हास्य-व्यङ्ग्य : सिस्नुपानी देउसी २०७१

~सिस्नुपानी~

भनभन भाइ हो     – संविधान
भनभन बैनी हो     – संविधान
स्वर मिलाइकन      – संविधान
जोडले भन      – संविधान
ढोगेर माटो     – संविधान
सुनौलो बाटो     – संविधान
विश्वकै चासो     – संविधान
पुस्तालाई नासो     – संविधान
घैंटामा सबको     – घाम लागोस्
देश फड्को मार्न – काम लागोस्
भनभन भाइ हो     – के भन्ने
संविधान छिटो     – ले भन्ने ।

हामी त्यसै आएनौ सिस्नुपानीले पठायो
तपाईको घर ताकेर दौराले ढाकेर

यात्रा हाम्रो टाढाको दौरा सुराल भाडाको
जुत्ता आइ लागेको टोपी मागेको

नयाँ संविधानको मिति अझै पर सर्ने भो
त्यही भएर हाम्ले देउसी खेल्नै पर्ने भो ।

दलको मेम्वर भइएन प्राज्ञ स्राज्ञ पाइएन
देउसी खेल्न यहीँ आइयो अन्त गइएन

बाढीले नि छेकेन पैरोले नि देखेन
बाटो खुल्लै पाइयो जिउँदै आइयो ।

सिस्नुपानी नेपालैका – हामी कलाकार नि लैलै
हजुरको दैलो खेल्दै देउसी भैले
नाच्दै आयौँ छमछम

हाम्रो देश नेपालैमा जनतालाई ख्वाउन नि लैलै
नक्कली गोली आउँछन् छाती खोली
अस्पतालमा ठमठम

बुद्धि विवेक मरेका, मट्टितेल डिजेल भरेका
नेता हाम्रा कस्ता छन् ग्यालेन जस्ता छन्

छिमेकीका मोदीे हिन्दा संसार नै हल्लिन्छन्
हाम्रा कोदे हिँड्दा खेरि आफैं हल्लिन्छन् ।

सम्विधान बनाउनलाई दिए मन्त्र ऋषि मन
हाम्रा लाल बुझक्कडले बुझे शिशि मन

फोेर सिध्याउन मोदीले हातमा झाडु बोकेका
देश रित्याउन हाम्राले डाडु बोकेका ।

अरु देशका प्रधानमन्त्री आफ्नो देश बनाउने
हाम्रा देशका प्रधानमन्त्री लुतो कनाउने

गरिव प्रधानमन्त्रीलाई कसले यस्तो गरायो
भान्साबाटै जाबो बार लाख हरायो

सिंहदरवार कपालमा कस्तो जुम्रो परेछ
प्रधानमन्त्री छानेको त झुम्रो परेछ

देखिहाल्यो युवा शक्ति राजनीतिमा उक्लेका
शीर्षासनमा बस्ने सबै दाँत फुक्लेका ।

घिउबेचुवा र तरवार बेचुवा एकै ठाउँ पसेछन्
संसदीय सुनुवाइको नाटक रचेछन्

गाली गरे साली गरे भन्ने बेला भने इस्
न्यायाधिसमा तिनैलाई गरे सिफारिस

एकातिर न्याय छ अर्कातिर मूर्ति छ
बिचौलिया ज्यूहरूको बेग्लै फूर्ति छ ।

भ्रष्टाचार गर्न हुन्छ गरिस् भन्न हुदैन
अरुलाई हात धो भन्छ, आफू धुदैन

कुनै बेला हाम्रो – देशैमा
किनिने बेचिने – केसैमा
बेला बेला सांसद – हराउँथे
हङकङमा पुगेर – कराउँथे
डिस्कोमा नाचेर – रमाउँथे
बरुले कम्मर – समाउँथे
तस्करले तिनलाई – चराउँथे
नोटले उठबस – गराउँथे
लुटेका गाडी – गुडाउँथे
अर्काकी श्रीमती – उडाउँथे
अहिले त सांसद – धनी छन्
खल्तीमा टन्न – मनी छन्
विहानै पार्टीमा – छिरेर
दिउँसो विल्ला – भिरेर
२÷४ करोड – तिरेर
सभासद भई – फिरेर
सम्विधान बनाउँछु – भन्दैछन्
लगानीको साउँ व्याज – गन्दैछन्
यस्ताले सम्विधान –ल्याउलान् त ?
दुनियाँमा साँढे – व्याउलान् त ?

