लेख : सिद्धिचरण : एक रक्षाकवच

~खगेन्द्र सङ्ग्रौला~Khagendra Sangraula

कक्षा १० को नेपाली पाठ्य-पुस्तकमा पहिलोपटक भेटिएका थिए सिद्धिचरण श्रेष्ठ । त्यहाँ उनी आफ्नो जन्मथलोको न्यास्रोले रन्थनिएर बिघ्नै विरही मनोदशामा ‘मेरो प्यारो ओलखढुंगा’को लयमा धुरुधुरु रुँदै थिए । लाग्यो, सिद्धिचरण नाउँका यी जीव विचित्रका रुन्चे कवि रहेछन् । उनका लागि ओखलढुंगा प्राकृतिक सौन्दर्यले सिँगारिएको स्वर्गसमान थियो र त्यसको प्रतिलोमरूपी काठमाडौँ थियो उजाड मरुभूमितुल्य मानव-बस्ती । कविता स्मृतिपटमा

ओखलढुंगाकै भावुक सम्झना साँचेर जिउने उनको आत्म-सान्त्वनाकारी सम्झौताको कथा कहेर टुंगिएको थियो । ऊबेला म कविलाई दुर्लभ धातुले बनेको बिछट्टको प्राणी ठान्थेँ । काठमाडौँ आएपछि सिद्धिचरणलाई जब भेटेँ, उनको रूपाकृति र बोलीको शैली मलाई एकदमै निष्प्राण र प्रभावहीन लाग्यो । मेरो मनचिन्ते कल्पनाको भव्य सिद्धिचरण अर्कै थियो, कठोर यथार्थको धरातलमा अर्कै सिद्धिचरण प्रकट भयो । अपेक्षा र प्राप्तिबीचको द्वन्द्वले डसेर मेरो चित्त त्यसैत्यसै विरक्तियो अरे बाबा ! त्यस्तो कविता रच्ने कवि सिद्धिचरण यस्तो कसरी हुनसक्छ ? अनुहारमा चिताएजस्तो आभा छैन । आँखामा कल्पिएजस्तो चमक छैन । मुद्रामा आश गरेजस्तो ओज र स्पन्दन केही छैन । उसो त हाउभाउमा भनेजस्तो फुर्ती र उमंग पनि छैन । झलक्क हेर्दा अपरिचित चरोजस्ता प्रतीत हुने । ठूलो कालो फ्रेम भएको खुबै पावरदार चस्माभित्र उदास चिम्सा आँखा । ज्यान फुकीढल लाग्ने, बोल्दा अकमकिने । उनको शुष्क स्वर भित्रभित्रै कामिरहेजस्तो लाग्ने र बाहिर ओठै कामेको देखिने । कहाँको मेरो कल्पनाको आदर्श सिद्धिचरण, कहाँको उनको त्यो विकर्षक यथार्थ रूप !

२०२५ साउन महिनाको एक बिहान । अविराम गतिमा झम्झम् पानी पररिहेको थियो । मित्र रामबाबु सुवेदी र म उनलाई भेट्न झोँछेको उनको घरमा पुग्यौँ । क्यासेटमा सानो स्वरमा सुमधुर धुन बजिरहेको थियो । सिद्धिचरण मग्न मुद्रामा हुक्का गुडगुड-गुडगुड तानिरहेका थिए । तमाखुको मनै लोभ्याउने खालको सुगन्ध कोठाभरि व्याप्त थियो । उनको को, कहाँबाट र किनको उत्तर हामीले विनयशील वचनमा दियौँ । हामी विद्यार्थी । हाम्रो घर काठमाडौँबाहिर पूर्व र पश्चिम । हामी त्रिचन्द्र कलेजमा अध्ययनरत साहित्यका विद्यार्थी । हामी कविजीका फ्यान । हामी साहित्यबारे केही सुन्न र सिक्न कविजीछेउ आएका ।

