संस्मरण : डायमनशमशेरसँगका आठ वर्ष

~ऋषिराम पाण्डे~

सेतो बाघका लेखक डायमनशमशेर राणाको नाम त स्कुले जीवनमै सुनेको थिएँ । उहाँसँग प्रत्यक्ष भेट गर्ने सुअवसर भने २०६० साल असारमा मात्र प्राप्त भयो । जुन बेला उहाँ पचासी वर्षको हुनुहुन्थ्यो । मेरा मित्र कार्तिकेय घिमिरेले एक दिन भन्नुभयो- डायमनशमशेर राणाजस्तो अन्तर्राष्ट्रियस्तरको साहित्यिक प्रतिभाको हामीले जीवनी तयार गर्नु महत्त्वपूर्ण काम हुनेछ । त्यसका लागि मैले कार्यक्रम मिलाएको छु । तैँले साथ दिएमा पक्कै पूरा हुन्छ ।

कार्यक्रममा मैले सहमति जनाएँ । सोहीअनुरूप हामी बिहान १० बजेतिर डायमन निवास कुपण्डोल पुग्यौँ । कम्पाउन्डवाला घर, सफा आँगनमा चारैतिर गमला, फूल र बिरुवाहरूले सजाइएका । हामी गेट खोलेर सरासर भित्र प्रवेश गर्‍यौँ । उहाँ बैठक कोठामा बसी रहनुभएकोले हामीलाई पनि त्यही बोलाउनुभयो ।

पहिलो पटक डायमनशमशेर राणालाई सामुन्ने भेट्न पाउँदा खुसीको सीमा रहेन । पचासी वर्षमा पनि उज्यालो मुहार, खाइलाग्दो शरीर, जोश, जाँगर र फूर्ति उत्तिकै देखिने पचपन्न साठी वर्षेजस्तै । मीठो र सम्मानजनक बोलिवचनले मान्नैपर्ने विशिष्ट आगन्तुकलाईझैं हामीलाई स्वागत सत्कार गरेको देखेर म आश्चर्यचकित भएँ । राणा खानदानका भएर पनि उनमा सरल स्वभाव र खुल्ला हृदय, जनप्रेमी, समाजवादी एवम् प्रजातान्त्रिक विचार भएको पाएँ । केही क्षणको कुराकानी र चियापानपछि भोलिपल्टको कार्यक्रमको निश्चित गरी हामी फर्कियौं ।

भोलि पल्टदेखि उहाँले आफ्नो बाल्यकालीन एवम् युवावस्थाका रोचक घटनाहरू अनि बाबुबाजे र श्री ३ प्रधानमन्त्रीहरूको बानीव्यहोरा र चालचलन सुनाउनुभयो । साथै राजा त्रिभुवनसँगको मित्रताबारे रमाइला प्रसङ्गहरू बताउनुभयो । निरङ्कुश एकतन्त्रीय राणाशासनमा जनताले पाएको दुःख अनि प्रजातन्त्रका लागि गरेको सङ्घर्ष, राजा महेन्द्र, वीरेन्द्रसँगको सम्बन्ध बी.पी. कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइरालाहरूसँगको राजनीतिक सहकार्य इत्यादि विगतका सुखदुःखका घटनाहरू कहिले भावुक बन्दै र कहिले हाँस्दै सुनाउनुभयो ।

आफ्नो जीवनको अविस्मरणीय घटना बताउने क्रममा भन्नुभयो- ‘२००७ सालतिर प्रजातन्त्र नआउँदै म सेनाको लेˆटिनेन्ट पदमा थिएँ । २००६ सालमा राणा सरकारको अनुमतिबेगर बनारस गई ‘वसन्ती’ किताब छपाएर ल्याएँ । त्यसबेला किताब लेख्नु छपाउनु घोर अपराध भएकोले म पनि दाजुभाइ भतिजा सबैका नजरमा महाशत्रु, कुलङ्गार र अपराधी सावित भएँ । आफन्तहरू बोल्न छोडे । आगोपानी बाराबार ।’

