~बासु श्रेष्ठ~
कसैलाई केहि गर्न मन लागेन भने ह्या झ्याउ लाग्दो भनेर त्यस कामलाई पन्छाउने बानी मानिसहरुमा बढेको मैले अनुभव गर्न थालेको छुँ । हिजैकोमात्र कुरा हो मेरी श्रीमति टिभि हेरिरहेकि थिईन् । अचानक ह्या झ्याउ लाग्दो भनेर टिभि बन्द गरिन् र एकातिर लागिन् । म मनमनै गुन्न थालेँ यदि टिभि हेर्न या कुनै यस्तै केहिपनि गर्न झर्को मान्ने हो भने त जे गर्नपनि र जेमापनि झ्याउ हुने रहेछ ।
सोचेँ झ्याउ कहाँ छैन मान्ने हो भने । जीवनको इन्धन खाना खानुपनि आफैमा एक झ्याउ हो । यसकोलागी सामल तुमल किन्नु पर्यो | सामल तुमल किन्न यो पसल त्यो पसल गर्नु पर्यो किनभने भनेको सबै सामल एउटै पसलमा पाईदैन । पाएको भए यो झ्याउ नै हुने थिएन । जे होस् किनेको सामल तुमल घरसम्म ल्याउनु पर्यो दुबै हातमा झुण्ड्याएर कस्तो झ्याउ । मोटर गाडी भए त हो, नभए त्यो भारी बोकेर घर र पसलको दूरी हिँडेर तय गर्न कम्ता झ्याउ हुन्छ ? जसरी तसरी घरमा ल्याएको सामल तरकारी खानकोलागी केलाई कुलाई काटि कुटि गर्नु पर्यो | यो पनि झ्याउ हो । आलु भए ताछ्नु पर्यो । यो पनि झ्याउ । सागपात भए केलाएर पखालेर काटकुट गर्न पर्यो | त्यो पनि झ्याउ हो । माछामासु भए त्यसै बमोजिम काटकुट गर्नु आफैमा अर्को झयाउ हो । खाना खाएपछि भाँडा माझ्नुदेखि चुल्हो चौका सफा गर्नु, खाएको थाल हात धुनु, पत्तै नपाईने झ्याउ हो । फेरि खाना खाएको नपचेर पखाला लाग्यो भने अर्को झ्याउ । त्यसपछि औषधि खानु त पर्यो नै । औषधिमूलोले छोए त ठिकै छ नछोए डाक्टरकहाँ नै जानुपर्ने अर्को झ्याउ । अनि डाक्टरले यो गर त्यो गर त्यसकोलागी यहाँ जाउ त्यहाँ जाउ भनेर ठुलो झ्याउलो थपिदिन्छन् । सम्झि ल्याउँदा हामी त झ्याउ नै झ्याउको माझ पो बाचि रहेका रहेछौ । उम्रिरहेका रहेछौ । हे दैव ।
आजै मैले काममा लेखाको हिसाब किताव नमिलेर साह्रै झ्याउ मानेँ । यता केलायो, उता केलायो हिसाबै नमिलेर झ्याउ । यस्सो सम्झेँ एउटा चुरोट खाए केहि आँखा खुल्थ्यो कि ? त्यसमापनि झ्याउले पछ्यायो । ह्या…एउटा जाबो चुरोट खान छ तल्लाबाट त…ल भुँइतल्लासम्म जानु पर्ने र फर्किनु पर्ने सम्झेँ र झ्याउ मानेँ । किनभने आफ्नो अफिसको कोठाबाट एलिभेटरसम्म हिँडेर जाने झ्याउ, एलिभेटर ठ्रयाक्क भेटिए त हो नभए कमसेकम एक मिनेट कुर्नुपर्ने अर्को झ्याउ, बल्लबल्ल एलिभेटर आइहालेपनि कुन तल्लामा जाने भनेर बटन थिच्ने अर्को झ्याउ, चाहेको तल्लामा पुगेपछि लबिबाट