कथा : एक जोर सूट

~बसन्त गौतम~Basanta Gautam

साँझको आठजति भईसकेको थियो। बिहानैदेखि ल्याबमा खटेको हुनाले उ अत्यन्त थकित थियो। कोठातिर फर्किन भनेर निस्किसकेको थियो, ‘मेल चेक गर्नुप-यो हिँड्ने बेलामा’ भनेर कम्प्यूटर अगाडि बस्यो।

“के लेखेछ बूढाले?!” एउटा मेल प्रोफेसरको पनि रहेछ।

“चन्द्र कुमारजी, भोलि योकोहामामा हुने ‘निप्पोन बायोटेक’को त्रैमासिक बैठकमा भाग लिन तपाईँ जानुहोला। म जान नभ्याउने भएँ।गत महिनाको सम्मेलनमा पेश गरिएका सामाग्रीहरु पनि लैजानुहोला र त्यसबारेमा छोटो प्रस्तुति दिनुहोला। धन्यवाद।“ चन्द्र कुमारले पी.एच.डी. शुरु गरे यता एक दुई पटक बूढाले यस्ता बैठकमा आफ्नो साटो चन्द्र कुमारलाई पठाएको छ।

चन्द्र कुमार अल्छी तालले कोठातिर फर्कियो। चिसो बतास चलिराखेको थियो। ‘हिऊँ पर्छ कि क्या हो!’ आफैँसंग बोल्दै ढोका खोल्यो र झोला ओछ्यानतिर हुर्र्यायो। जुत्तै नफुकालीभान्छा तिर गयो,चाउचाउ पकाउन कराहीमा पानी बसाल्यो र त्यसपछि जुत्ता फुकालेर हातगोडा धुनथाल्यो।

उम्लेको पानीमा चाउचाउ एक पोका र दुइटा अण्डा हाल्यो। दराजबाट कोट र पाइण्ट निकाल्यो। कोट ठिकै हालतमा रहेछ, पाईण्ट अलि खुम्चिएको जस्तो देखियो। खाइसकेपछि आइरन गर्ने सोच बनाएर चाउचाउ खानथाल्यो।

खाईसकेपछि पाइण्ट टेबुलमा फिजारेर आइरन दल्न थाल्यो। अलि अलि आइरन गरेर नपुग्ने जस्तो लाग्यो चन्द्र कुमारलाई, अलि बढीनै खुम्चिएको रहेछ। । दिक्क मान्दै दोहोराएर आइरन ग-यो, तैपनि उस्ताको उस्तै! मन नलागी नलागी तेस्रो पटक आइरन ग-यो, पाइण्टमा परेका मुजाले हराउने नामै लिँदैनन्!

‘स्सा—ला! थोत्रो भाँडोमा धो’को लुगा यत्रो गतिलो हुन्थ्यो—!’ धेरै पुरानो वाशिङ मेशीन थियो उस्को, कुनै नेपालीले नेपाल फर्किने बेलामा छोडेको। पछिल्लो पटक धोएर निकालेकै बेलामा पाइण्ट एकदम खुम्चिएको याद गरेको थियो उसले। पछि हेरौँला र कुनै ड्राइक्लीनरकहाँ लगेर ठीक पारौँला भनेर छोडेको थियो, तर त्यसपछि एकपटक पनि हेरेनछ उसले। अर्को एक जोर कालो सूट हाल्ने विचार पनि पुरानै हो चन्द्र कुमारको, तर कहिले के कहिले के भएर किन्ने मेसै परेको छैन। पाइण्टले भोलि घोर बेइज्जत गर्नी भो भन्ने भावले मन खल्लो भयो चन्द्र कुमारको। ‘भोलि बिहान एकछिन फेरि मच्चिनुपर्ला आइरन ले’र।‘ भन्ने सोच्दै उ सुत्यो।

भोलिपल्ट बिहानको नित्यकर्म सकेर आइरन लिएर मच्चिन थाल्यो। तीन पटक मच्चिएर छोडिदियो ,जति मच्चिएपनि पाइण्टले ठीक ठाऊँमा आउने सूर ल्याएन।

