कथा : अलाउद्दीनको बत्ती

~कृष्ण धरावासी~

Krishna dharabasi

Krishna dharabasi

जीवनमा बाँच्न चाहिने कुरा कति छन्, कति । देख्नु, भोग्नु र चिन्नुपर्ने कुरा पनि कति छन् कति तर हामी त खाली आफ्नै वरिपरिका अनुहारहरूले घेरिएका छाँैं, आफ्नै वरिपरिका ध्वनिले छेकिएका छौँ । हाम्रा दृष्टि, विचार, चिन्तन र सोच सबै स्वार्थका साना-साना ढिस्काहरूमा ठोक्किएर आफैतिर आउँछन् । आफैँले बोलेको आवाज पनि अर्काले बोलेको जस्तो सुनिरहेका हुन्छौँ । सानो सोचमा, सानो घेरामा, सानो स्वार्थमा,

सानो उचाइमा उभिएर अहङ्कारका ठूला स्वरहरू चिच्याइरहेछौँ । स्वार्थका पाइलाहरूले हाम्रो लक्ष्यको निर्धारण गर्दछन् । हामी जता गइरहेका छौँ- त्यहाँ हाम्रा केही अदृश्य कामनाहरू जागि्रत भइरहेका छन् । प्रतिस्पर्धाको यस विषाक्त वर्तमानमा एक्लै एउटा उज्यालो आकाश हेर्छु भन्न मानिसले कहाँ पाउँदो छ ? चन्द्रमामा दाग देख्नेहरू, समुद्रमा लहर गन्नेहरू, जीवनमा आकाश उठ्ने सपनाहरू सबै अहंका खुड्किलाहरू छाम्न व्यस्त छन् । दिन-प्रतिदिन मर्दै गएका विश्वासहरूबीच जीवनलाई खोज्न खोज्नेहरू आत्तिएर हात पाउ फालिरहेका छन् ।

बाँच्नु असजिलो छ भन्दै बाँचिरहेको छ जीवन तर बाँच्दाबाँच्दै पनि यो मर्दछ क्षणक्षण । ठाउँठाउँ अपतन भइरहेको सतीदेवीको लाश बोकेर घुमिरहेका महादेवझैँ मतिभ्रमले ग्रस्त आजको मानवता विश्वासहरूको विचलनमा विक्षिप्त छ । एउटाएउटा विश्वास, दिनदिनै खस्दै गइरहेको छ । आफ्नै विश्वास आफूबाट खस्दै गएकोमा रमाउनेहरू पनि छन्, दुःखी हुनेहरू पनि छन् । पुराना विश्वासको पतन र नयाँ विश्वासको जन्मले समयलाई गतिशीलजस्तो बनाए पनि प्रत्येक विश्वास कालान्तरमा खस्ने पातहरू नै हुन् ।

आस्था भनेको जीवन बाँच्ने एउटा निजी विश्वास हो । आफैँभित्र एउटा आफ्नो सजिलो विश्वास बनाएर मानिस अरू सामु उभिन जान्छ । अरूसामु आफूलाई उभ्याउँदा टेक्ने खुट्टा उसको विश्वास हो, जुन विश्वासले पाएको हुन्छ एउटा दह्रो नभासिने आस्थाको धरती । कस्तै भूकम्पहरूले पनि, कस्तै लाञ्छनाहरूले पनि, कस्तै विकृतिको ग्रस्तताले पनि, कहिल्यै नधमिलिने, नमर्ने, त्यही आस्था उसको बाँच्ने आधार हो । आएका अनेकौँ सङ्कटका सामु उभिन सक्ने शक्ति त्यही आस्था हो । अरूले देख्ने नकाम विश्वास पनि आफ्नो निम्ति उघारो आकाश बन्दछ । आफ्नो क्षितिज निर्दिष्ट लाग्छ आफ्नै आस्थाको उज्यालोले । आ-आफ्ना विश्वासहरू, जीवनको विविधताका सम्पूरक छन् । विविधतामा पाइने सांसारिक मनोरञ्जन आस्था र विश्वासका वैयक्तिक प्रस्तुतिहरू हुन् तर मर्दै, खस्तै र भत्किँदै जाने आस्थाहरूले आक्रान्त रहेको यो युग मानव इतिहासमै एउटा कहालीलाग्दो बिम्ब बन्दछ ।