चियापानपछि सिद्धिचरणले उत्कृष्ट साहित्यको अध्ययन, लेखन अभ्यास र रचनाको कलात्मक परिपाकबारे केही भने । सुदूरपूर्वी भेगको गाउँबाट आएको झर्रो नेपालीभाषी म । नेपालभाषी सिद्धिचरणको ‘त’ र ‘ट’ साटफेर हुने वर्णशंकर नेपाली उच्चारण मलाई एक उदेकको लाग्यो । उनले भनेको आधाजसो मैले बुझेँ, आधाजसो बुझिनँ । एकथोक चिताएर आएको थिएँ, भयो अर्कैथोक । सिद्धिचरणसँगको पहिलो साक्षात्कारले ममा उनीप्रति आकर्षणभन्दा कसोकसो विकर्षण नै पैदा गरिदियो । खिसि्रक्क परेको मनको तारमा एउटा असन्तुष्ट आवाज गुन्ज्यो आ… यस्ता नाथे सिद्धिचरण !

बिरानो कान्तिपुरी नगरीमा ज्ञानी र प्रेरक मनुवा खोजी हिँड्दा गोविन्द भट्ट र टीआर विश्वकर्मासँग मेरो भेट भएथ्यो । सधैँ गुरु-गम्भीर देखिने र चिन्तनको चापले निधार मुजा पार्दै गहन दर्शन बोल्ने गोविन्द भट्ट नेपाल-चीन मैत्री संघमा जागिर खान्थे, प्रायः पटर-पटर बोलिरहने टीआर विश्वकर्मा मातृभूमि साप्ताहिकमा कलम घोटेर सुखम्-दुःखम् गुजारा चलाउँथे । ती दुवै मानवले माक्र्सवादको क्रान्तिकारी झन्डा बोकेका थिए । र पनि, ती मुक्त कण्ठले सिद्धिचरणको तारिफ गर्थे । ती सिद्धिचरणको नाउँका अगाडि उच्च आदरभावसाथ ‘युगकवि’को टुप्पी जडान गरिदिन्थे । ‘युगकवि’को अर्थ युगीन चेतनाको संवाहक होला भनी मैले लख काटेँ । कुरा सुन्दै र अर्थ बुझ्दै जाँदा गोविन्द भट्ट, टीआर विश्वकर्मा र दुर्गालाल श्रेष्ठबाट मैले राणा शासनविरोधी जोदाहा सिद्धिचरणको परचिय पाएँ । म तीन छक् परेँ शुष्क र सुस्त प्रतीत हुने यी कृषकाय मनुवालाई ज्यान बाजी थापेर निरंकुश सत्तासँग जुध्ने त्यत्रो आँट कहाँबाट आयो होला  ? अनि, क्रूर राणाशासकहरूका कठोर चित्तमा ज्यानमारा क्रोध जगाउने गरी ‘क्रान्तिबिना थन वईमखु स्वच्छ शान्ति’ अर्थात् ‘क्रान्तिबिना यहाँ स्वच्छ शान्ति आउँदैन’ भनी गर्जन गर्ने त्यत्रो साहस यिनमा कसरी पलायो होला ?

यसरी सिद्धिचरण मेरालागि नांगा आँखाले देखिने व्यक्ति र त्यसमा अन्तरनिहित सिर्जनशीलता तथा सौर्यबीचको विरोधाभासको एक रहस्यमय बिम्व बने ।
मेरो साहित्यिक सत्संग, संवाद र लेखन अभ्यास चालू रह्यो । सिद्धिचरणसँग कहिले बाटामा त कहिले साहित्यिक कार्यक्रममा भेट हुने क्रम पनि चलिरह्यो । गोरखापत्र, रूपरेखा र भानुमा मेरा केही कविता र कथा छापिए । भेट हुँदा सिद्धिचिरण अभिभावकीय स्नेहका साथ मेरो हात समात्थे, ममतामय चालले मेरो हात मुसार्थे र मेरो जिज्ञासु मानसमा हौसलाका तरंगहरू सञ्चार गरिदिन्थे । ‘तपाईं हृदयको आवाज बोल्नुहुन्छ’ भनेर ती मलाई फुक्र्याउँथे । तर, हाम्रो लामो बातचित भने खासै हुँदैनथ्यो ।

