कथा : अहंको भोक

~वसन्त प्रकाश~

त्यसो त चियाका पसलमा जति अहम्को भोक अन्यत्र कहाँ मेटाउन पाइएला र! गर्नु केही नपर्ने, एक कप चिया माग्यो अनि मन लागेको अहम्मा तर्क–वितर्क गर्योो। अनि जतिखेर आफ्नो ‘भोक’ मेटिन्छ त्यतिखेरै बाटो लाग्यो। मान्छेहरूले चियाका पसलमा सबैभन्दा बढी राजनीतिमाथि अहम्को भोक मेट्छन् भन्ने लाग्छ मलाई। त्यसैले यस्ता पसलहरूमा राजनीतिका कुरा बढी हुन्छन्।

वास्तवमा चिया पसललाई राजनीति विचरण र विचार प्रवाहको केन्द्रविन्दु भन्दा फरक पर्दैन। चिया पसलको यही महŒववोध गरेर हुनुपर्छ– छिमेकी राष्ट्र भारतका नेता मोदी यही सूत्र अवलम्बन गरेर अघि बढिरहेका छन्। मोदीको यही यात्राक्रममा मैले सम्झेँ– कोलकत्ताको पप्पु टी स्टल र पूर्वस्मृतिको घटनाक्रम।

ध्वाँसा अनुहारहरूको भीडमा मेरो गहुँगोरो अनुहारको प्रविष्टि हुन्छ। मुखामुख गर्छन् उनीहरू। कोइलाले भर्भराउँदो भएको चुलो छेउछाउमा छन् उनीहरू। काठमाडौंको कात्तिके मौसमजस्तो छ, कोलकत्ताको मध्य पुस। म आगोसँग नजिकिनुभन्दा चियाको तलतल मेट्न त्यहाँ पुगेको थिएँ।

‘एक कप चाय’ मैले भनेँ। उनीहरूको भीडबाट एउटा चंख लाग्ने अनुहारले मतिर हेर्योत र कित्लीबाट दुई तुर्को चिया खन्याउँदै भन्यो, ‘लिजिए।’ यस्सो हेरेँ– चिया माटोको प्यालामा थियो। सिकसिको मान्दै चिया उठाएँ र सुर्क्याएँ। मन र मस्तिष्कले कल्पनै नगरेको अथवा यसो भनूँ, मूल्यहीन माटाको प्यालामा अनुपम र बहुमूल्य स्वाद पाएँ मैले। करिब–करिब हाम्रा अभ्यस्त चिया कप या स्टिल गिलासको चियाभन्दा चौथाइजतिको चिया स्वादभित्रै हरायो। मैले फेरि मागेँ। फेरि चिया थपेँ। धीत मरेको थिएन। चौथोपटकमा उसले मलाई भन्यो, ‘आप बहुत पिते है क्या?’

सहज संवादको टिप्पणीमा थियो ऊ। तर मलाई नराम्ररी छोयो उसको भनाइले। अर्थ–अनर्थ र तर्क वितर्कका अनेकौं विरोधाभाषी बुझाइमा जन्मने मनोमालिन्यको आकारमा फैलिएँ म। जवाफ दिनु जरुरी थिएन। ऊ पैसा लिएर चिया बेचिरहेको थियो। म लत–कुलत जेहोस् त्यसको मोहले तानिरहेको थिएँ। चार कप तन्काऊँ या चालीस प्याला सकूँ? उसलाई के को चासो? म यसरी चित्त बुझाउन सक्थेँ। तर उसले प्रश्नरूपी जिज्ञासाको भाषा, लवज र शैलीले मलाई लघुताभाषी बनाइरहेको थियो। पिउनु भन्नेबित्तिकै मेरो मानसिकताले चिया नसोचेर ‘शराव’ सम्झेको थियो। शरावसँग भट्टीमा रहेको भानले मलाई ‘नशा’ चढाइरहेको थियो।

झडंग रिसाउन सक्थेँ म यतिखेर। विरानो सहर विराना भीडहरूले मलाई रिसाउन दिएन। रिसको धरातल दसगजा नाघ्नासाथ छाडेको थिएँ मैले। आफूमात्र नभएर श्रीमती र छोराछोरीको साथमा थिएँ। तीन जनाको पारिवारिक जिम्मेवारीबीच रिसलाई ठण्डा गराएँ। यद्यपि आफ्नो प्रतिवाद गर्ने बानीमा खुम्चन मलाई गाह्रो भइरहेको थियो। चिया कित्लीको मुखबाट उठिरहेका बाफजस्तै तात्तिँदै–तात्तिँदै त्यत्तिकै हराइरहेको थिएँ म। मनभित्र अनेकौं नाफा–नोक्सानका समीकरण सोच्दै र उपाय खोज्दै आफूलाई थोरै हँसिलो बनाएँ, अनि जवाफ दिएँ, ‘आप लोग पिने के लिए पिते हे, लेकिन हम जीने के लिए पिते है…।’

