कथा : टुङ्गना र डम्फु – २

सुन्दर जोशी~Sundar Raj joshi

(टुङ्गना र डम्फु – १ यहाँ पढ्नुहोस् )

केहि दिनदेखि म भ्यानकुभरमा छु । आउने वित्तिकै स्थानिय टेलिभिजनमा काम गर्ने मेरो एकजना साथीलाई आफ्नो आगमनको सुचना दिईसकेकि थिएँ । उनि मलाई उनको एउटा निर्माणाधिन वृत्तचित्रको पात्रसँग भेट गराउन चाहन्थी । भनेकि थिई “मेलिना, म तिमिलाई सरप्राईज दिन चाहन्छु ।” मैले सोचेँ ‘मोरी, कतै त्यहि पात्रसँग त लहसिन पुगिन ? अरु के सरप्राईज हुनसक्छ ? जे होस् आजको दिन फुर्सदमा थिएँ र सिँगै दिन उनको लोकेसनमा बिताएर होटल फर्कि सकेकी छु ।

होटलको लबीमा बस्ने बित्तिकै त्यहाँको वातावरण देखेर थाहा भयो आज भ्यालेण्टाईन्स डे हो भनेर । सम्भवतः यहाँ भ्यालेण्टाईन्स् ल्बाष्टको तयारी हुदै छ । रियालिटि टिभिको जमाना, यहाँपनि क्यामरा, लाईट्स र साउण्ड अर्थात टेलिभिजन क्रुहरुको ठूलै भिड छ मानौ सिँगै लबी सुटिँग स्थल हो । रमिता हेरेर कहिल्यै नथाक्ने आँखाहरु छन् मेरा । रमिता हेर्न मन लाग्यो मलाई र कोठामा नगई चुपचाप अलिपर फायर ल्पेसको नजिकै सिसाको एउटा ठूलो पर्खालसँगै भएको काउचमा गई आसन जमाएँ । म त्यहाँबाट सागर, पहाड र हिमालको अद्भुत सँगम नियाल्न सक्छु । यस्तो अलौकिक दृश्य जीवनमै पहिलोपल्ट यहि आएर देख्न पाउँदै छु ।

आजको सुटिँग स्थलको दृश्यहरुले मलाई निकै रोमाञ्चित बनाएको यियो । म तिनै घटनाहरु, दृश्यहरुको बारेमा मनमा अनेक विचारहरुको खिचडि पकाईरहेकि थिएँ । बहकिन र लेख्नु त मेरो रोग नै हो तर यहिबेला मसँग मेरो ल्यापटप थिएन । गोजीमा हात हालेँ, आईफोन भेट्टाएँ । फेसबुकमा गएँ । फेसबूकमा गएर नज फिडमा गएर चियाउन थालेँ । प्राय सबै कुराहरु भ्यालेण्टाईन्स डेसँगै सम्बन्धित थियो । अनायास रिक्वेष्टमा कोहि भएको सँकेत देखेर त्यहाँ छोईदिएँ । नामभन्दापनि उसको तस्विरमा आँखा गयो । कता कता देखे जस्तो चिने जस्तो अनुहार रिम्पुजय कहिल्यै नसुनेको विचित्रको नाम को होला ? यो मानिसलाई साथीको रुपमा स्विकार्ने कि नस्विकार्ने व्दिविधामा परेँ म र त्यो अनुहारलाई सम्झिने कोशीश गर्दै फेरि साथीहरुको अपलोडहरु चाहार्न थालेँ ।

प्राय सबैको वालमा खाली भ्यालेण्टाईन्सको बारेमै लेखिएको थियो । मलाई अनायास पोहोर सालको भ्यालेण्टाईन्स डेको घटनाहरु याद आयो । एकवर्ष वितिसके छ । ‘मेलिना तँ त एक्लो, बिल्कुल एक्लो छस् ।’ मनले मलाई जिस्क्यायो । म झसँग भएँ । कतै त्यो मानिस त्यहि टुँगना र डम्फु बजाउँदै आउने मानिस त होईन ?

