करिब करिब गीनीज बुकमा बिश्वरेकर्ड कायम होला झैँ गरी बिहेको निम्तोहरु थिए । अरुसँग हैन मेरो आफ्नै रेकर्ड कायमको कुरा गरेको ?
एकदिन तिनवटा बिहाको कार्यक्रम सकेर एउटा बहिनी पर्नेको बिहामा जानु पर्ने थियो बिचमा एउटा कार्यक्रममा अतिथिको निम्तो पनि मान्नै पर्ने थियो । १२ बजे बोलाएको बिहामा जानु कता कता करिब ३ बजेसम्म म कार्यक्रममै थन्किएँ । बाथरुम जाने बहानामा झुक्काएर नजिकै रहेको बिहामा उपस्थित भएँ म । हतारमा अतिथिको बिल्ला खल्तीमा कोचेर र खादा गलामै छोडेर बिहामा हाजिर जनाउन आएँ ।
मान्नुपर्नेहरुलाई नमस्कार गर्दै र सानाको टाउकोमा हात राख्दै अनि नमस्ते फर्काउँदै म बेहुलाबेहुली तर्फ जाँदै थिए । भर्खरै बिहा गरेकि एकजना युवतीले नमस्कार गरिन मैले फर्काएँ तर चिन्न सकिँन । उनले ज्वाईँ भनेर नजिकै सुट माथि कालो चस्मा लगाएर ढसमस्स बसेको मान्छेलाई देखाईन । फर्केर नमस्कार गरेँ । ती ज्वाईँसाप उठेर नजिकै आए कोटको खल्तीमा भएको बिल्लातर्फ ईङ्गित गर्दै बोले –“भोलेन्टिएर गरेर आउनुभएको ?”
म के भन्ने दोधारमा परेँ तर उनले जुन हेय भावमा ती शब्द ओकले त्यसको उत्तर फर्काउनु नै थियो अतः हाँस्दै बोलेँ – “खै, अतिथि भनेर बोलाका थे । स्वयंसेवक नै बनाए की के हो ?” उनका बढिरहेका हातमा मैले मेरो खल्तीको बिल्ला थमाईदिएँ ।
निकै बेर लगाएर अक्षर अक्षर पढे ज्वाँईसाबले अनि बोले –“आफैँ कार्यक्रम गरेको हो ?” उनको अनुहारमा अझै अप्ठेरो भाव थियो ।
उनको हातको बिल्ला आफ्नो हातमा लिएर पुनः हाँस्दै बोलेँ –“हो नी, अतिथि बन्न रहर लाग्यो अनि कार्यक्रम गरेको ।”
ज्वाँईसाब केहि भन्न खोज्दै थिए म हात जोड्दै अरुतिरै लम्केँ ।
कार्यक्रम अवधिभर मैले ज्वाँईसाबको छेउमा जाने हिम्मत जुटाउन सकिँन । कतै “यो कोट कस्को मागेको भन्लान की भनेर ?”
समाप्त
(स्रोत : Raju Dahal’s Blog)