परिचित र प्रिय कोही एकबारको जुनीबाट छुट्दा जिइरहने कोही पनि ऊसँगै गाभिएर एक अंश मर्छ। गोपाल योन्जन र नारायण गोपाल एकबारको जुनीबाट छुट्दा हुनुसम्म उदास भएका नगेन्द्र शर्माले कतै लेखेथे – यी दुई गोपाल मेरो जीवनको पनि जीवन थिए। यिनले जीवन बिसाएपछि म जीवनहीन र निस्सार जीवन जिइरहेको छु। आफ्नै अधीर हातले आफ्नै गलामा पासो लाएर भरत भुर्तेल सकिए। र, तिनको त्रासद अवसानको पछि लागेर मेरो जीवनको एक अंश
पनि सकियो। त्यो मर्मान्तक समाचार मेरा लागि अनपेक्षित, विस्मयकारी र क्लेशकारक त यसै पनि थियो नै, तिनको आत्महत्याको नेपथ्यमा रहेका क्रुर प्रतीत हुने केही कथाहरूले मलाई व्याकुल र रुष्ट तुल्याए। र, मलाई भित्रैदेखि हल्लाए।
साहित्यको विद्यार्थी म। कुन पत्रकार कुन भूगोल, कुन वर्ग, कुन विचारधारा र कुन संस्कृतिमा उमि्रएर र कताकता यात्रा गरेर घुम्दै कसरी यहाँसम्म आइपुगेको हो म उतिसाह्रो भेउ पाउँदिनँ। भरत भुर्तेललाई अनेक पत्रिका र काँचका पर्दामा मैले भेटेको र देखेको हुँदो हुँ। तर, मेरो पठन-संस्मरणको भीडमा तिनको सम्झनाको प्रस्ट छाप थिएन। ती जब ‘चरितचर्चा’को औतारमा ‘नेपाल’ साप्ताहिकमा उदाए, तिनले मेरो कुतूहललाई झ्याप्पै पक्राउ गरे। पथविचलनमा बरालिएको संक्रमणकालीन नेपाली राजनीति मियोमा नारिएको गोरुझैं एक साँगुरो वृत्तमा फन्को मारिरहेको याम थियो त्यो। प्रायजसो स्तम्भहरू नवीन सूचना र संवेदना एवं कल्पनाशीलता र रचनाशीलताको अभावमा रुढ कर्मकाण्डतुल्य बन्दै गएका थिए। र, मेरो पठनवृत्त निकै नै छनोटकारी र सीमित बनेको थियो। आ… नपढे पनि केही फरक पर्दैन भनेर ‘नेपाल’ साप्ताहिकलाई मैले बाई-बाई गरेको निकै महिना भएको थियो। तर, यस पत्रमा भरत भुर्तेलको ‘चरितचर्चा’को जब जायजन्म भयो, कथ्य र शिल्पको चुम्बकीय शक्तिले मलाई आफूतिर खिचेर यिनी एक्लैले मलाई ‘नेपाल’ साप्ताहिक किन्न बाध्य तुल्याए। प्रत्येक आइतबार बिहान भालेको डाकमा चाबेलबाट कुच मारेर खुट्टा तन्काउँदै गोठाटार टेकेर फर्कंदा मेरा आँखा मुखेन्जीको आकासमा ‘चरितचर्ता’का भरत भुर्तेल नाच्थे। र, चाबेल चोकको पेटीमा म ‘नेपाल’ किन्थेँ र भर्याङमुनिको चिया पसलमा बसेर चियाको चुस्कीसँगै भुर्तेलीय व्यंग्यको बिछट्टको स्वाद लिन्थेँ। तीव्र प्रतिस्पर्धाको बजारमा भरत ‘नेपाल’ साप्ताहिकबाट थुतिएर ‘नागरिक’ दैनिकमा बास बस्न आइपुगे। सानो माध्यमबाट ठूलो माध्यममा र सीमित पाठकको सम्पर्कबाट व्यापक पाठकको सम्पर्कमा तिनको बढुवा भएको देखेर म प्रसन्न भएँ।
