलले ती कविमनीषीहरूलाई ।

म वर्डवर्थको लेक डिस्टि्रक र तीर्थको फेवाताल एउटै पाउँछु । कलरिज र वल्लभको कविताको चैतसिक खोज र लागूपदार्थको सेवनमा म एउटै ध्येय देख्छु- चेतनाको विस्तारित छेउ पुग्ने । गिन्सबर्ग र वर्तमानको आगोका शब्दहरूमा त्यही प्रहार देख्छु- आडम्बरहरू भत्काउने । असत्यहरू जलाउने । श्यामल र धूमिलका कविताका विचारहरूका एउटै ध्याउन्न देख्छु- मानिसबीचको सम्बन्धलाई मानवीय बनाउने । र, श्रवणका कविताका वाणीमा सीमान्तकृत मानिसको आवाज फुटेको देख्छु । फरक काल, भूगोल र परिवेशमा पनि कविताले बोक्ने स्वत्वको त्यो समानता देखेर म विस्मित हुन्छु । त्यो दुर्लभ प्राप्तिमा म सन्तुष्टिले ढक्क फुल्छु पनि । म पूर्ववर्ती कवि मनीषीहरूका विचार-विम्बको ऐतिहासिक आँखीझ्यालबाट देख्छु- कविता लेखनले मान्छेको जीवनलाई सार्थक बनाएको । अलि बढी बाँच्नयोग्य तुल्याएको ।

अलिकति बढी बाँच्ने लालसामा म कविता लेख्छु ।

कल्पनाशीलतालाई प्रशस्त खेल्ने मैदान हुने भएकाले नै मैले भनेको हँु- म कविता लेख्दा अलि बढी बाँच्छु । त्यो बाँच्ने उमेरले भन्दा पनि गुणवत्ताले हो । कवितामा सचेत सपनाहरूलाई प्रशस्त स्थान हुन्छ । ती सपनाहरू सुतेका बेला देखिएको निद्राका होइनन्, बरु नसुतेका बेला देखिएका जागरणका हुन् । ती विपनाका सपनाहरू हुन् । ती सपनाहरू कहिल्यै पूरा नहुने सपनाहरू होइनन् । कविताका सपनाहरू सचेत भएकाले मूर्तिने सम्भावनाहरू लिई जन्मेका हुन्छन् । सपनालाई बचाउन पनि कविता लेख्न आवश्यक भइसक्यो । कविता बाहिर धेरै सपनाका मृत्यु भएकाले पनि सपनालाई बचाउन कविता लेख्नु आवश्यक भइसक्यो ।

मान्छेका सपनाहरूलाई अलिकति भए पनि बचाउन सकिन्छ कि भनी म कविता लेख्छु ।

बाँच्नैपर्ने जीवनको सामयिक बाध्यतामा सपनाहरू छटपटाइरहेका बेला पनि कविताको कल्पनाशीलतामा धेरै उदात्त बन्न सक्छन् मान्छेका सपनाहरू । खोक्रो र यान्त्रिक बन्दै गएको दिनचर्यामा कविताले नयाँ सुवास भित्र्याउँछ । कविताको फेर समातेर भए पनि आफू बाँचिरहेको थाहा पाउने भएकाले म कविता लेख्छु । मर्दै जाने जोखिमबाट संवेदनालाई जोगाउन पनि म कविता लेख्छु । कविताले मलाई आगोले झैँ पोल्छ । हिउँले झैँ ठिहिर्‍याउँछ । कविताले पोलेकाले नै त जीवनको ताप पाएको छु । हिउँले ठिहिर्‍याएकाले नै त कवितामा जीवनको शीतलता पाएको छु ।

कविता लेख्दा कहिलेकाहीँ म सचेत आफूतिर पनि र्फकन्छु । समयको अनन्त प्रवाहमा जब कुनै दिन म नरहूँला, त्यतिबेला मेरो भावना र विचारहरू कवितामा अवश्य सुरक्षित हुनेछन् । कविताका हरफहरूमा म सुरक्षित हुनेछ । कविता मेरो शरीरको ‘ममी’ बन्छ । सायद मेरो भावना र विचारहरूलाई कुहिनबाट रोक्नेछ । सुदुूर भविष्यमा ‘ममी’ खोज्दै कोही आउँछन्, आउँदैनन्, थाहा छैन तर हेर्न आउनेहरूले कविताका केही हरफले बोकेका मानव जीवनसँग जोडिएका केही अर्थहरू पक्कै पाउनेछन् । सुदूर भविष्यसम्म कवितामा आˆनो आत्मा सुरक्षित रहने कल्पना कसलाई सुन्दर नलाग्ला ?

