“जब तिमी पेरिस पुग्छौ, सेनमा रोमान्टिक जलयात्रा गर्न नभुल्नू” । यो लोकोक्ति व्यापक प्रचारित छ जसले सेनको महत्ता उजागर गर्न खोजेको बुझिन्छ । सेन, याने कि नदी । हो, सेन नदी (Seine River) । पेरिस यौवना पुष्प हो भने–सेन सुगन्ध । पेरिस शरीर हो भने– सेन प्राण । पेरिस नवविवाहिता दुलही हो भने– सेन सोह्र श्रृङ्गार । यसरी अनेकौँ विशेषणहरूको निरन्तरताले गर्दा फ्रान्सको राजधानी पेरिसस्थित सेन नदीले आफ्नो व्यक्तित्वलाई
उच्च, सुन्दर अनि स्मरणीय बनाउन सफल भएको छ । हो त्यही सेनलाई प्रथम पटक ३१ जुलाई २००६ मा मलाई अवलोकन गर्ने सुअवसर मिल्यो र पेरिस बसाइको एक महिने अवधिमा धेरै पटक स्पर्श अनि दृष्यपान गर्दै विभिन्न सरस अनुभव र अनुभूति सँगाल्न पुगेँ ।
पेरिस सहरको दृष्यपान गर्ने क्रममा एकदिन हामी प्रसिद्ध नोत्रदाम चर्चमा पुग्यौँ । यो चर्च ऐतिहासिक महत्त्वको रहेछ । यसको कारिगरी बेजोडको देखिन्छ । चर्चको अवलोकन पश्चात् त्यसको आसपासमा पनि घुम्यौँ । जताको भागतर्फ गए पनि नदी नै नदी देखिन्छ । म आश्चर्यचकित भएँ । के हो यो ? किन यस्तो ? आखिरमा अवगत भयो, हामी त एउटा टापुमा पो रहेछौँ । यो यस्तो टापु जसलाई सेन नदीले चारैतर्फबाट घेरेको रहेछ ।
कुन्तको सुन्दर पेरिस सहर, त्यसमाथि सेनद्वारा सृजित दुई टापुहरू । जुलाई–अगस्टको सफा मौसम, जाडो र चिसोमा अभ्यस्त पेरिस पारिलो घाममा मुस्कुराएको छ । नीला तर सफा आकासले छपक्क ढाकेको छ– उसलाई । बाटोघाटोका वरिपरि किसिम किसिमका फूलहरू मुस्कुराई रहेका छन् । चञ्चल हावाले झुलाई रहेका पत्रपल्लवहरू मसँग जिस्किन खोज्दथे । म भने सेनको विमुग्धकारी सृजनामा अल्झिई रहेको थिएँ ।
एकोहोरो हेरिरहेछु–पर्यटकहरूको कुँडुलो देखिन्छ । चिम्सा, चुच्चा, बुच्चा, काला, कैला, सेता, होचा, अग्ला, अनेक रूप र रङ्गका । लाग्दथ्यो सृष्टिभरका मानव प्रतिनिधिहरूको प्रदर्शनी स्थल हो, वृहद् मेला स्थल हो पेरिस । ती सवै मानव रङ्गहरू दृष्यपानमा मस्त छन् । फोटाहरू बग्ग्रेल्ती खिचिएका छन्– कोही जोडीको रूपमा उभिएका छन् त कोही समूहगत फोटो खिचाउन व्यस्त छन् । पर्यटकको ज्यादै नै भिडभाड देख्दा पेरिस सहरले भित्र्याउने भनिएको वार्षिक पर्यटक सङ्ख्या ३० मिलियन याने कि ३ करोडभन्दा अझै बढी हुनुपर्ने त होइन जस्तो लाग्दथ्यो । सेन नदीले बनाएका ती टापुहरूको चारैतर्फ विचरण गर्यौँ । प्रकृतिको उच्च सृजना त्यसमाथि विकसित राष्ट्रको आधुनिक आकर्षक भौतिक संरचना र संरक्षित ऐतिहासिक एवं कलात्मक धरोहरहरूले गर्दा ती भूभागहरू नयाँ दुलहीको लालित्यपूर्ण ओठजस्तै देखिन्थे । त्यो अनिन्द्य सुन्दरता र सुललितताको दृष्यपान मात्र गरिएन हरदमको लागि ह्दयमा जडित भयो पनि ।
