कथा : नयाँ हाकिम

~नारायण ढकाल~Narayan Dhakal_1

विभागमा नयाँ हाकिम नियुक्त भएर आएपछि वातावरणमा पनि नयाँ रंग चढ्यो । दिनभर विभिन्न शाखाका कर्मचारीहरु जम्मा भएर उसकै बारेमा टीका टिप्पणी गरे । कसैले उसको तारिफ गरे भने कसैले खिल्ली उडाए ।

तारिफ गर्ने पक्षको खरिदार जीवनाथले भन्यो- “कस्तो राम्रो व्यक्तित्व ! जुँगा

पालेको पनि कति सुहाएको ?”

खिल्ली उडाउने पक्षको सुब्बा रामवीरले भन्यो- “बदलिदो परिस्थितिमा पनि यसले आफूलाई बदल्न सकेको छैन भन्ने कुरा यसले पालेको जुँगाले बताउँछ । ठाठाडा जुँगाले यो मानिस एक नम्बरको तानाशाही हो भन्ने बुझाउँछ !”

“घूसको मामलामा यस मानिसको अभिरुचि कस्तो होला ?” विभागको वडा लेखापाल जसराजले आफ्नो चिन्ता जाहेर गर्‍यो ।

“प्रजातन्त्रमा अब उसको नाम नलिए हुन्छ ।” । स्टोरकिपर सुषमाले भनी ।

लगभग आधा दिन यसरी नै सकियो । कुनै पनि शाखामा कसले काम गरेन । प्रायः नयाँ हाकिम आउँदा उस्तै हुन्छ । उसको बानी बेहोरा र क्षमताबारे अड्कल गरेर सबैको समय कट्छ । बीच-बीचमा चिया पिउने, सबभन्दा सोझो पिउनलाई उल्लु बनाएर हाँस्ने वा सबभन्दा सोझी टाइपिस्टलाई जिस्क्याउने कार्य पनि सम्पन्न हुन्छ । यो सामान्यतया हरेक दिनको दिनचर्या हो त्यस विभागको । सोहीअनुरुप हाकिम आएको दिन पनि यस्तो भयो ।

हाकिम बिहान दशै बजे आइपुग्यो । ऊ आइपुग्छ भन्ने कुरो शाखा अधिकृत रामेश्वरलाई जानकारी थियो । त्यसैले रामेश्वर विभागभरिका पिउनलाई लिएर पौने दश बजेदेखि नै विभाग पस्ने मूलढोकामा उभियो । स्वागतार्थ उनीहरु सबैको हातमा एकएक वटा फूलका थुङ्गाहरु पनि थिए । यसरी नयाँ हाकिमको रगीचंगी स्वागतार्थ समारोह सम्पन्न भयो । दशै बजे आइपुगेको हुँदा विभागका अरु कर्मचारीहरुले उसको स्वागत गर्न पाएनन् ।

त्यसपछि नयाँ हाकिमलाई उसको निम्ति भनी सजाइएको कोठातिर लगियो । शाखा अधिकृतको नेतृत्वमा यो सबै कार्य सम्पन्न भयो ।

“म यो विभागको कायाकल्प गर्न खटिएर आएको हुँ । अब हरेक कुरा प्रजातान्त्रिक भावना अनुरुप सम्पन्न हुनुपर्छ ।” घुम्ने कालो मेचमा बसेपछि नयाँ हाकिमले आफ्ना जुँगाहरु अझ ठाडो पार्दै भन्यो ।

त्यसैबेला चाकडी गर्नेमा नामुद भनिएको खरदार जीवनाथ धनुषटंकार नमस्कार गर्दै कोठाभित्र पस्यो । कोठाभित्र पसेदेखि नै उसको अनुहार हाकिमको जुँगातिर एकोहोरिएको थियो । जीवनाथले उसको जुँगातिर एकटक लगाएर हेरेपछि त्यहाँ उभिएका अन्य कर्मचारीहरु पनि उसैको लयमा जुँगातिर हेर्न थाले ।