बाहिरसम्म हिँडेर जानुपर्ने अर्को झ्याउ । ह्या जान्नँ म भन्दै आफ्नै मेचमा थच्चारिएर बसेँ । तर बस्दा बस्दा अर्को झ्याउ लाग्यो । कति बसिरहनु । चाकपनि दुखेर झ्याउ भईसक्यो । जुरुक्क उठेँ र झ्यालबाट बाहिर हेरेँ । सडकमा एकनासले मोटरहरु ओहोर दोहोर भै रहेको, आकाशमा ल्पेन उडेको र ल्पेनले छोडेको धुँवाको मूस्लो ल्पेनको पूच्छरजस्तो भएको हेर्दा हेर्दा ह्या कत्ति हेर्नु यहि सीन झ्याउ लाग्दो भनेर मण्टो भित्रपट्टि बटारेँ । के गर्ने त ? केहि गर्नै मन लागेन र त्यस्सै झ्याउ लागेर आयो । हिसाब मिलाउँ मिल्दैन अरु केहि गरुँ मनै जादैन । क्या झ्याउ ।
वर्षात याममा पानी परेर कस्तो झ्याउ हुन्छ । कतै स्वाट्ट निस्कनै नपाईने । निस्कन परेमा छाता बोक्नुपर्ने झ्याउ । फेरि छाता अलि ठुलो र बर्षात राम्रैसँग थेग्ने भए त हो । सानो च्याउ जस्तो छाता पर्यो भने त बोक्नुकोमात्र झ्याउ । अनि छाताबाट चुहिएको पानी र छाताले नओगटेको वर्षातको पानी आफ्नो जिउमा परेर लुगा भिजेर निथ्रुक्क बनाउने हुनाले अर्को झ्याउ । फेरि वर्षात भनेको गर्मी याममा नै बढि हुने हुनाले शरीरमा लुगापनि थोरै हुन्छन् । आलु झैँ । एकसरो लुगा लगाएका हुन्छन् मानिसले । त्यसलाई स्वात्त फुकाल्यो भने आलु ताछेको झै मानिस एकाएक नाँगो हुन्छ । जाडो याममा भए जाडोबाट बच्न बन्दाकोभी झै खातका खात लुगा शरीरमा थापेका हुन्छन् । बेलुका घरमा पुगेर फुकाल्ने बेलामा एकपछि अर्को, त्यसपछि अर्को, त्यसपछि अर्को, जसरी बन्दाकोभिको पत्रपछि पत्र आउँछ त्यसैगरी मानवपनि पत्रपत्रैमा पसेको हुन्छ । त्यो पत्र लगाउने र फुकाल्ने काम कम झ्याउ छ ?
तपाई भन्नु होला नचाहिने कुरा नगर । वर्षातबाट बच्न छाता नै चाहिन्छ रेनकोट छैन र ? तर रेनकोट भएपनि त्यो लगाइरहने झ्याउ, गन्तव्यमा पुगेर फुकालेपछि कहाँ राख्ने भनेर ठाउँको खोजी गर्नुपर्ने झ्याउ | त्यसबाट बगेको पानी स्वाल्ल जुत्ताभित्र पसेर मोजा भिजाएर झ्याउ गर्छ भन्ने तपाईले सोच्नै भएको छैन । तर मैले त्यस्तो सोच्ने झ्याउ काम गरेरै फलाकेको हुँ । नचाहिने कुरा नगर्नोस ।
ह्या मलाई त कुरा गर्दा गर्दा झ्याउ नै लागीसक्यो ।
तर के गर्नु झ्याउ मानेर नहुने रहेछ । च्याउ जस्तो छाता ओढेर होस् या आलुजस्तो एकसरो लुगा लगाएर होस् या बन्दाकोभिजस्तो लुगाको खातै खात हालेर होस् जीवन त चाल्नैपर्ने रहेछ ।