पेरिसका मुख्य आकर्षक विषयवस्तुहरू सेन नदीकै किनार र सेरोफेरोभित्र रहेछन् । विश्वप्रसिद्ध सङ्ग्रहालय लुभ्र, पेरिसको महत्त्वपूर्ण प्रतीक इफेल टावर, संसद भवन, कङ्कर्द पिलर आदि धरोहरहरू नमुनाको रूपमा उल्लेख गर्न सकिन्छ । इफेलटावरको नाम लिने वित्तिकै त्यसमाथि सवार हुँदाको क्षणको स्मरण ताजा भएर आयो । ३२४ मिटर अग्लो विश्वको प्रख्यात विम्ब उक्त टावरबाट देखिएको सेनको रूपरङ्ग विमुग्धकारी थियो । समग्र पेरिस सौन्दर्यमय फराकिलो रङ्गमञ्च जस्तो लाग्यो मलाई । आफ्नो नागवेली रूपले पेरिसलाई वेष्ठित गरेको देखिन्छ सेनले । सेनको कलाराशिले पेरिसको सौन्दर्यमा जलप थपिदिएको देखियो । सेनले आफ्नो सौन्दर्यपानको लागि हामीलाई इसारा गरिरहेकी थिइन् । उक्त वातावरण वरिपरि हृदयस्पर्शी सुगन्ध छरिरहेथ्यो । त्यस उच्च स्थानबाट देखिएको सेन सम्बन्धी जिज्ञासाका अनन्त प्रवाहलाई गतिशील बनाइरहेछु मैले ।
सेनको शिरतर्फ आफ्नो दृष्टि सोझ्याउँदछु । प्रसिद्ध इङ्लिस च्यानल सेनको जन्मदिने आमा रहिछन् । आफ्नो ७७६ किलोमिटर लामो शरीरलाई अन्ततोगत्वा एटलान्टिक ओसेनमा समाहित गर्दी रहिछन् सेनले । पेरिस इलाकामा सेनमाथि रहेका ३७ पुलहरूमध्ये इफेल टावरको उचाइबाट अधिकांश देखिन्थे । कतिपय पुलमाथि लामो रेल पुलभरि भरिएर दौडिरहेको दृष्य मनमोहक थियो । लाग्दथ्यो रेल नै पुल बनिरहेछ ।
विश्वकै सुन्दर, स्वच्छ र सफा नदीहरूमा सेन पनि पर्दछ । सेनको स्वच्छताको प्रसङ्गले मलाई एक्कासि आफ्नै वागमतीको सम्झना गरायो । वागमतीका दूषित वातावरणले मेरो सामुन्ने परेड खेल्न थाले । उनका रोदन र चीत्कारका स्वरलहरीहरू मेरा मनमा गुञ्जिन लागे र इफेलको उचाइबाट स्वर्णिम सौन्दर्यपानमा रमाइरहेको मन आगोमा फ्याँकिएको रवर खुम्चिएसरी एक्कासि कच्याक्कुचुक भयो । मेरो मनको मयूर नाच्न छाड्यो । दुख र वेदनाका मूर्छनाहरूमा मन रूपान्तरित भयो । पिर र विस्मातको रेखाहरू अनुहारभरि कोरियो । एकातर्फ आक्रोशले रौद्ररूपको कल्पना गथ्र्यो अर्कोतर्फ स्नेहका खातिर कोमल चित्त करुणाले भरिन्थ्यो ।
नदी सम्वन्धी गहिरो सोचाइमा मन डुब्न पुग्यो– सृष्टिको उषाकालदेखि नै नदीहरू जीवनमा आत्मसात् भै अभिन्न आधार बनेका होइनन् ? मानव सभ्यताको सुरुवात नदी किनारबाटै भएको होइन ? वास्तवमा नदी सँस्कृति नै प्राणीजगतको जीवनाधार होइन ? जन्मदेखि मृत्यु पर्यन्त नदी वा जलाशयसँग हाम्रो सास्कृति गाँसिएको छैन ? धार्मिक मात्र नभै आर्थिक जीवनको आधार पनि नदी नै हैन ? त्यसैले के बिगारेकी थिइन् वागमती नदीले ? उनको महत्ता र उपादेयताको व्याख्या गर्न किन सकेनौं हामीले ? वागमतीको अस्मिताको रक्षा गर्नु हाम्रो कर्तव्य होइन ? यी र यस्तै प्रश्नहरूले धेरैबेर गाँजिरहे मलाई । मिहिन नमिठो छटपटीले निरन्तर सताइरह्यो ।