म फेरि फेसबुकमा गएँ र उसको तस्विरलाई नियालेँ । करिब करिब उहि अनुहार । जेसुकै होस् मैले उसलाई इग्नोर गर्न सकिन र कन्फर्ममा छोईदिएँ । फेसबुकले रिम्पुजय तिम्रो साथी भयो भनि पठाएको सूचना पाएर दँग पर्दै उसको प्रोफाईलमा विचरण गर्न थाले ।

सिरानमै लेखिएको थियो ‘म आरोहणको तयारीमा छु । उनको विश्वास जित्नु भनेको मेरोलागी एउटा कठिन आरोहण सरह नै भएको छ ।’

कसको विश्वास जित्न चाहन्छ यो मानिस ? मनमा प्रश्नहरु आगोको लप्का झै दन्किएर बल्यो । फेरि उसको प्रोफाईलमा गएँ र अरु पोष्टिँगहरु चियाउन थाले । एउटा एलबमको कभर चित्रले चुम्बकले झै तान्यो । चित्रमा मात्रै एकजना युवतिको आँखा थियो । सुन्दर आँखा अकल्पनिय आकर्षण र रहस्य बोकेको आँखा । अनि क्याप्सनमा लेखिएको थियो ‘मेरो आँखा कस्तो छ ?’

म लाजले आगो झैँ रातो भएँ । बिलकुल यहि प्रश्न गरेकि थिएँ एक वर्ष अघि उसलाई मैले उसको नजिकै गएर अनि उसले भनेको थियो- ‘तिम्रो आँखा कुनैपनि विश्व सुन्दरीको भन्दा राम्रो छ ।’

उसले विश्वास जित्न खोजी रहेको मानिस कतै म आफै त होईन ? अनि मलाई ऐनामा आफुलाई हेर्ने रहर जाग्यो । शँकाको आगोले जलिरहेकि थिएँ म । मेरो आँखामा अझै त्यो आकर्षण बाँकि छ ? कतै मेरो आँखाले त्यो चमक हराईसकेको त छैन ? छेउछाउ ऐना नदेखेपछि मनले फेरि तानेर त्यहि एलबममा भएका अरु चित्रहरु हेर्न कुत्कुत्यायो ।

आँखा नै आँखाका चित्रहरु । विभिन्न रँग अनि मुद्रामा फरक फरक अर्थ लाग्ने तर कुनैपनि चित्रमा उसले पुर्ण आकृति कोरेको थिएन । केहि चित्रहरुमा आँखाको नजिकै भएर बगेको केश अनि केहि चित्रमा कानमा झुण्डिएको अर्धचन्द्रमामा टाँसिएको माने अर्थात प्रेयर व्हिल । यो त मेरै झुम्का हो । शायद एकवर्ष अघि आजको दिन त्यहि लगाएको थिएँ । म एक्लै बडबडाएँ । अनि मलाई उसको त्यो चित्रमा केहि टिप्पणी लेख्ने हुटहुटी जाग्यो । बहकिन र लेख्न त मेरो रोग नै हो । बहकिन थालेँ म अक्षरहरुसँग ।

“कतै तिमि त्यहि टुँगना र डम्फु घन्काउँदै वाँफको सडकहरुमा आफ्नो सेतो ल्याण्डक्रुजर दौडाउने मानिस त होईनौ ?”
“बिल्कुल, चिनेकोमा धन्यवाद !”
अचम्म उसले तुरुन्तै जवाफ पोष्ट गरिसकेको थियो । मतलब उ पनि फेसबुकमै आँखा टाँसेर बसेको छ । च्याटमा छोई हेरेँ । वास्तवमै उ लाईनमै थियो । म एकछिन दोधारमा परेँ । कुराकानीलाई निरन्तरता दिने कि नदिने भनेर । तर लेखि हालेँ- “त्यो कसको आँखा हो ?”
“ऐनामा हेर” जवाफ आयो ।
“आरोहणको कुन चरणमा छौ ?”
“आफ्नै मनलाई सोध”

