व्यङ्ग्य निवन्ध : नेपालीले माया मार्ला बरी लै!

~मनोज गजुरेल~Manoj Gajurel

गत साता CNN को लोकप्रिय टक शो ‘Larry King Live’ मा एउटा विशेष अन्तर्वार्ता प्रसारण भयो। त्यसमा एसियन अनुहारको एक हिसंलो युवा आफ्नो कथा सुनाइ रहेको थिए। जब स्क्रिनमा उसको नाम देखियो- तब मेरो छाती गर्वले ढक्क फुल्यो। किनकि उसको अंग्रेजी उच्चारणबाट प्रष्ट हुथ्यो कि ऊ नेपाली भाषी हो। उसको नाम थियो- राज क्षेत्री।

कार्यक्रम हेरिसकेपछि थाहा भयो हलिउडमा छोटो समयमा नाम दाम र सम्मान पाउन सफल चौबिस वर्षीय ‘नेपाली मूलका भुटानी अमेरिकन’ रहेछन् उनी। सन् २००५ तिर अविभावकसँगै अमेरिका छिरेका राज न्युयोर्क फिल्म एकेडेमीबाट एक वर्षे एक्टिंग कोर्स सिध्याएर हलिउडमा हाम फालेका रहेछन्। संयोग, क्षमता र अवसर तीनै चिजले साथ दिएपछि बितेका तीन वर्षमा उनले एड फिल्म, डकुड्रामा, टेलिफिल्म तथा फिल्म गरी दुई दर्जनमा काम गरिसकेका रहेछन्।

उनले जुन जुन फिल्ममा हात हाले ती अधिकांशले नाम र दाम दुबै दिए। जेम्स क्यामरुन, रोनाल्ड इमेरिच ,कोइन्टिन टारान्टिनो जस्ता सफल निर्देशकहरु राजलाई आफ्ना फिल्ममा लिन तँछाड मँछाड गरिरहेका छन्। हलिउड फिल्मका एसियन दर्शकहरु तान्ने बलियो हतियार यिनै ‘नेपाली मूलका भुटनिज अमेरिकन’ रहेको ‘न्युयोर्क टाइम्स’ले उल्लेख गरेको छ।

राज अहिले संसारका चर्चित कलाकार ब्यापारी तथा खेलाडीको निवास क्षेत्र बेभर्ली हिल्समा बसोबास गर्दछन्। लस एन्जलसको ‘बेभर्ली हिल्स’ अत्यन्त महंगो सुरक्षित तथा सुविधासम्पन्न ठाउँको रुपमा चिन्निछ। उनको सुरक्षा गार्डको रुपमा काम गर्ने केन्याका रबर्ट ह्युस्टन टुटेफुटेको नेपालीमा भन्छन्- ‘राजले आफ्नो घरलाई नेपाली संस्कृतिको केन्द्र तथा परिवारमा बोल्दा नेपाली भाषाको थलोको रुपमा राखेका छन्।’

अहिले अमेरिकाको एसियन कम्युनिटीहरुको सम्मान थाप्न भ्याइ नभ्याई छ उनलाई। छोटो समयमा करोडपति बनेका यी कलाकारले ‘राज हेल्प फाउण्डेसन’ नामको च्यारिटी संस्था खडा गरेका छन् जसले हाइटीका भूकम्प पीडितकालागी १९ लाख डलर राष्ट्रपति बाराक ओबामालाई हस्तान्तरण गर्‍यो। भेटका क्रममा उनले राष्ट्रपतिलाई विशेष धातुजडित खुकुरी प्रदान गरेका थिए। हुन त हलिउडका केही आलोचकहरुले उनलाई चाहिनेभन्दा प्रचार गरिएको तथा एसियनहरुले जबर्जस्ती चर्चित बनाएको आरोप पनि नलगाएका हैनन् तर पनि राष्ट्रपति ओबामाले राजलाई हौसला दिँदै भनेका थिए- ‘इष्ट अर वेष्ट राज इज बेष्ट !’