मलाई अझै वागमतीकै स्नेह र सद्भावका खातिर शब्दहरूसँग झुल्न मन लागिरहेछ । जुन झुलनले मेरो अन्तरहृदयको छटपटीलाई शान्त बनाउने प्रयत्न गरोस् । हिन्दु धर्मशास्त्रानुसार देवादिदेव महादेवको मुखबाट प्रकट भएकी भनिएकी वागमतीको ठूलो महिमा रहेको छ । तीर्थस्थलको रूपमा वागमतीलाई लिइन्छ । तीर्थ भन्नु नै स्वच्छता र पवित्रताको प्रतीक अनि शान्ति र सदाचारको द्योतक होइन र ? उनी स्तुत्य र पूज्य छिन् । वागमतीमा स्नान गर्नाले मात्र पनि गति परिने विश्वास जनहरूमा व्याप्त छ । तर… तर आज त्यस्ती पवित्र वागमतीसँग जनजीवन क्रमश: विखण्डित हुँदै गैरहेछ ।
वागद्वार आफ्नो शिरको रूपमा रहेकी पवित्र वागमतीले आफ्नो ५ सय ९७ कि.मी. लामो शरीरलाई भारतको गङ्गा नदीमा मिसाएकीछिन् र वागमतीलाई भारतीयहरू आफ्नो स्तुत्य एवं पवित्र गङ्गा नदीको शिर ठान्दछन् । यस्तो पवित्र र स्तुत्य वागमती केही दशक यतादेखि सर्वत्र लुटिएकी छिन् । मल, मुत्र र दुर्गन्धित फोहरहरू यिनका गहना बनेका छन् । यिनको मार्ग स्वरूप रहेका बगरहरू घर कम्पाउन्ड बनेका छन् । शिव गङ्गाको नामले पनि पुकारिने यी वागमती कहीँ नहर त कहीँ कुलोको रूपमा परिणत भएकी छन् । यिनका दुई किनारहरू फोहर फाल्ने डम्पिङ साइड बनेका छन् । उद्योग कलकारखानाका जहरिला तथा हानिकारक पदार्थ र अस्पतालका घातक फोहरहरूका निकास वागमती नै भएकी छन् । मानव मलमुत्रका ढलहरू सोझै वागमतीमा खन्याइएका छन् । वागमती भनिने पूज्य नदीको स्थिति त यति दयनीय छ भने यिनका सहायक नदी वा खोलाहरूको के वर्णन गर्नु ? तिनीहरू त स्पष्ट रूपमा ढल नै भैसके । प्रश्न उठ्न सक्छ– यस्तो स्थितिको सृजना गर्ने को त ? दु:खका साथ भन्नै पर्ने हुन्छ–कुनै दैवी तथा प्राकृतिक घटनाको कारणबाट त्यसो भएको नभै आजको सभ्य भनिने कृतघ्न मानव समाज नै यस स्थितिको सर्जक हो ।
सेन नदीको चञ्चल प्रवाहमा प्रसन्न मेरो मन वागमतीको उल्लिखित स्वरूपको सम्झनाले हावा खुस्किएको भकुन्डो सरी चाउरी पर्यो । वागमतीलाई जोगाउन नसकेकोमा नौ नाडी गलेर आयो । देशका योजनाविद् र नीति निर्माता एवं व्यवस्थापकहरूको कुरूप छायाँ सेनको सङ्लो पानीमा प्रतिविम्बित भएजस्तो लाग्यो । नालायक सरकारहरूका अर्थहीन सम्झनाले मनै अमिलो भयो ।
