हिजो के थिएँ, म आज के भएँ ! सम्झेर ल्याउँदा मेरो हृदय सात चिरा परेर धुरुधुरु रुन्छ । हेर्दाहेर्दै, कहाली लाग्दालाग्दै म राजनीतिको गरिमामय शिखरबाट तल फोहोर फेदीमा झ्वाम्मै खसेँ । आफू परियो नास्तिक, इहलोकमा ‘हे हरि’ भनेर दुःखमा सहारा खोज्ने आधारसमेत मेरो केही रहेन । उदास जुँगामा हतास औँलाले ताउ लगाउँदै म घोत्लिन्छु, अढाइ करोड नेपालीमा सबैभन्दा अभागी जीव हामी दुईजना रहेछौँ । ज्ञानेन्द्र शाह र म माधवकुमार नेपाल । सँगसँगै यता मेरो बल्खुदरबारको सिंहासन ढल्यो, उता ज्ञानेन्द्रको नारानहिटी दरबारको सिंहासन घोप्टियो । यता म बल्खुदरबारको गजुरबाट पतीत भएँ,
उता ज्ञानेन्द्र नारानहिटी दरबारबाट निकाला भए । चुनावमा लतारिँदा मेरालागि सिंहदरबारको ढोका बन्द भयो, सिंहासनबाट पछारिँदा ज्ञानेन्द्रका लागि नारानहिटी दरबारको द्वार बन्द भयो । मेरी आमा ! बरु ज्ञानेन्द्रले त कमसेकम सानै भए पनि नागार्जुन दरबार पाएका छन्, मेरा भागमा लोकको खिसिट्युरी सिवाय केही परेको छैन ।
सम्झेर ल्याउँदा मलाई उदेक लाग्छ, ज्ञानेन्द्र र मेरो आदि र अन्त्य एकनासको रहन गयो । मलाई महासचिव पद योग्यताले, रोलक्रमलेे आएको होइन । यो अकस्मात् हुन गएको कमरेड मदनको हत्यापछि अपुतालीमा आएको थियो । ज्ञानेन्द्रलाई श्रीपेच परम्परागत योग्यताले, रोलक्रमले आएको होइन । दाजु वीरेन्द्रका छातीमा ‘स्वचालित हतियार अकस्मात् पड्किन गई’ अपुतालीमा त्यो आएको थियो । अपुताली पाउनेले पाएको जिनिस उल्फाको धन, फुपुको श्राद्ध गरेर स्वाहा पार्छ भन्छन् । नभन्दै त्यस्तै भयो । मेरो महासचिव पद लज्जास्पद ढंगले स्वाहा भयो । ज्ञानेन्द्रको सिंहासन लज्जास्पद ढंगले स्वाहा भयो । यस घडीमा, चरम दुःखको यस घडीमा, ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा धुरुधुरु, म माधवकुमार नेपाल कोटेश्वरको निजी निवासमा धुरुधुरु !
जब सबैतिर हारेँ, मलाई नैतिकता भन्ने चिजको झल्याँस्स याद आयो । अनि नैतिकताको मन्त्र जप्दै महासचिव पदबाट मैले राजीनामा दिएँ । यसमा मेरो भित्री सोचाइ महान् थियो । मैले राजीनामा दिएपछि मेरो सिको गर्दै मजस्ता हरुवा केपी, ईश्वर, प्रदीप, रघुहरुले पनि आ-आपmना पार्टी-पदबाट राजीनामा देलान् । अनि खालि ठाउँमा उत्तम विचार, उत्ताल जोस र जंगी जाँगर भएका कमरेडहरु आउलान् । अनि पार्टीको जर्जर ज्यानमा प्राण सञ्चार होला । तर, त्यस्तो भएन । यी कुर्सीका कीराहरु कुर्सीमै टाँसिइरहे । त्यो देख्दा हतारिएर बित्थामा राजीनामा दिएँछु भनेर मलाई पछुतो लाग्यो । यत्रो एमाले पार्टीको नैतिकताको सगर थाम्ने जिम्मा मेरैमात्र हो र ? अरूलाई लाज नलागे पनि हुने, मैलेमात्रै किन लाज मान्नुपर्ने ? एमालेलाई लतारेर पतनको बाटोमा ओरालो लगाएको मैले एक्लै हो र ? हे हरि !