आस्थालाई अहंको हतियार बनाएर उभिएको अभिनय गर्नेहरू छिनछिनमा ढलिरहेका हुन्छन् पाइलैपिच्छे । अविचल आस्थाका कुरा गर्नेहरू र स्वच्छन्दताका विश्वासीहरू आ-आफ्ना बौद्धिकताको दासत्वमा सीमाबद्ध छन्, तैपनि हरेकलाई आफू उभिएको धरतीमा विश्वास छैन, बरु छिमेकीको बरण्डाको गमलाकै फूलको सुन्दरता तिनका आँखाभरि नाचिरहन्छ ।

कोही भन्छन्- आस्था भन्नु आफैँमाथि उभिएको आफ्नो उपस्थिति हो, जसले प्रत्येक क्षण आफूलाई समयको धारमा रेटिरहन्छ र बजिरहन्छ जीवन एक सङ्गीतबद्ध ध्वनिमा । कोही भन्छन्- आस्था गतिशील जीवनको बिम्ब हो जो निरन्तर समय र परिस्थितिको अनुकूलतासँग बगिरहन्छ अविदित आगततिर । अर्थै अर्थहरूको जङ्गलमा उभिएर प्रत्येक व्यक्ति एक नितान्त निजी अर्थसँग आˆनो उपस्थिति जनाइरहन्छ ।

तर के मानिस आˆनो अस्तित्वमाथिको प्रश्नचिहृन मात्र होला त ? के यत्रो लामो यात्रा तय गरेर आएको मानव सभ्यताले आˆनै निरन्तरतामाथि केवल प्रश्न मात्रै गरेको छ र ?

यहाँ लेखिएका यतिविध्न इतिहासका ठेलीहरू, समाज शास्त्रीय सन्दर्भहरू, दर्शनका बहुआयामिक प्रस्तुतिहरू, के यी सबै कुराको कुनै अर्थ छैन र ? आज भत्किँदै गएको हरेक विश्वासका अघि हिजोको यात्राको कुनै अर्थ हुँदैन र ? समयकालमा हरेक कुराले अर्थको नयाँ रूप स्वीकार गर्दछ तर आज नयाँ मानिएको त्यो सदाकालको लागि नयाँ भएको हुँदैन । पुरानो मानिएको र छोडिएको हिजोकै अर्थ फेरि पनि उत्तिकै शक्तिशाली भएर आधुनिक देखिन सक्दैन ?

आज आफ्नै आस्था र विश्वासमाथि आफैँले गरिरहेको बलात्कारको दृश्य पर्दामा हेरेर लज्जित भइरहेछ वर्तमान । हिजो जे भनेर वा सोचेर समयसँग सङ्घर्ष गरिएको थियो आज त्यही यात्रा कतै प्वाल परेको डुङ्गाझैँ परिणत भइसकेको छ । आत्मबल समाप्त भएको शासकको निरीह अनुहारजस्तो वर्तमानमा उभिएर आज हरेक मानिस लज्जित छ आफ्नै विगतसँग । हिजो सोचिएका सोच वा बोलिएका शब्दहरू आफैँतिर बुमेराङ्ग भइरहेको दृश्य कहालीलाग्दो छ । किन आˆनै पाइतालामा विश्वास नहुने गरी अकरिलो भीरमा उभिनु त मानिसले ? किन एकैछिन पछि नै सावित हुने कमजोरीका पक्षमा आफ्नै प्रतिष्ठालाई धितो राख्नु ? एकैछिन पनि उभिन नसक्ने विश्वासलाई भर पर्दो किलो ठानेर किन झुण्डिनु त ?

आज सारा बुद्धिजीवी हुँ भन्नेहरूले शिर न त गरेको यस बेलामा, प्राज्ञिकताको घिनलाग्दो मानमर्दन भइरहेको यस बेलामा, आस्था र विश्वासको धरातललाई छाम्न खोज्नु मूर्खता हुनसक्छ, तैपनि मलाई यस्तो लाग्छ- कुनै पनि बुद्धि यस्तो खोपडीमा नभरिएको राम्रो हुन्थ्यो जो सधँै अँध्यारो र साँघुरो कोठामा संसारको सीमालाई परिभाषित गरिरहन्छ ।