मनको ढुकढुकि एकदमै बढ्यो र म त्यत्तिकै टोलाई बसेँ । म आगोको छेउमा छुँ आगो मॆरो आँखा अगाडि नै छ । आगोको न्यानोको अनुभूति अनायास मादक भएको छ र म त्यसको नशामा लठ्ठीँदै गई रहेकि छु । एकवर्ष अघि आजकै दिन अर्थात भ्यालेण्टाइन्स डेको दिनपनि म नराम्रोसँग बहकिएकि थिएँ । परिस्थिति, परिवेश आजपनि उस्तै छ । एकवर्ष वितिसकेछ । तर आजको विशेष दिनमा मेरोलागी रातो गुलाफको फूल लिएर आउने कोहि छैन । त्यो रिम्पुजय भन्ने मानिस मेरो मन जित्ने प्रयासमा मेरो आँखाको चित्रहरु कोरेर बसिरहेको रहेछ । यतिबेला उ कहाँ छ त्योपनि मलाई थाहा छैन । म यहाँ छु भन्नेपनि शायद उसलाई थाहा छैन होला ।

‘के फेरि फेसबूकमा जाउँ र लेखुँ ? तिमि गुलाफको फूलहरु लिएर आउ म यहाँ आगो नजिकै पर्खि बसेकि छु ।’ बहकिन छाडेर आँखा यताउता डुलाएँ । क्यामरा, लाईट्स सबै एउटि पियानो बजाईरहेकि केटीमाथि फोकस भएको थियो । साँच्चै नै मनलाई भित्रैसम्म रोमाञ्चित बनाउने धुन बजाईरहेकि थिइ उ । हेर्दाहेर्दै एउटा सुन्दर युवक उनको पछि उभिन आईपुग्यो र गुलाफको फूलभएको आफ्नो हातलाई उनको अगाडि लग्यो । सँगीत अबरुद्ध भयो । उनि खुशीले चिच्याउँदै उठिन् र दुबै अँगालोमा बाँधिए । म हेरिरहेकि छु । क्यामराहरुको बेवास्ता गर्दै उनिहरु असीम चुम्बनमा लिप्त भए । कति लामो अनि बलियो चुम्बन । मैले आँखा अन्तै मोडेँ । एकछिनपनि आँखा त्यता लैजाँदा उनिहरु बेपत्ता भईसकेका थिए । पियानो खाली थियो । यस्तो लाग्यो मलाई पियानोले निम्त्याई रहेको छ । तर आफुलाई पियानो बजाउन नआउने वास्तविकताले नमीठो पोल्यो र आँखा फेरि आईफोनमै लगेर बिसाएँ । थाहै नपाई यु ट्युबको आइकनमा छोई सकेको थिएँ र बूकमार्कमा नियाल्दै थिएँ । अनायास पियानोबाट फेरि एउटा धून सिर्जना भयो । अर्थात कोहि पियानो बजाउन बसिसकेको थियो । हेर्नपनि मन लागेन । क्यामराहरु उसैलाई फोकस गरिरहेको होला । फेरि त्यहि घटनाहरुको पुनरावृत्ति हुनेछ । सँगीत, गुलाफको फूल, आलिँगन अनि चुम्बन । तर अचम्म पियानोबाट नेपाली गीतको धुन तरँगित हुनथाल्यो । मैले थाहा पाई हाले यो धून त मलाई मनपर्नै गीतको हो । एकदमै परिचित धून । बबिन प्रधानको “गीत मुस्कान त्यो तिम्रो मुस्कान……”

म यु ट्युबमा दिनमा दुईचार पटक यो गीत हेर्ने गर्छु । बिस्तारै मैले आँखा त्यता मोडेँ । लामो केश भएको एउटा लक्का जवान पियानोमा मग्न थियो । काउचमै अडेस लागेर मैले उसलाई नियालिरहें । अचानक उसले मतिर आफ्नो नजर फ्याँक्यो र हाम्रा आँखाहरु गजबसँग ठेस लागे । बिलकूल उहि मानिस । मेरो मुटुको धडकन यति धेरै बढ्यो कि म आगो झै दनदनी बलिरहेकी थिएँ । शायद मेरो अनुहारको रँग आगोभन्दापनि रक्तिम भएर गयो । म त्यो गीतको धुनमा लठिँदै गएँ । मेरो आँखामा आफ्नो आँखा अडेस लगाएर उ पियानोमा मग्न भइरह्यो । म त त्यसैपनि बेहोस जस्तै भईसकेकि थिएँ ।