‘उता राजा त्रिभुवन र नेपाली जनतासँग भने सामीप्यता गहिरिँदै थियो । यस्तैमा एक दिन पाटनको कुनै घरमा महत्त्वपूर्ण बैठक भनी मलाई बोलाइयो । गोप्य बैठकमा म डराइडराइ एक तलामाथि गएर भर्‍याङको टुप्पोमा बडो सजकताका साथ बसेँ । केही बिपत आइपरेमा भागिहाल्ने उद्देश्यले । निरङ्कुश राणा शाहीको बिरोधमा जुलुस नारा मेरै नेेतृत्वमा गर्ने भनी

-मैले नमान्दा नमान्दै) बैठकले निर्णय गर्‍यो । केही पहिलेदेखि नै राणा शासनप्रति नकारात्मक बनेको मैले रतिभर डर नमानी सरकारको विरोधमा सहभागी भएँ । मलाई तत्काल समातेर सिंहदरबार जेलमा राखियो साथै -कोर्टमार्सल) मृत्युदण्डको सजायँ पनि सुनाइयो ।’

‘सिंहदरबार जेलमा म सँगै अर्को कोठामा बालकृष्ण दाजु पर्नुभएको थियो लेखनकै क्रममा । अँध्यारो कोठाको सानो प्वालबाट हामी कुराकानी गथ्र्यो । मार्ने निश्चित भएकोले देश र जनताको मुक्तिका लागि मर्न पनि कुनै डर चिन्ता भएन । एक दिन सिंहदरबार गेट वरिपरि अत्याधुनिक हातहतियार तैनाथ गरिएको देखेँ । एकाधमात्रले चलाउन जानेका उक्त हतियारबारे हिन्दुस्थानमा गई तालिम लिइसकेकोले म पनि विज्ञ नै थिएँ । मेरो मनमा तत्काल आएको विचार दाजु बालकृष्णसँग भनेँ- अब यिनीहरूले मलाई मार्नेमा कुनै शङ्का छैन, म यहाँबाट भागेर गई ती हतियार समाती मोहनशमशेर र अरू दुईचार जनालाई मार्छु । मेरो कुरा सुनेर बालकृष्ण दाजुले भन्नुभयो- अहिले त्यतिसम्म निराशा हुनु पर्दैन । छिट्टै नै राणाहरूले शासन छोड्दैछन् भन्ने सुनेको छु । उहाँको कुराले म पनि पछि हटेँ । नभन्दै केही दिनमै राणा शाही हट्यो । प्रजातन्त्रको बहाली भयो । प्रजातन्त्र आएकोमा सबैले खुसीयाली मनाए ।’ यस्तै यस्तै रोचकपूर्ण घटनाहरू उहाँ सुनाउनु हुन्थ्यो । दिनहरू बितेको थाहै हुँदैनथ्यो । प्रायःजसो दिनभरि नै उहाँसँगै रहन्थेँ ।

जीवनको उद्देश्यबारे उहाँ भन्नुहुन्थ्यो- ‘लामो समयसम्म नेपाली काङ्ग्रेसको पाटन जिल्ला सभापति भएँ । पाटनलाई सुन्दर र नमुना सहरको रूपमा विकसित गर्ने रहर राजा महेन्द्रले २०१७ सालमा तुहाइदिए । त्यसपछि जेलनेलले जीवन बित्यो । जेलमा रहँदा बस्दा सबैजसो लेख्नेपढ्ने गर्थे । मैले राणाहरूकै इतिहास समेटेर ‘वसन्ती’ पहिल्यै लेखिसकेको थिएँ । राणाशाहीकै इतिहासमा आफू विज्ञ भएकोले फेरि पनि यही विषयवस्तुमा दिनरात लेख्न थालेँ । शिक्षा र साहित्यले नै समाजमा व्याप्त अन्याय, अन्धविश्वास, अन्धकार, अशिक्षा, अज्ञानता हटाउन सक्छ भन्ने मेरो मान्यता हो र लेखनको उद्देश्य पनि यही हो ।’