‘बहुत खुव! बहुत खुव!’ मेरो कुरा सुनेर ऊ रौसियो। म आफूले उसलाई दनक दिन सकेकोमा खुसी थिएँ। ऊ किञ्चित हतास र हठात् अँधेरिएन। ऊ मौन बन्यो केहीबेर। उसमा मौनता जन्माउन सकेकोमा म दंग र फुरुंग थिएँ। त्यही खुसीयाली मनाउन मैले फेरि अर्को लतको साहारा लिएँ र क्लासिक चुरोट सल्काएँ। कुलतलाई छाड्न नसक्ने निहुँजस्तै एक खिल्ली चुरोट मेरो विजय उन्मादको दण्ड भइरहेको थियो। मलाई अब उसैसँग बस्ने लोभ जाग्यो। उसको हाउभाउ र शारिरीक लवजले ऊ मलाई जतिसक्दो चाँडो बिदाई गर्न चाहन्थ्यो भन्ने स्वतः प्रष्टिन्थ्यो।

दैनिक लाखौंलाख मान्छे ओहोरदोहोर गर्ने हावडा स्टेसनको पप्पु टी स्टलमा मजस्ता कति आए होलान्? अथवा मजस्ता उसले कतिलाई कति चाया पिलायो होला? त्यसको के लेखाजोखा? यद्यपि, ऊ त्यहाँ धेरै संघर्षबीच जितेर बसेको अनुमान गर्न मलाई कठिन छैन। चिया बेच्नुसँगै हुने चिनी, चियापत्ति र दूधको संयोजनमात्रै चिया पसलेको चिनारी हुँदैन। त्यो मैले नजिकबाट बुझेको र जानेको छु। यस्ता चियापसलका कथाव्यथामा मैले मेरो राजधानी भूगोलपार्कसँगैको दीपक पाण्डे भाइलाई सम्झेँ। व्यस्त भूगोलपार्कको पिनट्स छेउ २० औं वर्षदेखि हामीलाई चिया खुवाइरहेका दीपकले भोगेको महानगरपालिका सन्त्रास, पुलिस प्रशासनको वक्रदृष्टिसँगै नगद–उधारो कारोबारका मर्म–पीडा आँखाभरि नाचिरह्यो।

‘कसैलाई निवा चिनीको चिया चाहिने, कसैलाई खुदोजस्तो गुलियो हुनुपर्ने। कोही पातलो त कडा खोज्छन्। साह्रै गाह्रो छ, अरूको जिब्रो हेरेर गर्नुपर्ने व्यापार गर्न,’ दीपक भाइले एकपटक होइन पटक–पटक भनेका थिए। एउटा वास्तविक जीवन भोगाइ छ उनको अभिव्यक्तिमा। मान्छेको एउटै जिब्रो भए पनि स्वादमा समानता कहाँ हुन्छ र! मुटु र रगतको संवेगले रातो रङबाहेक अर्को कहाँ समानता दर्शाउँछ र! कोही मधुमेहले गलेका, कोही ग्यास्टिकले थलिएका, कसैलाई दूध खानै नहुने, कसैमा कालो चियाबाहेकको रुचि नहुने– यिनै विविधताका टिप्पणी सम्झन्छु म। एकदिन तिनै दीपक भाइले भनेका थिए, ‘चियाको सट्टा बरु सिया व्यापार ठिक रहेछ दाइ। लाग्ने भए सबैलाई भइहाल्यो। चिया व्यापारमा चित्तै बुझाउन गाह्रो।’ चियाको मात्रै व्यापार गर्ने ती दीपक भाइले यस्ता धेरै कुरा गरेका छन्। चिया हिसाबमा एक कप नछाड्नेहरूको ‘सिया’ पानपछि जति पनि तिर्ने प्रसंगदेखि खाएर कहिल्यै नलाग्ने चिया र खानासाथ तत्कालै लाग्ने सियाका अनेकन् विभेद छुट्याएको सम्भि्कन्छु म।

