कथा : खहरेको भेल

~आर. आर. चौलागाई~R R Chaulagain

“तँ अखिलमा लाग्या छस् रे हो ? ”
एकदिन अचानक उसले मसँग यस्तो प्रश्न ग-यो ।
“हो, लागेको छु । असल काममा को लाग्दैन ?”
यसरी मैले छोटो उत्तर दिएको थिएँ उसलाई । दुई हजार पैँतीस सालतिरको कुरा हो, म त्यतिखेर

माध्यमिक विद्यालयको दशौँ कक्षामा पढ्थेँ र ऊ पनि ।

केही दिन सहज रूपमै बिते । करिब एक महिनापछि हाम्रो स्कुलमा सहिददिवसको कार्यक्रम राखिएको थियो । बिहानैदेखि ऊ कार्यक्रम बिथोल्न तल्लीन थियो । तर असफल भयो । कारण, हाम्रो पक्षमा बहुसङ्ख्यक विद्यार्थीहरूको समर्थन थियो भने ऊसँग मात्र चार-पाँच जना हुल्याहा केटाहरू । जित हाम्रो भयो । म अखिलमा लागेको भन्ने उसले छनक मात्र पाएको थियो । तर त्यो दिन उसले राम्रैसँग थाहा पायो । कारण, सहिददिवसको दिन मलाई विद्यार्थीको तर्फबाट वक्ताको रूपमा बोलाइएको थियो र तयसबेला मैले सहिदको आदर्श र अखिलको भूमिका बारे बोलेको थिएँ ।

साँझपख ऊ मेरो कोठामा आयो, साथमा केही उरन्ठेउला केटाहरू लिएर । अनि एउटा लामो भाषण फलाक्यो । कोठामा म एक्लै थिएँ किताब पढ्न तल्लीन । उसले मेरो हातबाट किताब भुइँमा पछा-यो र कुर्ल्यो-

“बल्ल थाहा पाएँ, तँ अखिले रेछस् । अराष्ट्रियतत्व । बडो सहिदको गुणगान गाउन जान्ने । हामीलाई सोध्न सहिदको बारेमा । तँलाई के थाहा, सहिदहरू केको निम्ति लडेका थिए । प्रजातन्त्रको लागि होइन ? अब प्रजातन्त्र आइसकेपछि केको सहिददिवस ? केको भाषण ? यी सब छोड् । हामी भनेका त मण्डलका मान्छे । हाम्रो पछि लाग् । मान्छे बनाइदिउँला । देश बचाउने त हामी हौँ । यी अखिलेहरू त देशबेचुवा हुन् ।”

म क्रमिक रूपमा सुन्दै थिएँ । ऊ लगातार कराउँदै थियो । उसको मुखबाट आएको रक्सीको गन्ध कोठाभरि फैलिँदै थियो ।

कराउँदा कराउँदै ऊ थाक्यो र अन्तमा भन्यो-

“अबदेखि अखिलमा लागेर भाषण गरिस् भने तेरो लास बेपत्ता पारिदिन्छु बुझिस् ?”
यसरी भएभरको धम्की दियो उसले र साथीहरूतिर फर्केर- “छिटो जाऔँ, हलमा मैयाँहरू पर्खिरहेका होलान् ।” भन्दै अरूलाई अघिपछि लगाउँदै ढुन्मुनिदै ऊ कोठाबाट बाहिर निस्क्यो ।

यसबारे साथीहरूसित छलफल गर्दा ऊसँग विवाद नगरे वापत मैले आलोचना खानुप-यो । मैले त्यसबारे ऊसँग प्रतिवाद गर्न उचित ठानिनँ । वैचारिक सङ्घर्ष गर्न नसकी रक्सी र बलको तुजुक देखाउनेसँग केको तर्कवितर्क ! मेरो ठम्याइ यस्तै थियो । त्यसको दुई वर्षपछि एक्कासि ऊसँग चिया पसलमा भेट भयो । एकछिन त उसलाई मैले चिन्नै सकिनँ । ऊ मेरो नजिक आएर बस्यो । मसँग क-याप्प हात मिलायो र आफ्नो परिचय दियो-

“मलाई चिन्न सकेनौँ ? म दीपक लुइँटेल । आई. ए. मा पढ्दै छु काठमाडौँमा । तिमी के गर्दै छौ ?”

