कथा : पाण्डवकाे प्रातः भ्रमण

~परशु प्रधान~Parashu Pradhan

“माओवादी समस्या धार्मिक आधारबाट सम्झाउनु पर्छ” युधिष्ठिरले बहस सुरु गरे । आजको प्रातः भ्रमणको
विषय थियो– देशको समसामयिक समस्या । “यसलाई गोली र बलको प्रयोगले समाधान गर्नुपर्छ’ यो थियो
भीमको गर्जन । अर्जुन किन चूप लाग्थे । उनले आफ्नो राय दिए– “वार्ता पनि गर्नुपर्छ, बल पनि सञ्चय गर्दै जानु
राम्रो हुन्छ ।”
“दुवैले हातहतियार छाडेर टेबलमा कुरा गर्नुपर्छ–अहिलेको समाधानको बाटो यही हो ।” सहदेवले केही
शान्तभावमा भने ।

“गणतन्त्र नआई यस समस्याको कुनै सम्भावना छैन । आजको युगमा राजतन्त्र तासको पत्तीमा मात्र राख्नुपर्छ ।”
जोशिलो आवाज निस्क्यो नकुलको ।
म चाहिँ आफूलाई पत्रकार ठान्छु । यौटा स्थानीय पत्रिकासित केही वर्षदेखि सम्बन्धित छु ।
महाभारतका पाँच पौराणिक व्यक्तित्वहरूको नाम दिएर म यो कथा अगाडि बढाउन चाहन्छु । आफूलाई पुरानो
कृष्णको रूपमा चिनाउनुभन्दा आधुनिक पत्रकार भन्नु उपयुक्त लाग्यो । गर्मीमा बिहान ४ः०० बजे र हिउँदमा
बिहान ५ः०० बजे हाम्रो प्रातः यात्रा अर्थात् ‘मर्निङ वाक’ सुरु हुन्छ र लगभग ७÷८ बजे समाप्त हुन्छ । यसबीच
के विषयको चर्चा हुँदैन– शहरको राजनीतिदेखि विश्व राजनीतिसम्म । टोलको वेश्यावृत्तिदेखि समलिङ्गी यौन
प्रकरणसम्म । भोकको पीडादेखि सेक्सको अन्तरपीडासम्म । साहित्यबाट सुरु भएर लोकल कुखुराको सुरुवामा बहस
कहिले टुङ्गिन्छ, कहिले फेसन र सिनेमाले पूरा सडक नापिन्छ ।
यो टोलीको संक्षिप्त परिचय भने यस्तो छ–‘युधिष्ठिर’ सरकारी सेवाबाट निवृत्त । उमेर ६० वर्ष । जीवनभर ‘स’
मन्त्रालयको मात्र विशेषज्ञ, अर्थात् सञ्चार मन्त्रालय, स्वास्थ्य मन्त्रालय’, शिक्षा मन्त्रालय र स्थानीय विकास
मन्त्रालय । रुचि–समाजसेवा ।
भीम–बैंक सेवाबाट अवकास लिएको । उमेर ५८ वर्ष । उचाइ ६ फिट २ इञ्च । पाकेटमा क्यालकुलेटर
लिई हिंड्ने । हरेक समस्याको समाधान हिसाबका अड्ढबाट गर्ने ।
अर्जुन– फाइनेन्स कम्पनीको नोकरी । उमेर– ४० वर्ष । उचाइ ५ फिट मात्र । कमिसनतन्त्रमा अगाध विश्वास
राख्ने । पत्र–पत्रिका पढ्नमा धेरै रुचि ।
नकुल– जिन्दगीभर टाइपिष्ट । उमेर ३२ वर्ष । उचाइ ५ फिट ६ इञ्च । साहित्यमा रुचि । यौटा कविता सङ्ग्रह
प्रकाशित ।
नकुलको जस्तै सहदेवको खास परिचय छैन, अर्थात् फरक छ । मुख्यतः ऊ बेरोजगार छ । नेपाली
भाषा, साहित्यमा डिग्री लिएर पनि उसले कतै पढाउने काम पाएको छैन । क्याम्पसमा जहाँ–तहीं सहदेवका लागि