आफू मर्दा पनि म नमरोस् भनी म कविता लेख्छु ।

मान्छेको देहको आयु हुन्छ । यो जन्मन्छ र मर्छ । तर, कविताका विचार-विम्बहरूको आयु अनन्तकालसम्म रहन्छ । कहिल्यै नमर्ने त नहोला तर लामो समयसम्म नमर्ने । विचारको माध्यमले, मान्छेले आफू जन्मेअघिको र मृत्युपछिको समय पनि सोच्न सक्ने भएकाले ऊ भिन्न प्राणी हो । कविता सोच्दा र लेख्दा, यस्तो कल्पना गर्न सकिने भएकाले म कविता लेख्छु । कविता लेखन विशेष अनुभव हो । मलाई यो अनुभव धेरै पि्रय छ ।

यही पि्रय अनुभवको मोहले म कविता लेख्छु ।

मान्छे आत्मकेन्दि्रत हुँदा खुम्चन्छ । आत्मकेन्दि्रतता सङ्कुचन हो । मान्छे आत्मकेन्द्रित बन्दै नितान्त आˆनो र आˆनो परिवारका निम्ति मात्र बाँचेको कदाचित सुन्दर हुँदैन । बरु कुरूप हुन्छ । कविताले कविलाई आत्मकेन्दि्रतताको पर्खालबाट बाहिर निकाल्छ । बाहिर निस्कन सक्दा कविता र कवि झन् सुन्दर देखिन्छ । कविताले कविलाई कहिलेकाहीँ कल्पनामा आरुढ गराई हिमाल, पर्वत, डाँडाकाँडामाथि अनन्त आकाशमा लैजान्छ भने कहिलेकाहीँ यथार्थको जमिनमा हिँडाउँदै व्याप्त गरिबी, अन्याय र विभेदसँग भेट गराउँछ । अनन्त आकाशमा उडेर कविताले विस्तृति प्राप्त गर्छ भने यथार्थको जमिनमा वास्तविकतासँग भेट भएर गम्भीरता प्राप्त गर्छ । फेरि जीवनमा आइपर्ने कुन चाहिँ त्यस्तो दुःख छ, जसलाई कविताले फोर्न नसकोस् । कविताको नैसर्गिक आशावादिताको अगाडि जीवनको गहिरोभन्दा गहिरो दुःख पनि कमजोर छ ।

कविताको नैसर्गिक आशावादिताका लागि पनि म कविता लेख्छु ।

म कविताको चरित्रमा सामाजिक संचेतनालाई राख्न चाहन्छु । सामाजिक संचेतनामार्फत समय र समाजसँग संवाद गर्न चाहन्छु । मलाई थाहा छ, समय र समाजसँग कुशलतापूर्वक संवाद गर्न कठिन छ तर कठिनता संवाद नचाहनुको कारण हुन सक्दैन । कविहरू असल मान्छे हुन् । कविताको आत्मा नै स्वतन्त्रता हो । तर, त्यो स्वतन्त्रता निरपेक्ष छैन ।

कुनै क्षणलाई कविताले छोएर बेस्सरी बाँच्नु र सामान्य क्षणमा फर्किइसकेपछि त्यो विशेष क्षणलाई स्मृतिमा सुरक्षित राखेर समय-समयमा सम्झिनुको बेग्लै आनन्द छ । अतीव प्रिय त्यस्ता सम्झनाहरू नै वास्तवमा हाम्रो उत्तरार्धको पुँजी हो, जसले हाम्रो जीवनलाई शुष्क र बूढो हुनबाट जोगाउँछ ।

आफ्नो जीवनलाई बूढो हुनबाट रोक्न म कविता लेख्छु ।

म कविता किन लेख्छु भन्ने प्रश्नको एउटा मात्र जवाफ छैन । अनेक जवाफ छन् । अनेक जवाफ जन्माउने ठूलो गर्भस्थल हो कविता । कविताको व्याप्ति सायद त्यही होला । जवाफहरू पनि जन्मने क्रममै छन् । कति प्रस्ट छन्, कति प्रस्ट भइसकेका छैनन् । कारणहरू अनेक भएकाले कविता लेखन सोचेभन्दा सायद जटिल छ । कविता कदाचित् बाह्रखरी होइन ।

कविता वर्तमानको सर्वाधिक सुन्दर अनुभव हो भने भूतको सर्वाधिक सुन्दर स्मृति ।

त्यसैले म कविता लेख्छु । तपाइर्ं पनि किन कविता लेख्नुहुन्न ?

(शेरचनको हालै सार्वजनिक निबन्धसंग्रह धोबीघाट एक्सप्रेसबाट)

(स्रोत : Onlinekhabar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.