हास्य–व्यङ्ग्य निबन्ध : फोन इन लभ

~नरनाथ लुइँटेल~Naranath Luitel

“नालायक ! लबस्तरो ! आवारा ! तँलाई लाजसरम केही लाग्दैन ? आइन्दा फेरि फोन गरिस् भने…।”

छोरीको नाममा आएको फोन पिताजीले उठाउन पुगेछन् । बिचरो फोनप्रेमीले नाजवाफ भएर फोन रिसिभरमा राखिदियो । छोरीलाई बोलाएर उनले हपारे- “क्या हो, तिम्रो चाला ? तिमी क्याम्पस गएर पढ्दैछ्यौ कि आवारा लोफर केटाहरूसँग सङ्गत गर्दैछ्यौ ? यस्तै ताल हो भने तिमी जानुपर्दैन क्याम्पस ट्याम्पस कतै पनि ! को हो त्यो ज्याकी कि जङ्की भन्या ?” बाबाको खप्की खाएर छोरी निकैबेर अवाक बनिन् । आखिर केही त बोल्नै पर्‍यो- “हजुर पनि त्यस्सै रिसाउनु हुन्छ, त्यस्ता आवारा केटाहरूसँग न त मेरो सङ्गत छ, न त म ज्याकी कि जङ्कीलाई नै चिन्दछु ! कुन मोरो होला ब्लफकल गर्ने !” यसरी फोनले केही महिना यतादेखि त्यो घरमा आमा छोरा, बाबु-छोरी, दाजु-बहिनी र दिदी-भाइकाबीच अविश्वास, शङ्का र सन्देहको बीउ उमारिरहेको छ । फोनकै निहुँमा बेलाबेला खटपट, दन्तबझान र ठाँस्सठुँस्ससमेत हुने गरेको छ । यो सब टेलिफोन प्रेमको करामत हो ! टेलिफोन नामको यो ठाँडो नभई पनि नहुने, भए पनि नहुने ।

सञ्चार क्षेत्रमा विज्ञानले ल्याएको उन्नत प्रविधिबाट धेरैभन्दा धेरै मानिसहरू लाभान्वित भइरहेका छन् । आखिर टेलिफोनप्रेमी पनि मानिस नै हो, अनि ऊ चाहिँ यो लाभबाट वञ्चित हुनु न्यायोचित पनि त होइन नि ! ऊ पनि सबै किसिमका लाभ र हानीहरूको समान हकदार हो, हकभोग गर्नु उसको अधिकार हो । विज्ञान र प्रविधिको चमत्कारले प्रेमजस्तो भावनात्मक कुरालाई पनि आधुनिकीकरण गर्न उल्लेखनीय मद्दत पुर्‍याइरहेको छ । नेपाली ठिटाठिटीहरूको प्रेम पहुँच अहिले नै आमरूपमा इमेल वा इन्टरनेट हुँदै फेसबुक, टि्वटरसम्म पुगिसकेको बेला जाबो टेलिफोन प्रेमको किस्सा कुन महत्त्वको हो र भन्ने पनि लाग्न सक्छ तर त्यसो होइन । आमरूपमा अहिले टेलिफोन उपलब्ध छ र आधुनिक प्रेम टेलिफोनमार्फत् आदानप्रदान भइरहेको छ । दुईतर्फी प्रेमलाई मात्रै प्रेम सम्झने र बुझ्ने रूढीग्रस्त मान्यतालाई चुनौती दिँदै हिजोआज फोनमार्फत् एकतर्फी प्रेम आनन्दसँग मौलाइरहेको छ । आहा ! कति सजिलो, केटाहरूलाई केटी चिन्नु पनि नपर्ने, केटीहरूलाई केटा देख्नु पनि नपर्ने । सिर्फ फोन नम्बर फेला परेपछि एकोहोरै भए पनि तार वा बेतारोको बाटो भएर प्रेम बेरोकटोक चलिरहने ।

फोनमार्फत् उन्नत स्तरमा उक्लिएको प्रेम अब अभिभावकहरूको खतराबाट पनि मुक्त र सुरक्षित भएको छ । मातापिता वा दाजुहरूलाई छिसिक्क शङ्का लाग्नासाथ कोठामा अचानक छापा मारिन्थ्यो र तकियामुनिको “लभलेटर” फेला परिहाल्थ्यो । अनि “लभलेटर” मार्फत् चल्ने लभको हरिविजोग सुरु भइहाल्थ्यो । अब स्थिति त्यस्तो छैन । फोनको लहरोमार्फत् लहरिँदै गरिने प्रेम र प्रेमालाप न छापा मारेर फेला पर्छ न खापाबाट चिहाउँदा देखिन्छ । आफ्नै मातापिता भिलेन बनेका रहेछन् र थाहा भइहाले पनि थाहा नपाएझैँ गर्न विवश हुने गरेका छन् । फोनको टुटरोमार्फत हुने दोहोरो प्रेम प्रसङ्ग त थाह नहुने भयो भयो तर फुडिल्कोमार्फत् गरिने एकोहोरो प्रेमले पनि धेरैको निद्रा बिगार्ने गरेको छ तर यस्तो फोनप्रेमको प्रेमी फेला पार्न सकिन्न भनेर दूरसञ्चारले समेत सार्वजनिक घोषणा गरेको निकै वर्ष भइसक्यो । यस्तो घोषणाले एकोहोरो फोनप्रेमीहरूलाई दिन दुगुना रात चौगुना उत्साहित र प्रोत्साहित गर्नु अस्वाभाविक होइन । सायद कैयौं फोनप्रेमीहरूले फोनबाटै दूरसञ्चार याने कि टेलिकमलाई प्रेमपूर्वक स्यावासी दिइरहेका होलान् ।