जब उसले गीतको अन्तिम अन्तरा बजाई रहेको थियो मलाई गुलाफको फूल लिएर उनको नजिक जाने रहर लाग्यो । तर मसँग फूलमात्रै होईन उसलाई उपहार दिन केहिपनि थिएन । म यताउता आँखा डुलाईरहेकि थिएँ । शायद फूल खोजिरहेकि थिएँ । अनायास उसले मेरो दुबै कुममा हात राख्यो । हजार भोल्टको करेण्ट लागे झै भयो । वास्तवमै उ बिलकुल मेरो पछाडि उभिएको थियो । म उसको सासलाई कानको नजिकै महसुस गरिरहेको थिएँ ।

“म तिमिलाई एउटा बेग्लै ठाउँमा लान चाहन्छु ।” उसले मेरो कानमा साउतिको भाखामा बरबरायो ।
“कहाँ?” मपनि त्यसरी नै बरबराउन पुगेँ ।
प्रतिउत्तरमा उसले मेरो हात समात्यो र डोर्यायो । म करिब करिब सम्मोहित भएको मानिस झै चुपचाप हिडिरहे । मानौ मेरो मस्तिष्क मेरो आफ्नै होईन । उसले ह्याक गरिसकेको थियो मेरो मस्तिष्कलाई । यो कुन चरणको अनुराग हो मलाई थाहा छैन ।

म केवल हिडिरहे उ सँगसँगै र हाम्रो हिँडाई उसको सेतो ल्याण्डक्रुजर छेउ पुगेर रोकियो । अगाडिको प्यासेन्जर साईडको ढोका खोलेर उसले मलाई बस्ने ईशारा गर्यो । यहाँसम्म कि सिटबेल्ट बाँध्नपनि सघायो । ड्राईभर सिटमा विराजमान भएपछि उसले मलाई अर्थपूर्ण नियाल्यो । हाम्रा आँखाहरु हामीले नै नबुझ्ने भाकामा केहि बात मारी रहेझै लाग्यो मलाई ।

खोई कुन्नी के भएको हो मलाई मेरो मस्तिष्क मेरो मन मॆरो नियन्त्रणबाट टाढा भागीरहेको छ । सम्मोहित भएकि छु म । तालको किनारै किनार भएर उसको गाडी अग्लो अग्लो सल्लाको रुखहरु बिच लुकेको तर पृष्ठभूमिमा सुन्दर हिमालसँग टाँसिएझै लाग्ने एउटा काठको घर अघि रोकियो ।
उसले मेरो हात समात्यो र घरभित्र लानुको बदला सानो गोरेटो जस्तो बाटोबाट डोर्याउन थाल्यो । चट्टानै चट्टानको चेपचाप हुँदै म चुपचाप हिडिरहे । अनायास मेरो आँखा एउटा चट्टानमा कुँदिएको चित्रमाथि पर्यो । बिलकुल त्यहि चित्र जुन उसले फेसबुकमा राखेको थियो ।

मेरा पाईलाहरु त्यहि जमेर म मुग्ध भै त्यो चित्र नियाल्न थालेँ । सोधिहालेँ-” त्यो कसको आँखा हो ?”
“त्यो एउटा दिव्यमूर्तिको आँखा हो । म यसलाई पुर्ण आकारमा ढाल्ने समयको ताकमा थिएँ ।” उ मेरो कान नजिकै त्यसरी नै बरबराई रहेको थियो । मैले फेरि सोधेँ- “अपुर्ण हुनुको कारण ?”
“बेपत्ता भई दियौ, आज बल्ल भेट्दै छु ।”
मैले सिधै उसको आखामा नियाले । एउटा अन्जान प्रश्नको उत्तर खोजिरहेथे म त्यहाँ ।