‘नयाँ पत्रिका’ले दुई महिनाजसो अघि दरबारमार्ग किनारको लब्सटर रेस्टुराँमा एउटा मिनी कुम्भमेलाको चाँजो मिलाएको थियो। पत्रको पहिचान विस्तार गर्ने मनसुवाले आयोजित त्यो मेला खानपान र सत्संगको काइदाको संगम बनेको थियो। बुढा र तरुना, प्रगतिशील र प्रतिक्रियावादी, गणतन्त्रवादी र राजावादी, नेता र लेखक, कलाकार र चाटुकार, समाजविद र जग्गाविद आदि र इत्यादिको त्यहाँ बहुरंगी जमघट हुन गएको थियो। भेलाको सुरुमा ह्विस्कीले जिब्रो भिजाउँदै एउटा कुनामा म एक्लै बसेको थिएँ। हठात भरत भुर्तेलमाथि मेरा आँखा परेँ। फोटो सम्झेर मैले तिनलाई चिनेँ। हामी दुई भाइ कुम जोडेर बस्यौं। र, अलिबेर औपचारिक मुद्रा र औपचारिकै भाषामा एकअर्काको लेखनबारे हामीले चर्चा गर्यौं। चर्चा भन्नु नै के थियो, त्यो त फगत आपसी बखानको लेनदेन थियो। तिनको अनुहारमा गहन चिन्तनको चाप वा गहन चिन्ताको सन्तापको छाया उत्रेको मैले छनक पाएँ। त्यो अनुहारमा प्रसन्नताको प्रकाश, उमंगको स्पन्दन वा आत्मगौरवको आभा भनेजस्तो केही पनि मलाई दृष्टिगोचर भएन। र, यी मान्छे भित्रभित्रै दुःखी पो रहेछन् कि भन्ने मलाई ननिको आभास भयो।
करिब एक घन्टापछि म बसेको अर्को कुनामा तिनी आए। मुद्रा र हाउभाउको नाडी छाडेर राँके जलको तोडले तिनको मनोवेगको पारो निकै नै चढेको मैले लख काटेँ। ‘हामी कसैका प्यादा त बनिरहेका छैनौं, दाइ?’ तिनले वार्ताको नयाँ विषय टेबुल गरे। ‘मलाई लाग्छ, छैनौं,’ मैले भनेँ, ‘लेखकीय स्वतन्त्रता सापेक्ष कुरा हो। हामी कसैको अह्रनखटनबाट होइन, आफ्नै विवेकको अह्रनखटनबाट चलेका छौं। होइन र, भरतजी?’ मेरा कुरा सुन्ने धैर्य तिनमा थिएन, आफ्ना कुरा भन्नमात्र तिनलाई उपध्रो खसखस लागेको थियो। तिनी एकोहोरो तानामा बहकिएका थिए। ती अति भावुक भएका थिए र ती आक्रामक पनि भएका थिए। ‘हामीलाई मुक्ति चाहिँदैन, दाइ?’ विषयको सन्दर्भ र अर्थ नखोलीकन तिनले अर्को प्रश्न मेरोअगाडि तेर्स्याए। ‘कस्तो मुक्ति?’ मैले जिज्ञासा राखेँ। ‘केबाट र कसबाट मुक्ति?’ तिनी मुक्तिको एकोहोरो रट लगाइनै रहे। सोचेँ, यी घोडचढीसँग यस घडीमा दोहोरो संवाद किमार्थ सम्भव छैन। त्यसैले मैले पलायनको निकास खोज्न निवेदन गरेँ, ‘भुर्तेलजी, म मातिसकेँ। तपाईं पनि धरतीबाट माथि उठ्दै हुनुहुन्छ क्यार। कुनै दिन चिया वा कफीको टेबुलमा भेटौं। र, मुक्तिबारे मन फुकाएर धीत मर्ने गरी बात मारौं।’ तिनको मुन्टो हल्लाए। र, मेरो निवेदन पारित भयो। तर दुर्भाग्यवश, तिनको र मेरो पहिलो र अन्तिम भेट त्यही नै भइदियो।