सेन नदीसँग मैले धेरै नै पटक उठबस गरेँ । मध्यान्हको घाम सरी हाम्रो घनिष्टता गाढा हँुदै आयो । जतिपटक देखेँ सधै स्वच्छ र सफा पहिरनमा अविरल प्रवाहित थिइन् उनी । सँधै व्यस्त रहनु उनको दिनचर्या थियो । लाग्दथ्यो– उनी हल्ला गर्न चाहदिनन् । उनले बुझेकी छन्– हल्ला गर्नु सभ्यता विपरीतको व्यवहार हो । त्यसैले उनी शान्त र शिष्ट छिन् । उनको प्रवाह सुस्त बनाइनाले पनि उनी शान्त र अनुशासित भइन् । सुस्त यस अर्थमा पनि बनाइयो कि मोटर बोटहरूले गर्ने जलयात्रा सुस्त प्रवाहित पानीमा उपयुक्त हुन जाँदो रहेछ । त्यसैले सेनको पेरिस भूभागभित्रको प्रवाह क्षेत्रलाई प्राविधिक हिसाबले सुस्त बनाइएको अवगत भयो ।
पेरिस भ्रमणको क्रममा सेन नदीका दायाँ बायाँ किनारहरूको यात्रा प्रशस्तै भए । सेनसँगको घुलमिललाई म अझै गहिरो बनाउन चाहन्थेँ । उनीसँगको सहयात्राबाट तृप्त हुन सकेको छैन । सहयात्राको अर्को गतिलो अवसरको रूपमा म नौका विहार गर्ने निर्णयमा पुगेँ । इफेलटावरको अग्रभागबाट सेनमा नौका विहारको थालनी हुने र १२ किलो मिटरको यात्रापछि त्यही स्थानमा फर्किएर जलयात्रा अन्त्य हुने रहेछ । त्यसको लागि आवश्यक शुल्क बुझायौँ हामीले र उत्सुकतापूर्वक जलयात्राको निम्ति तयार भयौँ ।
प्रकृतिको रूप–रङ पनि विचित्रको छ । बेलुकाको नौ बजिसक्यो तर अझै सामान्य उज्यालो मरिसकेको छैन । सिरसिर बतासले हाम्रा केश राशि हल्लाई रहेछन् । सेनको दुवै किनारतर्फ फराकिला बाटाहरूमा गाडीहरू तीव्र गतिमा प्रवाहित छन् भने आलिसान उच्चकोटीका भवनहरू कवाजका सिपाही सरह एउटै रेखामा उभिएका देखिन्छन् । सेन नदीको जल प्रवाहमा ठूला ठूला मोटरवोटहरू तल माथि गरिरहेका दृष्य मनोहर देखिन्थ्यो । मोटरबोट अगाडि बढ्दाको स्वार्र … आवाजले जलयात्रुहरूको ध्यान तानिरहेको बुझिन्थ्यो ।
पेरिस जस्तो घना आवादी भएको सहरको बीच भागबाट बगेकी नदी सेन कसरी सफा तथा स्वच्छ हुन सकिन् ? यी र यस्तै प्रश्नहरूले वागमतीको सन्दर्भमा सधै चिन्तित बनाइरहन्थ्यो मलाई । सेन देख्दा फ्रान्सेली सरकारको चाँजोपाँजो र नीति निर्माताहरूको कुशल व्यवस्थापनको प्रशंसा गर्न मन लाग्यो । पेरिसियन जनसमुदायको सेनप्रतिको माया त्यसको उज्यालो रूपबाट छर्लङ्ग हुन्थ्यो । अनुशासित अनि उत्तरदायी व्यवहारबाट सेनलाई जोगाएका रहेछन् । लाग्दथ्यो यसको महत्ता र उपादेयताको सन्दर्भमा जनसमूह प्रशिक्षित छन् । सेनप्रतिको लगानीभन्दा बढी आय उबाटै उठाइरहेछन् उनीहरूले । हरेक क्षेत्रमा सेनलाई भरपुर उपयोग गरी अत्यधिक आर्थिक फाइदा लिइरहेको सन्दर्भमा वागमतीलाई संझदा मन पोल्छ, जल्छ अनि भित्रैदेखि कोक्याउन थाल्छ ।
हामी यात्रारत मोटरबोट आफ्नो गन्तव्यमा निरन्तर प्रवाहित छ । यात्रुहरू पेरिसको झिलिमिलिमा रमाइरहेका छन् । पेरिसलाई पुकारिने विविध सम्बोधन सम्झन पुग्छु म– ‘सिटी अफ लाइट’, ‘ग्लोवल सिटी’, ‘सिटी अफ फेसन’, ‘सिटी अफ सिभिलाइजेसन’ आदि आदि । ती उपनामहरू कुनै सन्काहाको लहडी उपज नभै त्यसको सौन्दर्य र सुललितताको मापनबाट सृजिएका नै हुन् । वास्तवमा मनमोहक छ त्यो वातावरण । यसको श्रेय सेन नदीको भागमा पनि पर्ने देखिन्छ ।
