समीक्षा : देशभक्तहरूमा समर्पित खण्डकाव्य “ग्रहण नलागोस्”

~गिरीप्रसाद बुढा~Giri Prasad Budha

आफले सिन्को नभाँच्ने तर अरूलाई भने ठूला–ठूला उपदेश दिने कोठे साहित्यकारहरू यो समाजमा धेरै भेटिन्छन्। जागिर वा कुनै पेशा व्यवसायवाट धन सम्पत्ति आर्जन गरी आफू र आफ्नो परिवारको सुख समृद्धिको सम्पुर्ण वातावरण मिलाएर क्रान्ति र संर्घषको गफ हाँक्ने यस्ता मान्छेहरूको वोलीमा विश्वास कम र अविश्वास बढी हुने कुरा स्वभाविक छ।

यसको विपरित हाम्रो समाजमा कतिपय यस्ता प्रतिनिधी पात्रहरू पनि छन्, जसले सिड्डो समाजलाई उज्यालो वाटोमा डोर्याउनकै निम्ति आफु र आफ्नो परिवारको सम्पूर्ण खुसी र हाँसो समेत जानी जानी ध्वस्त पारिरहेका हुन्छन्। ति मान्छेहरू जो स्वयं मैन वत्ति जस्तै अर्कालाई प्रकाश दिन आफु नियमित जलिरहेको हुन्छन्। उनीहरूको दैनिकीमा अभाव , संकट , पीडा, वेदना र आक्रोशका व्यथाहरू छताछुल्ल भएर मडारिएका हुन्छन्। तै पनि क्रन्ति र संर्घषलाई आफू र आफ्ना सन्तानको सुख र संमृद्धि ठानेर निरन्तर ज्वारभाटा विरूद्ध अगाडि बढि रहेका हुन्छन्।

यसरी क्रान्ति र संर्घषलाई आफ्नो व्यवहारवाट प्रमाणीत गरेर साहित्य र राजनीति मार्फत समाजलाई सचेत पार्न रूकुमको माटो वाट अग्रिम मोर्चामा हिंडिरहेका राजनीतिकर्मी तथा साहित्यकार कमरेड रामप्रकाश पुरी अहिलेे सम्पूर्ण देशभक्त हरूको नाममा सर्मपण गरिको “ग्रहण नलागोस” नामको खण्डकाव्य लिएर हाम्रो माझ आएका छन्। यो हामी सवैको निम्ती खुसी र गर्वको कुरा हो।

“ग्रहण नलागोस ” खण्डकाव्य हाम्रो हातमा पर्दै गर्दा संवीधान निर्माणको महत्वपूर्ण अभिभारा बोकेर काठमाडौं गएका छ सय एक जना विधायकहरू कुर्चीको खेलमा लागेका केहि मुीभर मान्छेहरू (जसलाई हामी शिर्ष नेताहरू भनेर चिनिरहेका छौ) द्वारा निरिह वनाइएका छन्।

यसले आफ्नो खाने गास कटौती गरी जनताद्धारा देशको नाममा जम्मा हुन आएको राष्ट्रिय ढुकुटी माथि हाका हाकी दुरूपयोग भइरहेको महसुस छ। यसरी समयमा नै नयाँ संविधान पाउने कुरा जनताको लागि अझै पनि आकाशको फल झै भएको छ। यसरी राजतन्त्र अन्त्य पछि अगाडी बढेको समयको गतिलाई कुनै पनि शिर्ष नेताहरू वा ठूला दलहरूले पछ्याउदा नसक्दा जनताले देखेका सुख शान्ति र संवृद्धिको सपना तासको महलझै भताभुड्ड हुन थालेको छ। यसरी नै आज जनताले बोकेको उच्च आकांक्षालाई लात मार्दै ठूला र आफुलाई मूलप्रवाह ठान्ने राजनैतिक दलहरूले कुर्चिको मोहमा र्‍याल २. चुहाउन थालेपछि र नयाँ व्यवस्था निर्माणको प्रश्नलाई आफ्नो तुच्छ स्वार्थ सँग सौदावाजी गर्न थालेपछि स्वभाविक रूपले आज देश र जनताको भविष्य अन्योल र अनिश्चयको भुलभुलैयामा फसेको छ। संकटको यो घडिमा “फुटाउ र राज गर” भन्ने दाउमा रहेकाहरूले नेपाल र नेपालीलाई फुटाउन संधीयतालाई एउटा भरपर्दो सुत्रको रूपमा प्रयोग गरीरहेका छन्। यस प्रकारको सुत्र अर्न्तगत यो देश र यहाँका जनतालाई खन्डीकरणको जटिल गणितमा फस्न विवश हुनु परेको छ। यस प्रकारको राष्ट्रियतामाथि देखा परेको खतराको यर्थाथ चित्रण गर्दै साहित्यकार तथा राजनीतिकर्र्मी क. रामप्रकाश पुरीले “ग्रहण नलागोस” खण्डकाव्य मार्फत सवैलाई सचेत पार्ने कोशिस गरेका छन्।