अहिले उनीसँग सुविधासम्पन्न गाडीहरु, एउटा निजी हेलिकप्टर, हलिउडका निर्माणाधीन स्टुडियोहरुमा करोडौंको लगानी रहेको छ। अपत्यारिलो ढंगले सपनानगरी हलिउडमा लोकिप्रय सफल तथा चर्चित बन्न पुगेका यी तन्नेरीलाई लारीले सोधे- ‘तिमीलाई सँधैभरी दुखी बनाइरहने विषय के हो ?’

भुटानको गेलेफुका डम्बरबहादुर क्षेत्री र सुनितादेबी घलेको अन्तरजातीय विवाहबाट जन्मिएका राज भुटानबाट लखेटिंदा साढे एक वर्षका मात्र थिए। नेपाल आएर १४ वर्ष शरणार्थी क्याम्पमा बसे, नेपाली माटोमा हुर्किए, त्यहींको रहनसहनमा घुलमिल हुनपुगे। भुटानको सम्झना उनका लागि ‘अरे’ मात्र छ।

त्यस्तो वियोगान्त इतिहास भएका राजले जवाफमा एकछिन दुवै हातले आफ्ना आँखा छोपे। लामो स्वास ताने। भारी मनका साथ अंग्रेजीमा भने- ‘मेरा मातापिता भुटानका हुन्,भुटानबाट नेपाल छिर्दा म झन्डै चार वर्षको थिएँ, तर भुटानको बारेमा मलाई त्यति थाहा छैन। अहिले अमेरिकी नागरिकता लिएको छु। भुटानले मेरो नागरिक हैन भन्छ, नेपालले शरणार्थी मात्र ठान्छ, अहिले अमेरिकी नागरिक भएपनि मेरो रगत रगतमा नेपाली भाषा र संस्कृति दौडिरहको छ। मलाई सँधैभरी पोलिरहने प्रश्न यही को कि आखिर म को हुँ !?’ यसो भनी रहंदा राजको अनुहारमा एक खालको अन्योलपूर्ण पीडाको भाव दौडिरहेको थियो।

माफ गर्नुस्, यो मेरो कल्पनामात्र हो, तर केही वर्ष वा दशकपछि सम्भव हुनसक्ने कल्पना हो।

कुनै भुटानीले भोलि यो वा यस्तै कुनै सफलता पाएपछि हामीलाई गर्व हुनेछ नेपाली, गोर्खाली खुकुरी वा टोपीको साइनो जोडेर उसलाई ‘हाम्रो मान्छे; भन्न थाल्नेछौं। अभिनन्दन र सम्मानका भारी बोकाउने छौं। उसलाई नेपालमा लगानी गर्न आह्वान गर्नेछौं। किनभने हामी समयमा माल चिन्दैनौं पहिल्यै गर्नुपर्ने कुरा चाल पाउंदैनौं !

उनीहरुलाई नेपाली झण्डामुनि गोलबन्द पार्न सकिँदैन र हुँदैन पनि। तर हामीलाई जोड्ने बलियो डोरी हाम्रो भाषा र संस्कृति हो। अल्मोडा, कुमाउं, गढवाल, नेपाल, दार्जिलिङ, सिक्किम, भुटान आसाम -जहाँ जहाँ नेपालीभाषी छन् तिनीहरुलाई भाषाले जोड्न सकिन्छ ! वर्मा, मलेसिया, थाइल्याण्ड,फिजी, बेलायत, अमेरिका -जता रहेपनि ‘संस्कृति’को बलियो डोरीले कस्न सकिन्छ।

यो सत्य हो, केही दशकभित्र माथि कल्पना गरिएझैं थुप्रै ‘राजहरु’ तेश्रो मुलुकमा जन्मिने छन्।
यो यथार्थलाई बुझेर नेपाली भाषालाई जीवन्त राख्न, संस्कृतिहरुलाई कालान्तरसम्म संरक्षण गर्न, नेपालमा लगानीको सम्भावनाको ढोका सधैंभरी खुला राखिरहन- नेपाल देशले ‘विशेष नीति’ बनाउन र ल्याउन जरुरी छैन र ?! कि ‘कुचोले बढाउनु पर्ने कसिंगर हावाले उडायो’ भनेर दंग पर्ने हो !!

March 15th, 2010

(स्रोत : Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.