हाँस्यव्यङ्ग्य निवन्ध : थुतुनो पुराण

~लेखनाथ गौतम~

थुतुनो याने मुख । यो नाकको मुन्तिर, चिउडोको केही माथी अबस्थित छ । यो धेरै प्रकारले प्रयोग हुन्छ । यसको प्रमुख काम खाना खानु हो । त्यस बाहेक रुघा लागेर होस् वा साइनस बाट पीडित हुँदा यसले सास फेर्ने काम पनि गरिदिन्छ । त्यसो त मुख उक्काएर सधैं मुखबाट सास फेर्ने पनि धेरै छन् । मुखको अर्को प्रमुख काम बोल्नु पनि हो । बोली गोली पनि बन्छ जब त्यो खतरनाक हुन्छ । त्यस्तो बोलीले समय, ठाउँ र परिस्थिती अनुसार कम्पन पैदा गर्छ । सानो मान्छेको मुखले सानै अनी ठुलो मान्छेको मुखले ठुलै असर गर्छ समाजमा । बोलीले समाज परिवर्तन गर्न सक्छ भने बोलीले नै बिध्वन्स पनि । यसले कहिलेकाही देशको नक्सा समेत बदल्न सक्छ l त्यसैले यसको काम अनुसार कहीले नाम त कहीले काही बदनाम हुन्छ यहि मुख ।

मान्छे कस्तो छ भन्ने कुरा मुखले चाल पाइन्छ धेरै जसो । उस्को बोली नै यस्तो अस्त्र हो जसबाट उस्को ब्यक्तित्व झल्कीन्छ । उस्को दिमागमा कति गुदी छ भनेर सजिलै थाहा पाउने माध्यम उस्को बोली नै हो । आफ्नो कुरा जति लुकाउन खोजे पनि, आफू जान्ने भएको जति स्वाङ पारे पनि बोलीको दमले उस्को सतह स्पस्ट हुन्छ । शब्दलाई घुमाइ फिराइ गरेर आफ्नो अनभिग्यता वा अक्ष्यम्तालाई लुकाउन खोजे पनि बोली बाट उस्को धोती खुस्की हाल्छ ।

यसरी मान्छे बोल्ने जस्तो गहन काम मुखबाट हुन्छ । यसले नै हो इस्टमित्र बनाउने र दुस्मन बनाउने पनि । कुरा गर्ने काइदाले कहीले उसलाई फाईदा त कहीले घाटो हुन्छ । सबै चाहन्छन् मेरो कुरा सबैले सुनुन् । मेरो कुराको राम्रो प्रभाव परोस । ठुलै देशको नेता मात्र होईन ४ जनाको परिवारको प्रमुखले पनि आफ्नो बोलीको प्रभाव राम्रै परेको हेर्न चाहन्छ । त्यसैले तुक नभएको बोली बोले पनि “म”, “मेरो कुरा” “मैले भनेको” जस्ता कुराहरु धेरै जस्तो सुन्न पाईन्छ । यस्सो गफ गर्न बस्यो भने धेरैको मुखारबिन्दबाट यस्ता कुरा निस्किरहन्छन् । यस्मा हामी नेपालीको मात्र कपी राइट छैन, यो युनिभर्सल आइडिया हो ।

तर जब मुखले जथाभावी बोल्न थाल्छ, यो मुख होईन थुतुनो कहलिन्छ । हामी बढी बोल्यो भने भन्छौ कति थुतुनो चलाएको भनेर । जहिले सम्म यो मुख हुन्छ त्यसको नकारात्मक प्रभाव कम वा सुन्य हुन्छ । तर जब यो थुतुनो बन्छ, यसले बित्यास पार्छ, बिगार्छ, भत्काउछ, ध्वस्त पार्छ । यसले इस्ट लाई दुस्ट बनाउछ । साथिलाई सत्रु बनाउछ । वरको लाई परको बनाउछ । माया गर्ने हरु घ्रिणा गर्न थाल्छन् । सुभचिन्तकहरु कुरा काट्ने हुन्छन् । त्यहि थुतुनोले उसलाई एक्ल्याउछ ।

थुतुनो कति प्रकारका होलान् ? बडो जटिल प्रश्न हो यो । यसलाई बर्गिकरण गर्नु सजिलो काम होईन । किनभने हरेकको आफ्नै प्रकारको थुतुनो हुन्छ । एउटै मान्छेको पनि बेलाबखत फरक खालको थुतुनो हुनसक्छ । अत्यन्तै माया गर्ने सतिदेवी जस्ती श्रीमतीको रिसको बेलामा सुरसाको जस्तो थुतुनो हुनसक्छ । साप्रामा टाउको टेकाएर मुकाउदै कुरा गर्ने बेलामा माया गर्दै कपाल मुसार्दै मिठा शब्द बोल्ने बोय फ्रेण्ड रिसाउदा रावण जस्तो बोल्न थाल्न सक्छ । त्यसैले थुतुनाको प्रकार छुट्टाउनु अरिगाठेको खुट्टा गन्नु जस्तै हो । तर सोलोडोलो रुपमा मैले यिनलाई तीन बर्गमा पार्ने प्रयास गरेको छु । त्यस्भित्र पर्ने नपर्ने, अटाउने नअटाउने जिम्मा थुतुनाहरुकै । मलाई केको टन्टन ।

