अनूदित कथा : उसको प्रेमी

~म्याक्सिम गोर्की~Maxim Gorki
अनुवादः होमर श्रेष्ठ

मेरा मित्रले मलाई यो कथा सुनाए :

म मस्कोमा विद्यार्थीछँदा संयोगवश त्यो ठाउँमा डेरा लिएर बसेको थिएँ, जहाँ केही सन्देहास्पद इज्जत भएका महिलाहरूसँगै एउटी आइमाई बस्थी । ऊ पोल्यान्डेली थिई । उसलाई सबैले टेरेसा भन्थे । ऊ अग्ली–अग्ली थिई, श्याम–वर्णकी, कपाल कालो, आँखीभौँ बाक्लो, मोहोडा लाम्चो र रुखो, बन्चरोको पासोमा मुखाकृति खोपेको जस्तो देखिन्थी । जनावरको जस्तो ट्वाल्ल परेका आँखा, घोर स्वर, ट्याक्सी ड्राइभरको जस्तो हिँडाइ,

अजङको मांसल, माझी हुनलायक देखिन्थी ऊ । उसको त्यो स्वरुपले ममा घृणा उत्पन्न गराएको थियो । म त्यो घरको सिरानको तलामा बस्थेँ । मेरो कोठाको सामुन्ने थियो उसको माथिल्लो तलो । ऊ घर बसेको छ भन्ने थाहा पाएको दिन मैले कहिल्यै आफ्नो ढोका खुला राखिनँ, यद्दपी त्यस्तो घटना आक्कल-झुक्कल मात्र भएको थियो । कहिलेकहीं संयोगवश भरयाङमा अथवा आँगनमा उसित मेरो जम्काभेट हुन्थ्यो र त्यतिखेर ऊ मलाई हेरेर यसरी मुस्कुराउँथी, उसको मुस्कुराहटमा धुर्त्याइँ र सन्देह लुकेको छर्लङ्गै देखिन्थ्यो । कहिलेकहीं मैले उसलाई रक्सी लागेको अवस्थामा पनि भेटेको थिएँ— आधा खुलेका आँखा, छिरलिएको कपाल र विशेषतः विद्रोही मुस्कुराहट हुन्थ्यो त्यति बेला । त्यस्तो अवस्थामा ऊ मलाई यसो भन्थी—“हेलो विद्यार्थीजी, नमस्ते !” अनि, त्यतिखेर ऊप्रतिको मेरो घृणाभावमाथि उसको सिल्ली अट्टहास अझ बढी केन्द्रित हुन्थ्यो । ऊसितको जम्काभेट र अभिवादन सामना गर्नु नपरोस् भन्नका निम्ति डेरा सर्न पाए हुन्थ्यो भन्ने मेरो मनमा लागेको थियो, तर मेरो सानो कोठो असाध्यै लोभलाग्दो थियो । मेरो झ्यालबाट ज्यादै विराट दृश्य देखिन्थ्यो । टोल शान्त थियो । त्यसैले मैले यी सब कुरा सहेर बसेको थिएँ ।

एक बिहान म सोफामा पल्टेर सोचिरहेको थिएँ— कक्षामा हाजिर हुन नसकेको घटनाबाट कसरी माफी पाउँला भनेर बाटो खोजिरहेको थिएँ, त्यतिखेर मेरो ढोका खुलै थियो । मेरो संघारमा टेरेसाको धोद्रो स्वर सुनियो: “तपाईंलाई सुस्वास्थ्यको कामना गर्दछु, विद्यार्थीजी !”

“तपाईंलाई के चाहियो?” मैले सोधेँ ।

मेरो दृष्टिमा उसको अनुहार किंकर्तव्यविमूढ़ तर विनीत थियो …उसको चेहरा अत्यन्तै असाधारण थियो ।

“सर, म तपाईंसित सहायता माग्छु, दिनुहुन्छ?”