“तिमि भाग्न पाउदिनौ” उसले भन्यो
“किन ?” मैले मस्किँदै सोधेँ
प्रत्युत्तरमा उसले फेरि हात समातेर तान्यो । म फेरि उसको पछि लागे । एउटा चट्टानलाई उसले सेड हालेर हिउँबाट जोगाएको थियो । वरिपरि काठको रेँलिगहरुमा थुप्रै रँगीन विजुलीका बल्बहरु थिए । म फेरि रोकिएँ र सोधे- “यस भित्र के छ ?”
“हेर्न चाहन्छौ ?”
मैले स्विकृतिमा टाउको हल्लाएँ । उसले ति सबै बत्तिहरु एकैपल्ट बाल्यो । आँखाहरु तिर्मिराए र मैले आँखा बन्द गरेँ । मैले विस्तारै आँखा खोल्दा उसले त्यो चट्टानबाट सेड झिकिरहेको थियो । यतिबेला मेरो आँखा अगाडि एउटा चट्टानमा कुँदिदै गरेको अपूर्ण मूर्ति थियो ।
“यसले पूर्ण आकार कहिले पाउँछे ?” मैले त्यो चट्टानतिर औँल्याउँदै सोधेँ ।
“त्यो तिम्रो समय र ईक्षामा निर्भर छ ।”
“मतलब ?” मैले पुरै फर्किएर उसको आँखामा नियाल्दै सोधेँ ।
“म तिम्रो दिव्यरुपलाई पूर्ण रुपमा जस्ताको त्यस्तै त्यो मूर्तिमा उतार्न चाहन्छु ।”
“अनि मैले के गर्नुपर्छ ?” डराई डराई सोधेँ ।
“तिमिले तिम्रो आफ्नो मस्तिष्क अर्थात विवेकलाई तिम्रो त्यो झोलामा केहि बेर थन्क्याउनु पर्छ ।”
“किन ?”
“नत्र तिमि बहकिने छौ र म तिमिलाई आफुले चाहेजस्तो रुपमा ढाल्न सक्ने छैन ।”

मेरो आँखाहरु अलिक परको एउटि अर्धनग्न युवतिको मूर्तिमाथि अडियो । जुन अपुर्ण नै थियो । उसले मेरो मनको कुरा बुझिसकेछ र त भन्यो “उनले आफ्नो विवेकलाई टाउकोमै राखेकि रहिछे । भड्किईन र भागिन् ।”

म साँच्चै असमञ्जसमा परेँ । उसले एउटा रिमोट कण्ट्रोल हातमा लियो र केहि बटनहरु थिच्यो । चट्टानहरुको बीचमा एउटा सिँढि देखापर्यो । मैले आश्चर्य व्यक्त गर्न नपाउँदै उसले मलाई हात समाएर त्यहि सिँढिको नजिक लग्यो र माथि हिँड्न ईसारा गर्यो । चुपचाप भर्याँग चढ्न थाले । उ मेरो पछिपछि उक्लिरहेको थियो । एकदुईपल्ट सिँढिमा सँतुलन नमिलेर म धरमराएँ र उसले आफ्नो हातहरुमा मेरो बदनको सम्पूर्ण बोझ लियो । म लाजले भुतुक्क भएँ तर त्यो अनुभूति मलाई निकै मीठो लाग्यो । त्यसपछि उसले मेरो बदनबाट आफ्नो हात निकालेन । पुरै भर्याँग उक्लियुन्जेल उसले मलाई थामिरह्यो थामिरह्यो ।

त्यो भर्याँग हुँदै एउटा भव्य ग्यालरी जस्तो लाग्ने सिटिँग रुममा पुगिसकेकि थिएँ म । एउटा ठूलो चट्टान घरको भित्ता फोडेर भित्र छिरेको जस्तै एकदम स्वाभाविक अवस्थामा विराजमान थियो । उसले त्यसमापनि तिब्बति अक्षरहरुमा कविताजस्तै केहि हरफहरु कुँदेको थियो ।