एक दिन अचम्म भयो । पेप्टिक अल्सरले थला परेर म वीर अस्पतालको शय्यामा लमतन्न सुतेको थिएँ । बिहान त्यस्तै ९ बजेको हुँदो हो । मेरो अगाडि बर्दीधारी एउटा सिपाही झ्वास्स आइपुग्यो । कम्मरमा पिस्तोल भिरेको हेर्दैमा आङ सिरिंग हुने पहलमानी जवान ! म झस्केँ । निरंकुश राजाको सिपाही अस्पतालमा मेरो अगाडि किन ? उत्निखेरै देखेँ सिद्धिचरणको घोप्टो परेको हत्केलो आशीर्वादको भावमा मेरो माथतिर लम्किरहेछ । तिनले मेरो निधार छामे । मेरो टाउको मुसारे । तिनको अनपेक्षित आगमनबाट म एकसाथ चकित र हषिर्त भएँ ।

“कस्तो छ, बाबु ?” अनुरागयुक्त चिन्ता घोलिएको स्वरमा तिनले सोधे ।
“ठीकै छ, कविगुरु ।” तिनको हाडे हात स्पर्श गर्दै मैले भनेँ ।
डाक्टरहरू राउन्डमा आए । उसै त नाउँ चलेका कवि सिद्धिचरण, अझ त्यसमाथि राजाको सिपाही पछि लाएर आएका । डाक्टरहरूले तँछाड-मछाड गर्दै अत्ताल्लिएको मनोदशामा निहुरिएर तिनलाई नमस्कार गरे ।
“यी बाबु लेखक हुन् ।” तिनले डाक्टरहरूलाई सम्झाए “राम्रोसँग यिनको उपचार गरिदिनू ।”
डाक्टरहरूले बडो आज्ञाकारीसाथ मुन्टा हल्लाए हस्, हजुर ।
सिद्धिचरण राजसभा स्थायी समितिका सदस्य थिए । त्यसैले त सत्ताको निशानी त्यो सिपाही उनको छायाँसरी उनको पछिपछि हिँड्थ्यो । सिद्धिचरणको प्रभावले हो कि पिस्तोलधारी त्यो सिपाहीको प्रभावले हो मलाई थाहा छैन, त्यसपछि डाक्टरहरूको मलाई हेर्ने दृष्टि नै फेरियो । तिनका बचन नरम भए । ती सोधेका कुराको झर्को नमानीकन जवाफ दिन थाले ।

त्यसबेला म कोही थिइनँ । म त केवल सुदूरपूर्वी पहाडको विकट पाखोबाट ज्ञानको खोजीमा काठमाडौँ आएको एक अबोध ठिटो थिएँ । बल्लतल्ल मेरो लेखकीय विम्बको भू्रण बन्दै थियो । म न सिद्धिचरणको कुनै नातेदार थिएँ, न त उनको समकालीन लगौँटिया यार नै । तैपनि, सिपाहीलाई पछि लाएर ती मलाई भेट्न अस्पताल आए । तिनको सरलता, तिनको विनम्रता र तिनको मानवीय भावनाले मेरो हृदय स्पर्श गर्‍यो । र, मेरा नजरमा तिनको छविको रूप अर्कै भयो । संवेदनशील, ज्ञानी र करुणामयी कविवर सिद्धिचरण !

त्यो सत्ताको उन्मादले पञ्चायती राज कालसरह विकराल हुँदै गएको कुकाल थियो । नागरकिलाई मनका लागेका कुरा न खुलेर बोल्ने हक थियो न त देशमा फुक्काफाल डुलपिर गर्ने हक नै थियो । हामी वाम झुकावका विद्यार्थीहरू सत्ताका आँखा छल्न साहित्यको आवरणभित्र राजनीति गथ्र्यौं । सिद्धिचरण श्रेष्ठ हाम्रा रक्षा-कवच भइदिन्थे । साहित्य मन्थन वा साहित्य वाचन कार्यक्रममा हामी उनलाई प्रमुख अतिथि बनिदिन बिन्ती गथ्र्यौं । उनी एकरत्ति भाउ नखोजीकन सुरुक्क आइदिन्थे । उनको उपस्थिति हाम्रा लागि फलामे तारको बारजस्तो हुन्थ्यो । राजाको पुलिस त्यो बारभित्र पस्न आँट गर्दैनथ्यो । लाग्थ्यो, पुलिस पसिहालेछ भने पनि सिद्धिचरणका सामु त्यसले हामीलाई कुट्ने छैन । कदाचित पुलिसले पकडिई हालेछ भने पनि हामीले राजा र व्यवस्थाविरोधी कुरा गर्‍या छैनौं, हाम्रा कुरा सुन्ने साक्षी सिद्धिचरण छन् भनेर फुत्किन पाइएला भन्ने लाग्थ्यो । यसरी हामी वामयुवाहरूका लागि सिद्धिचरण साहस र ढाडस, प्रेरणा र ढाल धेरैथोक थिए ।