म चुपचाप पल्टिरहेँ र मनमनै सोचेँ—“आश्चर्यजनक !…साहस गर, केटो !”

“म एउटा चिठी लेखाएर घर पठाउन चाहन्छु, कुरा त्यतिमात्र हो ।” उसले भनी ।

उसको आवाजमा विनम्रता र दकस थियो ।

मैले विचार गरेँ— “लौ, समस्या आइलाग्यो !” तर पनि म फुत्त उफ्रेर आफ्नो टेबुलअघिको मेचमा बस्नपुगेँ, एक पन्ना कागज लिएँ र भनेँ: “लौ, यता आउनुस्, बस्नुस्, चिठीमा के–के लेख्नु छ भनिहाल्नुस् !”

ऊ आई र बडो विचार पुरयाएर मेचमा बसी अनि लजाउँदै मलाई हेरी ।

“लौ भन्नुस्, कसलाई चिठी लेख्न चाहनुहुन्छ तपाईं?”

“स्वेतजियना नगर, वार्स–पथका बोलेसलभ कासपुटलाई…”

“लौ, के–के लेख्नु छ, भन्दैजानुस्!”

प्रिय बोलेस …

मेरो मुटुको धडकन…मेरा विश्वासिला प्रेमी । प्रभुकी माताले तिम्रो रक्षा गरून् ! सुनौलो हृदय भएका तिमीले तिम्री यो सानी दुःखी परेवी, टेरेसालाई यति लामो समयसम्म कसरी पत्र नलेखी बस्न सकेको ?”

उसको कुरा सुनेर मेरो मुखबाट झन्डैझन्डै अट्टहास विस्फोट भएको थियो ।

“बाफरे, दुखी सानी परेवी!” झन्डै साढे पाँच फिट अग्ली, अजङ ज्यान, अनुहार यति कालो थियो कि मानौँ, सानी परेवी जीवनभरि चिम्नीमा बसेकी थिई र कहिल्यै नुहाएकी थिइन!

आफूलाई सतर्क गराउँदै मैले सोधेँ: “को हो त्यो बोलेस्ट ?”

“बोलेस्ट होइन, बिद्यार्थीजी! ‘बोलेस’ हुन्, मेरा तन्नेरी ।”

मानौँ, मैले बोलेसको नाम अपभ्रंश गरेकोमा उसले त्यसको प्रतिरोध गरेझैँ बोलेकी थिई ।

“बाफरे, तन्नेरी!”

“तपाईं किन यसरी आश्चर्यचकित हुनुभएको, सर? के कुनै तरुनीको तन्नेरी हुन सक्तैनँ र ?”

अहो ! त्यस्ती पनि तरुनी रे !

“अँत नि, किन सक्तैन? यो दुनियामा असम्भव केही पनि छैन । अँ साँच्ची, ऊ तपाईंको तन्नेरी बनेको धेरै समय भैसक्यो कि ?” मैले प्रश्न गरेँ ।

“६ वर्ष भयो ।”

“आहा! लौ, अब तपाईंको चिठी लेख्न थालौँ …”

“अँ साँच्ची, म तपाईंलाई एउटा कुरा प्रष्ट भन्छु,— सायद, बोलेस र म यो कोठाबाट सरिसक्थेँ हुँला यदि उसलाई प्रेमपत्र लेखाउने नयनाभिराम टेरेसा नभएर कुनै कमसल महिला हुन्थी भने ।”

“तपाईंले गर्नुभएको दयामय मद्दतको निम्ति तपाईंप्रति म हृदयदेखि नै आभार प्रकट गर्छु, सर। सायद, म पनि तपाईंलाई कुनै सहायता गर्न सक्थेँ कि ?” टेरेसाले दुबै घुँडा टेकेर आदरपूर्वक मलाई भनी ।

“भयो पर्दैन, म तपाईंलाई यत्तिकै विनम्रतापूर्वक धन्यवाद व्यक्त गर्दछु ।”

“सर, सायद तपाईंको कमिज अथवा सुरुवालमा कतै टाल्नु–सिउनुपर्ने पो थियो कि?”