म दीपकलाई सम्झेर पप्पुलाई बिर्सने अवस्थामा थिइनँ। दीपकको नम्र विनोदी परिचित व्यवहारभन्दा पप्पुका पेलानपूर्ण अभिव्यक्तिलाई राम्ररी तह लगाउनु जरुरी थियो मलाई। उसले छिटो उठोस् भन्ने भाव देखाए पनि म केहीबेर बसेर उसलाई जित्न चाहन्थेँ। ममा अहम्को भोक पलाएको थियो। जहीँतहीँ जित चाहने आम महŒवकांक्षा बोक्दै थिएँ म। यस्तैमा उसले भन्यो, ‘लिजिए एक कप मेरे तरफ से।’ मेरो लखटाइमा उसले बेजोडको पासा फ्याँक्यो सायद। ऊ मलाई सित्तैमा चिया खुवाउने निहुँमा त्यहाँबाट भगाउन खोजिरहेझैं लाग्यो मलाई। केहीबेर गम खाएँ मैले र उससँग जित्न भनूँ या त्यहाँ केहीबेर टिक्न भनूँ? मैले जवाफ दिएँ, ‘नहीँनहीँ मुझे नहीँ चाहिए। लेकिन एक कप बडे चाय और दो दूध बनादिजिय मेरेँ वाइफ और बच्चे लोगो के लिए। होटलमे लगना है।’

मेरो यो भनाइमा ऊ फेरि हारेजस्तो देखियो। उसको व्यापारमा वृद्धि भइरहेको थियो। तर, ऊ खुसी थिएन। व्यापारमा कमाइको स्रोत बढ्दा अँधेरिएको पहिलो व्यापारी देख्दै थिएँ म। मान्छेको अहम्ले नाफामात्रै हेर्दो रहेनछ सायद। ऊ केहीबेर अल्मलिइरह्यो। मोरो उसलाई हेर्ने क्रम बाक्लिँदो थियो, ऊचाहिँ मेरो दृष्टि ओझेल पार्ने दाउ खोज्दै थियो। उसको पराजित अवस्थामा मैले गर्वसाथ जुँगामाथि ताउ लगाउन पाइन्टको गोजीबाट हात झिक्दै थिएँ। एकाएक उसले भन्यो, ‘आप शुभम् होटेल पर ठहरिए है न, वहाँ पर तो वाहार से खाना लगना मना है।’ एउटा अचुक अस्त्र प्रयोग गर्योि उसले। म ठाउँको ठाउँ मर्माहित भएँ। बुद्धिचालको शैलीमा किङलाई चेक दिइरहेको मेरो दाउमा विरोधीका प्यालाले मन्त्री खाइरहेको पत्तो नभएकै हुस्सु हारको अवस्थामा पुगेँ म। क्रमशः खेद्दै गइरहेको बिरालाले आफ्नै घाँटी समाएजस्तै म नराम्ररी निस्सासिएँ। मलाई जितको तथाकथित धरातलीय ट्रामभन्दा हारको भूमिगत मेट्रोबाट नै बाटो लाग्नु ठिक लाग्यो र म त्यहाँबाट बाटो लागेँ।

भोलिपल्ट।

म सपरिवार पप्पुको चिया पसलमा पुगेँ। उसले परिचयको हात बढायो। मैले आत्मीयताको मन देखाएँ। सम्बन्ध सौहार्द लिगतिर बढ्यो। घरपरिवार, जातपात, धर्म, भूगोल, भाषाभेष थुप्रैथुप्रै प्रसंग र सन्दर्भ आदानप्रदान भए। ऊ जतिसुकै सहज भए पनि मलाई चाहिँ हिजोको पीडा बल्भि्करहेको थियो। आफ्नो हारमा लाचार भएर विरोधीसँग अंकमाल गरेको खलनायकी चरित्रहरूले झस्काइरहेको थियो मलाई। त्यसैले मलाई चियासमेत मिठो लागेको थिएन। श्रीमती र छोराछोरीले चिया र दूधको मिठासमा गरेको प्रशंसाले म भित्रभित्रै पाकिरहेको थिएँ। सायद ममा डाहा उम्लिरहेको हुनुपर्छ। अरूको डाहामा सत्यबोध नगर्ने औसत मानिसको स्वभावको द्योतक ठहरिएको थिएँ म।