हाकिमले चाँडै नै यो कुरा चाल पायो र भन्यो “तपाईंहरु सबै मेरो जुँगातिर आकषिर्त हुनु भएजस्तो छ । यो मेरो जुँगाको आफ्नै इतिहास छ । यो प्रजातान्त्रिक जुँगा हो । प्रजातन्त्र नआउँदाको समयमा प्रजातन्त्र विरोधीहरुले कैयौं पटक यसलाई उखेल्न खोजे । तर मैले यसलाई बचाउन चाहेँ ।”

नयाँ हाकिमले आफ्नो जुँगाको इतिहास बनाउन थालेपछि त्यहाँ उभिएका पिउनहरु मुखामुख गरेर मुस्काउन थाले ।

लगभग एघार बज्न थालेपछि नयाँ हाकिमले आफ्नै कामको थालनी गर्‍यो । त्यसबेलासम्मा शाखा अधिकृतले विभागमा कार्यरत कार्मचारीहरुको संख्या, विभिन्न शाखाहरुको सूची, विभागमा भएका नगद र जिन्सी सामानहरुको मोटामोटी विवरण सुनाइसकेको थियो । अरु कुराहरु त त्यति उल्लेखनीय थिएनन् । तर त्यो विभागको पुरानो फ्रिज कुरा आएपछि हाकिमको कान खरायोको झैं ठडिन थाल्यो ।

“यो कार्यालयमा रहेको अद्भूत सामानहरुमध्ये यो फ्रिज पनि एउटा हो । यसलाई अविलम्ब मर्मत गरेको खण्डमा पाहुनाहरुको सत्कारमा ठूलो सहयोग पुग्नेछ ।” शाखा अधिकृतले त्यो फ्रिजबारे स्पष्टिकरण दियो । त्यसपछि नयाँ हाकिमले जुँगा मुसार्दै टाउको हल्लायो ।

नयाँ हाकिम आएको दिन उसका सम्बन्धमा कर्मचारीहरुले जे-जति कुरा गरे त्यसमा बढी जुँगाको सम्बन्धमा थियो । त्यसदिन जति पनि कर्मचारी उसलाई दर्शन गर्न गए, सबैलाई उसले आफ्नो जुँगाको प्रजातान्त्रिक इतिहासबारे सुनाएर पठायो । सुब्बा रामबीरले जब उसको मुखारविन्दबाट जुँडा महिमा सुन्यो । त्यसपछि बाहिर आफ्नो शाखामा आएर क्रान्तिकारी मुद्रामा च्याँठि्ठयो- “यो मानिसले आफ्नै जुँगालाई समेत ‘क्यास’ गरेर हामीलाई आफ्नै हैकम लाद्ने योजना बनाएको छ । तर यो शासन गर्ने एकदमै पुरानो तरिका हो । अब यो प्रजातन्त्रमा आदिम आतंकले को प्रभावित हुन्छ ? यसले राम्ररी बुझ्नुपर्ने हो ।”

गर्मीमा समय कटाउन अलि असजिलै पथ्र्यो । तर त्यो दिन समय बितेको कसैले पत्तो पाएन । लगभग पौने पाँच बजेतिर मात्र सबैले समयको ख्याल गरे । ठीक त्यसैबेला अर्को कोठाबाट स्टोरकिपर सुषमा हान्निएर सुब्बा रामवीरको कोठामा पसी र भनी- “रामवीर माडसाव, फ्रिज बनाउन टिप्पणी उडाउनु पर्‍यो रे ।”

“कसले भनेको टिप्पणी उठाउन ? त्यो फ्रिज मर्मत गरेर चल्ने हालतमा छैन । पोहरसाल मात्र त्यसलाई अठार पटक मर्मत गरियो । मर्मत गरेर रकम जोड्ने हो भने दशवटा नयाँ फ्रिज किन्न पुग्छ ।”

“आदेश दिएको कुरा भनिदिनु मेरो कर्तव्य हो, आगे तपाईं जे गर्नोस् ।” त्यति भनेर स्टोरकिपर आफ्नै कोठातिर फर्किई । त्यसपछि समयले पाँच बजाएको जनाउ दिएकोले सबै कर्मचारीहरु उठे र क्रमशः विभागबाट बाहिरिए ।

त्यो विभागमा नयाँ हाकिम आएको दिनका सातघण्टा यसरी नै समाप्त भएका थिए ।

(स्रोत : Ekhabarnepal.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.