उसको त्यो उदाङ्ग पेटीकोटतुल्य अभिव्यक्तिले मेरा गाला रातो तुल्याएको अनुभूत गरेँ । त्यसपछि मैले स्पष्ट भाषामा भनेँ, मलाई उसको कुनै पनि प्रकारको सहयोग चाहिँदैन ।

त्यसपछि, ऊ त्यहाँबाट गई ।

एक–वा दुई हप्तापछि साँझपख म मेरो झ्यालमा सुसेली हालेर कसरी आफूलाई त्यो समस्याबाट मुक्ति दिलाउन सकूँला भनी उपाय सोचेर बसिरहेको थिएँ । न्यास्रिएको थिएँ म । मौसम सफा थिएन । कतै जाने मन पनि भएन । अत्यन्तै नरमाइलो लागेकोले आत्मविश्लेषण गर्न थालेँ, घोत्लिएँ । तर त्यो कार्य पनि मेरो निम्ति उच्चाटिलो बन्यो । मलाई यी कुनै कुराले पनि आकर्षित गरेन । यसैबीच अचानक मेरो ढोका घरयाक्क खुल्यो । लौ, भगवान ! कोही भित्र पस्यो ।

“ए विद्यार्थी महाशय, तपाईं ज्यादै व्यस्त त हुनुहुन्न नि, हगि ?”

छीः छी ! उही टेरेसा थिई ।

“होइन, के चाला हो यो?”

“सर, म तपाईंलाई अर्को एउटा पत्र लेखाउन चाहन्थेँ ।”

“अति राम्रो! त्यही बोलेसलाई त होला नि, होइन ?”

“होइन, होइन, यसपटकचाहिँ बोलेसको तर्फबाट… ”

“के रे !”

“ बिद्यार्थी महाशय, म अलिक मूर्ख छु ! यो चिठी मेरो निम्ति होइन । मलाई माफ गर्नुहोस्, यो चिठी मेरो साथीको निम्ति हो, अथवा भनौँ मेरो मित्रको निम्ति हो । उसकी एउटी प्रियसी छ, यो टरेसाजस्तै । त्यसैले म यहाँ आएकी । सर, त्यो टेरेसालाई एउटा पत्र लेखिदिनुहुन्छ कि ?”

मैले उसको अनुहार हेरेँ । ऊ थोरै डराइरहेकी थिई । उसका औँलाहरू काँपिरहेका थिए । पहिले त मेरा आँखा अलिकता धमिलिएका थिए, तर त्यसपछि यो कसरी भयो भन्नेबारे मैले अडकल काटेँ र भनेँ—“लौ सुन्नुस्, भद्र महिला, यहाँ बोलेस वा टेरेसा कोही पनि छैनन् । तपाईं मसित एकपछि अर्को झूटो कुरा गर्दैहुनुहुन्छ । तपाईं अबदेखि मलाई कचकच गर्न नआउनुस् ! तपाईंको मित्रको निम्ति के कसो गर्नुगराउनु छ त्यो मलाई मतलब छैन, कुरो बुझ्नुभो ?”

अचानक ऊ आश्चर्यजनक ढङ्गले आतङ्कित र उत्तेजित भई । ऊ आफू बसेको ठाउँबाट जुरुक्क उठेर नगई पाइलापाइला सार्दै गई र नाटकीय शैलीमा भुतभुताई, मानौँ ऊ केही कुरा भन्न चाहन्थी तर सकिरहेकी थिइन । अब निष्कर्ष के होला त भन्ने कुरो हेर्न म पर्खेँर बसेँ र अनूभूत गरेँ । यस्तो लाग्थ्यो, उसले मलाई ठीक बाटोबाट बेठीक बाटोतर्फ तान्न खोजेको आशङ्का गर्नु मेरो गम्भीर गल्ती थियो । यो कुरो टड्कारो रुपमै अलिक भिन्न थियो ।