खन्डकाव्यको प्रारम्भ एउटा यस्तो भयानक सपना वाट भएको छ जुन सपनामा एउटा जीवन भयवह र नीष्ठुरी सत्रुको मुखमा परिसकेको हुन्छ। यस्तो अवस्थामा उ सँग आमाको पुकार गर्नु बाहेक अरू केहि विकल्प रहदैन्। टाढाको जंगलमा सुनिने हुइचिलको आवाज वाहेक अरू सवै धर्ती मौन रहेको अन्धकार रातमा सन्ताप दिन आउने यस्ता खराब सपनाहरूलाई काव्यकारले “कुटारी”को संज्ञा दिएका छन्। त्यसैले यस्ता खराब सपनाको प्रवाह नगरी नेपाली माटो जोगाउँदै र यो देशको शत्रुहरूलाई संहार गर्दै अगाडि वढाउनुपर्ने भावलाई काव्यकारले यसरी अभिव्यक्त गर्दछन्ः

टाढा जान्छ सदा खराव सपना जंगार तर्दै गर
गाढा हुन्छ सदा मिठास जपना संघार तर्दै गर।
यो नेपाल छुने परागम सबै संगार गर्दै वढ
यो माटो रहने विरासन सधै सम्भार गर्दै वढ।। (श्लोक १९ )

यसैगरी काव्यको प्रारम्भ गर्दै गर्दा काव्यकारले आफ्नो मातृभुमी अर्थात आमा प्रति गरेको उच्च मुल्याङन् वा आदारभावको प्रसंग पनि कम्ति महत्वपूर्ण छैनन्। यसको लागि जस्तै श्लोक १२ लाई उदाहरणको रूपमा प्रस्तुत गर्न सकिन्छः

आमा माफ दिने विशाल घर हुन् माया र छाया पनि
आमा आड हुने अदम्य भर हुन आगो र पानी पनि।
आमा दिप हुने प्रभातकर हुन् यी दृष्टिकै विन्दु हुन
आमा प्रित दिने सदा अमृत हुन यी सृष्टिकै सिन्धु हुन।।

यस पछि २६ श्लोक वाट कविले उद्धव बर्मा र ऊ पात्र मार्फत वैचारीक छलफको प्रारम्भ गरेका छन्। यि दुवै पात्रले शोषण दमन र उत्पीडनको हिसाबमा समान सम्वन्ध राख्दछन्। फरक यति हो की ………

उद्वव वर्माको दृष्टि केवल मधेसको उत्पीडनमा मात्रै परेको हुन्छ। युगौंदेखि मधेसले भोग्नु परेको शोषण, दमन र उत्पीडनको परिणाम स्वरूप मधेसको छुट्टै राज्य भएमा मुक्ति हुने सपना देख्छ। अर्को कुरा उद्वव वर्माले संघीयताको सवालमा अस्पष्ट र भीडको पछाडि दौडेका मानिसहरूको प्रतिनिधित्व पनि गरेको देखिन्छ। त्यसैले उद्वव वर्माको निम्ति सानो शक्ति अर्थात् थोरै मानिसहरूले उठाउको साँचो विचार पनि झना मसिना र काम नलाग्ने हुन पुग्दछ भने ठूलो शक्ति अर्थात् धेरै मानिसहरूले उठाएको जस्तोसुकै विचार पनि उसको लागि सबैथोक हो जस्तो हुने गर्दछ। त्यसैले संवादको क्रममा उसले भन्छः