ढोका बन्द छ । यसैले ऊ निराश छ, अविवाहित छ र पाएमा सधैं विदेशमा काम गर्न जाने कुरा गर्छ ।
यौटा चिसो बिहान थियो । तराईमा कुहिरो पनि दहीजस्तो बाक्लो र जमेको हुन्छ । पाँच पाण्डवको टोलीले भने न
गर्मी भन्छ न जाडो । न साउने झरीलाई टेर्छ न बाक्लो कुहिरोलाई । प्रातः भ्रमणलाई यस टोलीले सानु– तिनो,
युद्धमा गएको ठान्छ । त्यसमा उपस्थिति नहुनुलाई कसैले गम्भीर अपराधका रूपमा लिन्छ । विश्वको कुनै
यस्तो ‘इस्यु’ हुँदैन जसमा टोलीले छलफल नगरेको होस् । पाँचै जनाको विचार नमिल्न सक्छ तर प्रत्येक बिहान पूरा जोशका साथ अन्तक्र्रिया हुन्छ । आ–आफ्नो तर्क र विचार राख्ने छुट सबैलाई छ । यस्तो लाग्छ– यो हरिप–
गरिब देशको सानु संसद् हो ।
हिउँदको यौटा चिसो बिहान थियो । यो टोली ‘मर्निङ्ग वाक’को सिलसिलामा छिमेकी राष्ट्रको सीमाछेउ पुगेको
थियो । बाटोमा मालसामानले भरिएको यौटा ट्रक देखियो– जसलाई सुरक्षाकर्मीहरूले रोकेका थिए । अनि ट्रकको
ड्राइभर नोटको बिटा सुरक्षाकर्मीलाई दिइरहेको थियो भने ऊ लिन मानिरहेको थिएन । सडकको दृश्य सफा
र स्पष्ट थियो– हामी सबैले राम्ररी बुझेका थियौं । अब मैले नै कुरा राखें– यो के भइरहेछ ?‘।
“यो घुसखोरी– हाकाहाकी भ्रष्टाचार भइरहेछ डाकागिरी भइरहेछ‘” नकुलको तत्काल प्रक्रिया आयो
“यो शासन नै भएन । पञ्चायत धेरै राम्रो थियो बा !” युधिष्ठिरको भाषण सुरु भयो –“बोल्न नपाए पनि देशमा
शान्तिसुरक्षा र विकास त थियो । राजा सक्रिय नभए यो राष्ट्र नै रहन्न है ।”
“शासन लूज भयो– कडा छैन । जसले जे गरे पनि हुने भयो । साँचो प्रजातन्त्र आउन समय लाग्छ नै अहिलेको
प्रजातन्त्र त नेतालाई मात्र आयो, जनता भने बेखबर छन् । यो कमेन्ट थियो– अर्जुनको ।
एकैछिन वातावरण मौन देखियो । त्यो ट्रक ड्राइभर र पुलिस सबै कुहिरोमा कत्तै हराए । हाम्रो टोलीले
एकैसाथ सोच्यो– देशमा भ्रष्टाचार हटाउने जति नै कुरा भए पनि त्यसलाई ढाकछोप गर्ने कुहिरो धेरै बाक्लो र
शाक्तिशाली छ ।
रमाइलो लाग्छ–बिहानै उठ्नु, दैनिक क्रियाकलाप अर्थात् बाथरुममा आफू निवृत्त हुनु । केही कप तुलसी चिया
खानु अनि टी.भी. मा बीबीसी हेर्नु । न्युयोर्कको जुम्ल्याहा धरहरा क्षणभरमा समाप्त, अफगानिस्तानमाथि भयड्ढर
आक्रमण, भारत र पाकिस्तानको सधैं चिसो सम्बन्ध । कतै तेस्रो विश्वयुद्ध त हुने होइन ? सशड्ढित भई सडक–
भ्रमणमा हिंड्नु । लगभग यही दिनचर्या हो– हाम्रो ।
गजब छ– हाम्रो प्रातः भ्रमण । कुनै दिन एकाबिहानै सडकमा रोइरहेकी कुनै युवती भेटिन्छे । पूर्वी पहाडबाट
कसैले भगाएर ल्याएको रहेछ । सीमाको कुनै लजबाट मजनु हरायो र लैला सडकमा परी । यस्ता कुरामा
