~विश्वराज अधिकारी~
गीता दिदीकहाँ म बेला बेलामा जाने गर्दछु। वहाँसँग कुरा पनि निकै मिल्ने गर्छ, मेरो। उमेरमा म भन्दा केही महिना कान्छि भएता पनि मैले वहाँलाई दिदी भन्ने गरेको छु। त्यसो भन्नुको कारण पनि छ र त्यो हो दिदीको वौद्धिक व्यक्तित्व- स्वतन्त्र, स्वावलम्वी र आत्मविश्वासको सम्मिश्रण। त्यहि व्यक्तित्वले होला दिदीका विदेशमा बस्ने छोरा छोरीहरुको परिवारमा अटाउन सक्नु भएको छैन, वहाँ । पचास पचपन्नको उमेरमा पनि एक्लै बस्नु हुन्छ,
यतै, यति ठूलो घरमा। वहाँको पति परलोक गएको पाँच छ वर्ष जति भयो र यो पाँच छ वर्षमा विदेशिएका सन्तानहरुले पच्चिसौं पटक बोलाए, त्यतातिर बस्न आउनु भनेर तर दिदी जानु भएन, विदेश। पिपलको रुख झै, झनै भूँइमा गाडिएर, झांगिएर बस्नु भएको छ, एक्लै भए पनि। हुन त वहाँको यो पाँच तल्ले घरमा सबै भन्दा माथिल्लो तल्ला मात्र राख्नु भएको छ, आफ्नोलागि, बाँकी सबै तल्लाका कोठाहरु भाडामा छन्, टनाटन भरिएका छन् पनि। यति धेरै मानिसहरु वहाँको घरमा बसेका छन् कि लाग्छ कुनै गाउँको सानो एउटा टोल नै हो यो घर। जे होस यो काठ जस्तो निर्जिव काठमाडौ शहरमा एक किसिमले गुन नै लगाउनु भएको छ, घर भाडामा बस्न खोज्नेहरुलाई, यो दिदीले, ठूलो घर बनाएर। तर पैसाका लागि भने अति चाम्री हुनु हुन्छ, यी दिदी। वहाँ बसेको तल्ला पनि सम्पूर्ण रुपमा प्रयोग गर्नु भएको छैन, एक किसिमले भन्ने हो भने। एउटा केटोलाई राख्नु भएको छ, पोसपुत जस्तो गरेर। त्यो तल्लाको एउटा कोठा दिनु भएको छ सुत्न बस्न त्यो केटालाई छुट्टै, तर भान्सा भने एउटै छ। त्यो केटाले पनि वहाँको भान्सामै खान्छ। पकाउने तुल्याउने पनि दिदीले नै गर्नु भएको छ, कुनै सहयोगी राख्नु भएको छैन। दिदीको मुठ्ठी अलि कस्सिएको छ। जथाभावी खर्च गर्नु हुन्न। त्यसैले त त्यो केटालाई बस्न सित्तैमा दिएता पनि खानाको पैसा लिनु हुन्छ, ऊ सँग। दिदीको बानी कौडी कौडीको हिसाब गर्ने भएता पनि, त्यो केटाको लागि भने अचम्मसँग आर्थिक उदारता देखाउनु भएको छ, पत्याउन गार्हो हुने गरी।
हिजो, धेरै दिन पछि दिदीलाई भेट्न गएको थिएँ, निकै चिंतित देखिनु भएको थियो। सोधेको त चिंताको कारण भन्नु भयो ‘हेर न श्याम, त्यो केटा जसलाई मैले आफ्नै तल्लामा राखेको छु नि, निरज क्या, पाँच दिन देखि गायब छ, घर आएको छैन। किन त्यसरी केही खबर नगरेर हिंडेको होला? केटा केटी होइन, बीस बाईस बर्षको लक्का जबान हो। कतै हराउने कुरै भएन। पढे लेखेको केटा, त्यो पनि उच्च शिक्षा हासिल गरि रहेको। घरमा खबर गर्नु पर्छ भन्ने ज्ञान त अवश्य पनि होला नि। होइन त, श्याम?’