यी जम्मै जनको छ ताद स्वर यो छुट्टै धरा देशको
ती ठूला दलको छ साथ भर यो जम्मै कुरा संघको।
यो बेला किन यो झनो र मसिनो आवाज बोल्ने यहाँ
यी थोरै जनको बरा जुलुसले के हात लाग्ने यहाँ।। (श्लोक १५३)

अर्काेतिर “उ” भन्ने पात्रले कुनै स्थान वा जातविशेषको प्रतिनिधित्व नगरी समग्र नेपाली मनको प्रतिनिधित्व गरेको छ। हामी पाठकहरूले “उ” भन्ने पात्रलाई मधेसी बुझे पनि हुन्छ, पहाडी बुझे पनि हुन्छ अथवा कुनै हिमाली बुझे पनि हुन्छ। त्यसैगरी उसलाई हामी मगर, क्षेत्री, बाहुन वा अन्य कुनै पन जातको रूपमा सहजै ग्रहण गर्न वा बुझ्न सक्दछौं। यो “उ” भन्ने पात्रलाई हामीले जुनरूपमा बुझे तापनि उ संघीयताको विरोध र राष्ट्रियताको रक्षाको प्रश्नमा स्पष्ट वैचारिक धार बोक्ने प्रतिनिधि पात्र हो। त्यसैले उ अखण्ड नेपालमा मात्रै देश र जनताको सुख, समृद्धि र सम्पन्नताको परिकल्पना गर्न सकिन्छ भन्ने मान्दछ। त्यसैले संवादको क्रममा उसले भन्छः

त्यो नेपाल बनोस् समस्त जनमा छाना र नाना हुने
त्यो नेपाल बनोस् अखण्ड मनमा दाना र माना हुने।
त्यो नेपाल बनोस् हरेक घरमारोटी भकारी हुने
त्यो नेपाल बनोस् सअंग भरमा भोटी र सारी दिने।। (श्लोक ७७)

यसरी ग्रहण लाग्दै गरेको आकाश मुनी जहाँ राजनीतिक दलहरूको खराब नीति र सत्ता स्वार्थबाट सिर्जना भएको देशको भयावह परिस्थितिको सन्दर्भमा जम्काभेट भएर घनीभूत छलफलमा सक्रिय भएका “उद्वव वर्मा” “उ” भन्ने दुवै पात्र अन्त्यमा संघीयताको विरोध गर्ने र राष्ट्रियताको रक्षा गर्ने सार्थक निष्कर्षमा पुग्दै दुबैले एकैसाथ भन्छन्ः

मेरो भाई तिमी, म, देश र धरा यो तन्त्र यौटै बनोस्
हाम्रो मेल मियो स–प्रेम समता यो मन्त्र साँच्चै बनोस्।
यो नेपाल रहोस् पहाड–पधिरो कोही नहोस् भिन्न त्यो
यो सौभाग्य बचोस् हिमाल र चुरे कोही नहोस् खिन्न त्यो।। (श्लोक १८८)

यसरी देश सम्झेको “उ” र देश नबिर्सेको उद्वव वर्मा दुवैलाई पुर्खाको पसिना, विवेक र श्रमको सम्भार गर्न र वैरीको, असिना, बुलेट र बमको जंघार तर्न सही र एउटै वैचारिक प्रवाहमा सामेल बनाएर एउटै बाटोमा हिंडाइसकेपछि काव्यकार पाखा र बारीमा हुँदाका क्षणहरू स्मरण गर्न पुग्दछन्।

यस खण्डमा काव्यकारले विशेषगरी नेपालको सुन्दरताको व्याख्या गरेका छन्। हरिया चौर, लाली गुराँस फुल्ने लेक, छहरा, नदी र झरनाहरू हजारथरी पशु र पन्छीहरू तथा उनीहरूले देखाउने नाँच सुनाउने गीतहरू सबै सबैको सम्झना मार्फत कवि आफूमा भएको प्रकृति प्रेमलाई उजागर गरेका छन्। यसैगरी नेाल प्रकृतिले मात्र होइन आफ्नै भोटी, रोटी र रोदी जस्ता सयौं प्रकारका मौलिक संस्कार र संस्कृतिले समेत भरीपूर्ण देश हो भन्ने कुरालाई पनि काव्यकारले आकर्षक ढंगले अभिव्यक्त गरेका छन्।