हामी सहदेव वा नकुललाई अगाडि बढाउँछौं ।
सहदेव छेउमा पुग्यो र सोध्यो– बहिनी ! तपाईं किन यहाँ रोइरहनुभएको ? के भयो ?. ।
उसले कुनै जवाफ दिइन । न रुवाइ नै रोकियो । अब नकुलको पालो आयो ऊ छेउमा गयो र अलि कडा स्वरमा
भन्यो–ए बहिनी ! तिमीलाई पुलिसको जिम्मा लाइदिउँ कि कसो ? आफ्नो कुरा भन्छ्यौ भने भन– तिमी को हौ,
कहाँबाट आयौ ? युवतीले अब बल्ल टाउको उठाई । एकपल्ट वरिपरि हेरी र उल्टो सोधी– तपाईंहरू पुलिसको
मान्छे हो ? म त्यहींबाट आएकी ।
“हामी कसैको मान्छे होइन । अहिले धेरै मान्छे जम्मा हुन्छन् । आफ्नो साँचो कुरा भन– हामी सहयोग नै गर्छौं ।”
अर्जुनले आश्वस्त गराए ।
उज्यालो खस्न लागिसकेको थियो । भर्खरै प्रचण्ड गर्मी समाप्त भएर हावामा केही चिसोपन थियो । उसले आफ्नो
परिचय यसरी दिई– “हामी दुईजना मन मिली घरबाट भागेका थियौं । उसको आसाममा कोही छ रे ! त्यही काम
गरी जीवन बिताउन हिंडेका । तर हामी अभागी ‘।”
ऊ फेरि रुन लागी । युवतीका चिम्सा आँखा फेरि एकपटक राम्ररी रसाए । ऊ शायद भक्कानिएर रुन
चाहन्थी । ‘आफ्नो कुरा बिस्तारै सुनाउन‘’ भीमले ढाढस दियो । मलाई भने महाभारतको द्रौपदीको सम्झना भयो–
अनायास ।“पुलिसले भागी आएका भनेर पक्रियो । उसलाई कहाँ लग्यो थाहा छैन‘ मलाई दुई रात ठानामा थुनेर राखे ।
अहिले यहाँ सडकमा ल्याएर छाडीदिए । मेरो जाने ठाउँ कतै छैन ।” ऊ फेरि रोई– “रगत रोकिएको छैन‘ शायद
मर्छु होला । मेरो कर्म‘ ।”
हामी सबैले एकैपटक कुरा बुझ्यौं– पहाडबाट प्रेममा फसेर केटाकेटी भागे । साना–ठूला जातका हुनसक्छन् ।
केटालाई पुलिसले समातेर भगाइदिए, अनि यसलाई बलात्कार गरे, मर्छे भनेर सडकमा ल्याएर फ्याँकिदिए ।
“पत्रिकामा पढिन्थ्यो– आज आफ्नै आँखाले देख्नुप¥यो । देख्नुभयो बहुदल–भोग्नुभयो त प्रजातन्त्र ।” युधिष्ठिरले
व्यङ्ग्यपूर्ण मुख खोले ।
स्थिति निक्कै सड्ढटमा थियो । हामी अनायास डरायौं । त्यहाँबाट भाग्नु उत्तम हुन्थ्यो । मैले बाटोमा आइरहेको
रिक्सा रोकें र तिनलाई लिएर हस्पिटल जान चाहें । वास्तवमा तिनी रगतले लत्पतिइसकेकी थिइन् । मैले भनें–
साथीहरू ! मेरो आजको ‘मर्निङ्गवाक’ समाप्त । म यिनलाई हस्पिटल पु¥याउँछु‘आगे देखा जाएगा ‘।
हस्पिटलमा कर्मचारीहरूको हडताल थियो । त्यहाँ डाक्टर मात्र होइन, अरू पनि कोही थिएनन् । मैले तिनको नाम
यसै लेखाइदिएँ–‘लैला के.सी.’ र इमरजेन्सीमा पिउनको जिम्मा छाडेर आएँ ।
भोलिपल्ट बिहान भेट्नासाथ सबै साथीहरूले एकै स्वरमा सोधे– हिजोको महिलालाई के भयो ?
