जुम्रा सुन्ने वित्तिकै कपाल भुत्ल्याउन मन लाग्दैन ? त्यसलाइ संझिदामात्रपनि दाह्रा किट्न मन लाग्दैन? सायद हामी कोहीपनि जुम्राको बारेमा अनभिज्ञ छैनौ होला छौं त ? हामी सबैलाइ त्यसले कुनै न कुनै उमेरमा सताएको पक्कैपनि होला तर जुम्रो कति दिनमा जन्मन्छ, मान्छेलाइ कति खान्छ,र कतिदिनमा मर्छ थाहा थियो त ?
जुम्राको बारेमा पढनैपर्ने भएपछि मलाइ तपाइहरुलाइपनि अलिकति कन्याउन मन लाग्यो । पढदैजांदा टाउको चिलायो भने मलाइ माफ गर्नुहोला ।
स्कुलमा लिन जांदा छोरीले परैबाटमा “एउटा चिठठी छ तपाइलाइ” भनी । के को चिठठी भनेको “हेडलाइस क्या हेडलाइस” भनी । हेडमास्टरले हस्ताक्षर गरेको एउटा लामो चिठठी हातमा थमाइदिदै मकै पटकेजस्तो पडकिन थाली उ “हेडलाइस एउटा जनावर हो तर त्यो मान्छेको टाउकोमा मात्र बस्छ । मेरो साथीको टाउकोमा आएछ अनि हामी सबैलाइ यो चिठठी पठाएको छ हेर्नु त यस्तो हुन्छ भन्दै” जुम्राको फोटो नै दिइ । कुरा सुन्दा पक्कापनि हेडलाइस भनेको जुम्रा नै हो भन्ने अनुमान गर्दै थिएं त्यसको फोटो नै समातेपछि त जुम्रो कागतबाट उठेर आफनै टाउकोमा पुगेजस्तो गरेर टाउको चिलाउन थाल्यो । जीउपनि चिलाएजस्तो गर्छ हुंदा हुदा खुटटापनि चिलाउन थाल्यो । घर आइपुगुन्जेल सम्ममा शरिरका धेरै भागमा दर्फरयाइसकें मैले । घरमा भए पो तल्लाघरे दिदी अथवा माथ्लाघरे भाउजुसंग कपाल फिजाउदै गएर हेरिमाग्नु । कसलाइ भन्नु र यो शहरी परिवेशमा। छिमेकीलाइ भनौ भने आइज म हेर्दिन्छु भन्नुको साटो बरु पुलिसलाइ बोलाइदेलि मेरो छिमेकीको टाउकोमा जुम्रा छ भनेर, त्यसलाइ पनि भन्न भएन । मनमनै खुब हांस उठयो पनि । के के न होला भनेको त जुम्राका चिठठी… । नाथे जुम्राको बारेमा चिठठी हेर्ने फुस्रद छ मलाइ ? बरु दुइ लाइन मात्र भएपनि ज्ञानगुनका कुरा पढछु नि ? होइन यि मान्छेहरुको दिमाग त कतै सडकिएको होइन ? नत्र अरु केही थिएन त लेख्नलाइ भन्दै अलिअलि झोकिएछुपनि तर हातमा छोराछोरीले लेख नै थमाएपछि खोलेर हेर्नै पर्याे । मन नलागि नलागि भएपनि खोलेंर हेरें ।
जुम्राका पण्डितहरुले जुम्राका चिरफार गरिसकेका रहेछन् । मलाइ मात्र जुम्राका ढाडी चम्कना र लिखा हुन्छन र भेटटाउनसाथ तिनिहरुलाइ मारिहाल्नुपर्छ भन्ने थाहा थियो । यति पनि थाहा थियो कि जुम्राका ढाडी जस्तो लिखा सजिलै कपालबाट निकाल्न सकिदैन ।
लिखा तान्दा कहिलेकाहीं कपाल नै उखेलिएजस्तो भएर टाउको भतभती पोलेको अहिलेजस्तो लाग्दैन ? तर तिनिहरु कतिदिनमा जन्मिन्छन, कतिपल्ट हामीलाइ खान्छन्, कतिदिनमा मर्छन थाहा थियो त ? फेरी जुम्राको नालिबेली किन जान्नुपर्यो र भेटे मारीहाले भइहाल्यो नि भनेर टाउको कन्याउदै हिडको अहिलेजस्तो लाग्दैन ? नुहाउने दिन आएपछि कहां भाग्नुजस्तो हुदैनथ्यो आमाले हप्तैपिच्छे बांसको काइयोमा कहिले लामो दुबो उनेर त कहिले धान काइयोको दांतमा अडकाएर लिखा तानेको सम्झिदा ?