“अँ— भन्।“ फोन उठायो चन्द्र कुमारले।
“जिम्दै छस् तँ? के गर्न लाग्याछस् नि अहिले?” ओमे बोल्यो उताबाट।
“पाईण्टले टेन्सन दि’राछ यार!”
“के भ’ र?”
“हेर्न, आज एउटा कार्यक्रममा योकोहामा जानुपर्नी, सूटको पाईण्ट नराम्रोसंग खुम्च्या’ रैछ अस्ति धुँदा, जति आइरन गरे नी ठाममा आऊँदैन।“
“अनि अर्को सूट लाएर गए हुन्न त तँलाई?”
“अर्को त हरियो छ यार, दाजुको बिहेमा हालेको, नेपालाँ जन्त जाँदा मात्तै लाउन हुन्छ त्यो त! कागको माझाँ बकुल्ला भईन्छ यार त्यो लाएर गयो भने त! जाप्नीज बूढ्ढाहरु छपक्कै कालै भ’र बस्या हुन्छन्।“
“अनि अर्को एक जोर कालो सूट हाल्नु पर्दैन त?! कट्टू र चप्पलका भराँ’ पि एच डी सक्नी भईस् कि क्या हो?! स्कलरशिपको मूठो सटक्क बुझ्नी मान्छे, दिनदिनै सूट फेरेर हिँड्नु, वर्षैपिच्छे गाडी फेर्नु! बोरामा पैसा कोचेर राख्या छस्, अनि यत्रो! कति बोरा येन लानी भईस् नेपाल? कि सिरकको खोलै भरिसकिस्?! हा—हा—हा !” ओमेले उडाउन पा’को, किन छोड्थ्यो?
“नकरा मु–, किन फोन गरिस् भन्।“
“तेरो कुच्च्या मुख नदेख्या धेरै भ’थ्यो, आज भेटेर संगै खाना खाम् भनेर हो, भईहाल्यो अब।“ फोन राख्यो ओमेले।

चन्द्र कुमारले अमिलो मन लिएर लुगा लगायो। रेलमै बेन्तो किनेर खाऊँला भन्ने सोच्दै कोठाबाट निक्लियो।

रेल स्टेशनसम्म पुग्न दश मिनेटजति हिँड्दा एक शताब्दी पूरै हिँडेजस्तो लाग्यो उसलाई। हरेक सेकेण्ड उस्को मनलाई कसैले आफ्नो खुम्चेको पाइण्ट हेरिरहेको होला भन्ने सोचाईले चिमोटिरहेको थियो। सधैं काँधमा झोला झुण्ड्याउन मन पराउने चन्द्र कुमारले आज हातमै झुण्ड्याएको थियो, ता कि खुम्चेको पाइण्ट अलिकति भएपनि छेकियोस्।

“त्यो जाँ—लाई किन हेर्नु प-या होला नि!” भुत्भुतायो चन्द्रकुमार, गाडीमा बसेकी एउटी केटीले उस्को पाइण्ट हेरेजस्तो लागेर। अरु दिन भए केटीले हेर्दा ‘मजस्तो ह्याण्डसमलाई नहेरेर कल्लाई हेर्छन् त?’ भन्ने सोचेर छाती फुलाउँथ्यो उ, तर आज भने कसैले पनि नहेर्दे हुन्थ्यो! केटीले त झन हेर्दै नहेर्दे हुन्थ्यो!

तै खासुगाई स्टेशनबाट रेलमा बसेपछि उस्को समस्या हल भयो एक छिनको लागि। रेलभित्रको भिडमा चन्द्र कुमारको खुम्चेको पाइण्टको त के, चन्द्र कुमार आफैं हरायो।

नागोया पुगेर हतार हतार शिन-कान-शेनको प्लेटफार्मतिर दौडियो, तर पनि दश मिनेट जति कुर्नुपर्ने भयो त्यहाँ। सधैंजस्तो स्टेशनमा आफ्ना एक्सरे आँखा दौडाएन आज चन्द्र कुमारले, प्रतीक्षा कक्षको एउटा कुनामा गएर बस्यो।

शिन-कान-शेनमा छिरेपछि ‘बेन्तो’ किन्यो र खान थाल्यो। खुम्चेको पाइण्टले गर्दा उस्लाई खानाको स्वाद पनि याद भएन। तीन घण्टासम्म एक चोटि पनि सिटबाट उठेन उ।

शिन-कान-शेन योकोहामा पुगेको जानकारी बज्यो।

“थुक्क—! आज पनि फुजी राम्ररी हेरिएन!” अहिले त चन्द्र कुमार करायो नै। “आज त दिन राम्रो थियो नि!”

