लेख : दलहरू मौजाजस्ता, नेता मौजावाल

~खगेन्द्र संग्रौला~Khagendra Sangraula

चुनावी संग्रामपछि समानुपातिक कोटाको अंशबण्डाको याम छ । लक्षण भन्छ– यो याम बडो खराब छ । यसले मलाई हुकुमप्रमाङ्गीमा चल्ने राणा–शाह शासनको याद दिलाउँछ । यो याद झुर छ । समानुपातिकको अंशबण्डाको सामन्ती चरित्र देख्दा नाथे दलहरू मलाई मौजाजस्ता लाग्छन् । र, यी दलका तीघ्रे नेताहरू मौजावाल सामन्तजस्ता । दल नामक तीन ठूला मौजामा ती तीन–तीन थान मौजावाल छन् । यी नवैजना बाहुन–क्षेत्री जातका हुन् ।

यिनका नाम भनिरहनु पर्दैन, दुनियाँलाई यसै कण्ठ छ ।
कुरो कांग्रेसी मौजाबाट थाल्छु । जब समानुपातिकमा नाम किट्ने बेला आयो, कांग्रेसी मौजामा मारामार सुरु भइहाल्यो । माउ मौजावाल सुशील दाले सांकेतिक भने, ‘म परेँ कोइराला वंशको उत्तराधिकारी । हिङै नभए पनि हिङ बाँधेको टालो म । मलाई साठ्ठी प्रतिशत सिट चाहिन्छ ।’ बाबुसाहेबी मिजासका जण्ड मौजावाल शेरबहादुर देउवा के कम ? चश्मा मिलाउँदै तिनले ख्याँस्स दाबी गरे, ‘म…म..म…मलाई चालीस प्रतिशत ।’ सुस्त मौजावाल रामचन्द्र पौडेल फुत्त अघि सरे । र, ठ्याँस्स नाक बजाउँदै मगन्ते बोलीमा तिनले पनि भने, ‘म पनि त कोही हुँ । भागै लगाउने भए मलाई तेत्तीस प्रतिशत ।’ बस्, कांग्रेसी मौजामा बबाल भयो । दिनभरि बैठक, रातभरि बैठक । बैठक भन्नु नै के छ, नेता त्रय भनिने बनियाँ टाइपका मौजावाल त्रयको सुनिनसक्नु दन्तबजान छ । आखिरमा सुस्त रामचन्द्र थाकेर रुँदै पछि हटे । सुशील दा र देउवाले कांग्रेसी मौजामा एकाधिकार कायम गरे । र, तिनले मौजाका लोभी–पापी मालिकले भैmँ साठ्ठी–चालीसको हिसाबले अंशबण्डा गरे । आपूmलाई सबैभन्दा पुरानो र सबैभन्दा प्रजातान्त्रिक ठान्ने दलको ताल हो यो ।

हुन पनि कांग्रेसी मौजामा गाईजात्रै भयो । सुशील दाले सबैभन्दा पहिले सुजातालाई सिट कृपा गरे । उनै सुजातालाई जसको कूल योग्यता भन्नु नै बाबुकी छोरी हुनु हो । यी प्रिय छोरीको न खासै ढङ्ग छ न उतिराह्रो सोमत छ । यिनको राजनीतिमा न कुनै योगदान छ, न त राजनीतिलाई यिनको खाँचो छ । तर के लाग्छ, मौजावाल सुशील दाले यिनका नाउँमा हुकुमप्रमाङ्गी ठोकिदिए । र, कोइराला वंशकी भाग्यमानी छोरी सुजाताको तालुमा आलु फल्यो । उता मौजावाल देउवा काजी के कम ? मौजाप्रमुख सुशील दाको सिको गर्दै तिनले आर्जु देउवालाई समानुपातिकको लाभदायक पूmलमाला पहिराइदिए । उनै आर्जुलाई जो देउवापत्नी हुन् र राजनीतिमा जसको कूल योग्यता भन्नु नै भाले देउवाकी परम्प्रिय पोथी हुनु हो । उता पिताकी पुत्रीलाई सत्र प¥यो, यता भालेकी पोथीलाई मोज भयो । यो कांग्रेसी मौजाको तमासा हो । सिट बाँड्दै जाँदा थुप्रै चतुर चैते कांग्रेसी र पैसे कांग्रेसीहरूले सिट बजाए, बरा दलका लागि दलिएका र दुःख पाएका कांग्रेसीहरू लाटाले केरा हेरेभैmँ हेरेका हे¥यै भए ।