उसको अलिकति भए पनि नरमपन देखेर म अचम्मित भएँ । केहीबेर मैले जवाफ दिनै सकिनँ र अन्त्यमा उसलाई नियाल्दै- “सानो जागिर खाँदै छु ।” भनेर पन्छिन खोजेँ । तर ऊ धाराप्रवाह बोल्न थाल्यो-

“तिमी त कुवाको भ्यागुतो रहेछौ । देशमा कत्रो-कत्रो उथलपुथल भइरहेछ । क्रान्तिकारीहरू सङ्घर्ष गर्दै छन् । तिमी भने यस्तो बेलामा पनि जागिरमै अल्झेर बस्ने ? छाड्द्यौ जागिर सागिर । मान्छौ भने हाम्रो पछि लाग । अनि थाहा पाउँछौ दुनियाँ कस्तो रहेछ । बुझ्यौ, अहिले म अहिले अखिलको नेता छु । देशको विद्यार्थी आन्दोलन मेरो हातमा छ । मैले जे चाह्यो त्यही हुन्छ । तिमी त एउटा सानो जागिरको त्यान्द्रोमा अल्झिने झिँगाजस्तो पो रहेछौ । क्रान्तिकारीले जागिर खाँदैन बुझ्यौ ? जागिर त पलायनवादी र औसरवादीले मात्रै खान्छ । आफूलाई खूब कवि हुँ भन्छौ होला हैन ? कविताले के गर्छ ? परिवर्तन कलमले हैन । परिवर्तन त बन्दुकले ल्याउँछ, बन्दुकले । बन्दुक बोक्ने बेलामा जागिर खाने ?”

यसरी पसलै थर्किने गरी ऊ चिच्यायो । मैले नरम हुँदै उसलाई सम्झाउने प्रयत्न गरेँ-

“ठीकै छ नि दीपक ! मैले जागिर खाएर के अपराध गरेँ ? यसमा मेरो के दोष ? बरू मैले एउटा कुरा बुझिनँ । स्कुलमा पढ्दा तिमी अखिलको कट्टर विरोधी थियौ अर्थात् मण्डले । अहिले यो परिवर्तन कसरी आयो ? भोलि फेरि……।”

उसले बीचमै कुरा काट्यो- “कसरी रे ? जब संसारै परिवर्तनशील छ भने म हुन सक्तिनँ । जिन्दगीमा सबभन्दा पहिला मोज गर्नुपर्छ मोज ! त्यतिखेर खूब मोज गरियो । अब त्यसको तिर्सना बाँकी भएन ।”

“अनि अहिले पनि तिम्रो मुखबाट रक्सीको गन्ध आइरहेको छ नि !”

“रक्सी ! रक्सी कसले खाँदैन ? दुनियाँका कत्रा-कत्रा महापुरूष त रक्सी खान्थे भने मेरो कुरा छोड्न । बरू एउटा कुरा, म रक्सी खाए पनि अखिको नेता, तिमी नखाए पनि पलायनवादी र निष्क्रिय । ऊ बर्बराउँदै थियो । म पसलबाट निस्केँ ।

मैले यसबारे साथीहरूसित छलफल गरेँ । निकै आलोचना खानुप-यो । मैले उसलाई केही पनि भन्न नहुने रे । मान्छेबाट सानोतिनो गल्ती हुँदैमा शङ्का गर्नु हुँदैन रे । फेरि ऊ जुलुस हुँदा उफ्री-उफ्री व्यवस्थाको विरोध गर्छ रे । पुलिसलाई ढुङ्गा समेत हान्न पछि पर्दैन रे । चुनावको बेलामा त झन् भोकभोकै खट्छ रे । आदि-इत्यादी ।

मैले साथीहरूलाई प्रष्ट भनिदिएँ- “भोलि उसले नराम्रोसित धोका दिन्छ अनि थाहा पाउनुहोला । मलाई किन-किन उसको नियतै ठीक लाग्दैन ।”

“तपाईँ अलि भावुक हुनुहुन्छ साथी ! हिजो ऊ मण्डले थियो । आज अखिलमा छ । यो पक्ष त सकरात्मक नै हो नि । कम्तिमा पनि ऊ हाम्रो पङ्तिमा त छ ।”

साथीहरूको विश्लेषण यस्तो थियो । मेरो जोड चलेन ।

लगभग छ महिनापछि सबेरै बिहान । कसैले ढोकामा जोडले हिर्काइरहेको थियो । उठेर ढोका खोलेँ । उही दीपक लुइँटेल । साथमा चारपाँच जना प्रहरीहरूसहित पुलिस भ्यान । म स्तब्ध भएँ ।

“खूब नेतागिरी गर्थिस् हैन ? ल हिँड मामाघर । अनि चाख्लास् ।”

उसले मेरो कठालो समाउँदै घोक्र्यायो ।

“तैँले पछिल्लोपल्ट भेट्दा गरेका कुरा के यस्तै काम गर्न हो ?”

मैले जोगिने कोसिस गरेँ ।

“अझ चिच्याउँछस् ? कुरा र काममा फरक हुन्छ बुझिस् ? के थाहा तँलाई राजनीतिका कुरा । हामीसँग सिक्न । म सि. आइ. डि. भएँ ऐले । वामेहरू खालि कुरा मात्रै गर्छन् । मलाई पार्टीको केन्द्रीय समितिमा पु-याइयोस् भनेर मैले सयपल्ट बिन्ती गरेँ, नेताहरूको खुट्टा ढोगेँ । तर केही लागेन । अनि म सि. आइ. डि. हुनु परेन ? तँ जस्तो जागिरेलाई के थाहा ! म त्यसै यस्तो भएको हैन । वाध्यताले भएको हुँ । मलाई कसैले सि. आइ. डि. अथवा मण्डले भनेको थाहा पाएँ भने बाँकी राख्दिनँ । एकएकको बङ्गारा झारिदिन्छु । ल, छिटो हिँड । मलाई बहस गर्ने फुर्सद छैन । के थाहा, म भोलि फेरि अखिलतिर पनि आउन सक्छु । तँजस्तो भावुक कवि हुँ र म ?”