मोटरबोटबाट यात्रुहरू बिसौनीपिच्छे उक्लने र ओर्लने क्रम चलिरहेछ । चहकिलो प्रकाशले गर्दा प्रत्येक मोटरबोटभित्रका गतिविधिहरू नियाल्न सकिन्थ्यो । जलयात्रा कै क्रममा विवाह, पार्टी, भोज, भतेर, डिनर गर्नेहरूको तामझाम रौनकपूर्ण देखिन्थ्यो । मैले मोटरबोटको झ्याल खोलेँ । सेनसँगको सान्निध्य अझै गहिरिएको अनुभूत भयो । पटक पटकको आवतजावतबाट उनले मलाई ‘मार्क’ गरिसकेकी रहिछन् । घर, थर र वतन खुलाई रहन परेन । उनको जानकारीभित्र म परिसकेछु । सेनजस्तो विश्व प्रख्यात नदीको परिचयभित्र समाहित हुन सकेकोमा आप्लावित् भएँ । स्वमहत्त्व उच्च रहेको अनुभूत भयो । कमिजको कल्लर मिलाएँ, टाइको गाँठो सुमसुम्याएर मपाइत्वको गर्विलो राप ताप्न पुगेँ । तर … तर मसिनो स्वरभित्रको रुखो भावभङ्गीले ललकारिन् सेनले । वागमती फोहोरी, प्रदूषित बनाउने प्रतिनिधि पात्रको रूपमा पो लिएकी रहिछन् उनले मलाई । म अचानक झस्केँ । अग्रिम परिचित हुनुको कारण त प्रख्याति नभै कुख्याति पो रहेछ । वागमतीको दु:ख, कष्ट, वेदनाको जानकार रहिछन् सेन । नेपाल भ्रमणमा आएका फ्रान्सेलीहरूले वागमतीमा नाक थुन्नु पर्दाको लाजमर्दो कहानी उनलाई सुनाई सकेका रहेछन् । विश्वसम्पदा सूचिमा रहेका पशुपति र गुह्यश्वरी मन्दिर किनारामा बगेकी वागमतीको दुर्दशा बुझिसकेकी रहिछन् । शिवगङ्गाको अर्को रूप मानिएकी वागमतीलाई भगवानको रूपमा पुज्ने परम्पराको पनि जानकार रहिछन् सेन ।
भेटघाटपछिको सामान्य औपचारिकता पनि निर्वाह नगरीकन उनले मलाई वागमतीको सन्दर्भमा सोझै प्रश्नको झटारो हानिन्– “पूजा गर्ने तर माया नगर्ने ? यस्तो विरोधाभासपूर्ण व्यवहार किन ?” म ट्वाँ परेँ । किम्कर्तव्यविमूढ भएँ । लाज र शर्मको कालो छायाँ अगाडि देखापर्यो । उचाई ठुन्किएको आभास भयो । आफ्नै घाँटीको टाई सुर्केनीसरह कसिँदै आए जस्तो लाग्यो मलाई ।
कस्तो प्रश्न सोधिन् यिनले ? के जवाफ दिउँm खै ? मसँग जवाफै छैन । हो पनि, पूजा शब्दको महत्ता माया शब्दसँग अन्तरनिहित छ । पूजा गर्ने तर माया नगर्ने भन्ने हुनै सक्दैन । असम्भव । पूजासँग माया स्वत: गाँसिएर आउँछ । सेनको प्रश्नभित्रको भावार्थ गहिरो थियो । उनी भन्न खोज्दैथिन्– तिमीहरूको वागमतीप्रतिको पूजा ढकोसला मात्र हो । देखावटी हो । त्यसमा मात्र आडम्बर घुलित छ । यदि त्यो पूजा वास्तविक थियो भने के वागमतीको रूप त्यस्तै हुन्छ ? त्यो नारकीय स्वरूपको सिर्जना गर्ने तिमी पुजारीहरू नै हैनौ ?