६०१ को लामो ताँती पुत्ले पांग्रे भाँतीभाती नि लैलै
सात वर्ष जाम पारे, भत्ता मात्रै झ्वाम् पारे
कामका नाममा मिति सारे

मधेशवादी हाम्रा पार्टी भ्यागुताकै धार्नी जस्ता नि लै लै
मिलौं भन्दै थुप्रिन्छन्, मन्त्री पाए उफ्रिन्छन्
कसले गर्ने यिनलाई नियोजन

कुरा बाङ्गो माओवादीको पथ पनि बाङ्गियो
पार्टी फुट्यो चुनाउ हायो गुट झाङ्गियो ।

बाहिर बाहिर सहमतिको मिठो भाषण पड्काउने
बाइस दल भेला पारी हलो अड्काउने ।

जनता न कार्यकर्ता कोहीका नजिक भएनन्
प्रचण्डजी व्यङ्ग्य गर्न नायक रहेनन् ।

न त वाधा राजा छ न त वाधा हतियार
सहमती किन हुन्न को हो मतियार ?

नगदरामका अगाडि जनवाद जिल्लाराम
बाबुरामको नयाँ शक्ति भयो ठण्डा राम

बिच्किएका बैद्यले गोलमेच सभा मागेछन्
गरौँ न त भन्दा खेरि आफैँ भागेछन्

मधेसवादी दल हो के हो तिम्रो गन्तव्य
सुन्यौ होला राम्रैसँग मोदी मन्तव्य

राजाबादी भक्त हो भजन छोड राजाको
देख्यौ होला तिम्रो राजा पोको गाँजाको

छोटे राजा फुटवलको भ्रष्टाचारमा फसेको
कार्वाहीबाट जोगिनलाई संसद पसेको

विष् ख्वाउँदैमा खाइँदैन देस टुक्र्याउन पाइँदैन
देश टुक्र्याउन खोज्नेहरु हाम्लाई चाइँदैन

स्वागत द्वारमा आगो लगाई अधिवेसन गरेर
ओली नेपाल कुस्ती खेल्छन् भुइँमै झरेर ।

एमालेलाई धेरै वर्ष हाँके नली हुक्काले
अध्यक्ष पद पड्कायो उखान टुक्काले

कोइले धन कमाए कोहीले डन बडाए
पक्कै मन्त्री भइन्छ है केपी समाए ।

वामदेवले डिभाइडरमा ट्रिपलजम्म हानेछन्
चुँडिएछ इँजार हत्त पत्त बानेछन् ।
संविधान हेर्न मन थ्यो नेताले नै दिएन नि लै
भोट माग्न आउला, अनि थाहा पाउला
लोप्पा ख्वाउँदा जनताले

सबै दलका हाम्रा नेता..केटी छैनन् केटै केटा नि लै लै
शिखर वार्ता“ जान्छन्, शिखर चुरोट तान्छन्
फर्की आउछन् लुरुलुरु…।

