~रारा नेपाल~
बजारमा बल्ग्रेल्ती मात्रामा तीजि गीतका एल्बमहरू आएका छन्। ती गीतहरू हामीले त सुनेका छौं तर कुर्सीको खेलमा व्यस्त रहेका हाम्रा नेतागणहरूलाई सायद धार्जेसँग ती गीतहरू सुन्ने फुर्सद पनि यतिखेर छैन। सुने पनि कुन–कुन सुन्ने? कुन–कुन गीतहरूले आफ्ना पनि भावनाहरू बोकेका छन्? यसको त्यति मेसो उहाँहरूले नपाएको हुन सक्नुहुन्छ। त्यसैले आज यहाँ हाम्रा नेतागणहरू कुनलाई कुन गीत फिट खान्छ भनेर सामान्य जानकारी दिनेे जमर्को गरिएको छः
प्रचन्डजीलाई
अहिले निस्किएका तीजि गीतहरू मध्ये प्रचन्ड कमरेडलाई फिट खाने गीत गायिका कोमल वलीले ल्याएकी छिन्। शिवजीलाई बदमास भन्दै उनले गाएको गीतमा प्रचन्ड जीले आफ्नो पनि पींडा समेटिएको महशुस गर्न सक्नुहुनेछ। गायिका ओलीले “पोइ पाउन”को निम्ति परारै सालदेखि शिवजीको ब्रत बसे पनि अहिलेसम्म नि प्राप्त गर्न नसकेको झोकमा शिवजीलाई सत्तोसराप गर्दै उक्त गीत गाएकी छिन्। यस्तै पींडा प्रचन्डजी सँग पनि छ। फुत्किएको कुर्सी प्राप्त गर्नको निम्ति प्रचन्ड जीले पनि अनेक धामा गर्नुभएको छ। लुकिलुकि कहिले भैंसी पुजा गर्न चतराघाट पुग्नु भएको छ त कहिले रामदेव अनि कहिले कालीबाबाको शरणमा पुग्नु भएको छ। तर जे गरे पनि कोमल ओलीले पोइ नपाए जस्तै प्रचन्डजीले पनि फुत्किएको कुर्सी पाउनु भएको छैन। अहिले अझ पाँच–पाँचचोटीसम्म संसदमा हार्दाखेरी त झन् प्रचन्डको मनले ती कालीबाबा र महिषमातालाई कति सत्तोसराप गर्यो होला? त्यसैले कोमल ओलीको उक्त गीतमा सामान्य शब्द परिमार्जन गरी “धत्तेरिका कालिबाबा रैछौ बदमास” बनाएर गाउने हो भने त्यो कोमल ओलीको नभएर प्रचन्डजीकै गीत बन्ने छ।
रामचन्द्रजीलाई
एउटा तीजि गीत छ–“बाइकमा हिंड्नेलाई मैले मन पराउने, बाबाले रोज्नुभो…..” बोलको। मलाई लाग्छ यस गीतका शब्दहरूमा केही हेरफेर गरेर यस्तो बनाउने हो भने त्यो रामचन्द्र पौड्यालजीलाई निकै फिट खान्छः
प्रधानमन्त्री हुनलाई मैले मन पराउने
संसदले पाँच चोटी मैलाई हराउने
मनभरी पीर छ सारो छ व्याथा
नाचौं कि ननाचौं भन सुशिल
वामदेव गौतमजीलाई
भनिन्छ–वामदेवजीको ज्यान बल्खुमा भए पनि मन भने पेरिसडाँडा वरिपरि नै घुमिरहेको हुन्छ। बल्खु दरबारका केही सदस्यहरूले यो कुरो चाल पाए पछि नीति निर्माण गर्ने खास बैठकमा उनलाई डाक्नै छाडेछन्। पद छ बल्खुका उपाध्यक्ष तर खास बैठकमा उनलाई नै बोलाइन्न। यस्तो व्यवहारले गर्दा गौतमजीको मन जुन कुडिएको छ, त्यसलाई समेट्ने खालको गीत पनि बजारमा आएको छ–“मिठो मिठो खान्छे भनेर, तिम्री आमा बोल्दीन्न मसँग तीजमा माइत जान्छे भनेर। फोनमा आफ्ना विदेशमा रहेका श्रीमानलाई उक्त गीतमा जसरी कुरा सुनाइन्छ वामदेवजीले त्यो गीत सुन्दा आफूले प्रचन्डजीलाई यसरी पींडा सुनाएको महशुस गर्न सक्नुहुन्छ।
खास बैठकमा बन्देजै लगाएछन्
हाम्रो नाता सबले चाल पाएछन्
पेरिसडाँडा धाउँछ भनेर
माधव–ओली बोल्दैनन मसँग
तिम्लाई कुरा लाउछ भनेर
माधवजीलाई
“यो तीजमा ढल्केरै नाचिन्छ … ” मलाई लाग्छ प्रधानमन्त्री माधवजीलाई फिट खाने गीत यही हुन सक्छ। किनकि यो तीजमा खुलेर नाँच्न सक्ने भनेको उहाँनै हो। अरूलाई त प्रधानमन्त्री भइन्छ कि भइन्न भन्ने पिरलोले सताएको छ। तर राजीनामा दिएको दुई महिना बितिसक्दा समेत अझै पनि संसदले नयाँ प्रधानमन्त्री चयन गर्न सकेको छैन। आउने २० गते पनि प्रधानमन्त्री फेरिने सम्भावना न्यून देखिइरहेकोले यो तीजमा माधवजी ढुक्कैसँग नाँच्न सक्नुहुन्छ। उक्त गीत सुन्दा माधवजीले यस्तो भाव अनुभूति गर्न सक्नुहुन्छः
यो तीजमा उफ्रेरै नाचिन्छ
रघुजी, बरू कुर्सी भाँचिए भाँचिन्छ
अस्तु!
(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ४१ – २०६७ भाद्र १६ गते, बुधबार)