हेड लाइस भनेको जुम्रो नै रहेछ । कति महत्वपुर्ण कुराहरुको अर्थ हेर्न समय पुगेको थिएन नाथे जुम्रालाई जुम्रालाई के भन्लान भनेर संझिने आवश्यक नै परेको थिएन किन हेर्नुपनि र तर छोराछोरीको स्कुलबाटै आएपछि चािहं त्यसको बारेमा हेर्न पर्ने नै भयो मैले । छोरीले जुम्राको जीबन मरणको कुरा मलाइ निकै सिर्यस भएर पढेर सुनाइ । सुन्दै जांदा झनझन दाह्रा किटन थालें । जुम्रो त्यो कागजमाथि टाउको खोज्दै हिडिरहेको छ कि जस्तो लाग्न थाल्यो । चिठठी पढिसकेपछि “मेरो कपाल हेर्दिनु भन्नुभाछ मेरो मिसले” भन्दै कपाल फिजाउदै आइ । मैले केहीपनि भेटिन उसको कपालमा बरु आफैलाइ दरफहरयाइरहें केहीबेर ।
जुम्राको बारेमा पढन पटक्कै मन मान्दैन नपढे छोरीले मारिहाल्छे । बल्लबल्ल मनलाइ बांधेर जुम्राको लेख पढन थालें । बेलाबेलै मन झोकिन्छ , होइन…के नचाहिने काम गरेर समय वर्बाद गरेका होलान यि विदवानहरुले खोजिनिति नै गर्नुछ भने जुम्राबाहेक अरु केही छैन कि क्या हो यो संसारमा कुकुरको विरालोको बारेमा त पढदै थिएं अब हुंदा हुंदा जुम्राको बारेमापनि पढन पर्ने भयो मैले ? भन्दै । लेख पढुन्जेल रिसको पारो बढदै घटदै गरिरहयो । पारो घटेको बेला फेरी सोचें पक्कैपनि यिनिहरुलाइ जुम्राले कुनैबेला सताएको हुनुपर्छ नत्र कसरी लेखे त ? निक्र्योल निकाल्दैथिएं छोरीले “के सोचेर बस्नुभाको यो पनि पढनु” भनेर अरु २ पन्ना पो ल्याएर दिइ ।
अमेरिकाको नाम चलेकेा हार्बड बिश्वबिद्यालयमा जुम्राको बारेमा राम्रैसंग अनुसन्धान भएको रहेछ । दुइ तीनवटा संस्थाले जुम्राको चिरफारपनि गरेका रहेछन । धेरै कुराहरु थाहा पाएकै भएपनि साच्चै जुम्राको बारेमा लेखेको कुरा पढेकी थिइन मैले । विदवानहरु भन्दै थिए-
“जुम्राहरु मात्र हिडेंर एउटा मान्छेबाट अर्को मान्छेमा पुग्छन । एउटै ओछयान काइयो लुगा टोपी सिरानी हुंदा जुम्रालाइ एक ठाउंबाट अर्को ठाउंमा सर्न सजिलो हुन्छ । तिनिहरु मान्छेहरुको भींडबाट, लुगाको थुप्रोबाट एक अर्कोमा सजिलैसंग सर्छन” । उनिहरुले जुम्रा र तिनिहरुको अण्डा कुसर्ीमाथि ओछयाइएको कपडामा गलैंचामा र कारको सीटमा बस्न सक्छन भन्दा मैले हामीले ओछयाउने गरेको गुन्द्री, कुसर्ीमाथिको चकडी र बसको घुइचोमा जोडिएका टाउकालाइ संझिएं । जुम्रा गाडी पाए त झन धेरै कोस हिडेर नयां टाउका खान जांदा रहेछन नि हगी ? पढदै जांदा रिसले मुर्मुरिन्छुपनि आफुले पैसा तिरेर जुम्रालाइपनि संगसंगै हिडाउनुपर्ने कुरा संझिएर । गांस, वास, कपास सबै सुबिधा कपालमा पाउनेरहेछन उनिहरु किन नहिडुनपनि र होइन? मान्छे वर्षौ भयो जुलुस बोकेर िहंडेको त्यसैको लागि । आफनो भएभरको श्रम बेच्दापनि अझै न सबैले पेटभरी खान पाएका छन, न राम्रो वास पाएका छन, न त नच्यातिएको लुगा लगाउन पाएका छन् तर जुम्राले भने उनिहरुका आधारभुत आवश्यक्ता सबै पाएका रहेछन । त्यसो त हामी मान्छे भेटन जांदारहेछौं जुम्राहरु नयां नयां टाउको खान जांदारहेछन । बास्तबमा मान्छे त जुम्राका घोडा पो रहेछन । जुम्राले टोकेर हटहट गरेपछि मान्छेलाइ नकुदेर सुख र चिलाएको रनाहालाइ मार्न ? मान्छे जति कुदयो जुम्रो मान्छेसंगै त्यति नै टोक्दै कुददोरहेछ । नयां ठाउमा नयां टाउको भेटे खाइपनि हाल्दारहेछन न लाज न संकोच न डर उसलाइ ।