दिदीले थप्नु भएको थियो ‘त्यस्तो गरी, आफ्नो छोरा जस्तो गरेर राखेको थिएँ, कुनै भेदभाव नगरी, किन बटारिएको होला त्यो केटो? बुझ्न सकेको छैन, मैले। अझै मैले भनेको पनि थिएँ उसलाई। तिमीलाई पैसाको खाँचो छ भने खानाको पैसा न दिए पनि हुन्छ। जागिर पाए पछि दिनु। अहिलेलाई दिनु पर्दैन। त्यति मात्र हो, उसलाई मेरो कोठामा आउन, टि भी हेर्न, सि डि प्लेयरमा कुनै फिल्म लगाउन, मेरो फोन प्रयोग गर्न समेत पनि छुट दिएको थिए। परेको बेलामा मेरो बैठक प्रयोग गर्न न हिचकिचाउनु भनेको थिए। यति धेरै गर्दा गर्दै पनि, किन मैले लगाएको गुन बिर्सेको होला, त्यसले? छोरा छोरीले मलाई विदेशबाट फोन गर्दा उनीहरुलाई भन्थे निरजसँग पनि कुरा गर, है। यिनी पनि तिमीहरुको दाजु भाई जस्तै हुन, अरु भाडामा बस्नेहरु जस्तो व्यवहार न गर्नु निरजसँग। कुनै भेद नगर्नु, यस्तो उस्तो। सके उतै पढ्ने व्यवस्था मिलाई दिनु, यताको, क्याम्पसको पढाइ सकिए पछि। निरज पनि अमेरिका जान्छु भन्छन्, उनलाई पनि रहर छ, त्यता जाने। तिमीहरुले सहयोग गर्नु पर्छ, उनलाई। क्यालिफोर्निया बस्ने छोरालाई, त्यहाँको कलेजमा निरजलाई भर्ना गराउन सहयोग गर्नु है भनेको थिएँ। उसले हुन्छ भनेको थियो। यति गर्दा गर्दै पनि किन हिंडेको होला, निरज, त्यसरी, कुनै माया मोह न भए झै गरेर, चना पखालेको झै पारेर। किन होला बोकोको मुखमा कुभिण्डो नअटाएको, हँ श्याम?’
दिदीले अझै थप्नु भएको थियो ‘यति असल स्वभावको छ निरज कि वयान नै गर्न सकिंदैन, कुनै यस्तो उस्तो शंका गरौ भने। नराम्रो स्वभाव भनेको केही छैन। चुरोट, रक्सी केही खाँदैनन्। न त साथीहरुसँग अल्लारिएर, बरालिएर नै हिँड्छ। न त दस थरिका साथीहरु नै ल्याउँछ, मैले कोठामा साथी नल्याउनु नभनेता पनि। कहिले काही एक दुइ जना साथी ल्याउँछ, त्यो पनि पढैयाहरु मात्र। घण्टौ पढाइको कुरामात्र गर्छन, कोठामा गफ गर्दा। जुन बेला पनि पढ्नमा नै मन गर्छ, कोठामा एक्लै भएता पनि। भन्छ एम बि ए गर्छु, पि यच डि गर्छु, विदेशको कुनै प्रख्यात विश्वविद्यालयबाट। पढ्नमा यति ब्यस्त हुन्छ कहिले काहिँ कि मैले नै चिया पुर्याइ दिनु पर्छ उसको कोठामा, खाना खान आउ भन्नु पर्छ। यति असल मान्छे के भएको होला?’
यति भनेर दिदी एक छिन चुप लाग्नु भएको थियो। तर फेरि तुरुन्त प्रश्न गर्नु भएको थियो ‘के कारण होला, श्याम? किन त्यसरी हराएको होला निरज, हँ? कि उसको घर, कलेजतिर खोज खबर गरौ?’
मैले दिदीलाई भनेको थिएँ ‘आफ्नो सन्तान झै गरेर राख्नु भएको केटा त्यसरी खबर नै नगरी हिंडेको देख्दा मलाई पनि आश्चर्य लागेको छ। यस्तो उस्तो कतै केही भएको भए, खबरमा आउने थियो होला त्यो घटना बारे। कसैले पैसाको लागि उसको अपहरण गरेको होला भनौ भने अपहरण गर्नेले उसको घरमा, उसका बाबु आमालाई वा दिदीलाई नै पनि अवश्य फोन गर्थ्यो होला। हुन त यस्तो गरिबलाई कसले अपहरण गर्ने? अपहरण गर्नेले केही पत्ता लगाएर नै अपहरण गर्छ, हावाको भरमा अवश्य पनि गर्दैन। कसैले कुनै किसिमको रीस इविले केही गर्यौ कि भनौ भने आँखामा राख्दा पनि नबिझाउने स्वभावको छ, त्यस्तो भलादमी केटा कसरी कसैको शत्रु हुन सक्छ, हैन त दिदी?’