मलाई नहिँडी सुखै भएन । गएर भ्यानमा बसेँ । भ्यान हिँड्यो । बाटोभरि उसले खूबै आदर्श छाँट्यो । राजनीतिमा लागेर उसले दुःख पायो रे । परिवर्तन छिट्टै होला भन्ठानेको नहुने भो रे । यस्तै के के हो के के । अनि खुसुक्क चेपारो घस्न थाल्यो-

“एउटा कुरा सुनिराख् । म दुईचारजना नेताहरूलाई सिध्याउन सि. आइ. डि. भएको हुँ । पहिला यिनीहरूलाई खतम पार्छु अनि राजनीति गर्छु । विश्वास गर्, भोलि म पार्टीको शक्तिशाली नेता पनि हुन सक्छु र यदि देशमा परिवर्तन भयो भने शासनको बागडोर मेरो हातमा आउन पनि सक्छ बुझिस् ?”

मैले विगतदेखिको उसको व्यवहारलाई झलझली सम्झेँ । म भ्यानभित्र छु । भ्यान गुडिरहेको छ, पुलिस स्टेसनलाई गन्तव्य बनाएर । बाहिर झमझम पानी परिरहेको छ । हिजोसम्म एक थोपो पानी नभएको खहरेमा अहिले भेल आएको छ । निश्चित छ एकैछिनपछि यो भेल सुक्नेछ । मैले खहरेको भेल र दीपक लुइँटेललाई पालैपालो हेरेँ ।

रचनाकालः २०४३ असार

(‘हाम्रो मातृभूमि’ त्रैमासिक साहित्यिक पत्रिका, २०६५-कार्तिक-चैत्र, संयुक्ताङ्कमा प्रकाशित)

[यो कथाको बारेमा मैले २०६५ साल भदौमा प्रकाशित मेरो लघुकथासङ्ग्रह ‘विघटनको तयारीमा’ को आफ्नो भनाइ लेख्ने क्रममा ‘मनैदेखि’ मा यस्तो लेखेको छु— “……कथा मैले धेरै पछि लेख्न थालेको हुँ । लघुकथा त झन् पछि । २०४३ तिर एउटा लामो कथा लेखेको थिएँ ‘खहरेको भेल’ । त्यो कथा आजसम्म पनि अप्रकाशित नै छ । त्यो कथाको पनि एउटा लामै ‘कथा’ छ। त्यतिखेरको अखिलको केन्द्रले ‘विद्यार्थी आवाज’को लागि मसँग एउटा साहित्यिक रचनाको माग ग-यो । मैले त्यही कथा दिएँ । तर त्यो छापिएन । सेन्सरमा परेछ । मैले कथामा एउटा कम्युनिष्ट पात्रको अवसरवादी चरित्रलाई उदाङ्ग पारेको थिएँ । पछि बुझ्दा कम्युनिष्ट भएर कथामा कम्युनिष्ट पात्रको कमजोरी देखाएको हुँदा नछापिएको रहेछ । मैले कथामा कम्युनिष्टले पनि गल्ती गर्छन् भन्नु नहुने रहेछ । कम्युनिष्टजति सबै दूधले नुहाएका हुन्छन् भन्नुपर्ने रहेछ । मभित्रको इमान्दार कथाकारले साँचो लेख्यो । त्यसैबेलादेखि म ‘बफादार’ कम्युनिष्ट हुन सकिनँ ।

पार्टीले चाहेको जस्तो कम्युनिष्ट हुन वीरगन्ज-रक्सौलको टाँगा हुनुपर्ने रहेछ । ‘जसोजसो बाहुनबाजे त्यसैत्यसै स्वाहा !’ गर्नुपर्ने रहेछ । मैले त्यसो गर्न सकिनँ । मभित्रको कम्युनिष्ट धरमरायो । उसले आफूलाई थेग्न सकेन । अनि त म समर्पित भएर साहित्यिक लेखनमा जुटेँ ।

तर पनि म कम्युनिष्ट विचारबाट प्रभावित थिएँ । आज पनि छु । मात्र म कसैको दास हुन नसकेको हुँ । ‘तथास्तु’ पाउन यहाँ कसैको खुट्टा मोल्नुपर्ने रहेछ । नेताहरूको घरघरमा कोसेली बोकेर धाउनुपर्ने रहेछ । बाङ्गो रूखलाई पनि आँखा चिम्लेर सोझो भन्नुपर्ने रहेछ ।………………]

— 0 —

(स्रोत : RRChaulagain.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.