अलि वर्षअघिको कुरा हो । माक्र्सवादी पुरोहित भनिन लायकका कमरेड रोहितले भाइ कांग्रेस भनेर ट्याक्क एमालेको नयाँ नाम जुराएका थिए । वास्तवमा जस्तो काम, उस्तै नाम हुने न हो । म अब त्यही बृद्धोन्मुख एमाले नामक मौजाको भागबण्डाको कथा भन्छु । आखिर दाजुको भाइ न हो । समानुपातिकको मामिलामा भाइको कथा दाजुकोसँग ठ्याक्कै मिल्छ । प्रमुख एमाले मौजावाल झलनाथ खनालले प्रतिकात्मक भाषामा भने, ‘म पार्टी अध्यक्ष हुँ । अतः समानुपातिकको भागबण्डामा मलाई भूँडे भाग चाहिन्छ ।’ झलनाथवाणी सुनेर मौजावाल माधव नेपाल सनक्क सन्किए । र, तिनले रन्किँदै भने, ‘उसोभए मलाई पनि भूँडे भागै चाहियो ।’ कागका फुल चोर्लान्जस्ता केपी शर्मा ओली किन चुप लागुन् ? तिनले पनि प्वाक्क मुुख फोरे । र, ख्वाक्क खोक्दै भने, ‘मलाई पनि भूँडेइ भाग ।’ एमालेका तीन मौजावालमाझ वचनवाणको हुनुसम्म हानाहान भयो । अनि ती भागवण्डा मिलाउन रानीवनमाझ कतै एकलासमा गए । आखिर मौजावाल सामन्तको मति न हो । कुरो नमिलेर तिनको नीद हराम भयो । र, आखिरमा बनियाँ शैलीमा तिनले तेत्तीस प्रतिशतका दरले सिट बाँडे । र, सिटमा तिनका आफ्नाहरू परे, तिनका गुटकाहरू परे, तिनका धुपौरेहरू परे, तिनका रकमदाताहरू परे । परिवर्तनका लागि जो ज्यान हत्केलामा राखेर लडेका थिए, जसका टाउका फुटेका थिए, जसका घर बिग्रिएका थिए, जसले पार्टीलाई आफ्नो यौवन र जीवन सुम्पिएका थिए, त्यस्ता धेरै ट्वाँ परेर हेरेका हे¥यै भए । पटक–पटक लाभका पदमा बसेर जसले सम्पत्ति थुपारेका थिए, फेरि तिनै नवधनाड्यहरू पुरस्कृत भए । जो पहिले तिरस्कृत भएका थिए, ती अहिले पनि तिरस्कृतै भए ।

अनि आपूmलाई कत्ति न क्रान्तिकारी र समाजमुखी ठान्ने एमाओवादी ? भन्नुमात्र हुँदैन, एमाओवादीमा पनि मौजावाल मनोवृत्तिले यसपाला कुरूप नृत्य देखाएरै छाड्यो । यसो सुन्दा समानुपातिकको एमाओवादी मानक मलाई ठीकै लागेको थियो । जो पहिले लाभका पदका बसिसके, यसपाला तिनलाई लाभका पद किन दिने ? जो नयाँ हुन्, जो सीमान्तकृत हुन्, जो संघर्षशील हुन्, जो त्यागी हुन्, जो कीर्तिमानी वीर–वीराङ्गना हुन्, जो शहीद र बेपत्ता परिवारका पीडितहरू हुन्, मौका त तिनले पो पाउनुपर्छ । कुरो ठीकै थियो । नभन्दै रोजिएका नाम हेर्दा मलाई त्यसमा त्यही मानकको झल्को आयो पनि । तर, बाबु र काजी नामका दुई एमाओवादी उपाध्यक्षले रडाको मच्चाए । तिनको त्यो रडाकोमा उही मौजावाल सामन्त बोल्यो । ‘मलाई…मेरा मान्छेलाई…मेरो गुटकालाई…।’
यी ठूला भनिने तीन दलका मौजावालतुल्य लाठेहरूको यो गाईजात्रा बयस्क मतदाताका अमूल्य मतको उग्र दुरूपयोग हो । यो राणाशाही र शाहशाहीको स्वेच्छाचारी हुकुमप्रमाङ्गीको प्रेतावतारको आतङ्क हो ।