“ए विद्यार्थी महाशय!” यति भनेर हठात् हात हल्लाउँदै ऊ ढोकातिर लागी र बाहिर निस्की । त्यसपछि, मलाई ज्यादै नरमाइलो लाग्यो । तल उसको कोठाको ढोका जोडले लागेको आवाज मैले सुनेँ । त्यो बिचरी तरुनी रिसले चुर भएकी थिई… । त्यस विषयमा मैले पुनर्विचार गरेँ— उसकहाँ जाने र उसलाई आफू कहाँ बोलाएर उसले भनेजस्तो चिठी लेखिदिने बिचार गरेँ ।

म उसको डेरामा गएँ र चारैतिर हेरेँ । ऊ दुवै कुइना टेबुलमा टेकाएर, दुइवटा हत्केलामा टाउको अडाएर झोक्राएर मेचमा बसिरहेकी थिई ।

“सुन्नुस्, म तपाईंलाई केही भन्न चाहन्छु!”, मैले भनेँ ।

जबजब म मेरो कथाको यो बिन्दुमा आइपुग्छु आफू भयङ्कर अप्ठ्यारो र मूर्खतापूर्ण अवस्थामा पुगेको अनुभूत गर्छु । केही छैन, यस्तै हो !

“लौ सुन्नुस्”, मैले भनेँ ।

ऊ बसेको ठाउँबाट उठी र आँखा झिम्क्याएर मतर्फ आएर मेरो कुममा हात राख्दै साउती मारी, अनि धोत्रो स्वरमा गनगनाउन थाली, “ल, अब मेरो कुरो सुन्नुहोस् ! यथार्थ कुरो यस्तो छ । यहाँ कुनै बोलेस छैन, टेरेसा पनि छैन । तर यो कुरोले तपाईंलाई के फरक पार्छ ? तपाईंको कलमले कागजमा लेख्न औधी गाह्रो भयो, हैन त ? तपाईं पनि त यति सुन्दर कपाल भएको तन्नेरी हुनुहुन्छ ! यहाँ कोही पनि छैन— न बोलेस छ, न त टेरेसा नै । केवल म छु । जो यहाँ तपाईंसँग छ यसले तपाईंलाई धेरै भलो गर्नसक्छ ।”

यसरी स्वागत गरिएपछि आश्चर्यचकित हुँदै मैले भनेँ—“मलाई क्षमा गर्नोस्, यी सब के हुन् ? तपाईं नै भन्नुहुन्छ यहाँ बोलेस छैन, हैन र ?”

“त्यसो होइन, बोलेस छ ।”

“अनि टेरेसा नि ?”

“यहाँ टेरेसा छैन । म छु ।”

मैले यो कुरो पटक्क बुझ्न सकिनँ । मैले उसलाई आँखा गाडेर हेरेँ र हामी दुईमध्ये कसले कसलाई बुझ्न नसकेका हौँ त्यो रहस्य पत्ता लगाउने प्रयत्न गरेँ । त्यसपछि ऊ आफ्नो टेबुलमा गई र केही चीज खोजेर मछेउ फर्की र आक्रमक स्वरमा भनी, “बोलेसलाई चिठी लेख्न तपाईंलाई यतिविधि गाह्रो भयो हैन त ? लौ यता हेर्नुस्, तपाईंको निम्ति चिठी छ, लिनोस् । मेरो निम्ति अरु कसैले लेखिदिने छ ।”

मैले त्यो पत्र हेरेँ । उसको हातमा भएको पत्र उही बोलेसलाई मैले लेखिदिएको चिठी थियो । आत्थु !

”लौ, भन्नुस् टेरेसाजी, यी सब कुराको गूढ अर्थ के हो? आखिर, मैले नै लेखिदिएको पत्र लेख्न तपाईंलाई अरु कोही व्यक्ति किन खोज्नुपरेको थियो ? अनि यो पत्र तपाईंले किन नपठाउनुभएको त ?”