त्यहि ढुँगाको ओतमा अति लोभलाग्दो आकृतिमा एउटा फायर ल्पेस थियो र त्यसको नजिकै बस्ने ठाउँहरुपनि त्यस्तै । मानौ ढुँगे युगका मानिसहरु यहाँ धुनी ताप्न आउँछन् । उ त्यहाँ आगो बाल्ने तयारीमा थियो । म उसलाई नै नियालिरहेकि थिएँ । आगो बाली सकेर उसले आफ्नो ज्याकेट खोलेर एकातिर राख्यो । मैलेपनि अलिकति गर्मी महसुस गरेकि मात्रै थिएँ उ मेरो पछि उभिएर मेरो बदनबाट ज्याकेट निकाली रहेको थियो । त्यहिबेला ल्किप खुस्किएर एक पलकोलागी मेरो सम्पुर्ण केश उसको अनुहारभरि गयो र उसले मेरो बाक्लो कालो केशहरुलाई अञ्जुलीमा थापेर सम्हाली रहेको दृश्यले मलाई भित्रैसम्म कुतकुति लाग्यो र म मज्जाले हाँसिदिएँ । उ मेरो मुस्कानमा लठ्ठीएको आभास पाएर म झन् धेरै रोमाञ्चित भईरहेकि थिएँ । उसले भन्यो “कति कन्चन, कति निर्मल ।”
” के ?”
“तिम्रो केश तिम्रो मुस्कान”
“केहि होईन होला…”
“कसम, तिम्रो यो मुस्कानलाईपनि मूर्तिमा स्थापित गर्न पाए हुन्थ्यो ।”
“सम्भव छ र?”
“हेर्न चाहन्छौ ?”

मैले स्विकृतिमा टाउकोमात्रै के हल्लाएकि थिएँ फेरि उसले एउटा भित्तामा भएको कि प्याडमा केहि नम्बरहरु थिच्यो । मलाई आफु उभिएको सतह नै कतै हिडिरहे झै लाग्यो । तर वास्तवमा मेरो नजिकैको एउटा सिँगै भित्ता सर्दै चट्टानको नजिकै विलिन हुँदै थियो । मेरो आँखाबाट अघिका दृश्यहरु परिवर्तित हुँदै थिए र म हेरेको हेर्यै भईरहेकि थिएँ । चट्टानको अर्को भागमा त्यहिसँग टाँसिएको मालिँगोको ठूलै झाडी देख्न पर्यो । म त्यसको नजिकै पुगे । अलिपर चट्याँग परेको जस्तो अथवा डढेलाले खाएको जस्तै लाग्ने दुईवटा रुख अनि सबैभन्दा मजाको कुरा त तिनै रुखहरुमा एउटा झोलुँगो बाँधिएको थियो । सिसाको ठुलो पर्खाल बाहिर बिलकुल त्यहिँ तल उसको मुर्ति बनाउने ठाउँबाट देखिने दृश्यहरु । म झोलुँगेको नजिक पुगेँ । मलाई त्यस्तो झोलुँगेमा पल्टिएर सुनसान रातमा जून हेर्न र ताराहरू गन्न अति मनपर्छ । मैले आफुलाई सम्हाल्नै सकिन । अनि म उसको स्विकृति बिना नै त्यसमाथि पल्टिन पुगीसकेकि थिएँ । म आफ्नै दुनियाँमा हराउँदै थिएँ । अनायास उसले त्यसैपनि मातलाग्नेजस्तो थुप्रै रँगीन प्रकाशहरु मेरो सेरोफेरो पोखिदियो । जब आँखाहरु त्यति थुप्रै रँगीन प्रकाशहरुसँग अभ्यस्त भयो मैले देखे उ एउटा कुनामा ट्राइपडमा राखिएका तीन चारवटा प्रोफेसनल हाई- डिफिनेसन क्यामराहरुलाई मतिर फोकस गरिरहेको थियो । नजिकै एउटा ठुलो ल्पाज्मा टिभि स्क्रिनमा म आफै दृश्यहरु भएर तरगिँत हुन थालेँ ।