सरसफाइमा अलि ध्यान दिन सके हटाउनपनि सकिनेरहेछ जुम्रो तरपनि परिवारका सदस्यहरु आमा, दिदी, भाउजु, हजुरआमा, माइजुले मायां गरेर सुताउंदा जुम्रापनि मायां गरेरै एउटा टाउको टोकेर
अर्को टाउको टोक्न सर्दारहेछन । एउटै ओछयान भएपछि जुम्राका पुलहरुनै जोडिएका टाउकाहरु हुदारहेछन । तिनै टाउका जोडेर सुतेपति कति मज्जा त उनिहरुलाइ एउटा टाउकोबाट अर्कोमा तर्न र सर्न ।
जुम्राका ढाडी त काला मात्र देखेकी थिएं मैले । तिनिहरुलाइ निदयाएर हेर्ने फुस्रदपनि थिएन तर यि बिदवानहरु जुम्राको शरिरको धेरै भाग सेतो र थोरै कालो हुन्छ भन्छन । ६ वटा खुटटा भएको त्यो जनावर उज्यालोमा धेरै छिटो हिडने भएकोले मुस्किलले मात्र भेटिन्छ रे । एउटा मान्छेको टाउकोमा २८ देखि ३० दिन सम्म बांच्छ रे । सबैभन्दा धेरै रिस उठने कुरा चाहि जुम्राले दिनको ५ पटकसम्म मान्छेलाइ खान्छ रे अर्थात
मान्छेको रगत खान्छ रे । हिसाब गरौ त ३० दिनमा टाउकाभरीका जुम्राले कति खांदारहेछन मान्छेलाइ । त्यो कुरा सुन्दामात्रपनि दाह्रा किटन मन लागेन ? त्यो सम्झदा जुम्रामाथि दया पलाउछ त ? फेरी कति चािहं ज्याद्रो रहेछ त त्यो कपालबाट खसेको २४ देखि २८ घण्टासम्म टाउको खोजेर हिडछ रे । त्यति बस्दापनि टाउको भेटेन भने मात्र मर्छ रे । वास्तबमा जुम्रा र हाम्रो नारा एउटै रहेछ नि । हामी स्वस्थ खाना खानुपर्छ भन्छौं, उनिहरुपनि मान्छेले नभेटाएसम्म स्वस्थ टाउको खानुपर्छ भन्दारहेछन ।
जुम्राको अण्डालाइ लिखा भन्थ्यौ हामी अंग्रेजीमा निट भन्दारहेछन । लिखा यति साह्रो टासिएका हुन्छन कि चुम्बक त के कडा हुन्छ होला र । तिनिहरुलाइ निकाल्न यति गाह्रो हुन्छ कि कपाल बाट भनेर के साध्य छ र । सजिलै आउने भए त्यति निर्दयीपनि हुदैनथ्यो होला मान्छे तर बांसको काइयो त्यसैपनि कपाल कोर्दा दुख्ने त्यसमाथि धान अडकाएर तानेपछिमात्र क्रेनले ढुंगा तानेजस्तो त्यो काइयोले लिखा तान्थ्यो कपालबाट । त्यो दुखाइ सम्झदा त्यसलाइ नमारे कसलाइ मार्नु र होइन ?
जुम्राले कपालको जरैमा लिखा पार्दोरहेछ । कपाल संगसंगै लिखाहरुपनि बढदारहेछन र ७ देखि १० दिनभित्रमा फुटेर चम्कना भएपछि लिखा मर्दारहेछन । पढदै जांदा झनै अचम्म लागेर आयो जुम्रालाइ महत्व दिएको देखेर । दुख दिने वस्तुको जरैमा पुगेर उखेल्न सके फेरी आफुले दुख पाउन पर्ने रहेनछ तर हामी कसलाइ फुस्रद थियो र जुम्राको अपरेसन गर्न । टाउको चिलाएर उखरमाउलो हुंदा आमाले नभ्याए ठुलीआमा नत्र माइजुकहां कपाल फिजाउदै गए भइहाल्थ्यो । त्यतिमै मात्र सिमित हुँदा त जुम्राले स्थाइ घर नै बनाएका हुंदारहेछन नि मान्छेको टाउकोमा । खोलाले हाम्रो घर बगाउंदा, पहिरोले हाम्रो घर पुर्दा, आगोले गाउं नै जलाउंदा, हामी सिकिस्त विरामी हुंदा के फरक पर्यो र जुम्रालाइ हामी खोलामा नबगेसम्म, हामी पहिरोले नपुरिएसम्म, घरसंगै हामी नजलेसम्म र हामीले संसार नछोडेसम्म ।
नर्थक्यारोलाइन, अमेरिका, १८ जुलाई
(स्रोत : Nepalipost.com )