सानासाना कुरामा ठूलाठूला अर्थ खोज्ने वा ठूलाठूला विषयमा अर्थै नभेट्ने जिद्दी र ‘काष्ठबुद्धिका अघि निष्ठाका संवादहरू जहिले पनि हास्यास्पद हुन्छन् नै तर के निष्ठाले आज हार्‍यो, आज ढल्यो भन्दैमा त्यो सधैँलाई ढल्छ ? त्यसो हुने भए एउटै घाम यत्रो विगतदेखि सधैँ उही तरिकाले एकैतिरबाट कसरी झुल्किरहेको छ ? एकैतिर कसरी अस्ताइ रहेको छ ? जतिसुकै उत्तरआधुनिक व्याख्याहरूले पनि प्रकृतिलाई अर्थ दिन सक्दैन । यसको सम्भावनाका अघि हरेक परिभाषाहरू रूढ बन्दै, ढल्दै गइरहन्छन् तर सदा प्रगतिशीलताको व्याख्याकार र ठेक्केदार मानिएको विश्वास पो कति चाँडचाँडै ढलिरहेको बाटबाटै ?

मैले बुझेको प्राज्ञिकताको अर्थ र उचाइका अघि भत्किँदो विश्वास र आस्था कहाँ पुगेर अडिएला Û सोचिरहेछु ।

भत्काएर रमाउने यस युगमा बाँच्ने अनेकौँ दृष्टिकोणहरू आज अलमल्लिएका छन् । विनिर्माणको वर्तमान युग आत्मदाही मनोरञ्जनमा सङ्गीतबद्ध छ । समयले जस्तै बलवान् हातहरूबाट पनि सत्ता खोस्दछ । सत्ता खोस्ने पात्र स्वयं नायक होइन त्यो त एक निश्चित अवधिका लागि उपयोग गरिएको कठपुतली हुन्छ जसलाई नचाइरहने रासडोरी कहीँ अदेखमा कसैको औँलामा बेरिएको हुन्छ तर पात्र स्वयंले आफैँलाई नायक र निर्देशक ठानिरहनु उसको निजी विश्वास होÙ जसलाई टेकी उसले सत्ता प्राप्त गरेको बुझ्दछ ।

समयका कुनै विगतहरूले पनि कसैलाई सदाका लागि सत्ता सुम्पिएन । प्राप्त गर्ने कुनैले पनि त्यसलाई स्वतन्त्र भोग गर्न सकेन । आज निर्माण गरिएको घर भरेदेखि नै क्रमशः प्रारम्भ गर्न थाल्दछ भत्किन । भत्किँदाभत्किँदै त्यसले यो भन्न थालिसक्छ- सृष्टिमा सब चिज भत्किनलाई छ, नासिनलाई छ । नासिने यी हरेक तìवहरूमाझ ननासिएर रहने पनि कति बाटाहरू होलान् । त्यसको खोज असम्भव छ ? हामीले जहाँ पुर्‍याएर हाम्रो विश्वास खडा गरेका छौँ, त्यसले हामीलाई ननासिने बाटोतिर डोहोर्‍याएको छैन भने हामी कसरी अमर आस्थाको धरती टेकिरहेका हुन्छौँ ?

जबसम्म अहङ्कार र स्वाभिमानका नाममा हामी द्वन्द्वरत देखिने छौँ- दर्शकले हाम्रो भूमिकाको उपसंहार पढिसकेको हुन्छ । आˆनो हक खोज्ने सतीदेवीले शरीरदाह गर्दा, सतीदेवीको शरीरमै पूर्णताको भ्रम बोक्ने शिवले कुहेको लाश काँधमा हाली संसार घुम्न पुगेँ । दिव्यदृष्टिले सम्पूर्ण चराचार देख्न बुझ्नसक्ने शिवका आँखाहरू पनि जब मायाका अघि बन्द भए, उनले शरीरलाई नै सम्पूर्णता देखे । एकएकवटा अङ्गहरू कुहिएर ˆयात्तˆयात्ती खसिरहँदा पनि शिवको सतीदेवी माथिको आस्था खस्न सकेन । प्रेम त त्यस्तो पो हुनुपर्छ- एक मान्यता छ । सारा नारीहरू आज शिवलाई पुज्दछन् तर के प्रेम त्यस्तो हुनुपर्छ ? विश्वास, आस्था र जीवन हेर्ने दृष्टिकोण त्यस्तो हुनुपर्छ ?