‘वास्तवमा मैले लेखक-साहित्यकार बनुँ भनेर लेखेको थिइन, न नेता, पद र पैसाका लागि राजनीति गरेको थिएँ । समय र परिस्थितिले लेखक र नेता दुबै बनाएको रोचक अनुभूति सुनाउनुहुन्थ्यो’ – ‘म कहिल्यै पद र पैसाको पछि लागिन । हुन त राजा महेन्द्र नै दुईदुई पटक घरमा आएका थिए तर मैले वास्ता गरिन अनि त मलाई जेलमा हाले ।’

यसरी आफ्नो सम्पूर्ण जीवन नै नेपाली जनता देश र समाजको मुक्तिका लागि, प्रजातन्त्र, स्वतन्त्रता र साहित्यको उन्नतिका खातिर खर्चेका डायमनशमशेर राणा आफ्नो ९४ वसन्तमा पनि देश, जनता र साहित्यकै प्रगति हुन नसकेकोमा चिन्तित हुनुहुन्थ्यो । अनि बारम्बार भन्नुहुन्थ्यो – ‘सारा युरोप, अमेरिका साहित्यबाट नै धुमधाम विकास भएको मैले पाएँ । एकै घर परिवारमा श्रीमान् श्रीमतीको बेग्ला बेग्लै पुस्तकालय छ । नयाँ पुस्तक बजारमा आउनासाथ किन्छन् । फुर्सद भयो कि साहित्य पढ्छन् । साहित्य भनेको चेतना हो । यसको वृद्धि र विकासले नै व्यक्ति, समाज र देशको उन्नति हुन्छ ।’ सभा समारोह वा अन्य जोसँग पनि उहाँ यही कुरा भन्नुहुन्थ्यो ।

कुरै कुरामा एक दिन भन्नुभयो- ‘डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठान’ बनाउन केही साथीहरू लागेका थिए । बीचैमा छोडे, नेपाली कागजमा पि्रन्टेड विधान देखाउँदै भन्नुभयो, तपाईंको फुर्सद भए गर्नुस् । उहाँको प्रस्तावमा मैले सकारात्मक सोच बनाएँ । केही साथीहरू मिली यो कार्यक्रमलाई अगाडि बढायौँ । कार्तिकेय घिमिरेको अध्यक्षतामा २०६२ साल मङ्सिर १६ गते ललितपुरमा संस्था दर्ता गरियो । प्रतिष्ठानको कार्यालय नै उहाँको निवासमा राखिएकाले प्रायः उहाँसँग दिनहुँजसो कुराकानी हुन्थ्यो । जीवनको अन्तिम अवस्थामा पनि भन्नुहुन्थ्यो, ‘अझै हामीमा चेतना आएको छैन । साहित्यमा कदर गरिएको छैन ।’ प्रतिष्ठानले विभिन्न साहित्यिक कार्यक्रमहरू गर्दै आएकोमा खुसी व्यक्त गर्नुहुन्थ्यो । तै पनि सोचेजस्तो अगाडि बढ्न बढाउन सकेका थिएनौँ ।

उहाँ र उहाँका कृतिहरूका विषयमा खोजअनुसन्धान गरी व्यापकरूपमा विस्तार गर्न सकेमा उहाँमाथि न्याय हुने थियो साथै देश र जनताको पनि हित हुने ।

आज डायमनशमशेर राणा हामीसामु भौतिकरूपमा हुनुहुन्न तापनि उहाँका चर्चित उपन्यासहरू नेपाली साहित्य आकासमा जग्मगाइरहेका छन् । उहाँका मार्मिक प्रजातान्त्रिक विचारहरू, अनि देश र जनताका लागि दिएको योगदान युगौँयुगसम्म इतिहास बनेर रहनेछ । जसले हामीलाई सधैँ देश र जनताको उन्नतिका लागि घचघचाउने छन् । सत्मार्गतिर डोर्‍याउने छन् ।

-लेखक डायमनशमशेर राणा प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ ।)

(स्रोत : मधुपर्क जेठ, २०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.