आज, केही छिन पहिले मैले दिदीलाई फोन गर्दा, निरजको केही खबर छ कि भनी सोध्दा, वहाँले भन्नु भएको कुरा सुनेर भने अहिले निकै अलमलमा परेको छु, म। दिदीले भन्नु भयो ‘निरज त्यसरी हराएको घटनाले मलाई चिंतित पारेको तथ्य त तिमीलाई थाहा नै छ। यसै मेसोमा आज दिउँसो म निरजको कोठामा पस्दा एउटा खाम देखें उसको ओछ्यानमा। हुन त निरज घरमा नआएको छैठौ दिन भइ सक्ता पनि म उसको कोठामा पसेको थिन, केवल झ्यालबाट हेरेको मात्र थिए, कोठाको ढोका केवल बाहिरबाट बन्द मात्र गरेको, ताल्चा नलगाएको भएता पनि। भाडामा बस्नेहरुले कति भने मलाई निरजको कोठा भित्र पसेर हेर्नुस भनेर तर म पसिन, यो भन्दा पहिले। निरजले ओछ्यानमाथि राखेको खामको बाहिर घर पट्टि भनेर लेखिएको थियो। घर पट्टी भनेर लेखिएको हुनाले मैले त्यो खाम उठाएँ अनि खोलेर पढे। खाममा लेखिएको छ- म हजूरलाई के भनेर सम्बोधन गरौ। मसँग त्यस्तो उपयुक्त शब्द छैन, हजुरलाई सम्बोधन गर्ने। हजुरले दिनु भएको ममत्व र प्रेमको लागि पनि म अति नै आभारी छु। तर मेरो एउटा ठूलो समस्या छ। त्यो ठूलो समस्याले गर्दा, म हजुरले त्यति बढी स्नेह र सुविधाहरु उपलब्ध गराउँदा पनि बस्न सक्ने स्थितिमा छैन, त्यहाँ। यसका लागि मलाई माफ गर्नु होला। हुन त मैले यो पत्र लेख्न पनि कुनै आवश्यक थिएन। म हराउनु त्यता नआउनुको कारण बताउनु पनि आवश्यक थिएन। तर हजुर जस्तो ममाथि उपकार गर्ने व्यक्तिलाई अलमलमा राख्नु मैले उचित सम्झिन र मेरो नैतिकताले दिएन पनि। हजूरले मलाई कुनै कुरामा मेरो मन दुखाएर म त्यहाँबाट हिंडेको भ्रम हजूरमा पर्न सक्छ र हजुर जस्तो असल व्यक्तिलाई म त्यस्तो भ्रम वा पश्चातापको स्थितिमा राख्न चाहँदिन पनि। साथै हजुरलाई मैले सत्य कुरा भन्नु मेरो दायित्व पनि ठान्दछु। त्यसकारण म यथार्थ कुरा भन्न विवश छु। म बिना कुनै नाता सम्बन्ध, कुनै महिलासँग यसरी घनिष्ट सम्बन्धमा, लामो समयसम्म बस्न सक्ने स्थितिमा रहन सकि रहेको छैन, जति सुकै प्रयास गरेता पनि। भिष्म प्रतिज्ञा गरेता पनि। त्यसैले आगो तेलदेखि पन्छिएर बसे झै पन्छिएर बस्न खोज्दै छु। आशा छ, मेरो समस्या बुझ्नु होला। मलाई माफ गर्नु होला।’
अहिले म, निरजले, गीता दिदीका लागि पत्रमा लेखेका शब्दहरुको अर्थ लगाउनमा तल्लिन छु।
br2063_adhikari@yahoo.com
हाल: नोरमेन, ओक्लहोमा
(स्रोत: KhassKhass.com)