एउटा बेईमान घोडी जस्तै बिच्किएर भाग्न सक्ने थिएँ म । तर मैले भनि सकेँ आज मेरो मस्तिष्कलाई उसले ह्याक गरिसकेको छ । चुपचाप त्यो टिभि स्क्रिनमा तरगिँत भईरहेको मेरो रुप, मेरो यौवनलाई हेरेर म आफै लठ्ठिँदै गईरहेकि थिएँ । उ मेरो छेउ आई पुगेको मैले केहि सुँईको नै पाईन ।

बिस्तारै उसले मेरो सबै केशहरुलाई एक साइडमा पोखिदियो र अघि जस्तै अञ्जुली थापेर बस्यो । म फेरि त्यसरी नै खित्का छोडेर हाँसिदिएँ । मलाई थाहा छ हाम्रो गतिविधिहरु सबै उसको क्यामरामा रेकर्ड भईरहेको छ । उसले खोजेको कुरापनि त्यहि थियो । मेरो मुस्कान अनि हाँसोलाई उ उसको मूर्तिमा जीवन्त अनुवाद गर्न चाहन्थ्यो ।

“तिमि बिलकुल यहि मुद्रामा केहि बेर यसरी नै हाँसेर बसीराख है ?” उसले मेरो कान नजिकै बरबरायो ।
म त साँच्चे मूर्ति नै भईसकेकि थिएँ अर्थात मैले केहि प्रतिक्रिया जनाईन न शब्दमा न हावभावमा । उ एकपलमै क्यामरा सम्हाल्न पुगीसकेको थियो । उ घरीघरी फरक फरक रँगको प्रकाशहरु मतिर फ्याँकिरहेको थियो । केहिपलमै उसले ति रँगीन बत्तिहरु निभायो र उज्याले बत्तिहरु बाल्यो । उ एकदम प्रसन्न भएर मेरो नजिक आईपुग्यो र मेरो हात समाएर मलाई सम्हाल्दै झोलुँगोबाट उठायो ।

“पुग्यो तिम्रो ईक्षा ?” मैले मस्किँदै प्रश्न गरेँ । उसले अस्विकृतिमा टाउको हल्लायो । मैले फेरि केहि बोल्नै लागेकि थिएँ उ एकदमै दौडिएर कुनातिर गयो ।
“आँखा बन्द गर” उसले भन्यो । मैले त्यसै गरेँ । अनि उसले “आखा खोल” नभन्दै खोलीपनि हालेँ । चन्चले छु नि म !

उ मेरो सामुन्ने रातो गुलाफको फूल लिएर उभिएको थियो । मैले एकपलपनि नसोचि उसको हातबाट फूल स्विकारेँ । उसले दँग परेको भाव देखाउँदै लामो सास फेर्यो । उसको कस्सिएको छाति झन फराकिलो भयो र उसले मलाई न्यानो अँगालोमा बाँध्यो । यति बलियो अँगालोमा म कहिल्यै परेकि थिईन । उकुसमुकुस भएँ अनि उसले आफ्नो अँगालो खुकुलो बनाउँदै भन्यो- “तिमिलाई थाहा छ आज भ्यालेण्टाईन्स डे हो ।” मैले थाहा नभएको स्वाँग पार्दै अस्विकृतिमा आँखाका नानीहरु नचाईदिएँ । उसले पत्याएन । उ सिधै उसको मिनीबारमा गयो र वाईनको बोतलहरु निकाल्यो । म फेरि आगोको नजिक बस्न पुगे । उसको हातबाट रेड वाईनको गिलास स्विकार्दै मैले उसलाई उछिनेर भनिहाले -“अघिको भिडियो देखाउ न ।”
उसले नाई नास्तीको कुनै सँकेत नदेखाई क्यामरा भएतिर गयो । क्यामरा ल्यापटप- ल्यापटप क्यामरा…। उ एकछिन त्यतै अल्झियो । अनि एउटा हातमा रिमोट कण्ट्रोल लिएर उ मेरो नजिकै बस्यो । हामी दुबै रेड वाईनको चुस्कि लिँदै ठुलो ल्पाज्मामा हाम्रो करतुतहरु नियाल्न थाल्यौ । म त केहि बोल्नै सकिन । हेरेको हेर्यै भएँ । ति रँगीन प्रकाशहरुमा म जस्तो नै थिईन । विश्वासै नलाग्ने गरि म साँच्चै एउटा दिव्यमूर्ति झै देखिई रहेकि थिएँ ।