अझ ठूलो स्वरमा भन्दै गइन्– ल मलाई हेर † पेरिसियनहरूले अधिक माया गर्छन् । त्यो माया नै अप्रत्यक्ष रूपको पूजा हो भन्ने बुझेकी छु मैले । अझै माया सहितको प्रत्यक्ष पूजा पनि पाएकी भए त झन् कति सुन्दरी हुँदी हुँ । त्यसैले तिमीहरू काठमाडौं बासीले वागमतीलाई गरेको पूजा केवल ओठे भक्ति मात्र हो भनेर मैले किटानीका साथ किन नभन्ने ?
सेनको आरोपको सत्यताको साक्षी हाम्रै व्यवहारहरू थिए । उनको अर्ती, उपदेशभित्र धार्मिक स्वार्थको अपाच्य दुर्गन्ध थिएन । घृणा अनि तिरस्कार रुपी बज्रप्रहार किमार्थ होइन । स्नेह, सदभाव र मायाको लहरामा लहरिन चाहने गहिरो आकाङ्क्षा थियो । वर्तमानको यथार्थ चित्रण अनि भविष्यप्रतिको सचेतता थियो ।
उनीसँगको भलाकुसारीमा अलमलिँदा अलमलिँदै हाम्रो मोटरबोट धेरैमाथि पुगिसकेछ । यसो दायाँतर्फ नजर घुमाएँ, ‘एसेम्ब्ली नेसनल’ लेखिएको फ्रान्सको संसद भवन देखियो । एकातर्फ आफ्नो संसदभवनमा विराजमान पदलोलुप नीति निर्माताको लोभी तस्विरको याद आयो भने अर्कोतर्फ फ्रान्सेली सांसदहरूको काल्पनिक उज्यालो छविको । यी दुवैको काम नीति बनाउने हो । दुवैले आ–आफ्नो जिम्मेवारी निभाए नै भन्नु पर्यो तर हाम्राले बिगार्ने नीति बनाए, उनीहरूले सपार्ने । वागमती र सेन नदीलाई हेरेमा नीति निरूपण भै जानेछ । आज यी नीति निर्माताहरूले आ–आफ्नो कर्मको फल चाख्दैछन् । हाम्रा नीति निर्माता वागमतीको ढल मिश्रित लेदोपानीमा डुवेर निसास्सिएका मात्र छैनन् त्यही लेदो आचमन अनि सेचन गरिरहेछन् । फ्रान्सेली नीति निर्माताहरू भने सेनको स्वच्छ र कञ्चन सफा पानीमा जलविहार गर्दै ककटेल पार्टीमा सहभागी भैरहेका छन् ।
………
यात्राको अन्त्य अवस्थामा आइपुग्यौँ हामी । सेनले हतारिएर पुन: केही भन्न खोजिन् । उनको हतारोलाई व्याख्या गर्दा कुनै महत्त्वपूर्ण कुरा भन्न छुट्यो जस्तो बुभेँm । यदि त्यो छुट्यो भने कुनै अनिष्ट निम्तिने छ भने जस्तो गरिन् उनले । उनका यी व्यवहारहरूमा उपकारिता र सदाशयता लुकेको पाउँथेँ म ।