जहाँजहाँ खस्दै गए सतीदेवीका एकएकवटा अङ्गहरू, त्यहीँ त्यहीँ ठूलाठूला विश्वासहरू मन्दिर भएर उमि्रए । एउटा शरीरबाट छुट्टएिका अनेक अङ्गहरूले अनेक तीर्थहरू खडा भए । आस्था त, झन् विस्तारित हुँदोरहेछ । भत्किएको भनेकोले त झन् धेरै टुक्राहरूमा बनिँदो रहेछ । भत्किएको आस्था विकेन्दि्रत विश्वासमा बाँडिदो रहेछ तर सिङ्गो मानिएको जब त्यो टुक्रिन्छ, खस्छ, कहीँ हराउँछ पनि, त्यसले एक जीवन, एक युग र एक वर्तमानलाई भने कति घायल बनाएर जान्छ ?

बनिन्छन् हरेक मान्यताहरू भत्किनलाई तर भत्किनु पनि एउटा बनिनु नै हो । बनिएको भत्किएर, भत्किनु जो बनिन्छ तर त्यसले कहिल्यै पनि त्यो आदर्श र उच्चता दिन सक्दैन । त्यसलाई नभत्किएर रहेको बनाइरहँदाको सुख र आनन्द भत्किएको विश्वाससँग कहाँ हुन्छ ? तर नभत्किएर सदा रहिरहनु सम्भव छ ?

आज म जीवनलाई जतै पनि विनिर्मित देख्दछु, जतै पनि भत्किने प्रतिस्पर्धाले ग्रस्त देख्दछु । भत्किन पाएकोमा रमाउनेहरू, खुसी हुनेहरू, शरीरमा घाउ बोकेर उत्सव मनाउनेहरू, नयाँ सभ्यताको कुरा गरिरहेको सुन्दछु । धर्म, जाति, संस्कृति, परम्परा, भाषा, नातागोता, जीवनपद्धति, दर्शन, राजनीति सबैतिर पहिरो गइरहेको यस वर्तमानमा कतिकति लासहरू सनाखत हुन नसकी कुहिरहेका देख्छु ,अचम्म लाग्छ । मान्छे कसरी यस्तो संवेदनहीन र विवेकशून्य हुँदै गइरहेछ ? सामूहिक बाँच्ने जीवनपद्धतिको आविष्कार गर्ने यसले आज नितान्त एक्लो उभिने अठोट कसरी गर्न सक्यो ? अरू मारी आफू बाँच्ने युद्ध लडेकाहरूले आफूलाई बाँचेको देख्न पनि अरूहरू बाँचेको हुनुपर्छ भन्ने कसरी बिर्सिएको छ ? नितान्त एक्लो आफू मात्र त कसरी बाँचेको हुन्छ र ? ‘तँ छस् भन्ने अर्काे नभएसम्म ‘म छु भन्ने ध्वनि नै कसरी उत्पन्न हुन्छ ।

भत्किएका विश्वासहरू रुँदैरुँदै एकएकवटा टिपेर, फेरि कतिपल्ट जोड्यो मानवसभ्यताले विगतमा । एकछिनलाई भत्काउनुको आनन्द अर्कै भए पनि तर भत्किसकेपछि त्यसबाट उत्पन्न हुने कठिनाइहरू र अप्ठ्याराहरू पार गर्न कहाँ सजिलो छ ? जति नै पुरानो र अव्यावहारिक भए पनि के मानिसले आफ्नो शरीरलाई खुसीले त्याग्न सक्दछ ? त्याग्नु हुन्छ ?

आस्था र विश्वासको उज्यालो मधुरो भए पनि त्यो अलाउद्दीनको बत्ती हो, त्यसलाई घोटेर चम्काउन खोज्यो भने अथाह शक्ति पैदा हुन्छ, जसको मद्दतले हामी कठिनाइका सबै तिलस्मीहरू नाघी सक्ने छौँ ।

जीवनलाई आस्था र विश्वासको धरातलबाट खसाउन सकिँदैन, खसेपछि उठाउन पनि सकिँदैन । उठ्न नसक्ने गरी किन खस्नु ? एउटा जीवनलाई सदा निराश, कमजोर, नकारात्मक बनाएर किन बिताउनु ?

उज्यालोतिर बढ्ने धेरै बाटाहरू छन्, अँध्यारो त्याग्न सकियो भने ।

(स्रोत : मधुपर्क जेठ, २०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.