“तिमि मुर्तिको रुपमा यसरी नै देखिन चाहन्छौ ?” उसले नशालु पारामा बरबरायो ।
“तिमि कसरी चाहन्छौ ?”
“चाहना तिम्रो, म त एउटा मुर्तिकारमात्रै हुँ । जसरी तिमि चाहन्छौ ।” यति भनेर उ फेरि वाईन थप्न गयो । मैले सोचेँ वास्तवमा हो नि त । म यो झोलुँगोमा सँधै यसरी हल्लिएर बसिरहन त सम्भव छैन । म साँच्चै व्दिविधामा परेँ । वास्तवमा म आफ्नो रुप आफ्नो यौवन जस्ताको तस्तै उसको त्यो मूर्तिमा रुपान्तर भएको देख्न चाहन्थे । उसले मेरो मौनताको के अर्थ लगायो कुन्नी उ त लुई लुई फेरि क्यामरा भएतिर गयो । मेरो मन मस्तिष्कलाई त उसले हयाक गरिसकेको थियो । म ईशारामा चल्ने पुतली जस्तै भईसकेकि थिएँ । म आँखा बन्द गरेर केहि सोचिरहेथेँ । अनायास उसले सबै बत्तिहरु निभायो । अँध्यारोसँग मलाई अति डर लाग्छ । अनि अचानक मैले आँखा खोलेँ । म त बिलकुल जहिँको तहिँ थिएँ । होटलको लबीमा फायर ल्पेसको अघि । मैले यतउता नियालेँ । टेलिभिजन क्रुहरु काम सिध्याएर अन्यत्र जाने तयारी गरिरहेका थिए ।

म भने कल्पनाको सँसारमा बेपत्ता उडेर मेरो साथीको पात्रसँग आफै पो लहसिन पुगेछु । वास्तवमा मेरो साथीले दिएको सरप्राईज नै सपना जस्तो थियो । एकजना युवा नेपाली मुर्तिकार विकसित प्रविधिहरु प्रयोग गर्दै मुर्तिहरुको निर्माण गरिरहेको थियो । सम्भवतः त्यहि मीठो सरप्राईजको प्रभाव हुनसक्छ । म रिम्पुजयलाई त्यहि मूर्तिको रुपमा कल्पनाको दुनियामा भेटि रहेकि थिएँ ।

हातमा भएको आई फोनलाई टोलाएर हेरेँ र फेरि फेसबूकमा गएँ । उसले मेरो वालमा लेखेको थियो- “म त नेपालमा छु । अठार घण्टाको लोडसेडिँगपछि फेरि भेटौला फेसबूकमा ।”

मलाई हाँसो रोक्न निकै गाहारो भयो । विचरा मैले उसलाई पोहोर साल आजकै दिन एउटा चित्रकारको रुपमा कल्पना गरेकि थिएँ वाँफको त्यो रेष्टुरेण्टभित्र यसरी नै बहकिएर । अनि आज मूर्तिकार ।

वास्तवमा उसितको मेरो सँक्षिप्त भेट अनौठो परिस्थितिमा भएको थियो । म घोसे लाटी उसित गफिनुको बदला भावनाको दुनियामा डुब्न पुगेकि थिएँ । उसले कसरी मलाई फेसबुकमा भेट्टायो त्यो त बुझ्नु नै छ । जे होस् कमसे कम उ मेरो साथी त बनेको छ फेसबूकमा । अनि म उत्ताउली उसको वालमा लेखिदिएँ “ह्याप्पी भ्यालेण्टाईन डे ।”

(फ्लोरिडा – वेस्ट पाल्म बिच)

(स्रोत :  ‘क्यासल रककी अप्सरा’  कथा संग्रह बाट )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.