टेलिफोनले भावनात्मक प्रेमबाहेक अरू अन्य प्रेमलाई पनि समयोचित साथ र सहयोग पुर्‍याउँदै आएको छ । तस्करहरूको तस्करी-प्रेम फोनबाटै ओहोरदोहोर गर्नेगर्छ । कमिसनखोरहरूको कमिसन-प्रेम फोनबाटै आदानप्रदान हुनेगर्छ । चाकरीवाजहरूको चाकरी-प्रेम फोनबाटै चकराउँछ । चुक्लीवाजहरूको चुक्ली-प्रेम फोनबाटै मुस्काउँछ र फोनबाटै ठुस्काउँछ । घुसखोरहरूको घुस-प्रेम फोनबाटै मौलाएको छ । पद प्रियहरूको पद-प्रेम भन्नोस् या कुर्सीवाजहरूको कुर्सी-प्रेमदेखि कैँचीप्रियहरूको कैँची-प्रेमसम्मका सबै काम फोनबाटै तमाम हुने गरेका छन् । देशका कैयौँ कर्णधार युवाहरू एफ्एम्मार्फत फोनप्रेमी हुन पुगेका छन् । फोनबाटै फर्माइस गरी आफ्ना अपरिचित प्रेमिकाहरूलाई रङ्गिलाखाले पप गीतहरू फर्माइरहेका छन् । बेरोजगारीले लाचार बनेका सैकडौँ युवकयुवतीका निम्ति एफ्एम्को फोन फर्माइस गजबको फोन फर्मुला भएको छ । उनीहरू ढिस्युँ संस्कृतिको जगेर्ना र विकासका निम्ति फूर्तिलो ढङ्गले लागिरहेका छन् । कसैलाईर् मन नपरेर हुन्छ ? यो त प्रगति र आधुनिकताको शुभसङ्केत हो ।

यत्रो कैरन कथ्ने तँ लठुवाका घरमा चाहिँ टेलिफोन छ कि छैन नि भन्नु होला ! छ हजुर, म लठुवासँग पनि त्यो फोनको फुडिल्को छ र यसले बेला न कुबेला लठीभद्र पार्ने गरेको छ । यद्यपि फोन प्रेमबाट हुने टेन्सनबाट भने म मुक्त छु । त्यसो भए तँकहाँ ब्लफकल नै आउँदैनन् त भन्नु होला, त्यो ब्लफकल हो कि गफकल हो मलाई थाह छैन, एउटी अपरिचित कवयित्रीले फोनबाटै लामालामा कविता भने सुनाउने गर्थिन् तर निकै महिना भयो त्यो पनि सुन्न छोडियो ।

ओल्लो घर पल्लो घरका साली नानीहरूलाई बोलाइदिने आग्रह गर्दै एक दुई भिनाजुहरूले मेरो फोनको घण्टी बजाउँथे, म पनि दायाँबायाँ केही नसोची बोलाइदिन्थेँ तर अस्ति भर्खरै एउटा डेडअक्कलीले भिनाजुको नक्कल गर्दै नक्कली सालीसँग फोनमार्फत् प्रेमको थालनी गर्न थालेको रहेछ, मलाई त पत्तै भएन, खुरूक्क बोलाइदिएँ । साली पर्ने त मैसँग पो बम्कन थाली । किन बम्कन्छ्यौ उत्ताउली ? गर न तिम्रै भिनाजुलाई गाली ! मैले यति के भन्न भ्याएको थिएँ ऊ त निलीकाली भएर फर्किहाली । त्यसै दिनदेखि बोलाइदिने काम पनि बन्द । यसरी चलाउने बोलाउने काम बन्द भए पनि टेलिफोन प्रेमबारे जानकारी राख्ने रुचि भने मरेको छैन । यससम्बन्धी गहन जानकारी तपाईँसँग पनि छ भने कृपया फोनबाटै यसो बताइदिनुस् न हुन्न ?

कलङ्की, काठमाडौं
narnath@gmail.com
युवामञ्च २०६८ मंसीर

(स्रोत : Dreamlandnepal)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.