पर्सीपल्ट।
एक्लै पुगेँ म पप्पुकहाँ। सदाझैं विभिन्न रूप स्वरूप र सोच शैलीको मान्छेहरू थिए। उसले मलाई प्रेमपूर्वक अभिवादन गर्योस। यतिन्जेलसम्म पनि ममा हारकै तुष भएको हुनुपर्छ। ममा दृष्टिदोष जन्मियो। उसका काला दाँतहरूमा मैले सफेद कुटिलता पाएँ। चियाको कित्ली समाइरहेका उसको सफा हात मलाई घिनलाग्दो लाग्यो। चिया राख्न धुलो झारिरहेको माटोका प्यालामा मैले जहीँतहीँ असहमतिका बालुवा कण देखेँ। मन नपरेपछि सासै गन्हाउने आलस्य प्रवृत्तिमा म पुगेँ।

‘इधर बैठिए न सरजी!’ उसले स्टुल तेर्साउँदै मलाई बेलायो र थप्यो, ‘कल साम जा रहे है न। मै आपको यहाँ के सबसे बडियाँ चायपत्ति गिफ्ट दिनेवाला हुँ। आप के काठमान्डु मे तो सवसे बडियाँ चाय हमारी असाम और बंगाल से ही जाता है।’ ऊ यसरी बोलिरहेको थियो, जसरी पुरानो मित्रतापछि जम्काभेटमा संवाद गर्छन् दुई मित्र। उसले दिने भनेको उपहारभन्दा कैयौं गुणा बढी झापड मेरो गालामा बजि्ररहेझैं लाग्यो। अस्तिसम्म चिया त्यसको स्वाद र आ–आफ्ना आत्मरतिका जित–हारमा ‘नोक झाँेक’ चलिरहेको पप्पुले मलाई राष्ट्रिय झापड हिर्काएजस्तै लाग्यो। उसले चिया बनायो र मतिर तेर्स्यायो। मुर्मुरिँदै मैले प्याला समाएँ। उसलाई देखाउन सक्ने अहम्का प्रशस्त उदाहरण थिए मसँग। उसको आँखाअगाडि बगिरहेको गंगासागरदेखि टी स्टलको भित्तामा टाँसिएको सगरमाथासमेत हाम्रै भूगोलका उब्जनी हुन् भन्न सक्थेँ म। तर कुरो र चुरो चियाको सेरोफेरोमा सीमित थियो। अप्रासंगिक हठमा मैले नाक ठाडो पार्नुको अर्थ थिएन। भूपरिवेष्ठित सत्यभित्र मात्रै नभएर म संवादमा समेत लाचार हार्दै थिएँ। फेरि उसले थप्यो, ‘सरजी! आपको पता तो है न आप लोगो ने चाय पिने हम से सिके है।’

म रन्थनिएँ उसको टिप्पणीले। कसले के खान कोसँग सिक्यो? यो चासोको यथार्थ पाटोमा उसले मलाई नराम्ररी हुल्यो। दूध खान आमाबाट सिकेको बालकले प्रकरान्तरमा आमासँग अंश लिने सत्य मलाई थाहा छ। गाईको कल्चौंडा चुसेका बाछाहरूले कालखण्ड व्यतित क्रममा ‘बहर’ बनेका यथार्थ ज्ञात छ मलाई। अरू त अरू भात खान सिकाइएका हातहरूका अनेकौं दुष्कर्म गरेको उदाहरणको पत्तो छ मलाई। सिकेर मान्छेले धेरै चिज जान्न सक्छन्। तर त्यो सिकाइ यदाकदा कुलत हुन्छ र मान्छे मृत्युपर्यन्त त्यसैको दास बन्छ। म चियाकै त्यही लत/कुलतबाट तानिएर त्यहाँ पुगेको थिएँ। तर म दास थिइनँ कुलतको। यो सम्झेर ममा एकाएक खुसीको तरंग फैलियो। हारैहारभित्र मैले जितको आभा देखेँ। अनि मैले मिठासयुक्त लवजमा भनेँ, ‘ए, सब पता है मुझे। लेकिन आपको पता है आप लोगो ने चिया पिने अंग्रेज से…।’

मैले बोल्दाबोल्दै उसले बीचमै कुरा काट्यो र भन्यो, ‘जो भी हो, ए चाय अच्छी चिज नहीँ है।’

‘क्योँ?’ मैले सोधेँ।

उसले भन्यो, ‘चाय से भुख नहीँ लगती।’

हाम्रो संवादलाई उसले मनोरञ्जनात्मक रूपबाट बीट मार्यो । हाम्रा कुरा सुनेर त्यहाँ रहेका सबै हाँसे। चियाको भोकमा झुम्मिएका प्रशस्त मान्छेको भीडबाट म भने आफ्नो अहम्को भोक मेटाएर बाहिरिएँ। होटलमा भातको भोक कुरिरहेका परिवार भएतिर लागेँ।

(स्रोत : Nagariknews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.