“हस्पिटलमा मुसा पनि थिएन, उनलाई इमरजेन्सीमा छाडें । अरू के गर्ने ?‘” मैले आफ्नो विवशता जनाएँ ।
एकैछिनमा सबैले स्थानीय अखबार ब्लास्टमा सानु समाचार बाटोमा नै पढें– अज्ञात युवतीको रहस्यमय
मृत्यु । सबैजनाले यसलाई साधारण रूपमा लिए, मानौं केही भएको छैन । भीमले भने– कृष्णलाई काम भयो‘
यौटा न्यूज भयो । अरू केहोला ‘?
यसरी चाखलाग्दो छ– हाम्रो प्रातः भ्रमण । कसै न कसैबाट केही नयाँ कुरा आउँछ । प्रसङ्ग चल्छ । खुल्ला
कुराकानी हुन्छ । कहिलेकहीं सानोतिनो झगडाजस्तो पनि हुन्छ । हात नै हालाहाल होला भन्ने डर । फेरि
एकैछिनमा म कुराले मिलाउँछु वा युधिष्ठिरले कूटनीतिक– वार्ता गर्छन् । एकैछिनपछि सबै सामसुम हुन्छ– वर्षाको
खहरे खोलोझैं ।
यौटा स–सानो मेलाजस्तो हुन्छ– प्रातः भ्रमण । सबै समूह र उमेरका, सबै जात–जातिका, नारीपुरुषहरू, युवा–
युवतीहरू त्यहाँ दौडिरहेका हुन्छन्, लमक–लमक पाइला बढाइरहेका हुन्छन् । यौटा असाधारण वातावरणभित्र हामी
पनि हरेक बिहान पाइला बढाइरहेका हुन्छौं । यौटी अधबैंसे महिलामा हामी सबैले ‘मार्क’ गरेका रहेछौं । ‘मार्क’
गर्नाको कारण पर–परसम्म पुगेर पनि त्यसले हाम्रो समूहलाई फर्की–फर्की हेर्नु हो । ‘किन त्यो महिला
हामीलाई फर्की–फर्की दोहो¥याई–तेह¥याई हेर्छे हँ ?’ एक बिहान यही कुरा उठ्यो ।
“म हिरोजस्तो छु– मलाई हेरेकी होली‘” नकुलले आफ्नो छाती फराकिलो बनाए ।
“म अलि सम्पन्न र धनीजस्तो छु । मेरो ट्रयाकसूटका कारण मलाई नै हेरेकी होली ।” सहदेवले आफ्नो प्रतिक्रिया
यसरी व्यक्त गरे ।
“तिमीहरू आलाकाँचालाई किन हेर्थी त्यस अधबैसेले । आफ्नो लोग्नेजस्तो लागेर मलाई दोहो¥याएर हेर्छे ।”
अर्जुनले ठोकुवा गरे ।
अब भीमले चूप लाग्ने कुरा थिएन । उनले पनि आफूलाई वार्तामा प्रस्तुत नगरी छाडेनन् – तिमीहरू के कुरा
गर्छौ मेरा अगाडि । अहिले केटाकेटी नै छौ । म साँचो भनिदिउँ– त्यसले मेरो यो सुडोल शरीर हेरेकी । मेरो ठूलो
छाती र बलिष्ठ पाखुरा हेरेकी ‘।”त्यहाँ हाँस्नुबाहेक अरू उपाय केही थिएन । मैले उकासें– युधिष्ठिरबाटै यसको निर्णय होस् । युधिष्ठिर सधैं कम
बोल्छन् । बोल्न थालेपछि बन्द नहुने ‘अफ’ बिग्रेको टेप रेकर्डरझैं हुन्छन् । युधिष्ठिरले गम्भीरतापूर्वक आफ्नो
न्यायिक निर्णय यस्तो दिए– “तिनले तिमीहरू कसैलाई हेरेकी होइनन् । तिनी र मैले सँगैजसो जागिर छाडेका