”यो पत्र कहाँ पठाउने ?”

”किन, बोलेस … ।”

“त्यो व्यक्ति छैन ।”

मैले यो कुरो पटक्कै खुट्ट्याउन सकिनँ । रिसले भुनभुनाएर फर्कनुसिवाय मेरो निम्ति त्यहाँ अर्को विकल्प थिएन । तर त्यसपछि उसले मलाई आक्रमक ढङ्गले सम्झाउँदै गई: “यो सब के हो ? यहाँ त्यस्तो व्यक्ति नै छैन । म तपाईंलाई भन्दै छु ।” त्यसपछि उसले आफ्ना दुबै पाखुरा यसरी फैलाई, मानौँ यहाँ त्यस्तो व्यक्ति किन छैन वा किन हुनुपर्दैन भन्ने कुरो उसले पनि बुझेकी थिइन । उसले कुरो थपीः “तर ऊ हुनुपर्छ भन्ने मेरो चाहना हो … होइन भने के म मानव नै होइन त ? म मानव हुँ । यो कुरो मलाई थाहा छ । वास्तवमा मैले बुझेकी छु …मैले उसलाई लेखेको चिठीले कसैलाई पनि हानि पुरयाएको छैन भन्ने म जान्दछु…”

“कृपया, भन्नुस् त कसलाई लेखेको चिठीले ?”

“वास्तविक बोलेसलाई ।”

“तर ऊ त छँदै छैन नि !”

“अफसोस ! अफसोस ! ऊ नभएर के भो त ? उसको अस्तित्व छैन, तर हुनसक्थ्यो ! म उसलाई यसरी पत्र लेख्छु, मानौँ ऊ यहाँ छ । अनि टेरेसा, जो म यहीँ छु । उसले मलाई प्रत्युत्तर पठाउने छ र म उसलाई फेरि त्यसको प्रत्युत्तर लेख्ने छु …”

अन्ततः मैले कुरो बुझेँ । त्यसपछि मैले आफू ज्यादै भाउन्निएको अनूभूत गरेँ, ज्यादै दुखित भएँ र कुनै प्रकारले निकै लज्जित भएँ । मेरो आफ्नै नजिक पाँचहात पर, एउटा मानवजन्तु बस्थ्यो, जसलाई प्रेमपूर्वक, हार्दिकतापूर्वक व्यवहार गर्ने मान्छे यो संसारमा कोही थिएन । र, ऊ आफैले आफ्नो निम्ति एउटा साथी पत्ता लगाएकी थिई !

“ल अब ध्यान दिएर सुन्नुस् ! तपाईंले मेरो बोलेसको निम्ति एउटा पत्र लेख्नुभयो । त्यो पत्र मेरो निम्ति पढेर सुनाउन कसैलाई दिएँ । उसले त्यो पत्र पढेर सुनाएपछि बोलेस अवश्य यहाँ हुनुपर्छ भन्ने मलाई लाग्यो । त्यसैले बोलेसको तर्फबाट टेरेसालाई (मलाई) चिठी लेख्न तपाईंलाई मैले अनुरोध गरेँ । किनकि, जब कसैले मलाई यस्तो चिठी लेख्छ र बाचेर सुनाउँछ, तब मलाई बोलेस अवश्य यहीँ छ भन्ने पक्कापक्की हुन्छ । फलतः मेरो जीवन अलिक सरल ढङ्गले अघि बढ्छ ।”

यी सब कुरा सुनेपछि मैले आफूलाई भनेँ— “मूर्खको निम्ति कुरो अप्ठ्यारो छ !”