छँदाखाँदाको महासचिव पद गयो, मसँग नभएको फुर्सद मलाई आयो । पदमा छँदा बिहान भाले बास्न नपाउँदै मेरो घर-दैलोमा पार्टीभित्रका चाकरी गर्ने र चुक्ली लाउनेहरुको धुइरो लाग्थ्यो । त्यो बेला मलाई भ्याई-नभ्याई थियो । कहिले कार्यकर्ताहरुलाई ज्ञान-बुद्धि दान गर्न भेलामा गयो । कहिले नारानहिटी दरबारबाट सकारात्मक संकेत आउला कि भनेर लोभी नजरले झ्यालबाट यसो चियाएर हेर्यो । कहिले दूतावासतिरबाट उर्दी आउँदा सात काम छाडेर उतै कुद्यो । कहिले रिपोर्टर्स क्लबमा भाषण ठोक्न हेलियो । कहिले मोदनाथ प्रश्रतिको पछि लागेर सीताराम प्रसाईँका छोराको बिहाभोज डम्पmयाउन पुग्यो । कहिले सात दलको गाँड कोराकोरमा सामेल भयो । मलाई यतै भ्याई-नभ्याई, उतै भ्याई-नभ्याई ! तर अब त्यो सब लफडो छैन । मलाई फुर्सदै फुर्सद छ । त्यसैले अचेल म गहन आत्म-समीक्षातर्फ लहसिएको छु ।
म त हारेँ, हारेँ, मेरै कार्यकालमा हाम्रो एमाले पार्टी पनि नाइटासम्मै डुब्यो । अब बाँकी डुब्न के बेर ! यो डुबान के कति कारणले भएको हो ? मलाई लाग्थ्यो, एमालेसँग जबज नाउँको दिशा दिने, उज्यालो दिने अजेय अस्त्र छ । जबजले सधैँ एमालेको भलै भलो गर्छ । तर खै त ? महाकाली सन्धि गर्दा जबजलाई इतिहासको फड्के किनारमा साक्षी राखिएकै हो । तर निहुँखोजाहाहरुले यसलाई प्वाक्क ‘राष्ट्रघाती सन्धि’ भनिदिए । एमालले चन्द बाबुसाहेबलाई प्रधानमन्त्री बनाएर शिरोपर गरेको पनि जबजलाई सोधेरै हो । तर सधैँ छिद्र खोज्नेहरुले एमालेलाई पञ्चको लगौँटी भनिदिए । सांसद किनबेचमा डट्दा, प्रभुका पाउमा दाम चढाउन निहुरिँदा वा मौसुफको त्रुटि सुच्याउन तम्सिँदा हाम्रो जबज कहाँ थियो ? यहाँनेर कसो-कसो मलाई शंका लाग्छ । कि त हामीले बीचैमा जबजलाई छाड्यौँ, कि त यी काम लाग्दैनन् भनेर जबजले हामीलाई छाड्यो । यी सब क्रियाकर्म गर्दा जबज हामीसँगै थियो भने, गोप्यरूपले मैले भन्नैपर्छ, यस्तो नाथे जबजको केही काम छैन । आखिर जबजको रटान गर्दागर्दै डुबियो त ! तर एमाले कृतघ्नहरुको पार्टी होइन । डुबियो भन्दैमा एमालेगण जबजका जो भएका गुन बिर्सँदैन । हो, हाम्रो जबज सजिलो थियो ।
यसमा ‘संविधानसभा,’ ‘गणतन्त्र,’ ‘राज्यको पुनर्संरचना,’ ‘संघीय राज्यप्रणाली,’ ‘समानुपातिक प्रतिनिधित्व,’ ‘पार्टीको आन्तरिक लोकतान्त्रीकरण’जस्ता झ्याउ-झमेलाहरु केही नै थिएनन् । कल, छल, बल जेले हुन्छ, चुनाव जित । शक्तिकेन्द्रहरुको चाकरी, स्वस्ति, पाउलागी जे जे गरेर हुन्छ, सरकारमा उक्ल । उक्ल र ‘आपmनो गाउँ आपै“m बनाऊ’ । बस्, जबजको तत्त्व यत्ति हो । तर मूले माओवादी यी सारा झ्याउ-झमेला लिएर होहल्ला गर्दै जंगलबाट सहर पस्यो । हाम्रो एमालेको ओराली सुरु भएको माओवादीको यही बद्मासीले गर्दा हो । अनि मेरो महासचिव पद ! उप !