यसरी प्रकृतिको दृष्टिले सुन्दर र संस्कृतिको दृष्टिले भरीपूर्ण यस्तो देशलाईजोगाउनुको उल्टो विगार्न खोजने, भत्काउन खोज्ने र यो देशलाई सखाप पार्न खोज्ने दष्ट मान्छेहरूप्रति काव्याकारले तीब्र आक्रोश व्यक्त गरेका छन्। यस्ता दुष्ट मान्छेहरू शुरूमा आफ्ना निहित स्वार्थको लागि सुन्दरसुन्दर चीजहरू पनि विगार्ने गर्छन्, भत्काउने गर्छन्। आफ्ना भाईबन्धु र आफन्तहरूलाई समेत चिन्दैनन्। जब सब चीज बिग्रिसकेको हुन्छ, भत्किसकेको हुन्छ। त्यसपछि बल्ल मान्छे बिलौना गर्न थाल्दछ, पछुतो मान्न थाल्दछ। यस्तो खराब प्रवृत्तिबाट ग्रसित मान्छेहरूलाई औंला ठड्याउँदै काव्यकार भन्छन्ः

मान्छे 164 दुष्ट थिइस परन्तु किन यो गर्छस् बिलौना यहाँ
कोही बन्धु भनिस भीडन्त रणमा? गर्छस् पिरलो यहाँ।
तैले गर्व गरिस् विनाश हुनुमा के आँसु पोख्छस् यहाँ
आफै स्वर्ग हरिस् पसेर रणमा के शान्ति खोज्छस् यहाँ।।

यसरी लोभी, क्रोधी, घमन्डी, शक्ति पुजारू तथा भाते भक्ति बनेर आफ्नै मातृभूमिलाई बलात आक्रमण गर्न खोज्ने, समाजमा विकृति र विसंगति फलाउने तिने खराब मान्छेहरूलाई आफ्ना सबै खराबीहरू त्यागेर नेपाली आँगन सिगार्न, माटोप्रति प्रेम गर्न र देशभक्तिको आन्दोलनमा अग्रसर हुन प्रोत्साहित गर्दै काव्यकार आफ्ना शब्दभावलाई यसरी प्रभावित गरेका छन् :

तेरो दम्भ दवा घमन्ड र दगा कालो र मैलो हटा
तेरो दम्भ दबा उदन्ड लफडा जालो र जैरो हटा।
तेरो लोभ दबा प्रवृत्ति घटिया मिथ्या इरादा हटा
तेरो क्रोध दबा विपत्ति झगडा र दागा हटा।।

तेरो सौम्य बढा युगन्त युगका मानो र छानो जुटा
तेरो सौर्य उठा सु–शान्त जगको गारो र बान्नो उठा।
तेरो रक्त बगा विवेक पसिना माटो र ढुंगो भिजा
तेरो स्वर्ग उठा मिठो र रसिलो आटो र सिस्नो जुटा।।

जेहोस् प्रकृतिप्रेम माफर्त मान्छेहरूमा असल आचरण निर्माणको साथै देशभक्तिको असीम आस्था जागृत गर्ने काम सम्पन्न गरेर काव्यकारले पाठकहरूलाई सडक तर्फको दृश्यावलोकन गर्न लैजान्छन्।

सडकमा एउटा सानो जुलुस हुन्छ। सानो दलको यो जुलुस जसले अखन्डित नेपालको नारा उचालिरहेको हुन्छ। साराको सारा संघीयताको पक्षमा जस्तो देखिएको बेला संघीयता चाहिंदैन भन्दै केवल चार जना विद्यायक अगाडि लाएर देश विखन्डीत हुन नदिन ज्वारभाटाको विरूद्ध भिंडिरहेको यो जुलुस यसो हेर्दा खिन्न हुनुपर्ने जस्तेा, निराश हुनुपर्ने जस्तो भान हुन्छ। तरपनि यो जुलुसले महान् शक्ति र ओजिलो विचार बोकेको हुन्छ। किनकि सानै भए तापनि यो जुलुस विरोधीहरूलाई नतमस्तक पार्न सक्ने चित्र(का. चित्रबहादुर के.सी) का उखानहरू र बुढो विक्रम(का. मोहनविक्रम) को चुनौतीहरूले सु–गठित हुन्छ।