“गुरु, एउटा कविता वाचन गरिपाऊँ ।” हरेक कार्यक्रममा सिद्धिचरणसँग हामी आग्रह गथ्र्यौं । हामीलाई मन पर्ने र बाँची सुनाउन उनलाई जाँगर लाग्ने कविता उही थियो । उनको काम्दो स्वरमा कविताको लय यसरी तरंगित हुन्थ्यो –
नेपाली हुँ कठिन गिरिमा चढ्नलाई सिपालु
बैरी नै होस् तर पनि म छु दीनमाथि दयालु
तातो रातो रगत रिपुको प्युन हर्दम् तयार
मेरो, मेरो प्रिय खुकुरी हो हेर भै होसियार ।

पछिल्ला दुई हरफमा कविको नेपालभाषी जिब्रोमा ‘त’ र ‘ट’ सट्टापट्टा हुन्थे र कविताको ध्वनिले टाटो राटो रगट रपिुको प्युन हर्डम टयारजस्तो विचित्रको रूप धारण गथ्र्यो । कविको यो उच्चारण वामयुवा जगत्मा कण्ठस्थ र पि्रय थियो । वाम युवा-वृत्तमा कविको फुल नाउँ नै टाटो-राटो कवि रहन गएको थियो ।
म कलेजको विद्यार्थी छँदा काठमाडौँमा अञ्चलको नाउँमा खोलिएका अनेक युवा संगठन थिए । तिनमा गण्डकी विद्यार्थी परिषद् विशेष क्रियाशील थियो । त्यसले लालुपाते नामक सामयिक संकलन छाप्थ्यो । र, घरघिर विचार गोष्ठी र साहित्य गोष्ठीको चाँजोपाँजो मिलाउँथ्यो । ०२७ साल माघमा त्यसले पोखरामा यस्तै कार्यक्रमको आयोजन गर्ने भयो । अब रक्षा-कवच त चाहियो नै । सदाझैँ रक्षा कवचरूपी सिद्धिचरण प्रमुख अतिथि बने । युवा र साहित्यबारे बोल्दा मेरो जिब्रोबाट दुई-तीनपटक क्रान्ति शब्द फुत्किन पुगेछ । कुरो गडबड भइहाल्यो । अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ सुराकीको भेषमा कान थापेर मञ्चमा बसेका थिए । तिनले सिद्धिचरणलाई खुसुक्क भनेछन्, “कविगुरु ! यो क्रान्ति शब्दले मेरो जागिर खाने भो । कि त मैले यो केटालाई पक्राउ गर्नुपर्‍यो कि कविजीले कुरामा रफ्फु भरिदिनु पर्‍यो ।” नभन्दै सिद्धिचरणले कुरामा ट्याक्क रफ्फु भरिहाले । तिनले भने, “यहाँ चर्चामा आएको क्रान्ति राजनीतिक क्रान्ति होइन । यो त केवल सामाजिक क्रान्ति हो ।” बस्, पक्राउ र यातनाबाट म जोगिएँ, जागिर चट् भएर जोगी हुनबाट अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठ जोगिए ।

कार्यक्रमपछि रक्षाकवचलाई अघि लगाएर हामी गाँस र बासको व्यवस्था मिलाइएको होटलमा गयौँ । पोखरेली जाडो कडा थियो । उत्पात उत्तेजित र हषिर्त हुँदै सिद्धिचरणले भने, “आज कार्यक्रम अति राम्रो भो । ल खुसीयालीमा म त उत्सव मनाउँछु ।”

