~डा. ऋषि बस्ताकोटी~
त्यतिखेर देशको शासनसत्ता उहाँकै हातमा थियो । अधिकारको खोजी गर्नेहरू, स्वतन्त्रताको माग गर्नेहरू सबैसबैलाई सरकारले खूव दमन गर्यो । सैयौ शहीद भए, हजारौं कैद भए। मुलुक एक हिसावले राक्षसी राजमा बदलियो। आखिर अँध्यारोले उज्यालोलाई कति दिन पो ढाक्न सक्थ्यो र ! एक दिन घाम झुल्किन करै लाग्यो । उहाको राज सकियो ।
अँध्याराका सम्पूर्ण काला खेलहरूको सूत्रधार उहाँ नै भएको ठहर भयो ।राष्ट्रको नम्बर एक अत्याचारी शासकको रुपमा उँहाको इतिहास बन्यो । सम्पूर्ण हत्या र आतंकको जिम्मेवार उहाँ नै भएको कुरा छर्लंग भयो ।
आखिर समयले कोल्टो फेर्दै गएपछि असम्भव पनि के हुँदो रहेछ र ! धर्मको नाममा लोकतन्त्रको पोखरीमा डुबुल्की मारेर उहाँले पाप पखाल्नुभयो । हाल उहाँ जननिर्वाचित प्रतिनधि । आज फेरि लोकतान्त्रिक दुनियामा उहाँको सत्तारोहण हुँदै छ । सरकारको नेतृत्व सम्हाल्नुअघि लोकतान्त्रिक नेताको हैसियतले शहीदलाई सम्झनु आफ्नो धर्म ठानेर होला सायद उहाँ आज फूलमाला लिएर शहिदगेट जाँदैहुनुहुन्छ । तर दुनिया कसैले केही अड्कल गर्न सकिराखेको छैन- उहाँ यतिबेला के सम्झेर शहिदको पूजा-अर्चना गर्दैहुनुहुन्छ? देश र दुनियाको लागि फेरि कस्तो वर माग्दैहुनुहुन्छ ??