थियौं । बिचरीको लोग्ने ‘हर्टएटाक’ भएर भर्खरै खस्यो‘ वर्षदिन पनि पुगेको छैन होला । फेरि तिनी मेरो छिमेकी
पनि हुन् । तिनले मलाई हेरेकी हुन् । नचाहिंदो फटाहा कुरा गर्न कति आएको हाम्रा साथीहरूलाई । तिमीहरू
जत्रा त उनका जुँगे छोराहरू छन् तर तिनको आत्मा अतृप्त भने पक्कै छ ।”
फेरि हाँसोबाट समाप्त हुन्छ ।
कुनै दिनको प्रातः भ्रमणको मुख्य ‘इस्यू वा प्रसङ्ग’ अब यसरी समाप्त भयो– हाम्रो ऐतिहासक र चर्चित ‘प्रातः
भ्रमण’, अथवा आधुनिक फेसनको । गर्मीको महिना थियो । माओवादी आतड्ढले सारा सहर त्रसित थियो । थाहा
थिएन कहाँ कुन बेला के हुने हो ? घरबाट बाहिर निस्कन कोही चाहँदैनथे । बारुद, गोली र बन्दुकको छायाँले
हामी सबै त्रसित थियौं । यौटा अजङ्गको क्रूर राक्षस देशभित्र पसेको थियो र राष्ट्र समाप्त हुने दिशामा थियो ।
हामी सन्त्रासपूर्ण आँखा लिएर अलि ढिला ‘मर्निङ्ग वाक’ गर्न लागेका थियौं । ख्यालठट्टा र रमाइलो वातावरण
त्यस्तै भए पनि हत्या र आतड्ढको समाचारले धेरै मात्रामा ‘सिरियस’ हुन्थ्यौं । त्यस बिहान युधिष्ठिर गयल थिए ।
प्रातःभ्रमणको टोलीमा पाँच जना मात्र थियौं ।
हाम्रो हिँडाइको क्रमलाई यौटा ठूलो आवाजले एक्कासि रोक्यो । हामी सबै दौडेर त्यहाँ पुग्यौं । यौटा सरकारी
कार्यालय ध्वस्त भएको र त्यहाँ आगो लागिरहेको थियो । निश्चित थियो– त्यहाँ बम फुटेको हुनुपर्छ । हामी सबै
डरायौं र के गर्ने हो ? अलमल्लमा प¥यौं । टाढा कत्तै गाडीको आवाज आयो । मान्छेहरू दौडेको र आत्तिएर
कराएको स्वर सुनियो । इमरजेन्सीको साइरन बज्यो । हाम्रो किंकर्तव्यविमूढतालाई पुलिसको भ्यानले एक्कासि भङ्ग
ग¥यो –‘तपाईंहरू पाँचै जना यो भ्यानमा बस्नुहोस् ।
हामीले किन भनी सोध्न पाएनौं । पुलिसको अर्को कडा आवाज आयो –“के हेर्छौ केटा हो ? कोच पाँचै
जनालाई यस भ्यानमा । बम हान्नमा यिनीहरूकै हात हुनसक्छ । यस घटनाको पहिलो र प्रत्यक्षदर्शी यिनै त हुन्–
यिनलाई नछाड‘ मुन्ट्याएर ले ।”
हामीहरूको समूह अर्थात् त्यस बिहान पाँचैजना चूपचाप पुलिसको भ्यानमा चढ्यौं । हामीले त्यहाँ बोल्नुको केही
अर्थ थिएन । पुलिसको भ्यान तुरुन्त अगाडि बढ्यो– हामीले एक अर्काको अनुहार हे¥यौं र रुन्चे हाँसो हाँस्यौं ।
सडकमा मान्छे र गाडीहरूको भीडले बाटो पाइसक्नु थिएन ।

(स्रोत: Jpana)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.