“वागमतीको दुर्गति र दुर्गन्धले निम्त्याउन सक्ने महामारी र रोगव्याधी उपर सचेत रहनू” भन्ने सन्देश काठमाडौँ बासीमा पुर्याई दिन विनम्रता जाहेर गरिन्– सेनले । भन्न हतारिएको अथवा भन्न छुटाएको विषय यही रहेछ । उनको विनयशीलता र उपकारी चिन्तन वास्तवमा स्तुत्य थियो । म बोटबाट ओर्लिएँ र किनारको पहिलो खुडकिलामा टेक्न पुगेँ । अन्तिम विदाइको हात हल्लाउन खोज्दै थिएँ, उनले आफ्नो सानो दुखेसो पोखिन्– म जति नै भलाई र उपकारको लागि दिनरात प्रवाहित छु तथापि जीवनदेखि हारेका कायर प्रवृत्तिका व्यक्तिहरू ममाथि फाल हानी आत्महत्या गर्ने र डकैतीको सिकार भएकाहरूलाई यदाकदा ममाथि फाल्ने प्रवृत्तिदेखि त्रस्त छु, दुखी अनि विव्हल छु । उनले यस्तो सङ्ख्या वर्षमा ५०/५५ जति हुन सक्ने समेत जानकारी गराइन् । समस्त सृष्टि गुणदोषमय रहेकाले दु:खी नहुन आग्रह गरेँ मैले ।
सेन नदीको यात्रा मेरा लागि सँधै गलामा अडकिएको हाड सरी भयो । न भित्र जान्छ न बाहिर आउँछ भने जस्तै न त मैले यात्रा रोकेँ न त त्यो यात्रामा पूर्ण रमाउन नै सकेँ । जतिपटक सेनमा रमाउन थाल्छु त्यही सेनमा विरूप तर स्नेही वागमतीको प्रतिच्छायाँ सलबलाउन थाल्छ । अनि, अनि … मन थाम्नै सक्दिनँ, भावुक हुन पुग्छु । त्यसपछि मनमा फुलेका अनगिन्ती गुलावहरू ओइलाउन सुरु हुन्छन् । भित्रैदेखि मन हुँडलिन्छ । समयको गति बुझिनसक्नुको छ । यदि समयको रफ्तार यही गतिमा गयो भने म्लेच्छमूलकी सेनले हिन्दुमूलकी वागमतीसँग छोइछिटो बार्नु पर्ने बाध्यताको सृजना नहोला भन्न सकिन्न । सवैलाई चेतना भया ।
(लेखक परिचय– जन्म मिति:– वि.सं.२०१३ मार्ग २१ गते । जन्म स्थान:– गोरखा नगरपालिका, गोरखा बजार । लेखनको मूल विधा:–यात्रा निबन्ध । कृति:– (१) “फ्रान्सको भ्रमण मेरो संस्मरण” (२०६३) नियात्रा सङ्ग्रह (२) “पुस्तान्तर” — संयूक्त कथा सङ्ग्रह (२०६६) । संपादन:— “ज्ञानविन्दु”— २०६६ र २०६७ अंङ्क । समसामयिक फुटकर लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित । प्रकाशक :– “मृगतृष्णा” कथा सङ्ग्रह – २०६० । संस्थापक:— दण्डपाणि अज्र्याल स्मृतिकेन्द्र, काठमाडौा । शैक्षिक योग्यता:– स्नातकोत्तर (त्रि.वि.) । भ्रमण:– भारत, कतार, थाइल्यान्ड, बेलायत, जर्मनी, फ्रान्स र संयूक्त राज्य अमेरिका । सम्पर्क ठेगाना:– अमेरिका, फोन नं. ६१२ — ७४९ — ३००६, भ्mबष्स्(ि बचथबचिबवभलमचबघ२नmबष्।िअयm । पदक/पुरस्कार– त्रि.वि दीर्घ सेवा पदक २०६१, राष्ट्रिय शिक्षा दिवस पुरस्कार (२०६२.) ।
गोरखा बजार, नेपाल ।
हाल: म्याडिसन विस्कन्सन, अमेरिका ।
aryalrajendra3@gmail.com