मलाई पछि थाहा भयो, त्यो साँझ तिनले कृष्णज्वाला देवकोटासित पनि उही अमुर्त मुक्तिकै कुरा गरेछन्। लाग्छ, तिनको चित्तमा कुनै क्लेशकारक आघातको विभ्रमकारी चक्रबात् उठेको थियो। र, ती चञ्चल, बेचैन र व्याकुल मनोदशाको सिकार भएका थिए। तिनको ‘मुक्ति’को मनसाय लेखकको स्वतन्त्रता, स्वायत्तता र स्वत्वको रक्षा थियो कि सांसारिक जीवनका झैझमेलाहरूबाटै ‘मुक्ति’ थियो मलाई थाहा छैन। जे होस्, तिनको त्यो उद्विग्न मनोदशा सामान्य भने पक्कै पनि थिएन।
लोकहितका लागि उपयोगी भरत अकालमै गए। र, मैले मार्टिन चौतारीको मिडिया जर्नलका लागि भर्खरै लेखिभ्याएको स्तम्भ लेखन अनुभवमा तिनको अनुहार सम्झेँ। तीन व्यंग्यकार विमल निभा, ऋतुविचार वसन्त र भरत भुर्तेलबारे मैले लेखेको रहेछु – ‘खुकुलो भाषामा केही नभनेझैं गरी यी निभा पाठकहरूलाई कान समातेर घिसार्दै लेखको पुछारमा पुर्याउँछन् र आखिरमा रहस्योद्घाटन गरेर तिनलाई खितित्त हँसाउँछन्। भनुँ भने अक्षय व्यंग्यकलाका सदाबहार खेलाडी हुन् यी निभा। भाषाशिल्पी ऋतुराज र जाँगरिला भरत भुर्तेल भने अभिव्यक्तिका अंशअंशमा व्यंग्यका पुट भर्दै जान्छन्। र, हास्यतत्व यिनका स्तम्भको संरचनाभरि नै व्याप्त हुन्छ। राजनीतिका कोरा दैनिक झडपहरू पढेर दिक्क भएका क्षणहरूमा यी दुई भाइले मलाई सधैं विरेचनकारी हास्यका दामी चक्की प्रदान गर्ने गरेका छन्। स्तम्भहरूको फलोद्यानका यी फरक स्वाद हुन्।’ दुःखको कुरो, मेरो यो सराहना
पढ्दै नपाई भरत कतै सुन्यमा विलुप्त भए। र, थकथकी र उदासीको भावनाले म त्यसैत्यसै गतिल भएँ।
भरतको व्यंग्यशैली आफ्नै विशिष्टताले विपुल थियो। ती अनेकथरी सत्तामा वर्चस्व कायम गरी बसेका लाठेहरू, लठैतहरू र ठालुहरू चयन गर्थे। र, तिनलाई भुइँमा संवाद गर्ने पिरामा बसाएर तिनको असंगत चरित्र तिनकै मुखबाट भकाभक बकाउँथे। ती चयन गरिने पात्रका चरित्रको सूक्ष्म उत्खनन र अवलोकन गरी तिनका कथनी र करनीबीचका, तिनका आदर्श र आचरणबीचका एवं तिनका दृश्य रूप र अदृश्य रूपबीचका अन्तर्विरोधहरूको सटिक शब्दचित्र खिच्थे। जब चित्र तयार हुन्थ्यो, तिनका पात्रहरू अर्धनग्न वा पूर्णनग्न भेषमा पाठकसामु उभिन्थे। र, पाठकहरू मुख छोपेर मनमनै हाँस्थे। शिष्ट, शान्त र शालीन शैलीमा