~रारा नेपाल~
उफ ! म माथि यो कस्तो धर्म संकट आइलाग्यो? मेरो यो पीडालाई जो कोहीले शायद बुझ्न सक्ने छैनन्। मन र भावना एकातर्फ ज्यान अर्को तर्फ राखेर बाँच्नु पर्ने यो कस्तो अवस्था? सिरमा सिन्दुर बल्खुको छ – मनभरि मायाँ पेसिश डाँडाको। मेरो अवस्थाको मर्मलाई बुझेरै होला पेरिस डाँडाका माऊ कामरेडले मलाई नयाँ नाम दिनु भएको थियो – कामरेड विभिषण।
विभिषणको नामबाट विभूषित भैसकेपछि मैले जे गर्नु पर्ने थियो त्यो गरिरहेकै छु। कामरेड विभिषण, यो मेरो लागि निकै प्रिय नाम भएको छ र मैले सकेसम्म नाम अनुसारकै काम पनि गरिरहेकै छु। सकेसम्म त मैले ढाक्ने प्रयत्न गरेकै हो तर पनि मेरो कर्तव्यको भेद क्रमशः खुल्दै जान थालेको छ। भेद खुल्न थालेपछि मलाई गिल्याउने र बिल्ल्याउने क्रम पनि बढ्न थालेको छ। त्यति मात्र होइन बल्खु दरबारमा मेरो हुर्मत लिने प्रयत्न पनि गरियो। मलाई गल्ती गरे भनेर कान समात्न निर्देशन आयो। तर मैले काम किन समात्ने? कान समात्नको लागि त मैले गल्ती गरेको हुँ भन्ने मलाई लाग्न पर्र्यो नि | मैले जे गरे त्यो कुनै गल्ती होइन – त्यो त मैले आफ्नो धर्म निभाएको मात्र हो। मेरो मन मुटु जहाँ जोडिएको छ उसैलाई हित हुने पत्र लेखेर के मैले गल्ती गरें? अहँ गरेको छैन। त्यसैले मैले जे गरे ठिकै गरे – त्यसमा मलाई कुनै पश्चाताप छैन।
मेरो भावना बल्खुबाट छुटेर पेरिस डाँडामा जोडिन पुग्नुका पछाडि पनि खास कारणहरू छन्। खासमा हाम्रो देशको सन्दर्भमा सरकारको प्रमुख व्यक्ति छान्दा शुद्ध मानवबाट भन्दा पनि विष्णुका अवतारबाट छान्नु बढी उत्तम हुन्छ भन्ने मेरो पहिल्यै देखिको मत हो। मेरो त्यो मत बल्खुमै पनि अटाउन नसक्ने त होइन तर बढी सुरक्षित रहने ठाउँ भनेको चाहिं पेरिस डाँडा नै हो। बल्खु दरबारमा जब मेरो विरूद्धमा सारा जलजाहान खनिएका थिए त्यसपछि पेरिस डाँडाबाट पनि म प्रति आशंका गर्न थालिएको हो कि भन्ने भान मलाई पर्न थालेको छ। प्रत्येक कदममा निर्देशन दिने माऊ कामरेडबाट हिजो आज मलाई निकै पातलो रूपमा मात्र फोन आउने गरेको छ। हाम्रो प्रेममा भाँजो हाल्न बैरीहरूले अनेकन किसिमका हल्लाहरू फैलाउन थालेका छन्। भौतिक शरिर मात्र होइन मन र भावना पनि बल्खुतिरै सार्न थालेको आरोप म माथि लाग्न थालेको छ। तर ती फगत आरोप मात्र हुन। म हिजो पनि विभिषण थिए र आज पनि छु। विभिषणको कर्तव्यबाट म रतीभर पनि विचल्लीत भएको छैन र हुने पनि छैन। दोहोरो आशंका र आरोपहरू खेप्न बाध्य हुँदा आफ्ना्े मनमा जुन आँधीहुरी चलिरहेको छ, त्यसलाई मैले कहाँ पोखुँ? त्यै पीडा पोख्नको निम्ति यो डायरीको सहारा लिइरहेको छु। डायरीमा कोर्दा मात्र पनि मन केही हलुको हुँदो रहेछ।
डायरीको अन्त्यमा मन र भावना पनि बल्खुतिरै सार्र्यो कि भन्ने आशंका निवारणका लागि एकजना पन्त बहिनीले बनाएको गीतको भाका सापटी लिंदै पेरिस डाँडाका माऊ कामरेड समक्ष यो गीति सन्देश पुर्याउन चाहन्छु –
“बोल्दा मैले प्रचन्ड पाराले
हुके मलाई बल्खुका साराले
हल्ला चल्छ चलिरहन देऊ
बल्खु नै भासिएनी छुट्दैन हाम्रो साथ
ओली नेपाल कति जल्छन् जलिरहन देऊ”
अस्तु
(स्रोत : हाँक विक्ली )