हरेक पटक यो बाटोबाट यात्रा गर्दा फुजी पर्वत हेर्न खोज्छ उ, तर अहिलेसम्म राम्रोसंग देखेको छैन। कहिले कुहिरो डम्म हुन्छ, कहिले कसैसंग गफ गर्दा-गर्दै यादै हुँदैन। आज दिन पनि राम्रो थियो र उ एक्लै पनि थियो; तर आज पनि छुट्यो।

शहरको पुरानो भागको ‘बायोटेक बिल्डिङ’को आठौं तल्लाको एउटा हलमा थियो कार्यक्रम। सहभागीहरु आयाताकार भएर बसेका थिए। नभन्दै बूढै-बूढाहरु थिए अरु सबै। कार्यक्रम सञ्चालकलाई आफ्नो बारेमा बताएर र आफ्नो प्रस्तुतिसंग सम्बन्धित सामग्रीहरु बुझाएर चन्द्रकुमार एउटा कुर्सीमा गएर बस्यो।

कार्यक्रम सम्बन्धित ल्याबहरुको तीन महिने प्रगति बिबरण जस्तो मात्रै रहेछ। उस्को पालो चाँडैनै आयो, तर कार्यक्रम पूरै नसक्किई उठ्ने कुरो भएन। हाई काढी काढी बूढाहरुको गन्थन सुन्यो। कार्यक्रम सकिँदा साढे पाँच बजिसकेको थियो।

कार्यक्रम स्थलबाट चन्द्रकुमार सोझै सब-वे स्टेशनतिर लाग्यो। उस्लाई कतिखेर कोठामा पुगौं र त्यो पाइण्ट फुकालेर हुर्रयाऊँ जस्तो भैरहेको थियो।

शिन-कान-शेन चढेपछि चन्द्रकुमारले दुई क्यान बियर र बदाम मिसिएको स्न्याक्स मगायो। एउटा ठुलो बोझ हटेर टाउको हलुंगो भएझैं अथवा कुनै कठिन परीक्षा भर्खरै सकिएझैं भैरहेको थियो उस्लाई र उ दंग परेर बियर पिउन थाल्यो।

‘भोलि बिहानै यो पाइण्ट लगेर ड्राई-क्लीनर्सकहाँ छोड्छु। खाना खाए पछि बजार गएर अर्को एक जोर कालो सूट पनि किन्छु।‘ लगभग प्रतिज्ञाकै स्तरमा गमिरहेको थियो उ। ‘एक जोर मात्रैको भरमा बस्यो भने यस्तो अप्ठेरो पर्दो रहेछ कहिलेकाहिँ।‘

अहिले भने फुजी पर्वत हेर्न बिर्सेन उस्ले। हुनत साँझ परिसकेको थियो, तर फुजी पर्वतको आकृति भने एकदम स्पष्ट देखिएको थियो। छाती तन्काएर उभिएको महिमामण्डित फुजीलाई, हल्का अँध्यारैमा सहि, सर्वाङ्ग देखेपछि चन्द्र कुमार त्यसै त्यसै आल्हादित भयो र आधा क्यान बियर स्वाट्टै पा-यो। कुन्नि कुन खुशीले हो, चन्द्र कुमारको अनुहार उज्यालिँदै आएको थियो। खुम्चेको पाइण्ट अथवा बिहानकी त्यो केटी, दुबै उस्को मनबाट हटिसकेका थिए।

“हेलो, के छ राज यार?” कोठानिर पुग्नै लाग्दा फोन आयो।
“तँ काँ’ छस् अहिले?”
“योकोहामा गा’थें, फर्केर भर्खर आईपुग्दैछु।“
“त्यो अस्ति नयाँ वर्षको नाच याद छ नि तँलाई हैन?”
“छ, छ!” चन्द्रकुमार हौसिएर करायो। “क्या च्वाँक थी’ पातली यार!”
“सा—-ला बोका! किन बिर्सिन्थिस् त?! हा हा हा!”
“भन् न कुरो के हो?”
“भोलि दिऊँसो मिए केनमा कार्यक्रम र’छ नेपाली समाजको, पातलीको डान्स पनि छ रे। तँ अहिले यतै आ। भोलि संगै जाऊँला।“

चन्द्र कुमारले हतारिँदै ढोका खोल्यो। कोट-पाईण्ट-टाइ-शर्ट फुकालेर ओछ्यानमाथि फाल्यो। हतार हतार हात-मुख धोयो र जिन्सको पाईण्ट र टि-शर्ट भिरेर बाहिर निक्ल्यो।

बाहिर हल्का चिसो भएपनि जूनेली रात थियो। कुनै पुरानो नेपाली गीतको धून सुसेल्दै चन्द्र कुमार शहरको पल्लो छेऊतिर जाने बस कुरिरहेको थियो।

************************************************

जापानी शब्दहरु:
बेन्तो:- लञ्च बक्स
शिन- कान-शेन:-बुलेट ट्रेन
केन:- प्रान्त

(स्रोत : Sajha.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.