हिजो मलाई काममा जान झ्याउ लागेको थियो । सम्झेको थिएँ ह्या कति मोटर चलाउनु । जान एक घण्टा आउन एकघण्टा । फेरि गाडिमा बसेरमात्र हुने हो र ? इन्जिन स्टार्ट गर एक्सिलेटर थिच, दाँया बाँया हेर, अगाडि पछाडि हेर, गति सिमामा छ कि छैन ध्यान पुर्याउ, नत्र कुनामा मामाले राडारमा गतिसीमा नाघेको भेट्टायो भने पुलओभर गरेर टिकट दियो भने अर्को झ्याउ | त्यहि टिकटको आधारमा आफुले सँकलन गरेको ल्पस प्वाइण्टमा ठहरिएको अपराध बमोजिम घाटा हुने झ्याउ | साथसाथै इन्स्योरेन्सको दरपनि आकाशिने अर्को झ्याउ । त्यसकारण गतिसीमामै रहेर गाडि चलाउनु जाति भएपनि गन्तव्यस्थानमा कहिले पुगिने भन्ने चिन्ता लाग्ने हुनाले अर्को झ्याउ ।
झ्याउ भन्ने शब्द जति वैराग लाग्दो छ त्यति नै लेसिलो रहेछ हाम्रो जीवनमा । थाहा पत्तै नदिइ पलापलामा लेउजस्तो टाँसिएको हुँदो रहेछ ।
पोहोर साल टिभि किनेँ । एचडिटिभि किन नकिनेको भनेर छोरो बम्केर झ्याउ मान्यो । उ बम्केको देखेर आफैलाई झ्याउ लाग्यो । किनभने ठुलो उत्साह र हौसलाले टिभि किनेको थिएँ । त्यो भयो भने एकदम सफा टिभि हेर्न पाईन्छ भन्ने उसको तर्क थियो । आजकलको दिनदिनै आउने नयाँ नयाँ प्रविधिसँग उजस्तो म जानिफकार थिईनँ । म किन उजस्तो जानिफकार हुन सकिनँ भन्ने तर्फ सोचेर झ्याउ काम चाहि गरिनँ । फर्काउन लगेँ टिभि र उसैले भनेको जस्तो भित्तामा झुण्ड्याउन हुने एचडिटिभि किनियो । घरमा जोडजाड गर्ने झ्याउ काम उसैले गर्यो । लौ टिभि त फर्काएको टिभि र यसमा केहि फरक रहेनछ । किन त भन्दा केवलबाटपनि एचडिटिभि लिनुपर्ने झ्याउ रहेछ । अनिमात्र पुत्र महाशयले भने झै हेर्न हुने रहेछ । अब केवल कम्पनीलाई फोन गर्ने, एचडिटिभी च्यानल लिने झ्याउ काम गरियो । तर चाहिने भन्दा नचाहिने च्यानलको सूचि हेर्दा आफ्नो झण्डै सुची फुस्केको । तलदेखि माथि, माथिदेखि तल च्यानल सर्च गरेपछि बल्ल चाहेको च्यानल भेटिने हुँदा यो टिभिपनि झ्याउ लाग्न थाल्यो । त्यसैलेपनि हो माथि शुरुमा नै भने झै मेरी श्रीमतिलाई झ्याउ लागेको ।
यो झ्याउलाई पन्छाउन नसकेकोमा साह्रै झ्याउ लागीसक्यो । पोखरीको पानीमा उम्रिने झ्याउ भईदिएको भए उति नै बेला लुतो फाले सरह हुँइयया…. फालिसक्थे हुँला । तर के गर्नु यो त जीवनको पोखरीमा उम्रेको झ्याउ, कताको कसरि फाल्नु । हुन त तपाईलाई पनि यो झ्याउ पढदा पढ्दा झ्याउ लागीसक्यो होला । मलाई पनि झ्याउको कुरा गर्दा गर्दा आफैलाई झ्याउ लागीसक्यो । ह्या…। झयाउ…। ।
(उडब्रिज, भर्जिनीया)
(स्रोत : Khasskhass.com )