राजनीतिमा जबज र भ्रमको नाता के हो ? कहिलेकाहीँ मलाई यो प्रश्नले हैरान पार्छ । म सम्झन्छु, चुनाव संघारमा आइपुग्दै थियो । जताततै एमालेको जितैजितको हल्ला फैलियो । डिएफआइडी नाउँको बुद्धि र धनको घैँटो तीनहात उप|mेर एमालेलाई जिताउँदै थियो । के अनुसन्धानकर्मी, के मिडिया, के विद्वान् प्राडा सबैका मुखमा एमालेको बहुमतै-बहुमत थियो । यिनका कुरा सुनेर केपी, ईश्वर, प्रदीप, रघुहरु सबै मक्ख थिए । ती चाप्लुसीको भाकामा मलाई भन्दैथिए- कमरेड ! माओवादीसँग बन्दुक छन्, जन छैनन् । कांग्रेससँग न बुद्धि छ, न जन छन् । त्यसैले मुलुकभरिका जनजति जम्मै एमालेका । कमरेड महासचिव ! आगामी सरकार एमालेको, प्रधानमन्त्री पद माधवकुमार नेपालको । बेबकुफहरु ! अरूले त मलाई बेबकुफ बनाए-बनाए, हाम्रै केपी, ईश्वर, प्रदीप र रघुहरुले पनि मलाई थाङ्नामा सुताए । अरू कागले कान लग्यो भन्ने, कान नछामी यी अल्छीतिघ्रेहरु खुरुखुरु पत्याउने । अनि मलाई पत्यार गराउन यी हत्ते हाल्ने ! बाहै्रमास काठमाडौँमा हल्लिएर बिहान दूध र काजु, बेलुका मदिरा र कबाफ उदरस्थ गरेर मुलुकै हाम्रो हो भन्दै भ्रमको सुतीखेती गरेर एमालेलाई डुबाउने माउकर्ताहरु यिनै हुन् । म त सोझो मान्छे, यिनका कुरा पत्याएरै मेरो पत्तासाफ भो । हैन, यो जबज भनेको फगत भ्रम हो त ? एमाले यसरी उँधै, उँधै र उँधै मुन्टिरहँदा हाम्रो पुज्य जबज कहाँ थियो ? मौकामा बुद्धि नदिने यो जबजलाई अझै दह्रोसँग पक्रेर हाम्रो एमाले कहाँ पुग्ने हो ?
उसो त मेरो गहन आत्म-समीक्षाबाट अर्को एउटा गुह्य पनि खुल्यो । एमालेको ट्रेड युनियन कार्यालयमा जाँदा म सधैँ प्रसन्न हुन्थेँ । बाहिर भित्तामा मनमोहनभवन लेखिएको छ । कोठैपिच्छे लाए-खाएका, सुकिला, चिल्ला र हँसमुख राजकुमार-राजकुमारीजस्ता जनहरु कम्प्युटर खोलेर बसेका छन् । एमाले ट्रेड युनियनका नेता भुईंमा खुट्टा टेक्दैनन्, जताततै पजेरोमा हुइँकिन्छन् । त्यो सब देख्दा मलाई लाग्थ्यो, जबजको दिशानिर्देशमा मुलुकको कायाकल्प भयो । मजदुर-किसान उठ्यो ! तर जब आतंकको अनुहार लिएर चुनावको नतिजा आयो, म झल्याँस्स भएँ । अरे बाबा ! मुलुकमा मैला-धैला र भोका-नाङ्गा मजदुर-किसान अझै पनि बाँकी रहेछन् । सहरको सोख र विलासको सिकारी भएर एमालेले तिनलाई बिर्सेछ । अनि एमालेलाई त्यागेर ती सब माओवादीमा छिरेछन् । यो सब अनिष्ट भइरहँदा हाम्रो जबज खै के हरिबस्याथ्यो ? अनि अहोरात्र जबजको रटान गर्ने हाम्रा उच्चपदस्थ विलासवीर कमरेडहरु !
उपm ! मुलुकको एउटा ‘उपm’ नागार्जुन दरबारमा, अर्को ‘उपm’ कोटेश्वर गृहमा । मैले के त्यत्रो पाप गरेको छु र म विचरो ‘उपm’माथि सधैँ अपमानै अपमानको यो ओइरो ! पहिले प्रधानमन्त्रीको पद देखाएर मलाई धेरैले धेरैपटक थाङ्नामा सुताएका थिए । अहिले राष्ट्रपतिको पद देखाएर मलाई उही गन्धे-थाङ्नामा सुताइरहेछन् । म यी सबको सदावहार भकुन्डो रे ! कुन दुनो सोझ्याउन हो मलाई थाहा छैन, झलनाथ खनाल म भकुन्डोरूपी माधवलाई यताबाट लात्तले हान्छन्, उताबाट प्रचण्ड मलाई लात्तले हान्छन् । अनि बीचमा केपी शर्मा ओली छिर्केदाउले म भकुन्डोलाई गिरिजाबाबुका खुट्टामा पास दिन्छन् । म यस राष्ट्रको भकुन्डे राष्ट्रपति यत्रो पनि हुन्न । जसलाई हुनु छ, भइरहोस् । जसलाई खानु छ, खाइरहोस् ।