~रवीन्द्रनाथ टैगोर~
अनुवादक : ज्योति पौडेल
बादल गर्जिरहेछ, घनघोर पानी परिरहेछ,
नदी किनारमा एक्लै छु, मन साह्रै उदास छ,
बिटाका बिटा धान काटिसकिएको छ,
नदीको भेल डरलाग्दो गरी उर्लँदै छ,
धान काट्ता काट्तै पानी अझै बर्सिंदै छ ।
सानो खेतको टुक्रा, त्यहाँ मात्र म,
नदीको भेल चारैतिर मडारिँदै उर्लंदो छ,
टाढा किनारामा मसिले कोरेजस्तो देखिने रुखका छायाँहरु,
तुवाँलोले ढाकेको विहानीले सजिएको गाउँ,
वारिपट्टि मात्र म, सानो खेतको छेउमा ।
को आइरहेछ किनाराछेउ गीत गाउँदै, डुङ्गा खियाउँदै,
उनलाई चिने चिने झैं लाग्छ,
पाल फैल्याउँदै डुङ्गा मस्तसङ्ग चलिरहेछ, उनी एक टक लगाएर हेर्दै छिन्,
हार मानी लहरहरु डुङ्गाको दुवैतर्फ छचल्कदै छन्,
म हेरिरहेछु, लाग्छ उनलाई पहिले कतै देखेको छु ।
भन न तिमी कुन देशमा जाँदै छ्यौ,
केही छिनका लागि डुङ्गालाई किनारा लगाऊ,
अनि जहाँ जानु छ जाऊ जसलाई दिन चाहन्छ्यौ देऊ,
तर यसो हाँसेर एक छिन किनारातिर आऊ,
फर्कने बेला मेरो सुनौला धान लिएर जाऊ ।
लैजाऊ, जति डुङ्गामा भर्न सक्छौ भर,
अझै छ कि ? छैन केहि बाँकी मैले सबै भरिदिऐं
नदी छेउको मेरो अथक परिश्रम,
बिटाका बिटा लगाएर डुङ्गामा राखिदिएँ,
अब दया गरेर मलाई पनि डुङ्गामा चढाएर लैजाऊ ।
ठाउँ छैन ठाउँ छैन, यो डुङ्गा धेरै सानो छ,
सुनौला धानले डुङ्गा अब पूर्ण भइसक्यो,
वर्षात्को आकाशमा बादल यताउति घुमिरहेछ,
सुनसान नदी किनारामा म मात्र बाँकी छु,
मसङ्ग जे थियो त्यो पनि स्वर्णिम डुङ्गासंगै गयो ।
(यो कविता कवि रवीन्द्रनाथ ट्रगौरको १५०औं जन्म जयन्तीका उपलक्ष्यमा बङ्गलादेशी स्थायी नियोगद्वारा जुन ५, २०११ मा न्युयोर्कमा आयोजित समारोहमा वाचन गरिएको थियो ।)
(स्रोत : INLSNY)