त्यसपछि, मैले नियमित रुपमा हप्तामा दुईवटा चिठी लेखेँ, एउटा बोलेसलाई र अर्को, बोलेसको तर्फबाट टेरेसालाई प्रत्युत्तर लेखेँ । मैले ती प्रत्युत्तरहरू मार्मिक ढङ्गले लेखेँ.।..उसले ती चिठी ध्यान दिएर सुनी र रोई, घोर आवाजमा डाँको छोडेर रोई । अनि मैले त्यसरी काल्पनिक बोलेसको तर्फबाट वास्तविक चिठी लेखिदिएर उसलाई रुवाएको बदलामा उसले मेरो प्वालपरेका मोजा, उध्रेका कमिज र अन्य लुगाफाटो टाल्ने सिउने गर्न थाली । यो इतिहास सुरु भएको लगभग तीन महिनापछि कुनै अभियोगमा उसलाई झ्यालखानामा थुनियो । निसन्देह, ऊ अहिलेसम्ममा मरिसकेकी हुनुपर्छ ।

मेरा मित्रले आफूले तान्दै गरेको सिगरेटको खरानी झारे, आकाशतर्फ हेरेर गम खाए र यस्तो निष्कर्ष निकाले—

साँच्ची, मानवजन्तुले जतिजति तीतो चाख्दै जान्छ, त्यतित्यति उसमा जीवनप्रतिको मीठो भोक जाग्दै जान्छ । यौन–नैतिकताको टालोले लपेटिएका, अरुको सम्बन्धमा आफ्नो आत्मविश्वासको धमिलो चश्माले गढेर हर्ने भएका हामीजस्ताको वशीकृत सार्वलौकिक पवित्रताले यो कुरो बुझ्न सक्तैन । फलतः हाम्रा यावत कुरा अत्यन्तै निर्दयी र मूर्खतापूर्ण बन्न पुग्छन् । हामी तल्लो वर्ग भन्छौँ, स्खलित वर्गको कुरा गर्छौँ तर त्यो तल्लो वर्ग कुन हो, म बुझ्न चाहन्छु ? सर्वप्रथम सबै हामीजस्तै मानव हुन्, हाड़मासु, रगत र नसाद्वारा निर्मित जीव हुन् । युगौँदेखि हामीले यो कुरो सुन्दै आएका छौँ । वास्तवमा, हामी सुन्छौँ, तर यी सब कुरा कति भयावह विद्रोही छन् भन्नेबारे कसलाई थाहा होला ! कतै हामी मानवताबारे उच्च स्वरमा उपदेश दिँदै हिँड्ने अनैतिक पाखण्डी त होइनौँ ? यथार्थमा, हामी पनि स्खलित जन्तु हौँ । जहाँसम्म मेरो बुझाइ छ, हामी हाम्रो उच्चताभासप्रतिको (अन्ध) विश्वास र दृढविश्वासको गहिरो खाडलमा नराम्ररी जाकिएका छौँ । यस्ता कुराहरू यथेष्ट भइसके । यी सब कुरा पहाडजस्तै पुराना भइसके, कति पुरानो भने यसबारे बोल्नसमेत लाज भैसक्यो । वास्तवमा, यो पनि त्यही प्राचीन प्रसङ्ग हो।

नोट: यो अनुदित कथा भृकुटी, पूर्णाङ्की–८, २०६७ प्रकाशित भईसकेको छ| ‘भृकुटी’ले यो कथा प्रकाशित गर्दा ‘दकस’-को ठाऊँमा ‘दहकिज’ (हिन्दी) राखेको रहेछ ! त्यसमा अनुवादकले आपत्ति गरेका थिए| अनुवादकको अनुमतिमा यो कथा विचार संकलनमा समावेश गर्दा अनुमति लिएर नै केही सामान्य सम्पादन गरिएको छ ।

कथाकारः म्याक्सिम गोर्की, सङ्कलन तथा सम्पादन: थोमास सेल्त्चर

(स्रोत : Vicharsankalan Dot Com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

1 Response to अनूदित कथा : उसको प्रेमी

  1. यस काहानिले केहि ज्ञान दिन्छ कि अबश्य पढनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.