अब मधेशतिर झरुँ । मधेश यसै पनि नौटङ्की नाटक मञ्चन गर्ने सांस्कृतिक भूगोल हुँदै हो । उक्त भूगोलमा समानुपातिकका नाउँमा गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो नौटङ्कीको मञ्चन भयो । दल नामक मौजाका तीन थान मौजावाल भालेले आफ्नै पोथीलाई सप्रेम समानुपातिकको बक्सिस प्रदान गरे । अहो ! यी करिबन लाज पचेका भालेका नाम भन्न पनि मलाई लाज लाग्छ । तर के लाग्छ, विडम्बनायुक्त जीवनमा कटु सत्य त भनिनै पर्छ । यी अतिशय पोथीप्रेमी भाले हुन्– सद्भावना पार्टीका मूली भाले राजेन्द्र महतो, गणतान्त्रिक फोरमका नाइके भाले राजकिशोर यादव र संघीय सद्भावनाका थेत्तरा भाले अनिल झा । यिनको ताल देख्दा यस्तो लाग्छ मानौँ दल भनेको यिनको कोठेबारी हो, र समानुपातिकको सिट भनेको यिनका कोठेबारीमा फलेको सेतो मूला हो । मूला उखेल्यो, जसलाई मन लाग्छ उसलाई तजबिजी काइदाले बाँड्यो ।

गणतान्त्रिक चुनावमा समानुपातिकको व्यवस्था गरिनुको अभिप्राय वास्तवमा साँच्ची नै उदात्त थियो । समानुपातिक सिट अशक्तका लागि थियो । त्यो प्रत्यक्षमा चुनाव लडेर जित्न नसक्नेका लागि थियो । उत्पीडित महिलाहरूका लागि थियो त्यो । त्यो अछूत भनेर जात काडिएका दलितहरूका लागि थियो । त्यो हेपिएका मधेशीहरूका लागि थियो । त्यो भाषा, संस्कृति र पहिचान हरण गरिएका जनजातिहरूका लागि थियो । विपन्न, पददलित र वञ्चितहरूका लागि थियो त्यो । त्यो आफ्नै सामथ्र्यले जीवनको कठोर प्रतिस्पर्धामा उत्रिन नसक्नेहरूका लागि थियो । पछि परेकाहरूलाई सहारा दिएर उठाउनका लागि थियो त्यो । तर व्यवहारमा भयो के ? त्यो त गाँठ्ठ्, मौजारूपी दलका मौजावाल ठालुहरूकै लागि पो भयो !

बिडम्बनावश, समानुपातिक त्यस्तो रोग हुन गयो जसले राजनीतिमा विचार र सिद्धान्त तथा आदर्श र उत्सर्गको गलो निमोठ्ने खतरा उत्पन्न भयो । यो त दलहरूका मौजावाल ठालुहरूको चाकरी र चुक्ली, पाउलागी र जदौ, दलाली र कमाउको भाँडो पो हुनपुग्यो । यही चाल हो भने राजनीतिमा योग्यता र क्षमता, लगन र योगदान, इमान्दारी र उत्सर्ग, प्रतिबद्धता र समर्पण केही पनि नचाहिने भयो । दलहरूभित्रका विचारवान् र त्यागीहरू यसबारे के भन्दा हुन् ? पहिले समाजलाई त्यसपछि मलाई भन्ने उच्च आदर्शका संवाहकहरू राजनीतिको सरुवा रोगबारे के गम खाँदा हुन् ?

(स्रोत : Namastenepalnews.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख - समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.