आडम्बर र पाखण्डको धज्जी उठाउन भरत हुनसम्म निपुण थिए। कुनै पनि वादको वादीभित्रको वैचारिक र चारित्रिक विसंगतिलाई तिनले छाडेनन्। यस अर्थमा धज्जी उडान कार्यमा तिनले समानुपातिक न्याय गरे भन्नुपर्छ। तर विडम्बनावश, तिनको विद्रुप अवसानबाट ती स्वयंको एक विसंगत चरित्र उजागर भयो, र तिनको व्यंग्यकला ती स्वयंमाथि बुमराङ हुन पुग्यो।
मानसिक सन्तुलनयुक्त जीवन जिउनलाई समय अति कठिन छ। कलधारोबाट पानी आउँदैन, तनाव आउँछ। तारबाट बिजुली आउँदैन, तनावै आउँछ। चुलिएको बजारभाउबाट सन्तुष्टि आउँदैन, तनावै आउँछ। फोहोरको डम्पिङ साइट बनेको सिंगो कान्तिपुरी नगरीबाट स्वच्छताको आभास आउँदैन, तनावै आउँछ। सत्तालोलुप नेताहरूका दुईजिब्रे कुराबाट शान्ति, विधि र समृद्धिको आसा र भरोसा आउँदैन, तनावै आउँछ। हाम्रो दिनचर्यामा तनावका यस्ता मुहान त कति छन् कति! यस्तोमा जोकोही पनि मानसिक मन्दीको सिकार बन्नु, स्नावयिक विकारबाट आक्रान्त हुनु र उसले असंगत व्यवहार गर्नु कुनै अचम्मको कुरा होइन। अझ भरत भुर्तेल त थप समस्याको माखेसाङ्लोमा जेलिएका रहेछन्। क्यापिटल एफएम सुरु गर्दा तिनले ब्यांकमा आफ्नो घर धितो राखेर ऋण लिएका रहेछन्। एफएमका मालिक रहेछन् उनीसमेत तीनजना। जब साहुरूपी ब्यांक ऋण चुक्ता गर्न कसिकसाउ गर्न थाल्यो, अरू दुईजना उद्यमी मित्रघातको उद्यममा लागेछन्। ती दुई हरिप ऋण चुक्ता गर्नुपर्ने दायित्वबाट सर्लक्क पन्छिएछन्। र, ऋणको एकलौटी भार भरतका थाप्लामा बजि्रन आइलागेछ। घर रहेछ एउटा, ब्यांकको ऋण तिर्न त्यही पनि बेच्न उनी बाध्य भएछन्। उसो त भरतका थाप्लामा अरू पनि खुद्रामसिना ऋण रहेछन्। उनी परे घरमुली। उनीमाथि आश्रितहरूका करुण याचना, गनगन र आपत्तिको ओइरो लाग्नु यसै पनि बुझिने कुरा हो। के यत्तिकैमा उनले आफ्नै हातले आफ्नो ज्यान लिएका हुनन् त? कारण थप होलान्, अनेक होलान्, मलाई थाहा छैन। तर, तिनले त्यही बेला त्यसरी आत्महत्या गरिहाल्नुमा शीतलनिवासको बेहोसी वा लापर्बाहीबाट निःसृत करुणासुन्य भूमिकाको हात रहेको कठोर तथ्य भने मलाई केही न केही थाहा छ।