काउले थुतुनो : थुतुनाको प्रकारले नै बुझिन्छ यो कस्तो थुतुनो हो भनेर । काउलो एक प्रकारको रुखको नाम हो । तिहारमा सेल रोटी पकाउदा आमाले त्यहि काउलाको बोक्रो थिचेर हाल्नु हुन्थ्यो । रोटी मज्जाले फुर्थे, आजकाल सोडा हालिन्छ त्यसको ठाउमा । त्यो चिप्लो हुन्छ । त्यसैले काउले थुतुनो पनि चिप्लो हुन्छ । चिप्लोमा टेकेर कति चोटि हामि लड्छौ, पल्टिन्छौ त्यो त भन्नै पर्दैन । यो चिप्लो हुन्छ, चिल्लो हुन्छ । रोटी चिल्लो मिठो कुरा खस्रा मीठा भन्ने उक्ती हाम्रो नेपालमा त्यसै चलेको होईन । यो काउले थुतुनो सुन्नमा मज्जाको हुन्छ । कुरा मिठा हुन्छन् । तर परिणाम त्यसले तपाईंलाई लडाइदिन्छ । त्यस थुतुना बाट निस्केका हरेक बचन अर्थपुर्ण हुन्छन् । त्यस्मा हास्यरस मिस्रित हुन सक्छ तर त्यो कुटिल हुन्छ । त्यहा शब्दको धेरै अर्थ लाग्छन । तपाईं त्यसबाट यति प्रभावित हुनुहुन्छ की आफू चिप्लिएर खुत्रुक्क लडेको तपाईं चाल पाउनु हुन्न । त्यसैले यो निकै सतर्क हुनु पर्ने थुतुनो हो ।

छुचो थुतुनो : यो थुतुनोलाई फत्फते थुतुनो पनि भन्न सकिन्छ । यो दिमागको नियन्त्रणमा प्राय हुदैन । बोल्दा बोल्दै आफ्नो धोती खुस्केको यो थुतुनाधारीहरुले चाल नै पाउदैनन् । यिनीहरुलाई सबैको बारेमा थाहा भए जस्तो बक्बक गर्छन् माने उनिहरु त्रिकालदर्शी हुन् । सबैको बारेमा केही न केही प्रतिक्रिया यो थुतुनो वालाहरुसँग हुन्छ । नेपाली समाजमा महिलालाई रुद्रघण्टी नभएको भनेर आलोचना गरिन्छ तर यस्मा महिलाको मात्र कपिराइट छैन, पुरुष पनि कम छैनन् । शायद यो बर्गका मान्छेहरुको रुद्र घण्टि हुदैन । यो थुतुनाधारीहरुको कुराले अरुलाई त असर पर्ने नै भयो, त्यो भन्दा बढी उनिहरुलाई नै पर्छ । बोली दिमागको नियन्त्रणमा नहुने हुनाले के बोले भन्ने भ्याउ उनिहरु पटक्कै पाउदैनन् फल्स्वरुप ऊनीहरुलाई समाज्मा फाल्तु मान्छेको दर्जामा राखिन्छ । “यसको कुरा केको पत्याउनु” धेरैको प्रतिक्रिया यस्तै हुन्छ । पतरपतर बोलिरहने हुनाले बोलिमा कुनै दम हुदैन । गोप्य्ता कुन चराको नाउ हो यिनीहरुलाई पत्तो हुदैन । कुनै गोप्य सुचना वा कुरो कानकान्मा पुराउन एफएम रेडियोमा दिनु पर्दैन, यिनैलाई भन्दिनुस् काम खत्तम । नराम्रो कुरो त यिनले घण्टा भरमै घरघरमा पुर्याउछन् । त्यसैले गोप्य कुरो यस्ता सँग नगर्दै बेश, राख्नु पर्छ धेरै होश ।

दुस्ट थुतुनो : यो थुतुनो लाई गनगने थुतुनो पनि भनिन्छ । यो खाली गनगन गरिरहन्छ । यस्मा खुशी र उमंग हुदैन । बोलिमा गोली हुन्छ । बोल्दा घोचेरै बोल्छन यो बर्गका मान्छेहरु । अर्काको खेदो खन्नु यसको प्रमुख बिशेसता हो । राम्रो कामलाई पनि नराम्रो कोणबाट बिस्लेशण गर्नु, सकारात्मक कामलाई नकारात्मक तरिकाले व्याख्या गरेर त्यसको उछित्तो काढ्नु यो थुतुनाको गुण हो । बोली सुन्दा नमिठो लाग्दैन तर त्यसको असर निम्पत्ताको भन्दा ठीक उल्टो हुन्छ । अरुलाई दुखै दिने, दु:ख र कस्टकै चाहना गर्ने र फल्स्वरुप आफू पनि दु:खमै फस्नु पर्ने यो थुतुनाधारीहरुको बाध्यता हो । आत्मसम्मान भन्ने यिनिहरुमा पटक्कै हुदैन । यो भएन, त्यो भएन, यस्तो भएन, त्यस्तो भएन, उस्को भयो मेरो भएन, उस्ले गर्‍यो मैले सकिन, उसङग छ म सँग छैन् भनेर २४ सै घण्टा गोइडरो गर्नु यो थुतुनाधारीहरुको धर्म हो । त्यसैले यो थुतुनो पनि खतरा नै हुन्छ । सतर्क हुनु नै बेश हुन्छ । टाढै रहनु उचित हुन्छ ।

यसबाहेक थुतुना अरु प्रकारका पनि होलान् सबैलाई येत्तिमा अटाउन गाह्रो छ । तपाईं हामी मध्य को को यो बर्गमा पर्छौ हेर्नु, अनुभव गर्नु र मुखलाई थुतुनो बन्न बाट जोगाउने काम गर्न अझै ढिला गर्नु हुन्न ।

-लेखनाथ गौतम/टेक्सास, अमेरिका

(स्रोत : Mysansar, April 3rd, 2011 )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.