उता त्यत्रो हुद्हुद् आयो, आयो गयो सुटुकक
यता त्यसकै प्रभावले सयौं खुत्रुक्क ।

हाम्रा देशका पिलेन निगमका भिलेन
प्यासेन्जरले चढ्न खोज्दा ढोकै खुलेन

फुस्स फुस्स हावा हान्छ खाने पानी धाराले
बन्छ बन्छ नयाँ नेपाल यस्तै पाराले ।

ठूलो बजेट शिक्षाको बगिराछ खोलामा
मास्टर जति पार्टीमा स्कूल झोलामा ।

यो देशको बजेट घुस्याहाको गोजीमा
घुस्याहाकी बुढी लागिन् बुढो खोजीमा

पिलन्धरे पियनहरू अख्तियारमा धाउँदैछन्
ठूला भ्रष्ट झण्डा हल्लाइ हल्लाइ आउँदैछन् ।

बढाऊ बढाऊ तस्कर हो महँगी बढाई के हुन्छ
जति सक्छौ जनतालाई दुःख दे हुन्छ

हजार पर्सेन्ट बढाएर पन्ध्र पर्सेन्ट छुट दिन्छन्
अनुगमन गर्नेलाई थुनी कुट् दिन्छन्

विशाल बजार पसलमा अनुगमन पसेछ
व्यापारीले घोक्रयाएछन् थला बसेछ ।

विषादिले कृषि बजार हसहसी गनाउने
घिरौँलालाई सुइ हाली लौको बनाउने

सुपथ मूल्य पसलमा सस्तो किन्न पाइन्छ
काँ छ पसल भनी खोज्न गुगल चाहिन्छ ।

कुनै पार्टी आइँ गर्ने कुनै पार्टी दाइँ गर्ने
महँगीको तातो तेलमा जन्ता झ्वाइँ गर्ने

दुई चार जना रमेश खरेल भेटिन्छन् नि भेट्नलाई
पछि पछि गृहमन्त्री पाइला मेट्नलाई ।

मुख्य सचिव लीलामणि वागमतीमा पसेका
कमाई गर्न छाडी फोहर फाल्न कस्सेका ।

डिभी पार्दै कर्मचारी विदेशमा थुप्रिने
लालवावु बबुरा एक्लै उफ्रिने
सुशील कोइराला – संविधान खोई ?
शेर बादुर देउवा – संविधान खोई ?
रामचन्द्र पौडेल – संविधान खोई ?
केपीओली  – संविधान खोई ?

माधव नेपाल– संविधान खोई ?
झलनाथखनाल– संविधान खोई ?
पुष्पकमल दहाल– संविधान खोई ?
मोहन वैद्य    – संविधान खोई ?

बाबुराम भट्टराई– संविधान खोई ?
बिजय गच्छेदार– संविधान खोई ?
चित्र बहादुर केसाी– संविधान खोई ?
महन्थ ठाकुर– संविधान खोई ?

उपेन्द्र यादव– संविधान खोई ?
नारायण विजुक्छे – संविधान खोई ?
सुवास नेम्वाङ – संविधान खोई ?
रामवरण यादव– संविधान खोई ?

हाम्रो देशका कम्निस्टपार्टी सिद्धान्त नै छाँटी छाँटी नि लै लै
दुइटा पार्टी मिल्छन् दर्जन भई निस्कन्छन्
बच्चा पाउँछन् खुरु खुरु

जनताको नाम लिन्छन्, जनतालाई सास्ती दिन्छन् नि लैलै
नेता हुन् कि डन हुन, फलामका घन हुन्
बुझ्नैलाई महाँभारत

आशिष

पानीमा पहेलो            –तर नहोस्
खोलाका तिरमा         –घर नहोस्
कवाडी पिलेन            –नउडून्
भीरमा गाडी             – नगुडून्
खेतमा जहाज            –नझरोस्
यतातिर इबोला            –नसरोस्
धारो खोल्दा    – पानी होस्
आयकर तिर्ने            – बानी होस्
कालो सूचिमा        – नाम नहोस्
खल्तीमा घुस खाको    –    दाम नहोस्
भकारी जत्रोे    –  पेट नहोस्
डनगुण्डा सग     –    भेट नहोस्
बालबच्चा अपहरण    –   नहोउन्
लुटेराले ज्यानमा    –   नछोउन्
पूर्सत् नहोस्    –    हतारो होस्
भान्सामा दहीको    –    कतारो होस्
कालोमा छुदा    –    कलर होस्
रुपिया छुदा    –    डलर होस्
आमाभन्दा छोरी    –    जान्ने होस्

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.