सञ्चारबाट सुनिजानेको कुरा हो, भरत थोरै भए पनि ऋणको अजंगको बोझ घटाउने मनसुवाले होला, राष्ट्रपति रामवरण यादवको जीवनी नामक प्रायोजित स्वगाथा लेख्न वर्षदिनदेखि कलम घोट्दै आएका रहेछन्। तिनको विचलित र आतंकित मनोविज्ञानबारे राष्ट्रपति र तिनका सल्लाहकारहरू राम्रैसँग परिचित थिए। कुनै वास्तविक वा मनोविकारबाट कल्पित जीवात्ले दिएको तिनको ज्यान मार्ने धम्कीबारे पनि राष्ट्रपति र तिनका सल्लाहकारहरू अनभिज्ञ थिएनन्। छापामा सबुतहरू छ्याप्छ्याप्ती छन्। लेसमात्र पनि समभाव र करुणाको हेक्का राखिएको भए तिनको जीवनरक्षा गर्ने उपयुक्त थलो त अस्पताल हुनसक्थ्यो। अथवा तिनले तिनका परिवारजनलाई डाकेर, तिनको अत्यासलाग्दो कथा र व्यथा तिनलाई खुलस्त सुनाएर तिनलाई तिनका न्याना हातमा सुम्पिनुपर्थ्यो। अथवा तिनको मानसिक दुरवस्था र सम्भावित अनिष्टबारे तिनका अन्तरंग मित्रहरूलाई जनाउ दिएर तिनलाई तिनैको स्नेह र संरक्षणमा बुझाउनुपर्थ्यो। तर, त्यस्तो केही गरिएन। जे गरियो, त्यो अनिष्टलाई निम्त्याउने अनर्थमात्र गरियो। बेहोसी वा लापर्बाही वा करुणाहीनता प्रदर्शन गर्दै तिनलाई रस चुसिएको आँपको कोयोझैं ठानेर शीतल निवासबाट गौशालाको पशुपति गेस्ट हाउसमा चलान गरियो।
क्रुरताको छाप ठोकिएको मुद्रित कथा भन्छ – गेस्ट हाउसमा पुग्नासाथ भरतले झस्किँदै त्यहाँको सुरक्षा स्थितिबारे त्रासयुक्त आशंका प्रकट गरेका थिए। तिनलाई त्यहाँ पुर्याउने राष्ट्रपति यादवका सहायक जुनियर यादवका कानमा त्यो आशंका पनि परेकै हो। त्यो कुरा तिनले राष्ट्रपति र तिनका सल्लाहकारहरूछेउ जाहेरी गरेकै हुनुपर्छ। तैपनि भयाक्रान्त भरतलाई गेस्ट हाउसमा एक्लै, फगत एक्लै र नितान्त एक्लै छाडियो। लाग्छ, त्यो एकान्तस्थल तिनका लागि एक अन्धकार सुरुङझैं अनुभूत भयो होला जहाँबाट सुरक्षितरूपले बाहिर निस्कन तिनले न कुनै निकास देखे न कुनै उपाय। र, भयका पल्टनहरूको घेरामा परी भरतका सबै सपनाहरू खरानी भए, सबै आसाहरू सतचूर्ण भए र जीवनको रहलपहल धिपधिपे उज्यालो पनि झ्याप्पै निभ्यो। र, तिनले आत्महत्यामा भयमुक्ति खोजे।
दृष्टि खुलेका र शैली माझिएका भरत भुर्तेल राष्ट्रका एक मूल्यवान् निधि थिए। तर लाग्छ, आफ्ना लागि तिनको उपयोगिता लगभग निखि्रएपछि उपयोगकर्ता ख्वामित्द्वारा सर्वथा उपेक्षित हुन पुगेका भरतको कारुणिक कथा तिनको भयातुर आत्माको निश्वास भएर शीतल निवासवरिपरि धेरै दिनसम्म मडारिइरहनेछ। र, त्यसले भरतको भयावह अवसानसम्बन्धी अनुत्तरित अनेकन् रहस्यमय प्रश्नहरूका उत्तर माग्दै मौन कोलाहलको सिर्जना गरिरहनेछ। त्यो कोलाहलको अन्तर्लयमा सघन पीडाको गुन्जन भइरहनेछ – श्रीहजुरहरू हो! शासनको उच्च आसनबाट हेर्दा कृतज्ञता र कृतघ्नताबीच कुनै भेद देखिँदैन?
(स्रोत : Nagariknews)