त्यसैले त सडकको यो सानो शक्तिलाई, यो सानो जुलुसलाई ठूलाठूला मन्त्री र नेताहरूले दबाउनु पर्‍यो भनी विषवमन गर्न थालेको देखिन्छ। यो सानो शक्तिले, यो सानो जुलुसले साँचो उक्ति बोकेको हुन्छ। राष्ट्रियताको लागि देशभक्ति भावले ओतप्रोत महान् र न्यायपूर्ण आवाज बुलन्द गरेको हुन्छ। त्यसैले त यो आवाजको गर्जनले विस्तारवादी र साम्राज्यवादी शक्तिहरू हिलेका हुन्छन्। सत्ताको रसमा र वैरीको लहलहैमा लागेका नेता र मन्त्रीहरू हिलेका हुन्छन्।

यसरी काव्यकारले दृष्टान्तको रूपमा सडकमा रहेको एउटा संघर्षको गाथा कोरेर आफू स्वयंले ग्रहण गरिरहेको कठिन तर महान् आस्थाको झझल्को दिने प्रयत्न गरेका छन्।

यसपछि खण्डकाव्यको अन्त्यतिर देश विखण्डनबाट सिर्जना हुने निरर्थक लडाई र निरर्थक बलिदान तथा मृत्युको विरोध गर्दै उनले यदी देश रहन्छ भने अर्थात् यदी देशले चाहन्छ भने आफ्ना सम्पूर्ण अंग प्रत्यंगहरूको समेत समर्पण गर्न तयार हुनुपर्छ भन्ने भाव पोख्दै लेख्छन्ः

मेरा चक्षु झकी अखण्ड जग रहे ती झक्न आदेश भो
मेरा अंग लुछी अपूर्व सुख भए ती लुछ्न आदेश भयो।
मेरो ज्यान लिई विरासत मिले त्यो मार्न आदेश भो
मेरो रक्त पिई शिरा रग चले त्यो डस्न आदेश भो।।
(श्लोक २९२)

यसरी काव्यकार कामरेड रामप्रकाश पुरीले खण्डकाव्य मार्फत देशभक्तिको असिम भाव उराल्दै र देशको नाममा शपथ लिंदै,उनी आफू बरू आगो पिएर जल्ने तर आफ्नो आस्थाको बाटो नछाड्ने, बरू माटो भक्त भई मर्ने तर लाटो झैं मुकदर्शक भै नबस्ने महान् र उच्च विचार प्रकट गर्दै “ग्रहण नलागोस्” खन्डकाव्यको विट मारेका छन्।

यो लेखको टुंगोमा भन्नुपर्दा, खण्डकाव्यमा यो पुगेन र उ पुगेन भन्ने पक्षमा म छैन। किनकि हामी सबैलाई थाहा छ कुनै पनि चीज आफैमा पूर्ण हँुदैन अर्को कुरा यो खण्डकाव्यभित्र कति सही कुराहरू छन् र कति गलत कुराहरू छन् यसको बारेमा पनि मेरो भन्नु केही छैन किनकि मान्छेहरूमा निर्माण भएको दृष्टिकोण बमोजिम कसैको निम्ति त्यही चीज असल पनि हुनसक्छ भने कसैको निम्ति त्यही चीज खराब पनि हुनसक्छ। यो खन्डकाव्यको सन्दर्भमा पनि यही कुरा लागु हुनु स्वाभाविक छ। यसैले मान्छेमा अन्तरनिहीत उसको दृष्टिकोण अनुरूप कसैलाई यो खन्डकाव्य धुजाधुजा पारेर आगोमा पोलुँ झै लाग्न सक्छ। कसैलाई यो खन्डकाव्य जतनपूर्वक हृदयभित्र साँचु झै लाग्न सक्छ। कुरा जे भएपनि हामी सबैले यो बुझ्नु पर्दछ कि कवि वा साहित्यकारहरू सृष्टिकर्ता पनि हुन र द्रष्टाहरू पनि हुन्। साथै उनका कृतिहरू राष्ट्रकै अमूल्य सम्पत्ति पनि हुन्। यो अर्थमा साहित्यकार तथा राजनीतिककर्मी क. रामप्रकाश पुरीप्रति मेरो श्रद्धाभाव छ। अनि सबैलाई देशभक्ति बन्न प्रेरित गर्ने उनको यो पाचौं कृति “ग्रहण नलागोस्” प्रति गौरव छ।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक ३४ – २०६७ आषाढ ३० गते, बुधबार )

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.