टीआर विश्वकर्मालाई सिद्धिचरणका मुखबाट आफ्नै तिर्सना पोखिएझैँ लागेछ क्यार । तिनले हौँसिदै भने, “हो, हो । आज विजय-उत्सव मनाउने हो ।”
अनि, ती दुई जनाले बडो उत्सवी मुद्रामा मदिरा पान गरे । पछि शुद्ध विचार, शुद्ध व्यवहार र शुद्ध आचरणमा अडिग युवा आयोजकहरूले टीआरको टिप्पा काडे । माक्र्सवादी क्रान्तिकारी भएर पनि रक्सी पिउने ? दुनियाँले चाल पाउने गरी गति छाड्ने ? आफ्नो बचाउ पक्षमा टीआरले कुनै तर्क गरे कि वाम कर्मकाण्डमा प्रचलित सूत्र जप्दै ‘म आत्म-आलोचित भएँ’ भने मलाई सम्झना छैन ।

म सम्झन्छु, वाम युवा वृत्तमा ‘सिद्धिचरण’ र उनको ‘तिम्रो बासित पैसा छैन’ भन्ने कविता एकअर्काका पर्यायझैँ मानिन्थे । यही कवितालाई दसी बनाएर सिद्धिचरणलाई गरबिका असल साथी र संवेदनशील सहयोगीका रूपमा आदर गरिन्थ्यो । तर, सिद्धिचरणको व्यक्तित्वको अर्को पाटो पनि थियो । उनको व्यक्तित्वको यो पाटो देखाएर उनलाई मधेसी मौजाको मालिक भन्नेहरू पनि थिए । वास्तवमा सिद्धिचरणको व्यक्तित्व तीन विपरीत तत्त्वको योग थियोझैँ लाग्छ । मधेसी मौजाका मालिक, राजाको राजसभाका सदस्य र गरबिका साथी र सहयोगी वागी कवि । मलाई लाग्छ, यो तेस्रो तत्त्वको जाज्वल्यमान प्रकाशका मुखेन्जी अघिल्ला दुई तत्त्व उनको व्यक्तित्वको पाद टिप्पणीमा पर्छन् ।

०२८ सालमा म लमजुङको खुदीमा केही समय हाइस्कुलको हेड मास्टर भएको थिएँ । मस्र्याङ् दी र खुदी नदीको त्यस संगम थलोमा अहोरात्र नदी सुसाएको सुनिन्थ्यो । त्यस दुर्गम स्थलमा जगत्को सूचना-प्रवाहदेखि टाढा एकान्तमा एकलासे जीवन बिताउन म विवश थिएँ । एक दिन खुनी शाही सत्ताले झापाको सुखानी वनमा पाँच वागी सपुतको बध गरेको खबर मैले सुनेँ । त्यो समाचारको झट्काले मेरो मन त्यसैत्यसै उदास भयो । म विद्यालयनजिकैको धर्मशालामा बस्थेँ । उदासीको त्यो क्षणमा उदात्त आदर्शको निम्ति वीरतासाथ जीवन आहुति दिने ती पाँच सहिदप्रति श्रद्धाञ्जलि प्रकट गर्न मैले सिद्धिचरण श्रेष्ठकृत कविताका चार हरफ लेखेर भित्तामा टाँसे –
सागरको बीच आइसकेपछि
भयले अब हट्न हुँदैन
आँधी आई कुर्ले कुर्लोस्
अब हिम्मत हार्न हुँदैन
डुब्ला, मर्ला अरू के होला
यत्ति न हो त्रास तँलाई
लाखौँ डुब्छन्, लाखौँ मर्छन्
जगको रीत चलाउनलाई ।
अनेक सन्दर्भमा उपयोगी थिए हामी वामयुवाका रक्षाकवच ‘युगकवि’ सिद्धिचरण श्रेष्ठ ।

(स्रोत : नेपाल साप्ताहिक ३३१ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख - समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.